१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विभेदविरुद्ध लड्न पढाइ

पितृसत्तात्मक सोचले महिलाको परिचयलाई ओझेलमा पारेको छ । यो सोचको विरोध गर्दै महिलाहरूले आफूलाई एक मानवको रूपमा समाजमा उभ्याउन निकै लामो संघर्ष गर्नुपर्ने देखिन्छ ।
सुशीला शर्मा

आमा र बाको दैनिकी फरक हुन्छ, भलै आजकल बाआमा दुवैले उस्तैउस्तै काम गरेर एकअर्काको दुःख–सुख बाँड्न थालेका छन् । छोराछोरीले पनि आमाबाबुलाई माया र सम्मान गर्छन् । साथीहरूमाझ आमाबुबाको पेसाबारे कुरा चल्दा बाबुले के–काम गर्नुहुन्छ, सहजै भन्न सक्छन् । तर, आमाको भूमिकामा भने मौन बस्नु परिरहेको छ । आमाको पेसागत परिचय अझै बाहिर भन्न सकिएको छैन ।

विभेदविरुद्ध लड्न पढाइ

मेरी आमा पढे–लेखेकी हुनुहुन्छ, जागिर खानुहुन्छ वा यस्तो सीप छ भनेर बयान गर्न छोराछोरीले अझै अर्को पुस्तासम्मै कुर्नुपर्ने देखिन्छ । हुन त, भर्खर अक्षर सिकिरहेका नानीहरूलाई ‘आमा घरको काम गर्नुहुन्छ’, ‘बुबा अफिस जानुहुन्छ’ भनेर सिकाइन्छ । पाठ्यपुस्तकमै पनि आमाले घरायसी काम गरिरहेको र बुबा कार्यालयमा व्यस्त भएको चित्र हुन्छ । साना नानीहरू पढाउन अधिकांश विद्यालयमा महिला शिक्षिका राखिएका हुन्छन् । तैपनि ‘आमा घरको काम गर्नुहुन्छ’ भनेरै पढाइन्छ ।

महिलाले भान्सामा काम गरिरहेको फोटो सामाजिक सञ्जालमा राखेर हामी दंग परिरहेका छौं । त्यही खाना पकाउने काम होटलमा पुरुषले गर्दा ‘व्यावसायिक कुक’ भनेर सम्मान गरिन्छ । महिलाले जिन्दगीभर भान्सामा काम गर्दा पनि उही सामान्य गृहिणी मात्र मानिन्छ । महिलाले खाना मात्रै पकाउनुपर्छ भन्ने सोच हामीमा छ । खाना बनाउनु सीप हो र महिला भएर जन्मेकै आधारमा उसले भान्सामै जीवन बिताउनु पर्दैन भनी समाजले बुझ्नै सकेको छैन ।

महिलाहरूले विभिन्न सामाजिक कार्यमा सक्रिय उपस्थिति जनाइरहेका छन् । आर्थिक रूपमा स्वतन्त्र महिलाहरू सक्षम भइरहेका छन् । पारिवारिक निर्णयमा आफ्नो उपस्थिति दरिलो बनाउँदै पनि छन् । छोरीहरूलाई देवी मान्नेले बुहारीलाई नोकरको झैं व्यवहार किन गर्छन् भन्नेजस्ता प्रश्न गर्ने भइसके । यो महिला सशक्तीकरणको एउटा रूपभित्र पनि पर्ला । तर पनि सासूले बुहारीलाई हेप्ने, अन्याय गर्ने कुरा संरचनागत रूपमा हस्तान्तरण हुँदै आएको छ र यो विषयमा छलफल भइरहेको छैन । लैंगिक विभेदको अन्त्य घरबाटै हुनुपर्छ भन्ने बहसको सुरुआत गर्न ढिला भइसक्यो ।

राजनीतिमा संरचनागत कायापलटको खाँचो रहेको बहस चलिरहेको छ । अब यो बहसलाई पारिवारिक संरचनासँग पनि जोड्नुपर्छ । महिला र पुरुषको भूमिका बदलिनु आवश्यक छ । सासू, आमा, छोरी र बुहारीको भूमिका निर्वाह गर्दा महिलाबीच देखिएका तनावबारे कमै छलफल हुन्छ । यसैको फाइदा परिवारका पुरुषले उठाइरहेको जस्तो पनि देखिन्छ । महिलाले केही गुनासो गरे ‘यी आइमाईका कुरा हुन्’ भन्दै पन्छिने चलन छ । परिवारभित्र पुरुषले महिलाका सबालमा सहयोगी र सहजकर्ताको भूमिका निर्वाह गनुपर्छ । परिवार र समाज अघि बढ्न महिला–पुरुषको सहयात्रा अवश्यक छ । तर, यो विषय प्राथमिकतामा पर्दैन ।

राजनीतिमा आइपुग्न महिलाहरूले निकै संघर्ष गर्नुपर्छ । भान्सा र घर सम्हाल्दै राजनीतिमा स्थापित हुन सजिलो छैन । तैपनि उनीहरू राजनीतिक गतिविधिमा संलग्न भइरहेकै छन् । राजनीतिमा महिलालाई तेत्तीस प्रतिशत आरक्षणको व्यवस्था छ, तर निर्णायक तहमा उनीहरू निकै कम छन् । केही सीमित महिला राज्यका प्रभावशाली भूमिकामा पुगेका छन् । तर तिनले समाज र महिलाका हितमा काम गर्न सकिरहेका छैनन् । पुरुष नेताहरूबाटै प्रशिक्षित भएकाले महिला राजनीतिकर्मीहरूको बोल्ने भाषा पनि पुरुषप्रधान नै भइरहेको छ । विचारलाई वरिपरिको वातावरणले नै प्रभावित पार्दो रहेछ । महिलाहरूले झन् पुरुष राजनीतिकर्मीबाट भएका गल्ती–कमजोरीहरूबाट पनि सिक्दै त्यसलाई सच्याउने होइन र ? अझ उनीहरूसँग तार्किक बहस गर्नुपर्ने होइन र ?

पितृसत्तात्मक सोचले महिलाको परिचयलाई ओझेलमा पारेको छ । यो सोचको विरोध गर्दै महिलाहरूले आफूलाई एक मानवको रूपमा समाजमा उभ्याउन निकै लामो संघर्ष गर्नुपर्ने देखिन्छ । महिलाले सधैँ अनेक विभेद, कुरीति, दुर्व्यवहार र अवहेलना सहनुपर्छ भन्ने छैन । पुरातन विचार र संरचनाभित्रै बसेर महिलाका स्थिति बदलिँदैन । यसलाई बदल्न विख्यात महिला अधिकारकर्मी कमला भासिनका यी कवितापंक्तिको भाव महत्त्वपूर्ण छ—

मलाई आफ्नो डरसँग लड्नु छ

त्यसैले पढ्नु छ

कैयौं कानुनबारे जान्नु छ

त्यसैले पढ्नु छ

अन्याय, अत्याचारबारे जान्नु छ

त्यसैले पढ्नु छ

अनपढको जमाना होइन यो

त्यसैले पढ्नु छ

म महिला हुँ, त्यसैले पढ्नु छ ।

विभेदविरुद्ध लड्न महिलाले साँच्चै पढ्नु छ । समाज, राजनीति अनि विभेद के हो, जान्नु जरुरी छ अनि आफ्नो हितका लागि आवाज उठाउनु पनि । आफूमाथि अन्याय भइरहेको छ भन्ने बुझ्न पनि पढ्नु छ । र, महिला–महिला, महिला–पुरुष मिलेरै सभ्य समाज निर्माण गर्नु छ ।

प्रकाशित : माघ ३०, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?