हूलमूलमा निष्ठा बचाऔं

आज जोसँग शब्द छ, तिनीहरूसँग सत्य छैन; जोसँग अनुभवजन्य सत्य छ, शब्दमाथि तिनको अधिकारै छैन । महात्मा गान्धी भन्थे, ‘जुन परिवर्तन तिमी दुनियाँमा देख्न चाहन्छौ, त्यो पहिला आफैंले गरेर देखाऊ ।’
चन्द्रकिशोर

कुरा सुरु गरौं राजनीतिक चिन्तक सीके प्रसाईको एउटा सन्दर्भबाट । उहाँ लेख्नुहुन्छ— एक कर्मठ महापञ्चलाई एकपटक मैले सोधेको थिएँ, ‘तपाईंहरू मन्त्री बन्न किन यति अधिक उत्सुक देखिनुहुन्छ ?’ उहाँले भन्नुभएको थियो, ‘के गर्नु, मन्त्री नबनी कुरै बिक्दो रहेनछ ! माननीयको कुरो मन्त्रालयमा कसैले सुन्दैन । अनि जिल्लाका जनताको सेवा गर्ने कसरी ?’

हूलमूलमा निष्ठा बचाऔं

मैले उहाँलाई भनेको थिएँ, ‘तपाईंको तर्क सही हो भने तपाईं कहिल्यै जनसेवा गर्न सक्नुहुन्न । तपाईंको सायद इच्छा पनि छैन । किनभने मन्त्री भएपछि तपाईं कहिल्यै जनसेवा गर्न सक्नुहुन्न । मन्त्री भएपछि तपाईं भन्न थाल्नुहुनेछ कि प्रधानमन्त्री नभई केही सेवा गर्न सकिन्न । भाग्यवश प्रधानमन्त्री बन्नुभयो भने पुनः बहाना बनाउन थाल्नुहुनेछ ।’ राजनीति जनसेवा हो र जनसेवाको कुनै मूल्य हुँदैन, अनमोल हुन्छ । यदि जनसेवाको मोलै तोक्ने हो भने यो आत्मसन्तोष हो । आफूले गरेको सेवामूलक राजनीतिबाट एकान्त मनमा असीम सन्तोषको अनुभव गर्नु हो । जनसेवा कुनै सेठ–साहूकारको दोकानको म्यानेजरी होइन कि महिनाको अन्त्यमा वेतन पाइयोस् ।

ओलीगमनको सबैभन्दा ठूलो विशेषता कार्यकर्ताहरूलाई सत्तामुखी बनाउनु हो । खड्गप्रसाद शर्मा ओलीले राजनीतिजीवीहरूको मनोविज्ञान बुझेका छन् । उनी आफ्नै दलभित्र वा अन्य दलबाट त्यस्ता कार्यकर्ताहरूलाई आफ्नो समीप ल्याउन सफल देखिएका छन् जो सत्ताको छहारीबिना बाँच्न सकिँदैन भन्ठान्छन् । उनका सभाहरूमा भीड जुटाइएको छ । भीड देखिएको पनि छ । सत्तासीनलाई राजनीतिक इज्जत केही कालका लागि जोगाउन सजिलो पनि छ । अहिले ओलीका सभाहरूमा जुन भीड जुट्ने गरेको छ, त्यसबाट उनमा आँट बढेको छ । उनी अरूलाई हाँक दिन थालेका छन् । प्रधानमन्त्री पदमा नरहेको दिन उनले यस्तो भीड जुटाउन सक्लान् ? ज्ञानेन्द्र शाह सत्तामा रहँदा उनी जहाँ जान्थे, प्रायोजित भीडले उनलाई लठ्याउँथ्यो । जब उनी राजा रहेनन् तैपनि मन्दिरमन्दिर चहार्दै गर्दा एक खालको भीडले पछ्याइरहन्छ । प्रायः शासकहरूले आफ्नो पछाडिको भीडलाई चिन्न सकेका हुँदैनन् । यस्तै भीडलाई देखाएर सत्तासीनहरूले आफू जायज बाटामा रहेको छनक दिइरहन्छन् ।

२०१७ सालको सैनिक कूपछि राजा महेन्द्रले यस्तै भीड प्रदर्शित गरिरहे । आफ्नो कदमप्रति असहमत रहेकाहरूलाई कालान्तरमा उनले नजिक ल्याउने गरे । दबाब, प्रभाव र अभावको भुमरीमा पर्दै कतिपय सचेत कहलिएका राजनीतिकर्मीहरूसमेत उनको ‘जिन्दावाद’ गर्न लाम लागे । भनिन्छ, त्यतिखेर नेपालमा जति मान्छे विपक्षबाट सत्ता पक्षमा गए, त्यसको तुलना त्यतिखेरको विश्वमा सम्भवतः कहीँ हुन सक्दैनथ्यो । शाही कदमको विरोध गर्नेहरूमध्ये कोही जेलमा कोचिए, कोही मारिए, कोही निर्वासित भए । त्यो परिस्थिति वीरेन्द्र र ज्ञानेन्द्रका कालमा समेत दोहोरिइरहे । तर निकै व्यक्ति यस्ता पनि थिए, जो झुकेनन्, थिचिन मानेनन्; पञ्चायतका तीस वर्षसम्म लगातार समाजलाई लोकतन्त्रका पक्षमा झकझकाइरहे । लोकतन्त्रबिनाका अन्धकार रातहरूमा निष्ठाका लौरोको ट्वाकट्वाकले नेपाली जनतालाई लोकतन्त्रका प्रति सचेत गराइरह्यो ।

ज्ञानेन्द्र शाहले स्थानीय निकायको निर्वाचन गराए । मधेसका जिल्लाहरूमा चुनावी सहभागिता बढी देखियो । त्यसको थोरै अन्तरालमा जनआन्दोलनले उचाइ पनि त्यही भूमिमा पायो । अहिले पनि दिनहुँ केही मधेसी अनुहार खड्गप्रसादसमक्ष आशीर्वाद लिन पुगिरहेका हुन्छन् र उनमै मुलुकको भविष्य देख्छन् । मधेसतिर मात्र किन, पहाडतिर पनि खड्गप्रसाद गलेका छैनन् भनी सोच्नेहरूको कमी छैन । चुनावी राजनीतिमा उनी प्रतिस्पर्धीहरूका तुलनामा कमजोर हुँदैनन् भन्ने आकलन पाइन्छ । बरु जुनजुन दल वा नागरिक समाजले उनको विरोध गर्दै छन्, तिनलाई उनले ‘आन्दोलनजीवी’ भनेर थचार्न खोज्दै छन् । पञ्चायतले पनि ‘अराष्ट्रिय तत्त्व’ वा ‘मुठीभर’ का भनेर असहमत पक्षलाई ललकार्ने गर्थ्यो तर यस्ताहरूको नियति इतिहासमा सुरक्षित छ ।

अहिलेका प्रायः शासकहरू असहमत पक्षलाई ‘आन्दोलनजीवी’ भनेर कित्ताकाट गर्ने गर्छन् । छिमेकी भारतमै शासकले इतर पक्षलाई ‘आन्दोलनजीवी’ र ‘परजीवी’ मा वर्गीकरण गरेका छन् । भारतमा एक थिए राममनोहर लोहिया जो विचार र त्यससम्बद्ध आन्दोलनका कारण चिनिन्छन् । उनी त्यहाँको संसद्मा दुईपटक चुनिए, एकपटक मध्यावधि चुनावमा र अर्कोपटक आम चुनावमा । तर दोस्रोपटक उनी सात महिना मात्र संसद्मा बस्न पाए । यहीबीच उनको निधन भयो । केवल सन्ताउन्न वर्षको उमेरमा उनी बीसपटक गिरफ्तार भए । त्यसमध्ये बाह्रपटक स्वतन्त्र भारतमा । स्वतन्त्र भारतमा लोहियाको पहिलो गिरफ्तारी नेपालका निम्ति भएको थियो । लोहिया भुइँमान्छेहरूका लागि अन्यायविरुद्ध र समता तथा समृद्धिका खातिर आन्दोलन गर्न अन्तिम समयसम्म चुकेनन् । लोहियाका लागि आन्दोलनको विचार र कर्म दुइटै यति प्रिय थिए, सदैव त्यसका लागि तत्पर रहन्थे । उनको आयको नियमित स्रोत थिएन, हितैषीहरूले नै उनका लागि आवश्यक बन्दोबस्त गरिदिन्थे । उनको न बैंक ब्यालेन्स थियो न त निजी आर्जन गरिएको जग्गाजमिन नै ।

यता, जिल्लातिरका एक नेताजी मसँग भन्दै थिए, ‘अब त विरोधसभामा सहभागी हुनेहरूबाटै मासु–चिउराको फर्माइस आउँछ । यस्तै तालमा हिँडियो भने आउँदो निर्वाचन नेपाली इतिहासकै सर्वाधिक खर्चिलो हुनेछ ।’ जब कार्यकर्ताहरू सुविधामुखी बन्छन्, त्यही बेला लोकतन्त्र ओरालो लाग्न थाल्छ । पहिला नेता र कार्यकर्ता सँगसँगै लोकतन्त्रका लागि लड्थे; तिनको जीवनशैलीले एउटा नैतिक अनुबन्धको निर्माण गरेको हुन्थ्यो । अहिले त्यस्तो अवस्था रहेन । जनआन्दोलन–२ पश्चात् नेपालले ‘गणतन्त्र, संघीयता र समाजवाद’ लाई आदर्श ठानेको थियो र योसँगै गाँसिएर आएको थियो— प्रत्येक नागरिकको यसप्रतिको निष्ठा । तर जुन खालको संसदीय राजनीति यतिखेर चलाइएको छ, त्यसका कारण कतै न कतै यी आदर्शहरू विस्थापित हुँदै गए । यी शब्दहरू आज पनि संविधान र प्रारूपमा ज्युँदा त छन् तर तिनको प्राणवायु सुक्दै गएको छ । लोकतन्त्रका नाममा राज्यसत्ताको घमन्ड र प्रभुत्व जति सघन ढंगले फैलिएको छ, त्यो देखेर ज्ञानेन्द्र शाह पनि तीनछक पर्दा होलान् ।

हामीले ‘गणतन्त्र, संघीयता र समाजवाद’ लाई तिनको पुरानै मर्यादा र महिमाले मण्डित गर्नुपरेको छ, तर कसरी ? यो नै नेपाली जनतामाझ सार्थक संवादको सुरुआत हुन सक्छ । अहिलेको सिंगो राजनीतिक कोलाहल र नाराहरूका माझ कतै हाम्रो आत्माभित्र गहिरो सन्नाटा छ । आज जोसँग शब्द छ, तिनीहरूसँग सत्य छैन; जोसँग अनुभवजन्य सत्य छ, शब्दमाथि तिनको अधिकारै छैन । एक समयमा हाम्रै माझ केही यस्ता व्यक्तिहरू देखिए जसले यस्तो खाले सन्नाटालाई चिरेका थिए । सत्य नयाँ हुँदैन, शब्दले त्यसलाई नयाँ अनुभवमा बदल्छ । गणेशमान सिंहलाई सम्झौं, राजनीति उहाँका लागि जनतालाई अधिकारसम्पन्न बनाउने र उनीहरूको जीवनस्तर उकास्ने एउटा माध्यम मात्र थियो । यस्ता व्यक्तिहरूले कुन पद लिए/लिएनन्, यो गौण विषय हो । सिद्धान्तप्रति अगाध निष्ठा भएका व्यक्ति पदमा त्यति आकर्षित हुँदैनन्, जति सिद्धान्तलाई कर्ममा रूपान्तरित गर्नमा हुन्छन् ।

महात्मा गान्धी भन्थे, ‘जुन परिवर्तन तिमी दुनियाँमा देख्न चाहन्छौ, त्यो पहिला आफैंले गरेर देखाऊ ।’ नेपालको लोकतान्त्रिक आन्दोलनमा यस्ता पात्रहरूको अभाव थिएन । ती पात्रहरूको सम्मान त गरिन्छ तर त्यो आदरमा न्यानोपन र आत्मीय भाव मलिन हुन थालेको छ । निष्ठाको राजनीतिको सम्मानलाई हामीले औपचारिकताको घेरामा कैद त गरिरहेका छैनौं ? निष्ठाका ती प्रशान्त महासागरलाई एउटा ढुंगाको मूर्तिमा खुम्च्याई अक्षता मात्र चढाएर पन्छिने बहाना त खोजिरहेका छैनौं ? बीपी होऊन् वा पुष्पलाल, महेन्द्रनारायण निधि होऊन् वा मदन भण्डारी, रामजनम तिवारी होऊन् वा रामवृक्ष यादव, हामी सबैका नाम त जप्छौं तर तिनले जोगाइदिएको निष्ठाको बीउलाई आफैंभित्र उमार्नचाहिँ चाहँदैनौं । निष्ठाविहीन आन्दोलनले शासन पद्धति त बदल्न सक्ला तर अनुकरणीय थिति बसाउन सक्दैन । असली परिवर्तन हुन सक्दैन । प्रत्येक नागरिकको बोल र लोकतन्त्रप्रतिको कबोल एक हुनुपर्छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?