चिउरा–भुजा, मटर छोला

तयारी खाजाप्रति बढ्दो परनिर्भरता र आकर्षणले अन्ततः हाम्रो परम्परागत खाजा र मौलिक खानालाई विस्थापित गर्दै छ ।
मधु राई

मैले परम्परागत खाजाको प्रवर्द्धनका लागि अघोषित अभियान सञ्चालन गरेको दुई दशकभन्दा बढी भयो । सञ्चारमाध्यममा लेखेर, अभिभावक र विद्यार्थीलाई अभिमुखीकरण गरेर यस अभियानलाई निरन्तरता दिइरहेकी छु ।

चिउरा–भुजा, मटर छोला

मैले आफ्ना विद्यार्थीलाई आलुदम, चिउरा–भुजा, मटर छोला, खिचडी, कोदोको सेल, खीर, परौठा, हलुवा रोटीजस्ता परम्परागत खाजा खुवाउन थालेको पनि निकै भयो । तयारी खाजालाई विस्थापित गर्न साताका पाँच दिन परम्परागत परिकारको मेनुसहित खाजा खुवाउन थालेपछि अभिभावक र विद्यार्थीहरूमा यसको सकारात्मक प्रभाव पर्न थालेको छ ।

साताको एक–दुईपटक साना विद्यार्थीहरू र अभिभावकलाई भेला पारेर तयारी खाजाको दुष्प्रभाव र परम्परागत खाजाको फाइदाबारे हामी शिक्षकले बताउने गरेका छौं । यसरी औपचारिक र अनौपचारिक तरिकाले परम्परागत खाजाको महत्त्वबारे जति नै भने पनि अधिकांश अभिभावक अझै यसको आवश्यकताबारे अनभिज्ञ छन् । साथै यसको सेवनले पार्ने सकारात्मक प्रभाव थाहा नहुँदा छोराछोरीलाई तयारी खाजा खुवाउनमै बढी जोड दिन्छन् । यसले तयारी खाजाको बजार फस्टाएको छ ।

परम्परागत खाजा खाएर हुर्केका बुबा र हजुरबुबा पुस्ता अचेल सहरबासी भएपछि आधुनिक जीवनशैलीमा रमाएका छन् । र, उनीहरू आफ्ना छोरा–नाति पुस्ताको स्वास्थ्यबारे त्यति चिन्तित र सचेत देखिँदैनन् । हुने–खानेदेखि हुँदा–खानेसम्मका प्रायः अभिभावकको प्राथमिकतामा बालबालिकाको स्वास्थ्य पर्दैन र ‘जे खाए पनि पेटै भर्ने त हो’ भन्ने मानसिकता व्याप्त छ । हुने–खाने अभिभावकहरूसँग पैसा हुँदाहुँदै पनि स्वास्थ्य चेतना नभएका कारण छोराछोरीमा तयारी खाजाको बानी पारिदिएका छन् । हुँदा–खाने अभिभावकहरू भने सस्तो र सुलभताका कारण छोराछोरीलाई बजारका खाजा खुवाउन बाध्य छन् ।

त्यसो त सहरबजारको मात्र के कुरा गर्नु, गाउँगाउँमा पनि तयारी खाजाको लोकप्रियता बढेको बढ्यै छ । यसो हुनुमा सञ्चारमाध्यमहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । पछिल्लो समय तयारी खाजाको बजारीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले सञ्चारका सबै माध्यमलाई प्रयोग गरिरहेका छन् । यसले सबै वर्ग, समुदाय र जातजातिलाई प्रभावित पारिरहेको छ । विशेष गरी टेलिभिजनमा आउने तयारी खाजाको विज्ञापनले ससाना कलिला मस्तिष्कमा नकारात्मक प्रभाव पारिरहेको देखिन्छ ।

कतिपय बालबालिकालाई बिहानैदेखि चाउचाउ, बिस्कुट, मिठाई, भुजिया र चोकोफन नभई हुँदैन । हुने–खाने अभिभावकहरूले चामल–दालजस्तै यस्ता तयारी खाजा महिनाभरिका लागि किनेरै राखिदिने गरेका छन् । यस्ता घरका बालबालिका हुर्किसकेपछि पनि बिहान–बेलुकी दाल–भात–तरकारी खान मन पराउँदैनन् । तयारी खाजाले परम्परागत खाजालाई विस्थापित गर्न थालेको सामान्यजस्तै लाग्न थाले पनि पछिल्लो समय यसले दाल–भातलाई समेत विस्थापित गर्न थालेको छ । तयारी खाजाप्रति बढ्दो परनिर्भरता र आकर्षणले अन्ततः हाम्रो परम्परागत खाजा र मौलिक खानालाई विस्थापित गर्दै छ ।

प्रत्येक घरमा अचेल परम्परागत खानाको चलन कमजोर भइरहेको छ । यसो हुनुमा आधुनिक जीवनशैली र परम्परागत खाजाप्रतिको अनभिज्ञता मुख्य कारण हो । तयारी खाजाप्रति आकर्षण बढ्नुमा उपभोक्ता मात्र दोषी छैनन्, यसमा सरकार र सञ्चारजगत् पनि उत्तिकै दोषी छन् । सरकार र सञ्चारमाध्यमहरूले तयारी खाजाले स्वास्थ्यमा पार्ने नकारात्मक र दूरगामी प्रभावबारे उपभोक्तालाई सचेत गराउनुपर्ने हो तर व्यवहारमा त्यस्तो देखिँदैन ।

सञ्चारमाध्यमहरूको आम्दानीको मुख्य स्रोत तयारी खाजाको विज्ञापन भएकाले सामाजिक उत्तरदायित्वबाट पन्छिएको देखिन्छ । सरकारको फितलो अनुगमनले पनि तयारी खाजाको बजार दिनानुदिन फस्टाइरहेको छ । यद्यपि रेडियो नेपालबाट कहिलेकाहीँ तयारी खाजाको दुष्प्रभाव र परम्परागत खाजाको गुणगान मिसिएको गीत प्रसारण हुने गरेको छ, जुन सकारात्मक छ । यसबारे अभिभावक र विद्यार्थीहरूलाई सचेत बनाउन विद्यालयहरूले त्यति मिहिनेत गरेजस्तो देखिन्न ।

केही समययता कतिपय विद्यालयले स्वास्थ्यकर्मीहरूलाई बोलाएर स्वास्थ्य सचेतनालगायत तयारी खाजाले पार्ने दुष्प्रभावबारे अभिभावक र विद्यार्थीहरूलाई अभिमुखीकरण गर्न थालेका छन् । तर, त्यसको प्रभाव कस्तो परिरहेको छ भन्ने थाहा पाउन सकिएको छैन । औंलामा गन्न सकिने स्वास्थ्यकर्मीहरूले यसबारे लेखरचना र पुस्तकसमेत प्रकाशित गर्दै आएका छन् । स्वास्थ्य अभियन्ता अरुणा उप्रेतीले तीन दशकदेखि परम्परागत खाजाको पैरवी र तयारी खाजाको दुष्प्रभावबारे कलम मात्रै चलाइरहनुभएको छैन, यही विषयमा देशका विभिन्न स्थानका विद्यालयमा पुगी अभिभावक र विद्यार्थीलाई साथमै राखेर कक्षा पनि लिइरहनुभएको छ ।

विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले यसको महत्त्वबारे कक्षा लिएर मात्र पनि समस्याको समाधान हुन्न । परम्परागत खाजाको प्रवर्द्धन गर्न विद्यालयले योजना बनाउन पनि जरुरी छ । त्यसो त, सरकारले पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयजस्ता आफूमातहतका निकायमार्फत परम्परागत खाना र खाजाको प्रवर्द्धन गर्न बेलाबेला खाद्य प्रदर्शनीजस्ता कार्यक्रम गर्दर् ैआएको छ । यस्ता कार्यक्रमबाट जातिविशेषको परम्परागत खानालाई प्रवर्द्धन गर्न धेरथोर मद्दत पुगेको पनि छ, तर परम्परागत खाजाप्रतिको आकर्षणमा वृद्धि हुन सकेको छैन । ‘बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने लोकोक्ति परम्पारगत खानाको सन्दर्भमा मेल खान्छ । यसको महत्त्व र फाइदाका बारे प्रचारप्रसार गर्ने माध्यमहरू कमजोर छन् । भइरहेका प्रचारप्रसार पनि व्यापक रूपमा हुन सकेको छैन ।

उपभोक्तालाई तयारी खाजाले पार्ने दुष्प्रभावबारे जानकारी दिएर मात्र हुँदैन, यसको विकल्पमा खुवाउन सकिने परम्परागत खाजाका बारेमा पनि चर्चा हुनु जरुरी छ । तयारी खाजा विस्थापित गर्न जनस्तरमा केकस्ता परम्परागत खाजा खुवाउने भन्नेबारे छलफल हुन सके यसप्रतिको आकर्षण बढ्ने निश्चित छ ।

सचेतना फैलाउन रेडियो नेपालले मात्रै गीत बजाएर पुग्दैन, निजी सञ्चारमाध्यमहरूले पनि ‘होस्टेमा हैँसे’ गर्न जरुरी छ । र, तयारी खाजा किन नखाने अनि परम्परागत खाजा किन खाने भन्नेबारे उदाहरणसहित बहस गर्ने खालका कार्यक्रमको उत्पादन र सञ्चालन आवश्यक छ । सञ्चारजगत्ले जस्तै तीनै तहका सरकारले पनि विशेष रणनीतिक योजना बनाई तयारी खाजाले पार्ने दुष्प्रभावबारे जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

प्रकाशित : फाल्गुन २, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?