कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लगानीमा विविधीकरण

बैंक तथा वित्तीय संस्थाहरू र आर्थिक कारोबार एकअर्काका पर्याय हुन् । वित्तीय क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । सम्पत्ति बढाउन कारोबारको प्रत्यक्ष भूमिका रहन्छ । अर्थले वित्तीय क्षेत्रलाई चलायमान बनाउँछ ।

लगानीमा विविधीकरण

अर्थ नहुँदो हो त, समाजमा लोभी–पापी, चोरी–चकारी, हत्या–हिंसा, मनमुटाव हुँदैनथ्यो होला । मानिसलाई आफ्नो शरीरभन्दा प्यारो लाग्छ पैसा र त्यही कमाउन इमानदारी र नैतिकतालाई तिलाञ्जलि दिन पनि पछि पर्दैनन् । र, सम्पत्ति आर्जनको कुनै सीमा हुँदैन ।

वित्तीय संस्थामा हुने सम्पत्तिको ठूलो हिस्सा कर्जाले आगेट्छ । प्राप्त पैसालाई कसरी र कुन तरिकाले लगानी गर्ने भन्नेमा वित्तीय संस्था स्पष्ट भए मात्र सम्पत्ति बढाउन सकिन्छ । पछिल्लो समय वित्तीय संस्थाहरूले उल्लेख्य प्रगति गरेको तथ्यांकले देखाउँछ । उनीहरूको वासलातको आकार दिनप्रति दिन बढ्दो छ । समग्र वित्तीय संस्थाको सम्पत्तिको रूपमा रहेको कर्जा, २०६८ माघमा ७ खर्ब ३६ अर्ब रुपयाँ थियो । २०७७ पुसमा आइपुग्दा ३६ खर्ब ६२ अर्ब रुपयाँ पुगेको छ । कुनै पनि देशको अर्थतन्त्र सबल हुन वित्तीय क्षेत्र बलियो हुनुपर्छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्सले टेको लाइरहेको छ र यसैका कारण वित्तीय संस्था पनि सबल भएजस्तो देखिन्छ ।

क, ख, ग र घ वर्ग गरी नेपालमा २०७७ पुससम्म जम्मा १४३ वटा वित्तीय संस्था छन् । र, दशैभरि छरिएका यसका शाखा लगभग ५९१५ छ । यी संस्थाहरूले निक्षेपकर्ताको रकम कर्जामा लगानी गर्छन् । निक्षेप र कर्जाको ब्याज अन्तर नै वित्तीय संस्थाहरूको कमाइको मुख्य आधार हो । रेमिट्यान्स बढेसँगै निक्षेपमा पनि वृद्धि हुन्छ र कर्जा लिन सक्ने क्षमतामा पनि बढोत्तरी हुन्छ ।

‘अप्टिकलफोर’ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को अनुसन्धान टोली हो । यो टोलीले आफ्ना सदस्यराष्ट्रहरूको मौद्रिक र वित्तीय नीतिको अध्ययन गरी प्रतिवेदन तयार पार्छ । बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जाको साँवा–ब्याज ऋणीले तोकिएकै समयमा तिर्नुपर्छ । तिर्न नसके ऋणीलाई कालो सूचीमा राख्ने तथा धितो जफत गर्नुपर्ने हुन्छ । यसो हुन नदिन बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई विभिन्न नामका शीर्षक बनाएर थप ऋण दिने, ऋणको पुनःसंरचना र पुनर्तालिकीकरण गर्ने गर्छन् ।

आफ्नो ब्याज आफ्नै पैसाबाट तिर्न दिइने ऋणलाई बैंकिक भाषामा ‘इभरग्रिनिङ’ भनिन्छ । इभरग्रिनिङ गरे कर्जा सधैं असल कर्जाका रूपमा रहिरहन्छ । बहुसंख्यक बैंक तथा वित्तीय संस्थाले यस्तै गर्दै आएकाले समग्र नेपाली वित्तीय क्षेत्रको खराब कर्जा २ प्रतिशतभन्दा कम रहेको आईएमएफको निष्कर्ष छ । यस्तो प्रवृत्ति बढ्दै गए कर्जाको गुणस्तर खस्कन गई भोलिका दिनमा समस्या आउन सक्ने जानकारहरू बताउँछन् । आधार दरभन्दा कम ब्याजदरमा कर्जा लगानी गरी कर्जाको वृद्धि गर्न बैंकहरूले गरेका क्रियाकलापहरूले वित्तीय अनुशासनमाथि नै प्रश्न खडा गरेको छ । यस्ता क्रियाकलापलाई नियामक निकायले हेरिरहने कि नियन्त्रणका प्रत्रिया बढाउने ?

बैंक तथा वित्तीय संस्थाको लगानीमा साना तथा मझौला कर्जाले कुल कर्जाको ठूलो अंश ओगटिरहेको विभिन्न अध्ययनले देखाउँछन् । यस्ता कर्जाहरूको नवीकरण हरेक वर्ष गरिन्छ । वित्तीय संस्थाहरूले यिनै कर्जाहरूमा जोखिम बढिरहेको बताइरहेछन् । कुनै पनि वित्तीय संस्थाले कर्जा नवीकरण गर्दा विभिन्न नामको प्रोडक्ट बनाउँछन् । तर आफ्नो ब्याज आफ्नै पैसाबाट असुल्नुचाहिँ राम्रो अभ्यास होइन । लगानीको सिद्धान्तले ‘सबै अण्डा एउटै टोकरीमा राख्नु हुँदैन’ भन्छ । यदि त्यो टोकरी पल्टियो भने सबै अण्डा फुट्ने डर हुन्छ । एउटा क्षेत्र, समूह, वर्गमा लगानी नगरी आनुपातिक रूपमा धेरै क्षेत्रमा जोखिमको मात्रालाई विश्लेषण गरी लगानीको ‘पोर्टफोलियो’ मिलाउन सक्नुपर्छ ।

अहिले वित्तीय संस्थाहरू कसरी हुन्छ, नाफा आर्जन गर्न मात्र केन्द्रित छन् । सुविधायुक्त ठाउँमा शाखा खोली लाभ लिने प्रवृत्ति बढ्दो छ । एउटाको ग्राहक अर्कोले तान्ने अस्वस्थ होडबाजी चलिरहेको छ । पछिल्लो समय सबै स्थानीय तहमा वित्तीय सेवाको पहुँच पुर्‍याउने उद्देश्य राज्यले लिएको छ ।

यसलाई साकार बनाउन नेपाल राष्ट्र बैंकले गाउँगाउँ पुग्ने वित्तीय संस्थाहरूको विशेष निगरानी गर्नुपर्छ । उनीहरूको सुविधा र व्यवस्थापन पक्षबारे चनाखो हुनुपर्छ । ग्रामीण भेगमा पनि वित्तीय सेवाको विस्तार गर्ने नीतिले त्यहाँका समुदाय लाभान्वित हुनेछन् नै, बचत गर्ने, कर्जाको उचित लगानी गर्नेजस्ता क्रियाकलाप पनि बढ्नेछ । सँगसँगै जोखिम उठाउने तथा लिने प्रवृत्तिको विकास पनि क्रमिक रूपमा हुनेछ । लगानी बढ्न गई उत्पादनमा सकारात्मक प्रभाव पर्नेछ । उत्पादनमा हुने वृद्धिले एकातिर आफूलाई आवश्यक पर्ने वस्तु तथा सेवा किन्न सकिन्छ भने, अर्कोतिर बढी भएको अरूलाई बिक्री गर्न सहज हुन्छ । यसबाट आम्दानी, रोजगारी, वस्तु तथा सेवाको माग बढ्ने र माग बढेसँगै पुनरुत्पादन पनि बढ्छ । त्यस्तै, संकलित बचत पुनर्लगानी हुँदा अर्थतन्त्रको समग्र व्यावसायिक चक्रमा सकारात्मक प्रभाव पर्न गई वित्तीय लगानीमा पनि थप वृद्धि हुने गर्छ ।

यसरी वित्तीय लगानीलाई विविधीकरणको माध्यमबाट सबै क्षेत्र, वर्ग र समूहमा पुर्‍याउन सके सर्वसाधारणबाट संकलित निक्षेपको लगानी सुरक्षित हुन सक्छ । कुनै एक क्षेत्र वा समूहमा समस्या आई घाटा बेहोर्नुपरे पनि अर्कोले पूर्ति गर्छ । सम्भावित क्षेत्रहरू पहिचान गरी उचित प्रक्रियाबाट गरिएको लगानीलाई सुरक्षित पार्न प्रभावकारी अनुगमनमा जोड दिनु जरुरी छ । गुणस्तरयुक्त सेवा प्रदान गर्दै बढीभन्दा बढी मुनाफा आर्जन गर्ने र प्राप्त मुनाफालाई स्थायी बनाउनु वित्तीय संस्थाको मुख्य उद्देश्य भएकाले लगानीमा विविधीकरण अनिवार्य सर्त हो । यसमा ध्यान नदिने वित्तीय संस्थाहरूको भविष्य अनिश्चित हुनेछ । पोर्टफोलियो मिलाएर लगानी गर्ने वित्तीय संस्थाहरूकै कारण अर्थतन्त्रलाई मजबुत हुने गर्छ ।

प्रकाशित : माघ २९, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?