१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फोहोरमा भेटिएको त्यो ‘अत्तर’

रणनीतिशास्त्रीहरू भन्छन्— अबको युद्ध आर्टिफिसियल इन्टेलिजेन्समा आधारित र रिमोट–नियन्त्रित हुनेछ ।
सफल घिमिरे

क्युबाका राष्ट्रपति फिडेल क्यास्त्रोको हत्या गर्न उनको जीवनभर ६३४ प्रयास भएको त्यहाँको जासुसी निकायको दाबी छ । आफूले त्यस्तो प्रयास आठपटक गरेको अमेरिकाले नै स्विकारेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक तथा विपक्षी नेता अलेक्सेई नाभाल्नीलाई गएको वर्ष चियामा विषालु रेडियोधर्मी पदार्थ मिसाएर हत्या गर्ने प्रयास गरियो । उपचारका लागि जर्मनीमा शरण लिएका उनी अघिल्लो महिना घर फर्किंदै गर्दा मस्कोमा विमानस्थलमै पक्राउ परे ।

फोहोरमा भेटिएको त्यो ‘अत्तर’

राजनीतिकर्मी चढेको जहाज वा गाडीलाई नियोजित दुर्घटना गराउनु, तिनको खानामा घातक विष मिसाउनु वा निसानेबाज (स्नाइपर) लगाएर गोली ठोकी मार्नु अन्तर्राष्ट्रिय राजनीतिमा नौलो विषय थिएन । नौलो के भयो भने, विज्ञान र प्रविधिमा आएको फड्कोले राजनीतिक हत्यालाई साह्रै सजिलो बनायो भने तीसम्बन्धी अनुसन्धानलाई उस्तै जटिल ।

राजनीतिक हत्याहरू आममानिसको हत्याभन्दा फरक हुन्छन् । योजनाकारहरू आफ्नो परिचय नखुलोस् भन्ने चाहन्छन् । नयाँ आएका घातक रसायन र स्वचालित प्रविधिले पहिचान र प्रमाण केही नरहने गरी यस्ता कुकृत्य गर्न सम्भव बनाएका छन् । परम्परागत बम वा बन्दुकभन्दा भिन्न अस्त्रको प्रयोग वा तिनै हतियारलाई नवीन प्रविधिले चलाएर राजनीतिक हत्या गर्ने चलन अहिले अकासिएको छ ।

नाभाल्नीलाई जस्तै गरी सन् २००६ मा रुसी पूर्वजासुस अलेक्जेन्डर लित्भिनेन्कोलाई झुक्याएर रेडियोधर्मीयुक्त चिया खुवाइएको थियो । चियाले नै उनलाई बिस्तारै–बिस्तारै मार्‍यो । तीन वर्षअघि बेलायतमा अर्का रुसी पूर्वजासुस सर्गेई स्क्रिपल र उनकी छोरीको पनि हत्या–प्रयास भयो । अपरिचित व्यक्तिहरूले तिनको अनुहारमा नोभिचोक नामक घातक रसायन दलिदिएका थिए । हाम्रो स्नायु प्रणालीले विभिन्न अंगलाई सक्रिय रहन सन्देश पठाइरहन्छ । तर यो रसायन शरीरमा पसेपछि स्नायुको त्यस्तो सन्देश रोकिदिएर अंग–प्रत्यंग ठप्प बनाइदिन्छ । यति सजिलै मानिसको हत्या गर्न सकिने भएपछि गोली र बन्दुकको औचित्य घट्ने नै भयो ।

सन् २०१७ मा मलेसियामा उत्तर कोरियाली तानाशाह किम जङ–अनका सौतेनी भाइ किम जङ–नामलाई त्यस्तै रसायन (भिएक्स नर्भ एजेन्ट) सुँघाइयो । तिनलाई के सुँघाइयो भन्ने त सुँघाउने युवतीहरूलाई समेत थाहा थिएन । प्र्यांक भिडियो बनाउन भनी तीन युवतीलाई १२० डलर दिइएको थियो । मक्ख युवतीहरूले घातक रसायन नचिनी जङ–नामको मुखभरि दलिदिए । त्यसको बीस मिनेटमै उनको मृत्यु भयो । काम फत्ते हुन्छ कि हुन्न भनी वरपर रुँगिरहेका चार उत्तर कोरियाली एजेन्ट उतिखेरै अर्को मुलुक भागे ।

अहिले बजारमा रिमोटले चल्ने नवीन हतियारहरूको बिगबिगी रहेको अमेरिकी सेनाको रिपोर्ट (टेररिस्ट एन्ड इन्सर्जेन्ट टेलिअपरेटेड स्नाइपर राइफल्स एन्ड मेसिन गन्स) ले देखाएको छ । प्रविधि–आधारित हुने हुँदा तिनको निसाना मानव सुटरको भन्दा भरपर्दो मानिन्छ । त्यसमाथि न सुटर मारिने सम्भावना, न त ऊ पक्रिएर हत्याका योजनाकारको पहिचान खुल्ने डर ।

जस्तै, केही हप्ताअघि भएको इरानी परमाणु वैज्ञानिक मोहसिन फखरिजादेको हत्यामा स्याटेलाइट प्रविधिबाट रिमोट कन्ट्रोल प्रयोग गरिएको दाबी छ । यस्तो विधिले अहिले मध्यपूर्वमा धेरै जनाको हत्या भइसकेको छ । प्रविधि यति सूक्ष्म भइसकेको छ, एफबीआईका अनुसार, अहिले कुनै पनि कारको सिस्टम ह्याक गरी त्यसको इन्जिन नै अफ गर्न वा झ्याल खोलेर आक्रमण गरिदिन सकिन्छ । त्यसका लागि लक्षित व्यक्ति चढेको गाडीको दुई मिटर मात्रै नजिक गए पनि पुग्छ । यस्तो आक्रमण वा दुर्घटना कसले गरायो भन्ने भेउ पाउनै मुस्किल हुन्छ ।

रिमोटबाट चल्ने हतियारले आक्रमण गर्दा हतियार चलाउन वरपर कोही बस्नुपर्दैन । कुनै पोस्ट वा गाडीमा छोपेर हतियार राखे पुग्छ । जस्तै, फखरिजादेमाथि आक्रमण गर्न प्रयोग गरिएको भ्यान हत्यापछि स्वचालित रूपमा पड्किएर ध्वस्त भएको थियो । यस्तो प्रविधि प्रयोग गरेपछि प्रमाणको नामनिसाना सबै मेटिने भयो नै । तथापि यो हत्यामा इजरायलतिर चोर औँलाहरू तेर्सिएका छन् । केही इजरायली अधिकारीले यसमा आफ्नो मुलुकको हात रहेको परोक्ष रूपमा स्विकारेका पनि छन् । तर यस्ता गतिविधिले शक्तिशाली मुलुकका यौद्धिक नैतिकतामाथि प्रश्नचिह्न ठड्याएका छन् । अन्तर्राष्ट्रिय राजनीतिमा शत्रुका नीति वा कामप्रति असहमति अभिव्यक्त गर्ने अनेक तरिका हुन्छन् । तिनलाई उपेक्षा गरी सशस्त्र युद्ध नै घोषणा नभएको अवस्थामा शत्रुको लुकीछिपी हत्या गर्नु प्रचलित युद्ध सिद्धान्तविपरीत हो ।

यस्तै उदाहरण हो, इरानका जर्नेल कासिम सुलेमानीको हत्या । बगदाद विमानस्थलमाथि उडेको मानवरहित ड्रोनबाट उनी चढेको गाडीमा बम प्रहार गरिएको थियो । इरानलाई दबाउने अमेरिकी नीतिअनुरूप आफैंले हत्याको आदेश दिएको तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विकारेका थिए । ड्रोनको प्रयोग भएपछि न दोहोरो हमलाको सम्भावना रह्यो, न त शत्रुपक्षबाट क्षति पुग्ने त्रास नै । इरानका नीति संसारका लागि हितकर थिए/थिएनन्, त्यो यहाँ निरपेक्ष कुरा हो, तर सुलेमानीको हत्या कूटनीतिको इमानविपरीत थियो ।

नवीन प्रविधि र रसायनले अचेल राजनीतिक हत्याको कुकर्म झाँगिँदै छ भने, यससम्बन्धी अनुसन्धान खर्चिला र दुरूह भएका छन् । जस्तै, बेलायतमा स्क्रिपल बाबुछोरीमाथि भएको रसायन आक्रमणको अनुसन्धानमै त्यहाँको प्रहरीको १ करोड पाउन्ड (करिब डेढ अर्ब नेपाली रुपैयाँ) सकिएको थियो । साना मुलुकहरूमा यस्ता घटना भए भने त घटनाको जरोसम्म पुग्नलाई स्रोत जुटाउनै हम्मे–हम्मे पर्छ ।

दुःखको कुरा, यस्ता कलुषित कृत्य राज्य–प्रायोजित हुने गरेका छन् । विपक्षीको शक्ति क्षीण गराउन वा उसबाट हुने सम्भावित असर रोक्न राजनीतिक हत्या (एलिमिनेसन) गर्ने परम्परा अन्तर्राष्ट्रिय राजनीतिमा थियो । तर बीस वर्षयता मानवरहित ड्रोन र आर्टिफिसियल इन्टेलिजेन्सको विकास भएपछि ‘टार्गेटेड किलिङ’ को जलपमा धेरै हत्या भएका छन् । जस्तै, अमेरिकाले ड्रोनको प्रयोगले जति पनि हत्या गरेको छ, ती ‘भावी आतंककारी आक्रमणबाट आत्मरक्षा गर्न गरिएको’ हुनाले राष्ट्रसंघीय कानुनसम्मत रहेको उसको दाबी छ ।

अर्कातिर, रासायनिक हमलाजस्ता घटनाले आमजनताको स्वास्थ्यलाई जोखिममा पारेका छन् । जस्तै, स्क्रिपल घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी रसायनको प्रभावले दुई हप्ता बिरामी परे । नोभिचोक उनको घरभरि फैलिएको हुन सक्ने सम्भावनाले गर्दा उनको घर नै बस्न अयोग्य भनी सिल गरियो । उनले घर तथा जायजेथा सबै गुमाउनुपर्‍यो । स्क्रिपलको घरमा चाहिँ जनावरहरूसमेत मरे ।

यसको तीन महिनापछि सोही रसायनको बोतललाई अत्तर ठानी फोहोरको बिनबाट झिकेका पुरुष बिरामी परे । उनले उपहार दिएको ‘अत्तर’ प्रयोग गर्ने केटीसाथी मरिन् । त्यो बोतलमा बाँकी रहेको नोभिचोक अझै हजारौँ मानिसको ज्यान लिनलाई काफी थियो भनिन्छ । त्यस्तै, किम जङ–नाममाथि भिएक्स रसायन आक्रमण क्वालालम्पुर विमानस्थलमै गरिएको थियो । त्यसलाई समयमै फैलिनबाट रोकेको हुनाले धेरै यात्रुको ज्यान जोगिएको थियो । यस्ता जटिल रासायनिक आक्रमण हाम्रो मुलुकमा भएको खण्डमा सुरक्षा र जनस्वास्थ्य निकायबीच चुस्त साझेदारी हुन कति जरुरी छ भन्ने यी घटनाले देखाउँछन् । तर त्यस्तो साझेदारीमा हामी अझै नीतिशून्य रहेको अहिलेको कोभिड प्रकोपले नै उदांगो पारेको छ ।

रणनीतिशास्त्रीहरू एक्काइसौं शताब्दीको युद्ध अब आर्टिफिसियल इन्टेलिजेन्समा आधारित र रिमोट–नियन्त्रित हुनेछ भन्छन् । तर षड्यन्त्रको माकुरेजालोमा अक्सर जेलिइरहने हाम्रोजस्तो मुलुकले सुरक्षाका यी नवीन चुनौतीलाई पर्गेल्न तयार नभएसम्म धेरै दुर्घटना अनुत्तरित र दुर्बोध भई बिलाउने निश्चित छ ।

प्रकाशित : माघ २५, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?