सक्रिय पाखण्डतन्त्र- विचार - कान्तिपुर समाचार

सक्रिय पाखण्डतन्त्र

‘समाजवादउन्मुख’ शब्दलाई संविधानको अंग बनाउने ‘अग्रगमन’ ले यी तीन वर्षमा भ्रष्टाचारमा कीर्तिमान राख्नुबाहेक के काम गर्‍यो ?
प्रकाशचन्द्र लोहनी

के हामी नेपाललाई विकसित राष्ट्र बनाउन चाहन्छौं ? यस्तो प्रश्नको पनि उत्तर खोज्नुपर्छ र ? सुखी र समृद्धिको मूल नारा चलेको शासनमा यो प्रश्न सोध्दा धेरैले मूर्ख भन्न सक्छन् । निश्चय पनि हामी हाम्रो राष्ट्रलाई विकसित, सुखी र समृद्ध बनाउन चाहन्छौं ।

यदि यही उत्तर हो भने अर्को प्रश्न आउँछ– नेपाललाई विकसित राष्ट्र बनाउन चाहिने परिवर्तन स्वीकार गर्न हामी तयार छौं ? यो प्रश्नको उत्तर सजिलो छैन । अरूलाई परिवर्तनको शिक्षा दिन सजिलो छ भने आफू त्यो शिक्षाअनुसार परिवर्तन हुन गाह्रो । अरूलाई भ्रष्टाचार गर्न नदिने उद्घोष गर्न सजिलो छ । सत्तामा रहँदा त्यो उद्घोष व्यवहारमा कतिले उतारेका छन् ? अर्थात्, आफूलाई परिवर्तन गर्न हामी कति तयार छौं ? यसको उत्तर अरूबाट आउँदैन, आफैंले आँखा चिम्लेर सोच्नुपर्ने हुन्छ ।

व्यक्तिगत र सार्वजनिक आकांक्षा

हामी विकसित देशका चिल्ला सडक देख्छौं । त्यहाँका विश्वविद्यालयमा पढ्न पाउँदा गर्व गर्छौं । विश्वविद्यालयको स्तर, भौतिक संरचना र सुन्दरताको प्रशंसा गर्छौं । हाम्रो देशमा यस्तो गर्ने सोच किन नआएको भनेर विचार पनि गर्छौं । तर, आफू पदमा पुग्दा हामीमध्ये कतिले यो सपनालाई यथार्थमा पुर्‍याउने प्रयास गर्छौं ? या, यसका लागि आवश्यक सार्वजनिक नीति निर्माण र यसको कार्यान्वयनमा लाग्छौं ? हाम्रा सार्वजनिक आकांक्षामा विकसित देशको विकास र प्रजातन्त्रको कल्पना आउँछ, तर सत्तामा पुग्दा, काम गर्ने ठाउँमा पुग्दा त्यो कल्पनाको सानो अंश पनि खोज्नुपर्ने हुन्छ । अनि प्रश्न आउँछ– हामी परिवर्तनका संवाहक हौं या विरोधी ? शब्दले होइन, कर्मले मात्रै यथार्थ बताउँछ । कोही परिवर्तनकामी हो या पश्चगामी, कर्मले मात्रै बोलिरहेको हुन्छ ।

यहाँ प्रश्न आर्थिक विकासको मात्रै होइन । राष्ट्रिय जीवनको हरेक अंगमा हामी विकसित नेपालको संवाहक हौं या शोषणका प्रवर्तक भन्ने हाम्रो कर्मको संरचनाले देखाइरहेको हुन्छ । यो यथार्थ बुझ्न धेरै ठूलो सैद्धान्तिक बहस गर्नुभन्दा ससाना क्रियाकलापहरूतिर ध्यान दिनुपर्ने हुन्छ । हामी निमुखा गरिबको स्वार्थका लागि भनेर औषधि किन्न रकम खर्च गर्छौं, जुन जनताले तिरेको कर हो । विकसित नेपालको परिकल्पना साकार तुल्याउन जनताबाट उठाएको रकम हो त्यो । यसको सदुपयोग समृद्ध नेपाल बनाउने मूल आधार हो भन्ने मान्यतालाई नयाँ परिवर्तनको चिन्तन बनाउने कि नबनाउने ? यो चिन्तनअनुसार आफूलाई रूपान्तरित गर्ने कि नगर्ने ?

यहाँ विकास नयाँ संरचनाको निर्माणमा होइन, नयाँ संरचनाका निर्माताहरूको मान्यतासँग जोडिन्छ । यहाँ संविधान र कानुनप्रति निष्ठा प्रकट गर्न शब्दमा सजिलो छ तर व्यवहारमा संविधानलाई लात हानेर प्रजातन्त्रको लेप लगाई आफूलाई अग्रगामी भन्ने प्रयासलाई के भन्ने ? सिद्धान्तप्रतिको निष्ठा या पाखण्डीपनको डरलाग्दो अनुहार ? परिवर्तनको सूत्रधार नयाँ मेसिन र प्रविधि होइन, निर्णयको जिम्मा लिएर बसेका व्यक्ति–व्यक्तिको मान्यतासँग जोडिन्छ; नेतृत्वसँग जोडिन्छ । दिनभरि रक्सी खाने अनि भोलिपल्ट बिहान रक्सी खान हुँदैन भनी भाषण गर्ने मान्यताले अराजकताचाहिँ ल्याउँछ, शान्ति र समृद्धि होइन ।

हरेक शासनका मान्यताहरू हुन्छन् र ती मान्यताहरूका सन्दर्भमा सामाजिक संरचना पनि खडा भएको हुन्छ । नेपालमै जहानियाँ शासनको आफ्नै मान्यता थियो, जसअनुसार एउटा सानो समूहले राज्यशक्ति आफ्नो हितका लागि प्रयोग गर्थ्यो र यसप्रति उनीहरूमा इमानदारी थियो । जहानियाँ शासनको उद्देश्य जनताको सामाजिक र आर्थिक विकास थिएन । यो भ्रम र कल्पना उनीहरूमा थिएन । तर त्यसपछिका सबै पिँढीले ‘अब हामी नयाँ नेपाल बनाउँछौं, पुरानो मान्यताको ठाउँमा जनताकेन्द्रित मान्यता स्थापित गर्छौं’ भन्दै ठूलठूला भाषण मात्र गरे । ठूला दार्शनिक र चिन्तकहरूका तस्बिर र दृष्टिकोणले देश व्याप्त भयो । पुरानो भत्काउने र नयाँ संसार स्थापित गर्ने कल्पनाको भण्डार पास भयो । यस क्रममा जुलुस भए, सडक संघर्ष भए, बन्दुक संघर्ष भए, धेरैले ज्यान गुमाए । तर, आज हामी कहाँ छौं ? धेरै संरचनागत परिवर्तन पनि भए, परिवर्तन आत्मसात् गर्ने गगनभेदी नारा लागे तर फेरि इतिहासले हामीसँग ठट्टा गरेछ ।

अरूलाई परिवर्तनको बाटामा हिँडाउनेहरू यथार्थमा आफू त जहानियाँ शासनकै मनस्थितिमा रहेछन् । त्यहाँ केही परिवर्तन भएको रहेनछ । जहानियाँ शासनमा शासक र भारदारको झुन्ड थियो, जसले देशलाई आफ्नो ठूलो बिर्ता सम्झन्थ्यो । अहिले यो झुन्ड ठूलो भएको छ । जहानियाँ शासनको ठाउँमा दलीय शासन छ । जहानियाँ झुन्डको ठाउँमा दलीय झुन्ड छ । तर, शासकीय मूल्य र मान्यता झन्डै एउटै छ । परिवर्तन र अग्रगामी नाराभित्र, जसरी हुन्छ राज्यको स्रोत–साधन सकेसम्म एउटा सानो शासक झुन्डको स्वार्थका लागि दोहन गर्ने संस्कार परिवर्तनको मूल चरित्र भएको छ । आखिर सामाजिक परिवर्तनका केही काम त जहानियाँ शासनमा पनि भएकै हुन् ।

जहानियाँ शासनमै चन्द्रशमशेरले पनि त्रिचन्द्र कलेज खोलेकै हुन् । सती प्रथा उन्मूलन गर्ने र कमारा–कमारी अमलेख गर्ने सामाजिक सुधार पनि त्यसै बेला भएका हुन् । तर हामी त्यो शासनलाई सामन्ती भन्छौं किनभने हिमाल पहाड तराईका आमजनताको उन्नति र सम्मान राज्यको दूरबिनमा थिएन । यसबारे उनीहरूमा कुनै भ्रम पनि थिएन । यस मानेमा उनीहरू इमानदार थिए । तर आज परिवर्तनको भ्रम छ, नयाँ शासकीय पद्धति र संरचनाहरू पनि छन्; यथार्थमा काम गर्ने मान्यता त्यो सामन्ती झुन्डको भन्दा फरक छैन । संरचनामा परिवर्तन छ, तर शासकीय शैली पुरानै छ । विकासको नारा दिएर आफ्नो उन्नति गर्ने परजीवी झुन्डको आयतन विस्तार भएको छ, मान्यताचाहिँ पुरानै छ ।

प्रशासन र प्रहरीमा पजनी प्रथा खारेज भए पनि मन्त्रीको इच्छाअनुसार कारण नदिई सरुवा पजनी संस्थागत नै भएको छ । विगत दुई वर्षमा मात्रै स्वास्थ्य मन्त्रालयमा छपटक सचिव फेरिएका छन् । कोभिड–१९ को मारमा परेका नेपाली जनताका लागि औषधि किन्दा पनि आँखा चिम्लेर भ्रष्टाचार गर्ने र त्यसलाई छोपेर बस्ने झुन्डको शासकीय मान्यतालाई कसरी बुझ्ने ? अझ गहिरिएर हेर्ने हो भने, जहानियाँ शासनमा आफ्ना विरोधी या प्रतिस्पर्धीलाई या त काठमाडौं–निकाला गरिन्थ्यो या मारिन्थ्यो । अहिले पनि संस्कार त्यही छ । सत्ता र विरोधीको लडाइँको रूप फरक भएको छ, तर शैली उस्तै छ; आलोचकलाई सराप्ने र टाउको फुटाउने शैली पुरानै छ ।

मानवजातिको इतिहासमा दक्षिण एसियाली संस्कृति र सभ्यता विश्वको एक प्रमुख उपलब्धि हो । जीवनका यथार्थ र जिउने कलाबारे यो सभ्यताका धेरै गहन र उज्याला पक्ष छन् । यससँगै मानव शोषणका अँध्यारा पक्ष पनि थुप्रै छन् । यीमध्ये समाज विकासका क्रममा जन्मिएको शोषणको डरलाग्दो पक्ष पाखण्डीपन हो । पशुपति र गुह्येश्वरीमा गएर गीता र चण्डी पाठ गर्ने, लाखबत्ती बाल्ने, ईश्वर सबैमा व्याप्त छ भनी घोकेर आउने र घरमा आएपछि जातका आधारमा त्यही ईश्वरका रूपमा रहेको मानिसलाई घृणा गर्ने, जातका आधारमा हत्या गर्दा पनि कुनै विरोधाभास नदेख्ने मनस्थिति हाम्रो सांस्कृतिक पाखण्डीपन हो ।

यही पाखण्डीपनले हाम्रो शासनशैलीमा जरा गाडेर बसेको छ । मार्क्सको सूत्र मन्दिरमा पण्डितले भट्याएजस्तै भाषणमा भट्याउने तर सरकारमा बस्दा जनताको अर्बौं रकममा धावा बोल्ने र त्यसमा प्रगतिशीलता देख्ने पाखण्डी अनि घरमा पालेको कुकुरलाई आफूसँगै बिछ्यौनामा सुताउने तर कुनै दलितलाई ‘तल्लो जात’ भनी हेला गर्नेबीच के अन्तर रह्यो ? दुवै आआफ्ना सिद्धान्त र संस्कृतिको दुरुपयोग गर्ने पाखण्डी भएनन् र ? यही पाखण्डीपन अब नेपालमा बढ्दै छ । यसले भविष्यमा विद्रोह निम्त्याउनेछ, जसले संवेदनशील भूराजनीतिक स्थितिमा रहेको नेपालको अस्तित्वलाई कहाँ पुर्‍याउने हो ? यही मूल चिन्ताको विषय छ ।

अग्रगमन र पाखण्डगमन

आज देशमा शासकीय पद्धति र संरचनामा परिवर्तन भएको छ । संविधान नयाँ छ तर शोषकहरूको काम गर्ने मान्यता पुरानो युगको सामन्ती झुन्डको भन्दा फरक छैन । यस अर्थमा अब सामाजिक परिवर्तनको प्रक्रिया स्थायित्वसहितको गतिशीलतामा कि अराजकताउन्मुख विनाशमा पुग्ने हो, मूल प्रश्न भएको छ । अब के अग्रगमन हो र के पाखण्डीपन भन्नेमा समेत अन्योल देखिन थालेको छ । उदाहरणका लागि, परिवर्तनका नाममा विदेशीको सहयोगको पृष्ठभूमिमा कतिपय व्यवस्था थोपर्नु अग्रगमन हो या पाखण्डीपन ? बुझ्न गाह्रो भएको छ । विदेशी मतियारहरूको मिलोमतोमा देशमा चलाइएको धर्म परिवर्तनको अभियान अग्रगामी हो ? एउटा पार्टीको ‘आज्ञाकारी गणतन्त्र’ चाहिँ ‘अग्रगामी’ कदम हो ? अनि ‘समाजवादउन्मुख’ शब्दलाई संविधानको अंग बनाउने ‘अग्रगमन’ ले यी तीन वर्षमा भ्रष्टाचारमा कीर्तिमान राख्नुबाहेक के काम गर्‍यो ? यी प्रश्नहरूको उत्तर नखोज्ने हो भने ‘अग्रगमन’ र ‘पाखण्डगमन’ मा के फरक रह्यो ?

सामाजिक परिवर्तनको गतिलाई जनताका पक्षमा सकारात्मक हिसाबले मोडिदिँदा सिद्धान्त, रणनीति र व्यवहारबीचको अन्तरसम्बन्धलाई अग्रगमनको खोक्रो नाराको आडमा आँखा चिम्लेर कुल्चनुको अर्थ देशलाई सखाप पार्नु हो । नेपालका स्वघोषित अग्रगामीहरूलाई के थाहा हुनुपर्छ भने, सोभियत संघ सखाप हुनुको एउटा प्रमुख कारण सिद्धान्त, रणनीति र व्यवहारमै रहेको विरोधाभास हो । मार्क्सवादको गन्तव्यस्थल एउटा काल्पनिक आदर्श थियो जसलाई प्राप्त गर्नमा सरकारको रणनीतिक र व्यावहारिक असफलताले न मजदुर स्वतन्त्र भयो, न किसानको उत्थान भयो, न त नागरिक स्वतन्त्रता र सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्ने राज्यको सिर्जना नै भयो ।

मार्क्सको मानवतावादी दर्शनमा लेनिनवादको लेप लगाएर अगाडि बढ्न खोज्दा कसरी समाजवाद शब्द क्रूर अधिनायकवादमा रूपान्तरित भयो भन्ने इतिहास सबैको सामु छ । आज नेपालमा राष्ट्रिय पहिचान र एकताका आधारभूत खम्बाहरूलाई समयानुकूल परिमार्जन तथा पुनःस्थापित गरी देशमा निरन्तरतासहित गतिशीलताका लागि उपयोग गर्नुको सट्टा सीमित झुन्डको सत्तास्वार्थ र धनस्वार्थका लागि युद्धसरदार शैलीमा राज्यशक्तिको ‘समाजवादी’ प्रयोग गर्ने

प्रवृत्ति भुइँमा छरिएको माल टिप्न जाँदा पोल्टामा रहेको सबै गुमाउने संस्कृतिको परिचायक हो; अग्रगमनका नाममा पाखण्डीपनको चिनारी हो । त्यसैले स्थायित्वको नारा पिटेर आएको सरकार र स्थायित्व ग्यारेन्टी गरेको संविधान धुजाधुजा पार्नमा ‘अग्रगामी’ हरूमा लुकेको सक्रिय पाखण्डतन्त्र पूर्ण रूपमा जिम्मेवार छ ।

(लोहनी राप्रपाका अध्यक्ष हुन् ।)

प्रकाशित : माघ २०, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना, कपाल र हजाम

कोरोनाले एकापट्टि मानवजीवन भुर्कुट बनायो, अर्कोपट्टि आफैंमा निर्भर हुने आँट र क्षमता दियो; बजार व्यवस्थाभन्दा परिवारको व्यवस्था नै अब्बल हो भन्ने ठूलो पाठ पनि सिकायो ।
महेन्द्र पी‍. लामा

लगभग एक वर्ष नै भयो कोरोनाले सबैको हुर्मत लिएको । भय, त्रास, संशय र अन्योल कोरोनाका अरू भयानक पक्षहरू । विश्वका कुनाकुना सोत्तर पार्‍यो । विकसित–विकासशील–अविकसित सबै राष्ट्रहरूलाई हल्लायो । कोरोना आउँदा सिमाना नाघेर आयो र नै अन्तर्राष्ट्रिय सिमानालाई नाघ्ने सबै साधनमाथि प्रतिबन्ध लगाइयो ।

कोरोनाले न राष्ट्र, न सार्वभौमिकता अनि सैन्य शक्ति, न त राष्ट्रिय चिनारी– कसैलाई टेरपुच्छर नलगाई सम्पूर्ण विश्वमा आधिपत्य जमायो । यो बहुराष्ट्रिय रोग कुनै ब्रान्डबिना नै, कुनै विज्ञानबिना नै र घोडा–गाडी–हवाईजहाज नै नचढी न्युयोर्कदेखि दार्जिलिङको चोकबजार र साओ पाउलोदेखि तिब्बतको सिगात्सेसम्म पुग्यो । कस्तो महामारी, न ठीकसँग समयमा खुट्याउन सकियो, न औषधिमूलो नै पाइयो ! धामी–झाँक्री–फेदाङ्मा र बोन्बो एकातिर, नर्स, इन्टेन्सिभ केयर युनिट, अक्सिजन र वैज्ञानिक प्रयोगशाला अर्कातिर । सबैले कोरोनालाई भ्याकुर चरीलाई झैं खेद्दा पनि लाखौंले कालै नआई अचानक डाँडा काटे ।

कोरोनाले कहिल्यै नसोचेका पाँच–सात कुराहरू अघि ल्यायो । प्रथमतः, विज्ञान, औषधिमूलो र ज्ञानभन्दा महामारी ल्याउने रोग छिटो दौडँदो रहेछ । अर्थात्, कुनै पनि समय र कहीँ पनि सुरु भएको रोगले विश्वलाई नै अँगाल्नु विश्वव्यापीकरणको सबैभन्दा तीक्ष्ण र अँध्यारो चमत्कार रहेछ । दोस्रो, महामारीले धनी–गरिब, सेतो–कालो, उच–नीच, पर्वत–महाद्वीप, बलियो–कमजोर कसैलाई पनि चिन्दैन रहेछ र छुटाउँदैन पनि रहेछ । हुरीझैं आउँदो रहेछ, बाढीजस्तै बस्दो रहेछ, अनिकालझैं टालिँदो रहेछ र सखुवाको मुढोझैं बलिरहँदो रहेछ । तेस्रो, अन्तर्राष्ट्रिय व्यवस्थाले ल्याएको सिमाना भताभुंग पारिदिँदो रहेछ । राष्ट्र–राष्ट्रबीचको सिमाना बन्द गरिदिँदो रहेछ । गाउँ–सहर–राज्य, घर–परिवार–समाजमा समेत नयाँनयाँ सिमानाका रेखाहरू कोरिदिँदो रहेछ । युरोपको खुला सिमाना बन्द हुँदा तामिलनाडु र कर्नाटकको सिमाना अनि भोटेगाउँ र लिम्बूगाउँको सिमाना पनि बन्द हुँदो रहेछ । परिवारभित्रै पनि खोकी–ज्वरोले ग्रस्त एउटा कोठामा, रोगले नभेट्टाएकाहरू अर्को आँगनमा !

चौथो, मुख र नाकमा ढकनी लगाएर हिँड्दा पनि आफ्नै हात–लुगा–जुत्ताबाट डराउनु र जोगिनु पर्ने रहेछ । सामाजिक दूरीका नाममा कुटाइसमेत खाँदा सामाजिक सोच र न्याय त छड्के लाग्दो रहेछ । अरूको भन्दा आफ्नै माया अग्घोरै लाग्दो रहेछ । पाँचौं, ईश्वर–यिशु–अल्लाह–देवी–देवता सबैलाई कारावासमा हालिँदो रहेछ । आफूलाई बचाउन आफन्त–इष्ट–मित्रको शवयात्रा र अन्तिम संस्कारसम्म भुल्नुपर्दो रहेछ । संस्कृतिविहीन मात्रै नभएर, महामारीले गर्दा परलोक भएकाहरूसँग मुर्दाहाटी, पुरोहित र छरछिमेकसम्मले मुन्टो बंग्याउँदा रहेछन् ।

छैटौं, महामारीमा प्रकृति, पशु–प्राणी, खोला–नाला–समुद्र, भन्ज्याङ–पर्वत भने खुबै रमाउँदा रहेछन् । ऋतुले समेत रङ फेर्दो रहेछ । गौंथलीको चिरबिर, बाघको गर्जन, हावाको झोंका, पुतलीको फरफर र भाले बासेको सुरिलो आवाजसम्म सुनिँदो र देखिँदो रहेछ । र सातौं, हामीले आफ्ना कमजोरी, सबलता, दक्षता, कौशल सबै बिस्तारै थाहा पाउँदा रहेछौं । जँड्याहाहरू रक्सी नपाउँदा आलसतालस भए, कलाकारहरू आफ्नो कला दर्साउन नपाउँदा उकुसमुकुस रहे र व्यापारीहरू पसल बन्द राख्नुपर्दा घरझगडामा लिप्त भए । साथै गाउँगाउँमा, घरघरमा कसैले आश्चर्यजनक र मन हर्ने कार्यहरू गरे । संगीत, कला, साहित्य, विशेष कौशल परिवार–परिवारमा फस्टाएर अघि आए । धेरैले आफैंले आफूलाई चिने ।

महामारीले विश्व व्यवस्थामा नयाँ–अशोभनीय–द्विविधाका धर्काहरू कोरिदिँदो रहेछ । यो रोग चीनको वुहान सहरबाट सालकबाटै सुरु भएको हो भन्दै वन्यप्राणीको तस्करीमाथि गहिरो वादविवाद र अर्कातिर चीनले जानीबुझी रोग फैलाएको राष्ट्रपति ट्रम्पको घिनैलाग्दो आरोप । कसले कोरोना ठीक पार्ने, औषधि–खोप बनाउने वैज्ञानिक होडबाजी र अर्कातिर कुन कम्पनीले यसबाट कहाँ कति मुनाफा कमाउने भुटभुटी । महामारीकै मौका छोप्दै कति राजनीतिक नेताले आफू र सत्तालाई बलियो बनाउने प्रयाससमेत गर्दा रहेछन् । ब्राजिल, रुस, इटालीका यस्तै नेताहरूले विपक्षीलाई दबाउनुसम्म दबाएको नयाँ प्रवृत्ति पनि अघि आयो ।

यति मात्रै कहाँ हो र ! रंगभेद–वर्णभेद–रूपभेद कोरोनाजस्तै फैलियो । लन्डन र दिल्लीमा पनि । भारतका उत्तरपूर्वी र पहाडी क्षेत्रका मानिसहरूलाई अन्य सहर–नगरमा ‘कोरोना आयो’ भन्दै तिरस्कार गर्न थाले, व्यापारीहरूले लुटेरै छोडे र हिँडडुल गर्नसम्म हम्मे पर्ने भयो । दक्षिण एसियाका सरकारहरूले फोर–जी र फाइभ–जीको डंका पिटे पनि गाउँबस्तीका विद्यार्थीहरू सिग्नलको एउटै धर्का पनि नपाउँदा महिनौं पढाइ–लेखाइबाट दूर रहे । कोही रक्सी खाएरै गए त कोही रक्सी नपाउँदा गए; कोही मोटाए, कोही सुकुटिए । कोही भयभीत भएर घरभित्रै कोचिइरहँदा मानसिक पीडाको सिकार भए । अस्पताल जान नपाउँदा मुटुको व्यथा, क्यान्सर र अन्य बिमारले कोरोनाले भन्दा धेरै गुणा बढी मानिस मरे ।

धेरैका आआफ्ना समस्या । सामान्य कुराहरू पनि समस्या भए । सहर–नगरमा एउटा ठूलो समस्या कपाल काट्ने हजाम र सलुन नपाउनु भयो । हामी साना छँदादेखि नै छाप्राका साधु हजामले दार्जिलिङको ठुटे बजारमा कपाल काट्ने कोठा लिएका थिए । महिनाको अन्तिम आइतबार बिहान सातै बजे हाम्रो घरमा आएर चारै छोराको कपालमा खटखट गर्ने मेसिन चलाइदिन्थे । पिताजी छेवैमा उभिएर साधु हजामलाई ‘कानको मास्तिर चिल्लो बनाउनुपर्छ’ भन्ने आदेश दिन्थे । दार्जिलिङजस्तो एउटा अन्तर्राष्ट्रिय फेसन केन्द्रमा कपाल मुडुलिँदा हामी विरोध गर्थ्यौं । तर पिताजी र हजाम भने राष्ट्र र बिहारको राजनीति र विकासबारे गफमा मस्त रहन्थे । साधु हजाम परलोक भएपछि शंकर हजामले त्यही काम गर्थे । यसैले आजसम्म पनि कपालले कान छुनासाथ र गफ हाँक्न मन पर्‍यो भने हामी हजामलाई सम्झिहाल्छौं । कोरोनाको लकडाउनमा कपालले केश छुँदा यति असजिलो हुन लाग्यो कि, आफैंलाई ‘अब लौ संकेतबिना (एसिमटोटिक) को कोभिडले पो घेरेछ’ भन्ने भय र त्रासले लपेट्न थाल्यो । कहाँ जाने ? हजाम छैन । अस्पताल जानु अझै खतरनाक ।

आफू अललिएको यस नाजुक घडीमा मलाई गत छ दशकमा भेटेका हजामहरूको अति विघ्न याद आयो । कहाँ गए होलान् साधु–शंकर, दिल्लीका यादव र सञ्जय, अमेरिकाका पिटर, जापानका ओगावा–सान, चीनका देङ चु, कलकत्ताको न्यु मार्केट पछाडितिरको छटपटे हजाम र फेरि श्रीलंकाका हुसेन हजाम ! आँखैमा आए उनीहरूका तस्बिर, हात र मेसिनको तालमेल अनि फेरि त्यही मीठो गफ । चौबीस वर्षअघि अमेरिकाको नोट्रे डेम विश्वविद्यालयमा पढाउन जाँदा पिटर हजामसँग मित्रता जोडियो । विश्वविद्यालयको इतिहास नै बोकेका पिटरले किन अमेरिकी फुटबल त्यहाँ प्रचलित भयो, कसरी आयरल्यान्डबाट जेसुट पुरोहितहरू आएर आधुनिक शिक्षण प्रणाली सुरु गरे, एक–एक कुरो बताइदिन्थे । अलिक परतिरको गोरेटोमा हाँस–बकुल्लाको संख्यासमेत ।

त्यसै बखत कलकत्ताबाट आएका मेरा पुराना साथीले त्यहीँ अर्को विभागमा पढाउन थालेका थिए । एक दिन अचानक भेट भयो, ठम्याउन सकिनँ । किनकि केश–दाह्री–जुँगा जंगलमा नागबेली फैलिएझैं, उनले छाडै छोडिदिएका थिए । ‘महेन्द्र, तुमार की खोबर ?’ स्वरले मात्रै चिनें । सोधें किन यस्तो घना जंगलको बोझ बोकेको भनी । उनको जवाफ सीधा थियो— यहाँ एक ताल कपाल काट्ने पैसाले कलकत्तामा जीवनभरि काट्न सक्छु । त्यसताक पिटरले कपाल काटेको पच्चीस डलर लिन्थे । अहिलेसम्म पनि पाँच रुपैयाँमा मीठो चिया पाइने कलकत्तामा तिनताक कपाल काटेको सायद छ–आठ रुपैयाँ थियो ।

दिल्लीका यादव र सञ्जय अचम्मका थिए । बिहारको मुजफ्फरपुरबाट आएका दुवैले आरकेपुरममा सलुन खोलेका थिए । घरीघरी भन्थे– ‘काहो तनी रे ? खैनी बा ?’ लिची र आँपका भोगी थिए; जात–थरसम्म बताइदिन्थे, रूख मात्रै देखे पनि । सञ्जयलाई अलिक आधुनिकताले छोएको थियो । फोरेन ओइलले हेड मसाज पनि गरिदिन्थे । बिहारको राजनीति खर्लप्पै खाएका थिए । कर्पुरी ठाकुर र लालु यादवका तानाबाना बुनिदिन्थे । यादवको हात खस्रो थियो, मेसिन चलाउँदा कपाल–केश उखेली नै दिन्थे । आफूचाहिँ जुल्फीवाला थिए । तर यादवले कैंची अति नै आकर्षक ढंगमा चलाउँथे ।

जापानको हितोत्सावासी विश्वविद्यालयनजिक कुनिताचीमा ओगावा–सानको अति नै सुन्दर सलुन थियो । पहिलोपटक जाँदाको घटनाले उनीमाथि मेरो ममता बढ्यो । जापानमा कपाल काट्ने विभिन्न प्रकारका मेसिनहरू हेलमेटजस्तै झुन्ड्याइएका हुने । छेवैमा राखिएका कपालका विभिन्न नक्साहरूमा टाँसिएको बटन दबाएर हेलमेटभित्र शिर हालेपछि पन्ध्र मिनेटमा कपाल काटिएर तयार हुन्थ्यो । जापानी एक हजार येन लाग्थ्यो । तर त्यसले भनेझैं नकाट्दा म ओगावा–सानकोमा सात हजार येन दिएर कपाल कटाउँथें ।

पहिलोपटक गएका बेला भाषा नबुझ्दा, पिताजीले सिकाएको त्यही दार्जिलिङ मोडलको, कानमाथिसम्म मुडुल्याउने गरी कपाल काट्ने भनी हातैले इसारा गरें ओगावा–सानलाई । उनले सुरु गरे । अघिपट्टिको ऐनामा मेसिन–शरीर–खुट्टा–हातको अति नै सुन्दर समागम देखेपछि ढुक्क भएँ । अचानक जुरेली चरीको शिरको जुरोजस्तै कपालको आकार निस्कँदै गएको देख्दा रिसले व्याकुल भएँ । हत्तपत्त उठेर यस्तो फेसन होइन भनें । ओगावा–सान अतालिए । जापानीहरू आफ्नो कौशलको कीरा हुन्छन् । अलिकति सच्याइदिए । पैसा लिनै मानेनन्, घरीघरी ‘आरिघात्तो गोजाइमास’ भनिरहे । तत्पश्चात् अर्को पटकदेखि उनी पनि साधु र शंकरजस्तै भए । ओगावा–सानसँग गफ भने हात–मुखको इसाराले गरिन्थ्यो ।

चीनका हजाम देङ चु अति नै फेसनदार थिए । सिचुवान विश्वविद्यालयको नर्थ गेटनजिक उनको सलुनमा कपाल काट्नुअघि कपाल नरम हातले लामो समयसम्म धोइदिन्थे । त्यसपछि उनले उफ्रीउफ्री, कम्मर हल्लाई आफ्नै अनुहार ऐनामा घरीघरी हेर्दै कपाल काटिदिन्थे । सेम्पुको डामले पोलेको कपाल, काट्दै जाँदा फररर झर्थ्यो । मेसिनभन्दा छिटो कुद्ने देङ चुले कपाल काटेपछि फेरि शिर मनतातो पानीले धोइदिन्थे, हल्का मसाज गर्दै । त्यहीँ निद्रा लाग्थ्यो । चिनियाँ हजामले यसरी लट्याउँथे । कहिले केश कानको नजिक पुग्छ र देङ चुको सलुनमा जाऊँ हुन्थ्यो ।

कलकत्ताको न्यु मार्केट पछाडितिरको गल्लीमा एकपटक म केश काट्न गएँ । कसैले बस्नचाहिँ मलाई फाइभ स्टार होटल पार्क स्ट्रिटमा बन्दोबस्त गरिदिएका थिए । छटपटे हजाम रहेछ, दार्जिलिङबाट आएको भन्नासाथ दार्जिलिङको नालीबेली बताइदियो । रोबर्टसन रोडका जाँड दोकानहरू एक–एक गरी चिन्दो रहेछ । रक्सी गड्डीखानमा भन्दा सिंहमारीको भानुग्राममा टेसिलो हुन्छ अरे ! नजिकैको दोकानबाट माटाको प्यालामा चिया मगाएर अतिथिसत्कार पनि गर्‍यो । ऊ पनि छाप्राकै रहेछ । तर मेसिनभन्दा उसको मुख छिटो चल्थ्यो ।

श्रीलंकाको बेलावत्तानजिक हुसेनको सलुन थियो । भीडभाडयुक्त कोलम्बोमा यो सलुन अति नै प्रचलित थियो । चार–पाँच जना हजाम सदैव व्यस्त रहन्थे । हुसेनले भारतीयहरूको खुब खातिर गर्थे । उनी पनि श्रीलंकामा चिया कमान बसाउन लगेका भारतीय तामिलहरूसँगै हुर्के–बढेका थिए । हुसेनसँग मलाई मेरा अभिन्न अर्थशास्त्री मित्र (स्वर्गीय) समन केलेगामाले चिनाएका थिए । हुसेनसँग मैले श्रीलंकाका पोर्सेलिन र बहुमूल्य पत्थर गहनाबारे धेरै कुराकानी गरें । कपाल काट्नभन्दा गफ गर्न म त्यहाँ जान्थें । छेवैको रेस्टुराँमा राइस एन्ड करी खाएर, अखबार काटी बनाएको न्याप्किन पेपरले हात पुछेर डेरा फर्किन्थें ।

कोरोनाका कारण लकडाउन हुँदा धेरैले आ–आफ्नै घरमा चिनियाँ मेसिन किनेर कपाल काटे । हाम्रो घरमा निर्मललाई अस्ट्रेलियाबाट टोटोलाले एक वर्षअघि नै मेसिन पठाइदिएको थियो । मेरो, इष्टमित्रको र आफ्नो कपालसमेत निर्मलले घरको आँगनमा धेरैपटक काटिदिए । कोरोनाले निर्मललाई नै आफूभित्रको सीप–कला–कौशल थाहा नभएको कुरालाई सबैले देख्ने गरी अघि ल्याइदियो । साधु–पिटर–देङ चु–हुसेनले निर्मलको रूप धारण गरे । कोरोनाले एकापट्टि मानवजीवन भुर्कुट बनायो, अर्कोपट्टि आफैंमा निर्भर हुने आँट र क्षमता दियो! बजार व्यवस्थाभन्दा परिवारको व्यवस्था नै अब्बल हो भन्ने ठूलो पाठ पनि सिकायो ।

प्रकाशित : माघ २०, २०७७ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×