१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाराखम्बाको बार्दलीबाट

राजनीतिले जता डोर्‍याए पनि नेपालले अन्ततः आफ्ना समस्याहरूको निराकरण आफैं गर्ने हो ।
किशोर नेपाल

भारतको राजधानी दिल्ली । आफैंमा अनौठो र रोचक सहर । यो सहरको बाराखम्बा रोडमा सन् १९३४ मा बनेको नेपाली राजदूतावासको बाल्कोनीमा उभिएर नेपाल–भारत सम्बन्धको विगत र वर्तमानको आकलन गर्नु रमाइलो अनुभूति हो ।

बाराखम्बाको बार्दलीबाट

भारतमा नेपाली राजनीति किन ‘डिप्लोमेटिक’ इन्क्लेभमा छैन ? किन यो बाराखम्बा रोडमा एक्लै उभिएको छ ? यसका कारणहरू छन् । नेपाल–भारत सम्बन्ध ‘युनिक’ रहेको मान्यता स्थापित छ । त्यो मान्यता यसै स्थापित भएको पक्कै होइन । केही त अवश्य छ । यो ‘केही’ के हो त ? इतिहासकारहरूले यसको व्याख्या गरेका छैनन् ।

यो ‘केही’ अहिलेको राजनीतिक सन्दर्भ पनि होइन । १९३४ मा नेपाली राजदूतावास भवन खडा हुँदा नेपालमा राजा र राणाको द्वैध शासन थियो । त्यति बेला भारतमा शासन गर्ने अंग्रेजहरूले राजदूतावास भवन बनाउन दिएर नेपाली सार्वभौमसत्ताको सम्मान गरेका थिए ।

दिल्ली सहर ज्ञानको खोजमा सधैं अगाडि रहने गरेको छ । यहाँका बुद्धिजीवी पुरानो दिल्लीको दरियागन्जमा पुराना र शास्त्रीय पुस्तकहरूका पानामा लोकतन्त्र खोजिरहेका भेटिन्छन् भने, नयाँ दिल्लीको खान मार्केटमा समकालीन राजनीतिक ग्रन्थहरूमा रुमलिइरहेका हुन्छन् । पछिल्लो समय खान मार्केटका बाहरी सन्सजस्ता प्रकाशनहरूले हिन्दी साहित्यको पुनर्प्रकाशनलाई महत्त्व दिएका छन् । बजारमा प्रेमचन्द, अज्ञेय, रघुवीर सहाय, आचार्य चतुरसेन, कमलेश्वर, प्रयाग शुक्लाजस्ता लेखकका कृतिहरू अंग्रेजी साहित्यका कृतिहरूको लहरमै भेटिन्छन् । हिन्दी साहित्यमा भारतको नयाँ पुस्ताको आकर्षण बढ्दै छ । भारत सरकारले पनि राष्ट्रभाषाका रूपमा हिन्दीको प्रयोग सक्रिय गराएको छ ।

कोभिड–१९ को डरलाग्दो आक्रमण खेपेपछि दिल्ली अब आफ्नो गति र लयमा फर्किन थालेको छ । कोरोनाको नारा हो— ‘आपस में दूरी बनाये रखें’ । यसले भारतीय राष्ट्रिय एकताको नारालाई गिज्याएको महसुस हुन्छ । किनभने, दिल्ली मेट्रोमा आपसमा ‘दूरी’ बढाउन सम्भवै छैन । हो, मास्कको अनिवार्य प्रयोगको सरकारी आदेशलाई जनताले मानेका छन् । कोरोना भाइरसको भ्याक्सिन अस्तित्वमा आएपछि मानिसहरूमा उन्नति र प्रगतिका आशा जागेका छन् । ‘हामीले कोभिडलाई जित्यौं !’ मानिसहरूका अनुहारमा सन्तोषको भाव देखिन्छ । सहरको ‘सर्वप्रिय यातायात सेवा’ मेट्रो सुचारु भएको छ । अटो र बसहरू सडकमा कुद्न थालेका छन् । मानिसको भीड बढ्दो छ, दिन–प्रतिदिन । दिल्ली सरकारले ‘मास्क’ नलगाउनेलाई जरिवाना गर्ने नीति नलिएको भए सहर कुनै बेला कोभिडले आक्रान्त भएको घटना अहिले कसैले सम्झिने थिएन होला ।

केही वर्षदेखि भारतीय राजनीतिको नीति र गति दुवै बदलिएको छ । भारतमा उदार लोकतन्त्रवादी भन्ने पहिचान बनाएका राजनीतिक दलहरूले सत्तामाथिको वर्चस्व पूरै गुमाएका छन् । कांग्रेस, कम्युनिस्ट र वामपन्थी कित्तामा उभिएका दलहरू शक्तिहीन भएका छन् । पण्डित जवाहरलाल नेहरूले बनाएका देशी–विदेशी नीतिहरूमा आमूल परिवर्तन हुन थालेको छ । दक्षिणपन्थी र हिन्दुवादी भनिने भाजपाले केन्द्रीय सत्ता पूर्णतया आफ्नो नियन्त्रणमा राखेको छ । भाजपाको चिरपरिचित नारा हिन्दुत्व चारैतिर गुन्जिइरहेको छ । राजनीतिक वातावरणमा पूरै परिवर्तन आएको छ । मानिसहरूका आचार–विचार, बानी–ब्यहोरा र बोलचालको शैली पूरै बदलिएका छन् ।

कोभिडको प्रकोप कम भएपछि दिल्लीमा पूर्वप्रशासक, राजदूत, विशेषज्ञ, विचारक र बुद्धिजीवीको जमघट हुने थलो ‘इन्डिया इन्टरनेसनल सेन्टर’ सक्रिय भएको छ । सेन्टर खुलेसँगै राजनीतिक गफको क्रम पनि सुरु भएको छ । अहिले सेन्टरमा चर्चित छ— कांग्रेस नेता राहुल गान्धीले लोकसभामा गरेको एउटा भाषण । त्यसमा उनले भनेका थिए, ‘यो देश चार जनाको नेतृत्वमा चलेको छ ।’ निकै सांकेतिक भाषामा ‘हम दो, हमारे दो’ भनेर राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमीत शाह र दुई जना उद्योगपति–व्यवसायी अडानी र अम्बानीलाई जोडेका थिए । राहुलको यो भाषण लोकप्रिय भयो । भारतका एक ठूला पत्रकारले मलाई सुनाए, ‘राहुल हिसाब गरेर बोल्दैनन्, मनमा लागेको कुरा हाकाहाकी बोल्छन् ।’ राहुलको भाषणको लोकप्रियताको सीमा थियो । भारतका अधिकांश जनता अन्य नेतालाई जे भने पनि नरेन्द्र मोदीको सम्मान गर्छन् । मोदीको व्यक्तित्व भारतमा लोकप्रिय छ । उनले पैसा कमाउँदैनन्, उनी इमानदार छन् र देशको काम राम्रोसँग गर्न उनी समर्थ छन् भन्नेमा राजनीतिमा चासो राख्ने अधिकांश व्यक्ति सहमत छन् ।

यो भयो राजनीतिको एउटा पाटो । यसको अर्को पाटो पनि छ । त्यो पाटो हो सम्बन्धको । नेपाल–भारत सम्बन्ध नेपालका लागि जहिलेसुकै संवेदनशील छ । भारत आफ्नो मतापको गतिमा हिँडिरहेको छ । हामी भावनात्मक संवेगको गहन अवस्थामा छौं । भारत, हात्तीजस्तो, मतापमा हिँडेको नै बेस । हाम्रा लागि संवेग नै राम्रो । हामीले आफ्नो नक्सामा कालापानीको भूगोलमा व्यापक परिवर्तन गरेर संसद्को सर्वाधिक बहुमतमार्फत त्यसको अन्तर्राष्ट्रिय प्रदर्शन गर्‍यौं । त्यसको परिणाम आएको छैन । त्यो एउटा विषम विषय हो । ‘त्यो एउटा विषय थाती राखेर मित्रता निरन्तर राख्ने’ कुरामा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सहमति प्रकट गरिसकेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हालैको भारत भ्रमणमा प्रधानमन्त्री मोदीसँग भेट्ने सुयोग नमिले पनि रक्षामन्त्री राजनाथ सिंहसँगको उनको भेट उत्तिकै महत्त्वको थियो । राजनाथ सिंह भाजपाका वरिष्ठतम नेतामध्येका हुन् । भारतीय संस्थापनमा प्रधानमन्त्री मोदीपछि दोस्रो नम्बरका मन्त्री हुन् उनी । अनौपचारिक हिसाबले उनको हैसियत उपप्रधानमन्त्रीसरहको हो । राजनाथ सिंहसँग ज्ञवालीको त्यो भेटले प्रधानमन्त्री ओलीको राजनीतिक फुर्ती कति बढायो ? भन्न सकिँदैन ।

नेपाल–भारत द्विपक्षीय राजनीतिका ज्ञाताहरू राजनाथ सिंहको वैचारिक प्रतिस्थापनासँग राम्ररी परिचित छन् । उत्तर प्रदेशको मुख्यमन्त्री भैसकेका तथा भाजपाको अध्यक्ष रहिसकेका राजनाथ सिंह नेपाललाई हिन्दु राष्ट्रका रूपमा पुनःस्थापित गर्न चाहन्छन् । भारतमा उनी नेपाली राजाहरूका मित्रशक्ति मानिन्छन् । हिन्दु राष्ट्र नेपालको संरक्षकका रूपमा राजनाथ सिंह राजाको उपस्थिति चाहन्छन् । यो कुरा उदांगो छ । हिन्दु नेता राजनाथ सिंहले नेपालको वर्तमान राजनीतिक, सामाजिक र सांस्कृतिक परिस्थितिको आकलन कसरी गरेका छन् ?

यो नेपालमा परिवर्तनको स्थायित्व चाहने सबैका लागि तातो प्रश्न हो । राजनाथ सिंहको विचारले अहिलेको भारतीय संस्थापनलाई कति प्रभावित गर्छ ? यो कुनै प्रश्न होइन । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जसरी समकालीन भारतीय हिन्दु राजनीतिमा अग्रगामी देखिएका छन्, त्यसले पनि धेरै कुरा बताउँछ । योगी आदित्यनाथसँग नेपालका कांग्रेस र कम्युनिस्ट पार्टीका राजनीतिक नेताहरूको बाक्लो राजनीतिक भेटघाट भइराखेको हुन्छ । यसले पनि वर्तमान राजनीतिको धेरैथोरै दिग्दर्शन गर्न सक्छ ।

मित्रताको खिचडीमा जति ढुंगा भेटिए पनि भारत नेपालप्रति असंवेदनशील भने छैन । असंवेदनशील हुँदो हो त उसले नेपाली जनताका लागि कोभिड भ्याक्सिन १० लाख डोज पठाउने नै थिएन । आफ्नै देशमा करोडौंकरोड भ्याक्सिन उपभोक्ताको भीड हुँदाहुँदै छिमेकमा भ्याक्सिन पठाउनु र बारम्बार पठाउने वचनबद्धता प्रकट गर्नु मित्रता र मानवीय, दुवै हिसाबले राम्रो कर्म हो । भारतले अझै अर्को ५ लाख डोज भ्याक्सिन पठाउने निर्णय उच्च तहमा भैसकेको छ । यसैका भरमा नेपाल सरकारले आफूले कोभिड प्रतिरोधक खोप ल्याइसकेको विज्ञापन फुक्न पाएको छ । नेपाली जनताका लागि भारत सरकारको उपहार कसरी नेपाल सरकारको उपलब्धि बन्यो ? कुरा अलिकति विचारणीय नै छ ।

जे भए पनि, दुवै देश अहिले नै कालापानीको चुच्चे नक्साजस्ता विषम विषयको समाधान खोज्ने पक्षमा देखिएका छैनन् । यस्तो विषम विषयको समाधान खोज्ने आँट वर्तमान नेपाली राजनीतिक खेलाडीहरूसँग छैन । यी विषयहरूमा भारतका आफ्नै आन्तरिक अलमल छन् । नेपालका प्रधानमन्त्री ओली सर्वोच्च अदालतमा परेको संसद् विघटनको मुद्दा जितेर वैशाख १७ र २७ गते चुनाव गराउने ढिपी कसिरहेका छन् । सर्वोच्चले मुद्दा जिताएन भने प्रधानमन्त्री ओलीले के गर्लान् ? यो कसैले भन्न सक्ने अवस्था छैन । नेपालमा संसद्को पुनःस्थापनाले भारत प्रभावित हुँदैन भन्छन् यताका नीतिविज्ञ । संसद् विघटन, पुनःस्थापना, चुनावजस्ता विषयमा भारतको दृष्टिकोण जे भए पनि यी नेपालका आन्तरिक मामिला हुन् । यस्ता राजनीतिक मामिलाको ‘माइक्रो–म्यानेजमेन्ट’ भनेको अतिशयोक्ति हो । राजनीतिले जता डोर्‍याए पनि नेपालले अन्ततः आफ्ना समस्याहरूको निराकरण आफैं गर्ने हो । यसमा भारतका बुद्धिजीवी सहमत छन् । ‘अहिले नै बोल्ने बेला भएको छैन, बेला भएपछि बोल्नु राम्रो हुन्छ,’ विश्लेषकहरूको भनाइ यस्तै छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?