मलम लगाऊ आर्तहरूको चहर्‍याइरहेको घाउ- विचार - कान्तिपुर समाचार

मलम लगाऊ आर्तहरूको चहर्‍याइरहेको घाउ

हाम्रा प्रधानमन्त्री साँच्चिकै आस्तिक भएका हुन् भने पनि उनले धर्मको सही अर्थबोध गर्नैपर्छ ।
साधना प्रतीक्षा

मुलुकको राजनीति अहिले अस्थिर मात्र नभएर दिशाविहीन र सिद्धान्तविहीन पनि बनिरहेको छ । त्यसैले त पूर्णतः भौतिकवादमा विश्वास गर्ने; मार्क्स, लेनिन, माओ आदिका अनुयायी नेपाली वाम नेताहरू धर्मका नाममा राजनीति गर्न लागिपरेका छन् ।

एकताका ‘होली वाइन’ ले अभिषेक गर्दै क्रिस्चियन जत्थालाई स्वागत गरेका हाम्रा प्रधानमन्त्री ओली यति बेला पशुपतिनाथलाई एक अर्ब रुपैयाँको सुनको जलहरी चढाउने घोषणा गरेर पुनः चर्चामा आएका छन् । यो संकल्प उनको परिवर्तित सैद्धान्तिक मान्यताको उपज हो वा वर्तमानमा उर्लिरहेको हिन्दु जनआस्था भजाएर सत्तासीन बनिरहने महत्त्वाकांक्षाको, ठम्याउन गाह्रो छ । कारण जेसुकै भए पनि यसले सनातन धर्मको व्याख्यामा भने राम्रै व्यंग्य गरेको छ ।

असंख्य ग्रन्थ पाठ गरेका र अनेक विधा/विषयमा ज्ञान हासिल गरेका भनिएका, अझ बेलाबखत शास्त्रार्थ गर्नसमेत चुनौती दिने गरेका प्रधानमन्त्री ओली धर्मको सही अर्थबोधमा कसरी चुके होलान् ? अध्यात्मवादी दृष्टिले प्रकृति र पुरुष अर्थात् शक्ति र शिवलाई ईश्वरको आदिरूप मानिन्छ । अर्धनारीश्वर स्वरूप यसैको साकार रूप हो । स्वयम् वैरागी, भौतिक सुखसुविधा तथा वैभव सबैबाट विमुख भगवान् शिव वस्त्रका रूपमा जनावरको छाला र आभूषणका रूपमा सर्प र रुद्राक्ष धारण गर्छन् । सांसारिक भोगविलासलाई तुच्छ भन्दै जीवनको अन्तिम गन्तव्य मसान र चिता हो भन्ने यथार्थबोध गराउने उनी मसानमा बास गरी चिताभस्म शरीरमा लेपन गर्छन् । अनिष्टकारी र घृणाका पात्र मानिएका भूत–प्रेत, पिशाच, डंकिनी आदिलाई आफूनिकट राख्ने उनी साँचो अर्थमा सर्वहारा वामपन्थीजस्ता छन् । यस्ता भगवान्लाई त्यत्रो भेटी चढाउने वाम विचारधाराका हाम्रा प्रधानमन्त्रीको निर्णय कुनै व्यंग्यभन्दा कम छ र ?

स्मरणीय छ, शिवरात्रि, तीज आदि पर्वमा एकातिर सर्वसाधारण भक्तजनहरू भोकतिर्खा, घामपानी नभनी लाम लागिरहेका हुन्छन् भने, अर्कातिर निश्चित रकम तिरेका तथा ‘विशिष्ट’ को पास लिएकाहरू सरासर आएर दर्शन गरेर फर्किरहेका हुन्छन् । के यो धार्मिक आस्थामाथिको खेलबाड होइन ? दिनभर कालोबजारी, घूसखोरी, तस्करी गर्नेहरू पनि बिहान–बिहान कलशभरि गाईको दूध लिएर पशुपतिनाथको ढोकामा उभिँदा भट्टहरूले अदबका साथ उक्त दूध शिवलिंगमा अर्पण गरिदिएर उनीहरूलाई सादर चन्दन–फूल थमाइदिएका दृश्यले मन्दिरको ढोकामा पुगेर भगवान्लाई चियाउन पनि नपाई धपाइएका आम भक्तजनको मन चस्किने गर्छ । एकातिर जनसाधारणको धार्मिक आस्थालाई व्यापारीकरण गरिन्छ, अर्कातिर सोही पशुपतिनाथको भेटीघाटी सार्वजनिक गर्दा आम नागरिकलाई लज्जाबोध हुने अवस्था छ । त्यसमाथि अहिले आस्थाकै नाममा राजनीति !

मनमुग्धकारी भाषण मात्र होइन, धाराप्रवाह उखानटुक्कासँगै गाली मिसाउन पनि खप्पिस हाम्रा प्रधानमन्त्री अत्यन्त अध्ययनशील भएको सुन्नमा आए पनि उनले विजय मल्लको बहुचर्चित नाटक ‘बहुला काजीको सपना’ पढेका रहेनछन्, जसमा प्रतीकात्मक पात्र बहुला काजीले काम नगरी कसैको केही नखानू, ईश्वरसित पनि हात फैलाएर केही नमाग्नू, भगवान्लाई कहिल्यै घूस खुवाएर पुकारा नगर्नू भनेका छन् । महाकवि देवकोटाको लोकप्रिय कविता ‘यात्री’ पनि पढ्न भ्याएका रहेनछन् उनले । अन्यथा ईश्वर हरेक प्राणीको हृदयमा हुन्छ, अतः मानिसकै काँध चढेर, मानिसलाई नै भरिया बनाएर पूजा सामग्री बोकाएर देवालय धाउनुभन्दा पीडितहरूको घाउमा मलम लगाएर मानवरूपी ईश्वरलाई खुसी पार्नुपर्छ भन्ने यथार्थबाट उनी किन चुक्थे ? मानिसलाई कर्मठ बनाउने र सही अर्थमा धर्मको व्याख्या गर्न उपर्युक्त साहित्यिक प्रसंगहरू प्रेरक छन् । मुलुकको नेतृत्व नै आफ्नो स्वार्थसिद्धिका लागि धर्मको राजनीति गर्दै ईश्वरलाई घूस दिन उद्यत देखिन्छ भने अन्यको मानसिकता कस्तो होला ?

राजसंस्थालाई सामन्तवादको अवशेष मान्दै त्यसलाई हटाएर गणतन्त्र स्थापना गरिसकेपछि पनि जनप्रतिनिधिबाट पदासीन भएका राष्ट्रपति र प्रधानमन्त्रीले उही राजकीय जीवनशैलीलाई निरन्तरता दिँदै आउनु परिवर्तनको उपहास त हुँदै हो, त्यसमा पनि वामपन्थी विचारधाराका उनीहरूको धर्ममोह त झनै अस्वाभाविक देखिन्छ । अर्कातिरबाट हेर्ने हो भने, उनीहरूले विश्वका वामपन्थी विचारकहरूबाट अलग्गिएर नेपाली वामपन्थीको पृथक् पहिचान खोजिरहेझैं लाग्छन् । यस अर्थमा उनीहरूको वैचारिक रूपान्तरणलाई सकारात्मक रूपमा लिनुपर्छ । यसै सन्दर्भमा हाम्रा प्रधानमन्त्री साँच्चिकै आस्तिक भएका हुन् भने पनि उनले धर्मको सही अर्थबोध गर्नैपर्छ । भगवान् भेटी–उपहारको होइन, श्रद्धा, भक्ति र आस्थाका भोका हुन्छन् भन्ने यथार्थलाई मनन गर्नैपर्छ ।

धार्मिक ग्रन्थ–शास्त्रको अध्ययन गरिरहने उनले महाभारत पढ्न बिर्सेछन् या पढेर पनि बुझ पचाएछन्, खै ? पाण्डवहरूका तर्फबाट शान्तिदूत बनेर हस्तिनापुर गएका बेलाा दुर्योधनको राजकीय पाकशालामा बनेका चौरासी व्यञ्जन छोडेर विदुरको घर गई साग र रोटी खाने अनि सुदामाले ल्याएको कनिकाको कोसेली प्रेमले खाने कृष्ण एवं शबरीको जुठो बयर पनि हार्दिकतापूर्वक खाने रामलाई ओलीले बिर्सेकै हुन् त ? ईश्वर सत्य, निष्ठा र सच्चा आस्था चाहन्छन् । इमानदार र सदाचारीको साथ रहन्छन् । यसैमा उनी प्रसन्न हुन्छन्, भेटी वा भाकलले होइन ।

अठार पुराणको सारमा व्यासले भनेझैं परोपकार धर्म हो र अर्कालाई पीडा दिनु पाप हो । यस्तो आदर्श बोकेको हाम्रो सनातन धार्मिक परम्परालाई अपभ्रंसित पार्दै कर्मकाण्डीय व्याख्याताहरूले स्थापित गर्दै आएका अनेक नियम र बन्देजका कारण सो परम्पराप्रति अनास्था बढ्न थाल्यो । हरेक धार्मिक अनुष्ठान र विधिविधानमा आर्थिक व्ययको अनिवार्यता बनाइँदा सर्वसाधारणले आफ्नो संस्कार–संस्कृतिलाई निरन्तरता दिनसमेत हिचकिचाउने अवस्था आएका बेला वाम राजनीतिक वृत्तमा देखिएको धर्मान्धता शोभनीय पक्कै छैन ।

जनयुद्धका बेला मठमन्दिर भत्काउने, धार्मिक गतिविधिमा प्रतिबन्ध लगाउने मात्र नभएर ज्ञानविज्ञान र सभ्यताको स्रोत संस्कृत भाषामाथि निर्मम प्रहार गर्ने उग्र वाम राजनीति सत्तासीन भएपछि लुकीछिपी गरेको भैंसीदानले चर्चामा आएको थियो । यसै गरी अहिले अर्का वामपन्थी नेताले धर्मान्धतालाई नै बढावा दिँदै गरेको स्वर्णदानको उद्घोष एकातिर ईश्वरीय सत्ताप्रतिको उपहास हो भने, अर्कातिर जीवनभर मन्त्र जप गरेको वामपन्थी विचारधारामाथिको विश्वासघात हो । त्यसैले उनले अब आफूलाई एमालेको लेबलबाट अलग्याएर सनातन हिन्दु दर्शनका अनुयायी भएको घोषणा गर्नुपर्छ ।

त्यसपछि ‘ब्रह्म सत्य जगत् मिथ्या’ को आदर्शलाई आत्मसात् गर्दै ईश्वरलाई राष्ट्रको ढुकुटीबाट भेटी चढाउँदै भोट बटुल्ने सपना पनि त्याग्नुपर्छ । राष्ट्रको सम्पत्ति मात्र होइन, भ्रष्टाचारीहरूले थुपारेको कालो धनसमेत जफत गरेर जनताको जीवनस्तर उकास्ने कार्यमा लगाउन सके मात्र उनलाई जनताले पत्याउलान् ।

प्रकाशित : फाल्गुन ७, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्

निरर्थक बौद्धिक विलास

विद्यमान प्रतिकूल परिस्थितिमा तीन महिनामा सर्वसाधारणले रीतपूर्वक बिहे त गर्न सक्दैनन् भने हाम्रोजस्तो गरिब राष्ट्रले आम निर्वाचन गर्ला भनेर कसरी पत्याउने ?
साधना प्रतीक्षा

निरन्तर बढ्दो जाडोले वातावरण जति कठ्यांग्रिँदै छ, राजनीतिक परिस्थितिबारे बहस पनि त्यति नै तात्दै छ । चोक, बजार, चौतारो या चियापसल सबैतिर सुनिने बहसको पक्ष–विपक्ष भने एकै प्रकारको छ– ‘प्रधानमन्त्रीले यस्तो असंवैधानिक निर्णय गर्न हुँदैनथ्यो,’ ‘किन हुँदैनथ्यो ?’

‘नयाँ जनादेशका लागि जनतासमक्ष जानुबाहेक विकल्प नै नभएपछि’, ‘आफ्नो स्वार्थका लागि मुलुक डुबाउन मिल्छ ?’, ‘आर्यघाटको यात्रा गर्ने बेलासम्म पनि कुर्सीकै मोह’, ‘त्यही कुर्सीका लागि लडेका अर्का थरी चाहिँ कहाँको यात्रा गर्ने उमेरका छन् नि ?’, ‘प्रधानमन्त्रीजस्तो व्यक्ति पनि विदेशीको इसारामा नाचेर हुन्छ ?’, ‘उनको कुर्सी हत्याउन लागिपरेकाहरूचाहिँ कसको इसारामा नाचेका नि ?’, ‘अब जे गर्छ, अदालतले गर्छ’, ‘होइन, निर्वाचनका माध्यमबाट जनताले पो गर्छ’ ... । यस्तै बौद्धिक विलासमा रुमलिइरहेको छ हाम्रो बौद्धिक जगत् ।

लज्जाजनक छ, प्रधानमन्त्रीको अदूरदर्शी निर्णयबारे बिहान घाम ताप्दै अनि साँझ आगो ताप्दै भइरहेको बौद्धिक विलास । कहाँ थिए ती बुद्धिजीवीहरू जब लामो समयसम्म एउटै दलका नेताहरू आपसमा हिलो छ्यापाछ्याप गरिरहेका थिए र उनीहरूको ङ्यार्रङुर्रले आम जनतामा प्रजातन्त्रप्रति नै वितृष्णा उत्पन्न हुँदै थियो ? हरेक नेताको कुर्सीमोह र स्वार्थलिप्साका कारण जनता निराश र कुण्ठाग्रस्त भएको फाइदा उठाउँदै एउटा जमातले राजतन्त्रको खाँडो जगाउँदै गर्दा, हताश जनता आफ्ना दुर्दिन सुध्रिहाल्छ कि भन्दै आफैंले श्रीपेच खोसेर लखेटेका राजालाई ‘देश बचाऊ’ को पुकार गरिरहँदा हाम्रो बौद्धिकवर्ग कुन गुफामा ध्यानमग्न थियो ? जनउत्तरदायित्वबाट विचलित हुँदै गरेका आआफ्ना नेताहरूलाई उत्तरदायी बनाउन यो वर्ग किन अग्रसर भएन ? हाम्रा कति बौद्धिक व्यक्तित्वहरू कुनै नेतालाई ‘व्यक्तिगत एवम् दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुहोला’ भन्ने क्षमता राख्छन् ? आफूलाई ‘थिंक ट्यांक’ मान्ने अनि सार्वजनिक जमघटहरूमा स्वतन्त्र विचारक भन्न चाहनेहरूले विगतमा आआफ्ना खेमाका नेता र मन्त्रीहरूलाई कति सचेत गराएका थिए ?

यदि उनीहरूले नेतृत्ववर्गको महत्त्वाकांक्षाका कारण उत्पन्न हुन सक्ने विषम परिस्थितिको आकलन गरी खबरदारी गर्न सकेका भए आज हजारौं नेपालीको बलिदानबाट स्थापित व्यवस्था र संविधान नै खतरामा पर्न सक्ने अवस्था आउने थिएन होला । हाम्रा अधिकांश बौद्धिक व्यक्तित्व आफ्ना विचारसमूहका नेता–मन्त्रीकहाँ दिन होइन, लिन मात्र जाने गर्छन् । बौद्धिक दरिद्रताको झोली थाप्दै आफू र आफ्नाहरूका लागि जागिर, बढुवा, कमाइ हुने ठाउँमा सरुवा, ठेक्कापट्टा, कमिसन आउने निकायमा नियुक्ति आदिकै अलख जगाउने बानी परिसकेको छ उनीहरूलाई ।

भाषणमा शैक्षिक एवम् प्राज्ञिक क्षेत्रमा दलीय भागबन्डा हुनु हुँदैन भनेर नथाक्नेहरू विश्वविद्यालयका कक्षामा विद्यार्थीहरूको राजनीतिक आस्थाको पहिचान खोज्दै सोहीअनुरूप दृष्टि–वक्रदृष्टि राख्नसम्म पछि पर्दैनन् । दलीय स्वार्थका लागि देशका कर्णधार युवा तथा विद्यार्थीहरूलाई विस्फोटक हतियार बनाउने संस्कृति विकसित भइरहँदा पनि कथित बौद्धिकवर्ग मौन किन ?

राजनीतिक भागबन्डामा नेतृत्व तथा पदाधिकारी चयन गर्ने दुष्प्रवृत्तिको विरोध गर्नु सट्टा आफ्नो गच्छेअनुसारको बिलो थाप्नका लागि नेताका दरबारमा फ्रतिदिन सलामी टत्र्याउन जाने बुद्धिजीवीबाट कस्तो बौद्धिक चिन्तनको आशा गर्ने ? दलविशेषको झन्डामुनि सुस्ताउँदै तिनैको महिमा सुसेल्न नचाहने स्वतन्त्र र स्वाभिमानीहरूले सास फेर्ने हावामा सम्म प्रतिबन्ध लगाउन खोज्ने बौद्धिक जगत्ले राष्ट्रिय राजनीतिलाई कस्तो मार्गदर्शन गर्ला ?

विकसित मुलुकहरूमा नेता तथा राजनीतिलाई लगाम लगाउनमा बौद्धिक वर्गको उपस्थिति देखिन्छ । त्यसैले त्यहाँको राजनीतिक नेतृत्व प्राध्यापक लगायतका बुद्धिजीवीहरूसँग सल्लाह लिन जाने गर्छन् । हामीकहाँ चाहिँ सरकार र राजनीतिक दलअनुरूपका प्राज्ञिक मञ्च बन्ने गर्छन् जसका पदाधिकारीहरू स्वतन्त्र रूपमा चुँसम्म गर्न सक्दैनन् । यस्तै बौद्धिक वर्गका कारण पनि आज मुलुकको राजनीति यति विघ्न अस्थिर हुन पुगेको हो । प्रधानमन्त्री तथा राष्ट्रपतिको ‘चुनावी दूरदर्शिता’ पनि सम्भवतः यसैको उपज हो ।

कस्तो हास्यास्पद निर्णय, नयाँ आम निर्वाचनका सम्बन्धमा ! कोरोना महामारीका कारण लामो समयदेखि ठप्प जनजीवन, तहसनहस अर्थव्यवस्था, अन्योलग्रस्त शैक्षिक अवस्था, खानै नपाएर अति विपन्न वर्गले ज्यानै गुमाएका उदाहरणबीच यति अल्पावधिमा निर्वाचन गराउँछु भन्ने प्रधानमन्त्रीको कस्तो आँट ! विद्यमान प्रतिकूल परिस्थितिमा तीन महिनामा सर्वसाधारणले रीतपूर्वक बिहे त गर्न सक्दैनन् भने हाम्रोजस्तो गरिब राष्ट्रले आम निर्वाचन गर्ला भनेर कसरी पत्याउने ?

नेताहरू कस्तो र कसको गुरुमन्त्र सुन्दा रहेछन् कि छलछाम अनि झुटको खेतीबाहेक केही गर्न जान्दैनन् ! नेतृत्वको कुर्सीमा कुन अलौकिक आनन्द हुँदो रहेछ कि एकपटक बसेपछि छोड्नै मन नलाग्ने ! विगतमा त कुर्सीका लागि सरकार र प्रतिपक्ष अनि विभिन्न दलबीच तानातान हुन्थ्यो तर यस पालि त्यसका लागि एउटै दलका नेताहरूबीच फोहोरी खेल देखेर सर्वसाधारणले नाकै छोप्नुपर्‍यो । सरकार तथा सत्तासीन दलको प्राथमिकता यही थियो त ? के यसैका लागि जनताले आफ्नो अमूल्य मत दिएका थिए ? आखिर दलहरूको राजनीति केका लागि ? देश र जनताका लागि त होइन रहेछ । यदि त्यसो हुन्थ्यो भने देश र जनताका अनेक प्राथमिकताप्रति आँखा चिम्लेर उनीहरूलाई घोर नैराश्यमा धकेल्दै यस प्रकारको निर्णय गरिँदैनथ्यो होला ।

अहिले मुलुकको राजनीति तरल मात्र नभएर अत्यन्त धमिलो बनिरहेको छ । धमिलो पानीमा माछा मार्न पल्केका अनेक तत्त्वहरू नेपथ्यबाट दाउ हेरिरहेका छन् । यदि हाम्रो बौद्धिकवर्ग पनि निष्पक्ष भएर परिस्थितिको विश्लेषण गर्न सक्षम भइदिएको भए, सत्ता–राजनीतिलाई निरन्तर खबरदारी गर्न सकेको भए हाम्रो राजनीति यस्तो विषम मोडमा पुग्ने थिएन होला । त्यसैले बेथितिको जिम्मेवारी यो वर्गले पनि लिनुपर्छ । अब हाम्रा बुद्धिजीवीहरू आफू स्वतन्त्र विचारक भएको यथार्थबोध गरेर निरर्थकको बौद्धिक विलासमा भन्दा परिस्थिति सम्हाल्ने उपाय खोज्नपट्टि लाग्नु सही अर्थको बौद्धिकता हुनेछ ।

समयको ऐनामा लागेको धूलो–धब्बा हटाएर आफूलाई राम्ररी नियालेर, आत्मालोचनाले मनमस्तिष्क धोएर बिनाकुनै आग्रह–पूर्वाग्रह, बाटो बिराएको हाम्रो राजनीतिक वृत्तलाई सही दिशाबोध गराउन सक्ने बौद्धिकवर्गको माग वर्तमानले गरिरहेको छ, निरर्थक बौद्धिक विलास होइन ।

प्रकाशित : पुस २८, २०७७ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×