हे राम !

आफू र आफ्नो भविष्यलाई या त अनुचरको अथवा प्रभुको शरणमा छाडेर गरिने राजनीति कहिल्यै शिखरमा पुग्दैन । त्यो त मात्र भीरको यात्रा हुन जान्छ ।
भोका मान्छेहरूको सपनामाथि ठडिएको अग्लो टावरले राजनीतिको सफलता नापिँदैन नेताज्यू । गरिबको आँसु नपुछी मन्दिरमा राखिने सुनको जलहरीले राजनीतिको औचित्य पुष्टि हुँदैन । तपाईं मठाधीश बन्नुहुन्छ कि नेता ? प्रश्न यो हो ।
केशव दाहाल

काठमाडौँ — जान्नेहरू शंका गर्छन्— ओली दक्षिणपन्थका युवराज हुन् । पश्चगमनका नयाँ सारथि । उनी स्वयंले निर्माण गरेका तथ्यहरूले भन्छन्, सत्तासनका लागि उनी सबै थोक गर्न तयार छन् । कसरी ? त्यसरी नै जसरी उनले विगतमा आफैंले भोगेका जेल, नेल र यातनाहरूको हुर्मत काडे । त्यसरी नै जसरी उनले मार्क्सवादका पोथीहरू च्यातेर आफ्नै आस्थाको तेजोवध गरे ।

हे राम !

उसरी नै जसरी उनले शनैःशनैः ओम्नी र यतीसँग साँठगाँठ गरेर आफ्नो वर्गको इज्जत फाले । उनले लोकतान्त्रिक आन्दोलनको गरिमा त सिद्ध्याएकै थिए, आफ्नै इतिहासका ओजपूर्ण पाइलाहरूमा समेत कालो पोते । ओली तिनै हुन् जसले ज्ञानको हुर्मत काडे । विज्ञानको हुर्मत काडे । र, अहिले उनी राजनीतिक पतनको त्यो डिलमा उभिएका छन् जसको बायाँतिर छ अस्थिरता र दायाँतिर छ पश्चगमनको अन्धकार ।

प्रश्न स्वाभाविक हुन्छ— हिजो आफैंले खनेको परिवर्तनको गोरेटो पुरेर ओली के गर्दै छन् ? घरमा आगो झोसेर खरानी बेच्न हिँडेका प्रधानमन्त्री महोदयको राजनीतिक सौदाबाजीको थलो कता होला ? ओली जति तीव्र बोल्छन्, उति हताश देखिन्छन् । ओली जति व्यंग्य गर्छन्, त्यति निरीह देखिन्छन् । आफूभित्र हुर्कंदो सत्ताको ज्वालाले पोलेर छटपटाएका ओली जति हाँस्न खोज्छन्, त्यति रुन्चे देखिन्छन् । मान्छेहरू सोध्छन्— ओली अब कता जालान् ? संकटमा मान्छे त्यतै जान्छ, जता प्रभु बस्छन् । निश्चित छ, ओली संकटमा छन् र उनको सहारा छ— प्रभुको शरण । प्रभु एक विम्ब हो । त्यो कुनै, कतै विराजमान समकक्षी पनि हुन सक्छ या त हुन सक्छ अलौकिक परमेश्वर । जब कुनै नेतालाई जनताको काखभन्दा प्रभुको आशीर्वाद प्यारो लाग्छ, बुझे हुन्छ— उसको दुर्भाग्य सुरु भयो । ओली दुर्भाग्यको महाखाडलमा नपरून्, त्यसैले सल्लाह छ— महोदय राजनीतिको धर्म विचार गर्नुहोस्, धर्मको राजनीति त्याग्नुहोस् । अन्यथा, तपाईंको पतन यो युगकै सर्वाधिक निकृष्ट परिघटनाका रूपमा इतिहासमा अंकित हुनेछ ।

राजनीतिको धर्म

राजनीतिको धर्म के हो ? यो कुनै शास्त्रीय वा अलौकिक प्रश्न हैन । यो एक लौकिक प्रश्न हो, जसका अनेक उत्तर हुन सक्छन् । यद्यपि यति भने प्रस्ट छ— ओली जे गर्दै छन्, त्यो राजनीतिको धर्म हैन । शासकहरूलाई लाग्न सक्छ, राजनीतिको धर्म शासन हो । सत्ताको रजगज हो । छलकपट हो । तथ्यहरूमाथिको जालसाजी हो । भ्रम हो । जनता निरीह प्राणी हुन् र राजनीति तिनीहरूमाथिको नियन्त्रण हो । सत्ताधारीहरू सोच्छन्, ‘आफूले बनाएका सत्ताका सीमाहरूलाई सुरक्षित गर्नु राजनीतिको धर्म हो । देश, जनता, लोकतन्त्र र सुशासन सब मिथ्या कुरा हुन् । सत्य हो दरबार, सिंहासन र श्रीपेच ।’

दुःखको कुरा, लोकतान्त्रिक आन्दोलनबाट उठेका शासकहरूले समेत जब राजनीतिको धर्म सत्ता हो भन्ने निष्कर्ष निकाल्छन् तब पन्पिन्छ सर्वसत्तावाद । परिणाम, संविधानको अर्थ हराउँछ । संरचनाहरूको अर्थ हराउँछ । अदालतको अर्थ हराउँछ । पार्टीको अर्थ हराउँछ । कार्यकर्ताको अर्थ हराउँछ । र, अन्ततः राजनीति भ्रमनीति बन्न पुग्छ । आखिर प्रतिगमन भनेको यही हो । यो अर्थमा ओलीले जे गरे त्यो संविधानमाथिको आघात त हो नै, सम्पूर्ण राजनीतिमाथिकै प्रतिगमन हो ।

धर्म भनेको स्वर्ग नर्कको तिलस्मी कथा मात्र होइन । यो हरेकका भागमा परेको भूमिका हो । जस्तो, जीवनको धर्म सृजना हो । प्रकृतिको धर्म सृष्टि हो । पानीको धर्म पवित्रता हो । चन्द्रमाको धर्म ज्योत्स्ना हो । सूर्यको धर्म प्रकाश हो । यी सबैका आ–आफ्नै धर्म छन् र चराचर गतिशील छ । बृहत्तर अर्थमा जीवन र जगत्को यही गतिशीलतालाई मानवोचित, सुसंस्कृत र न्यायपूर्ण बनाउने धर्म हो— राजनीति । त्यसैले राजनीति अग्रगामी हुन्छ । त्यसैले राजनीति गतिशील हुन्छ । तर जब राजनीति स्वयंले समाजको गतिलाई अवरुद्ध गर्छ, तब के हुन्छ ? जब अगाडि जानुपर्ने राजनीतिले उल्टो बाटो समाउँछ, तब प्रतिगमन हुन्छ । यो अर्थमा ओली महोदयलाई भन्नैपर्छ, ‘नेताज्यू, प्रतिगमन राजनीतिको धर्म होइन । तपाईं उल्टो हिँड्दै हुनुहुन्छ ।’

राजनीतिको धर्म केमा निहित हुन्छ ? सिद्धान्तमा । विचारमा । कार्यक्रममा । मुद्दाहरूमा । इमानमा । परिणाममा । राजनीतिमा धर्म सकियो भने सिद्धान्तले काम गर्न छोड्छ । विचार हराउँदै जान्छ । मुद्दाहरू बर्गेलिन्छन् । व्यवस्थाले परिणाम दिँदैन । नेताहरू चण्डाल बन्छन् । कार्यकर्ताको चेतना हराउँछ । जिउँदा मान्छेहरू सकिन्छन् । आलोचनाहरू सकिन्छन् । प्रश्नहरू सकिन्छन् । जवाफदेही सकिन्छ । ओली महोदयको राजमा अहिले भएको त्यही हैन ? राजनीतिको धर्म हो— सत्तालाई जनतामा समर्पित गर्नु । लोकतन्त्रको धर्म हो— सत्तालाई सदैव जनताको नियन्त्रणमा राख्नु । विचार गरौं, के चालु राजनीतिसँग हाम्रा सपनाहरूलाई बोक्ने सामर्थ्य र गति छ ? गतिबिनाको राजनीति फगत एक भ्रम हो ।

धर्मको राजनीति

जब धर्मको राजनीति सुरु हुन्छ, तब राजनीतिको धर्म सकिन्छ । त्यसैले नै हुनुपर्छ, ऊ बेला कमरेड मार्क्सले भनेथे— धर्म अफिम हो । गुरु मार्क्सको सिको गर्दै कुनै बेला स्वयं ओली भन्ने गर्थे— धर्म अफिम हो । त्यसैको परिणाम हुनुपर्छ, राजकीय शपथग्रहणमा नेपाली कम्युनिस्टहरू ईश्वरको नाम लिन हच्किन्थे । उनीहरू जनताका नाममा शपथ खान्थे र ईश्वरको आलोचना गर्थे । तर जब राजनीतिको धर्म स्खलित हुँदै गयो र कमरेडहरूले तीर्थाटन थाले, तब धर्मको राजनीति सुरु भयो । त्यसपछि के भयो ? सुरु भयो, ठोरीमा अयोध्याधाम र बालुवाटारमा राम नाम । सुरु भयो, पशुपतिमा सुनको जलहरी र पापमोचन यज्ञको तामझाम । निश्चय नै, व्यक्तिको धार्मिक आस्थाप्रति सम्मान छ तर राज्यको धार्मिक पक्षधरताले हामीलाई कता पुर्‍याउला ?

व्यक्तिको धार्मिक आस्थालाई भड्काएर आफ्नो स्वार्थ सिद्ध गर्ने राजनीति हो— धर्मको राजनीति । यसले मान्छेलाई अन्धविश्वासी मात्र बनाउँदैन, अर्काप्रति पूर्वाग्रही र असहिष्णु पनि बनाउँछ । आलोचनात्मक चिन्तन गर्ने स्वाभाविक मानवीय गुणको बदला जब मान्छे आफ्नो अन्धविश्वासको पन्थमा उभिन्छ, त्यसपछि सुरु हुन्छ भ्रमको रजगज । त्यसपछि मान्छेको प्राकृतिक स्वतन्त्रता हराउँछ । ऊ बन्छ धर्मको भ्यागुतो । शासकहरूलाई त यो सब आनन्दको खेल होला तर यसले समाजलाई द्वन्द्व र दुर्भाग्यको भुमरीमा हाल्छ । त्यही दुर्भाग्यको सौदाबाजी हो— धर्मको राजनीति ।

यहीँनेर केही प्रश्न गरौं । जस्तो, यो युगको मुख्य चासो के हो ? न्याय र समृद्धि कि धर्म ? के नेकपा (ओली) लाई लोकतन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको राजनीतिले पुगेन ? के कुनै जिम्मेवार राजनीतिक दलले सस्तो लोकप्रियताका लागि मुलुकको धार्मिक संवेदनामा खेल्न मिल्छ ? अन्यथा कम्युनिस्टहरूले मार्क्सवादमा भन्दा धेरै राममा विश्वास गरे के होला ? अन्यथा प्रजातन्त्रवादीहरूले जनतामा भन्दा धेरै राममा भर पर्नुको अर्थ के हुन्छ ? यी प्रश्न पनि हुन् र आशंका पनि । आशा गरौं, मान्छेका शंकाहरू फगत शंकामै सीमित होऊन् । ओली र अनेक ओलीहरू स्वयंले विश्वास दिलाऊन्— उनीहरू धर्मको राजनीतिमा किमार्थ जानेछैनन् ।

जनताका कुरा

मानौं यत्रतत्र ठूलठूला मन्दिर (चर्च/मस्जिद), मन्दिरमा असंख्य तोरण, सुनका प्रतिमा र प्रत्येक साँझ आरती गायन — निश्चय नै यो केही मान्छेको छनोट होला । सहरमा अग्ला टावर, टावरको शिखरमा महँगा रेस्टुरेन्ट र त्यसमा विदेशी मेन्यु — निश्चय नै यो अर्का खाले मान्छेहरूको छनोट हुन सक्छ । तर, राजनीतिको छनोट के हुनुपर्छ ? नेताहरूको छनोट के हुनुपर्छ ? भोका मान्छेहरूको सपनामाथि ठडिएको अग्लो टावरले राजनीतिको सफलता नापिँदैन नेताज्यू । गरिबको आँसु नपुछी मन्दिरमा राखिने सुनको जलहरीले राजनीतिको औचित्य पुष्टि हुँदैन । तपाईं मठाधीश बन्नुहुन्छ कि नेता ? प्रश्न यो हो । राजनीतिले मान्छेका बारेमा कम र भगवान्का बारेमा धेरै सोच्न थाल्यो भने त्यो राजनीति राजनीति रहँदैन, पन्थ बन्छ । नेताज्यू विचार गर्नुहोला, तपाईं कसको राजनीति गर्नुहुन्छ ? रामको कि जनताको ? यो यस्तो प्रश्न हो जसले तपाईंको इतिहास निर्धारण गर्नेछ ।

राजनीतिले मान्छेलाई आफ्नै खुट्टामा उभिन सिकाउनुपर्छ । ईश्वर, अल्लाह र प्रभुको हैन । नेता स्वयं पनि आफ्नै शक्तिमा उभिनुपर्छ । अर्थात्, जनताको शक्तिमा । आफू र आफ्नो भविष्यलाई या त अनुचरको अथवा प्रभुको शरणमा छाडेर गरिने राजनीति कहिल्यै शिखरमा पुग्दैन । त्यो त मात्र भीरको यात्रा हुन जान्छ । नेपाली जनजीवनमा एउटा उखान छ— भीर खोज्नेहरूलाई रामराम भन्न सकिन्छ, काँध हाल्न सकिँदैन । सत्ता सधैं कसैको हुँदैन नेताज्यू । न त ‘सेटिङ’ मा हुने सफलताले इतिहास बनाउँछ । तपाईं के चाहनुहुन्छ ? राम कि प्रभुराम ? आजै विचार गर्नुहोला । अन्यथा इतिहासले बारबार एउटै प्रश्न सोधिरहँदैन ।

[email protected]

प्रकाशित : फाल्गुन ३, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?