कोरोना, कपाल र हजाम

कोरोनाले एकापट्टि मानवजीवन भुर्कुट बनायो, अर्कोपट्टि आफैंमा निर्भर हुने आँट र क्षमता दियो; बजार व्यवस्थाभन्दा परिवारको व्यवस्था नै अब्बल हो भन्ने ठूलो पाठ पनि सिकायो ।

लगभग एक वर्ष नै भयो कोरोनाले सबैको हुर्मत लिएको । भय, त्रास, संशय र अन्योल कोरोनाका अरू भयानक पक्षहरू । विश्वका कुनाकुना सोत्तर पार्‍यो । विकसित–विकासशील–अविकसित सबै राष्ट्रहरूलाई हल्लायो । कोरोना आउँदा सिमाना नाघेर आयो र नै अन्तर्राष्ट्रिय सिमानालाई नाघ्ने सबै साधनमाथि प्रतिबन्ध लगाइयो ।

कोरोना, कपाल र हजाम

कोरोनाले न राष्ट्र, न सार्वभौमिकता अनि सैन्य शक्ति, न त राष्ट्रिय चिनारी– कसैलाई टेरपुच्छर नलगाई सम्पूर्ण विश्वमा आधिपत्य जमायो । यो बहुराष्ट्रिय रोग कुनै ब्रान्डबिना नै, कुनै विज्ञानबिना नै र घोडा–गाडी–हवाईजहाज नै नचढी न्युयोर्कदेखि दार्जिलिङको चोकबजार र साओ पाउलोदेखि तिब्बतको सिगात्सेसम्म पुग्यो । कस्तो महामारी, न ठीकसँग समयमा खुट्याउन सकियो, न औषधिमूलो नै पाइयो ! धामी–झाँक्री–फेदाङ्मा र बोन्बो एकातिर, नर्स, इन्टेन्सिभ केयर युनिट, अक्सिजन र वैज्ञानिक प्रयोगशाला अर्कातिर । सबैले कोरोनालाई भ्याकुर चरीलाई झैं खेद्दा पनि लाखौंले कालै नआई अचानक डाँडा काटे ।

कोरोनाले कहिल्यै नसोचेका पाँच–सात कुराहरू अघि ल्यायो । प्रथमतः, विज्ञान, औषधिमूलो र ज्ञानभन्दा महामारी ल्याउने रोग छिटो दौडँदो रहेछ । अर्थात्, कुनै पनि समय र कहीँ पनि सुरु भएको रोगले विश्वलाई नै अँगाल्नु विश्वव्यापीकरणको सबैभन्दा तीक्ष्ण र अँध्यारो चमत्कार रहेछ । दोस्रो, महामारीले धनी–गरिब, सेतो–कालो, उच–नीच, पर्वत–महाद्वीप, बलियो–कमजोर कसैलाई पनि चिन्दैन रहेछ र छुटाउँदैन पनि रहेछ । हुरीझैं आउँदो रहेछ, बाढीजस्तै बस्दो रहेछ, अनिकालझैं टालिँदो रहेछ र सखुवाको मुढोझैं बलिरहँदो रहेछ । तेस्रो, अन्तर्राष्ट्रिय व्यवस्थाले ल्याएको सिमाना भताभुंग पारिदिँदो रहेछ । राष्ट्र–राष्ट्रबीचको सिमाना बन्द गरिदिँदो रहेछ । गाउँ–सहर–राज्य, घर–परिवार–समाजमा समेत नयाँनयाँ सिमानाका रेखाहरू कोरिदिँदो रहेछ । युरोपको खुला सिमाना बन्द हुँदा तामिलनाडु र कर्नाटकको सिमाना अनि भोटेगाउँ र लिम्बूगाउँको सिमाना पनि बन्द हुँदो रहेछ । परिवारभित्रै पनि खोकी–ज्वरोले ग्रस्त एउटा कोठामा, रोगले नभेट्टाएकाहरू अर्को आँगनमा !

चौथो, मुख र नाकमा ढकनी लगाएर हिँड्दा पनि आफ्नै हात–लुगा–जुत्ताबाट डराउनु र जोगिनु पर्ने रहेछ । सामाजिक दूरीका नाममा कुटाइसमेत खाँदा सामाजिक सोच र न्याय त छड्के लाग्दो रहेछ । अरूको भन्दा आफ्नै माया अग्घोरै लाग्दो रहेछ । पाँचौं, ईश्वर–यिशु–अल्लाह–देवी–देवता सबैलाई कारावासमा हालिँदो रहेछ । आफूलाई बचाउन आफन्त–इष्ट–मित्रको शवयात्रा र अन्तिम संस्कारसम्म भुल्नुपर्दो रहेछ । संस्कृतिविहीन मात्रै नभएर, महामारीले गर्दा परलोक भएकाहरूसँग मुर्दाहाटी, पुरोहित र छरछिमेकसम्मले मुन्टो बंग्याउँदा रहेछन् ।

छैटौं, महामारीमा प्रकृति, पशु–प्राणी, खोला–नाला–समुद्र, भन्ज्याङ–पर्वत भने खुबै रमाउँदा रहेछन् । ऋतुले समेत रङ फेर्दो रहेछ । गौंथलीको चिरबिर, बाघको गर्जन, हावाको झोंका, पुतलीको फरफर र भाले बासेको सुरिलो आवाजसम्म सुनिँदो र देखिँदो रहेछ । र सातौं, हामीले आफ्ना कमजोरी, सबलता, दक्षता, कौशल सबै बिस्तारै थाहा पाउँदा रहेछौं । जँड्याहाहरू रक्सी नपाउँदा आलसतालस भए, कलाकारहरू आफ्नो कला दर्साउन नपाउँदा उकुसमुकुस रहे र व्यापारीहरू पसल बन्द राख्नुपर्दा घरझगडामा लिप्त भए । साथै गाउँगाउँमा, घरघरमा कसैले आश्चर्यजनक र मन हर्ने कार्यहरू गरे । संगीत, कला, साहित्य, विशेष कौशल परिवार–परिवारमा फस्टाएर अघि आए । धेरैले आफैंले आफूलाई चिने ।

महामारीले विश्व व्यवस्थामा नयाँ–अशोभनीय–द्विविधाका धर्काहरू कोरिदिँदो रहेछ । यो रोग चीनको वुहान सहरबाट सालकबाटै सुरु भएको हो भन्दै वन्यप्राणीको तस्करीमाथि गहिरो वादविवाद र अर्कातिर चीनले जानीबुझी रोग फैलाएको राष्ट्रपति ट्रम्पको घिनैलाग्दो आरोप । कसले कोरोना ठीक पार्ने, औषधि–खोप बनाउने वैज्ञानिक होडबाजी र अर्कातिर कुन कम्पनीले यसबाट कहाँ कति मुनाफा कमाउने भुटभुटी । महामारीकै मौका छोप्दै कति राजनीतिक नेताले आफू र सत्तालाई बलियो बनाउने प्रयाससमेत गर्दा रहेछन् । ब्राजिल, रुस, इटालीका यस्तै नेताहरूले विपक्षीलाई दबाउनुसम्म दबाएको नयाँ प्रवृत्ति पनि अघि आयो ।

यति मात्रै कहाँ हो र ! रंगभेद–वर्णभेद–रूपभेद कोरोनाजस्तै फैलियो । लन्डन र दिल्लीमा पनि । भारतका उत्तरपूर्वी र पहाडी क्षेत्रका मानिसहरूलाई अन्य सहर–नगरमा ‘कोरोना आयो’ भन्दै तिरस्कार गर्न थाले, व्यापारीहरूले लुटेरै छोडे र हिँडडुल गर्नसम्म हम्मे पर्ने भयो । दक्षिण एसियाका सरकारहरूले फोर–जी र फाइभ–जीको डंका पिटे पनि गाउँबस्तीका विद्यार्थीहरू सिग्नलको एउटै धर्का पनि नपाउँदा महिनौं पढाइ–लेखाइबाट दूर रहे । कोही रक्सी खाएरै गए त कोही रक्सी नपाउँदा गए; कोही मोटाए, कोही सुकुटिए । कोही भयभीत भएर घरभित्रै कोचिइरहँदा मानसिक पीडाको सिकार भए । अस्पताल जान नपाउँदा मुटुको व्यथा, क्यान्सर र अन्य बिमारले कोरोनाले भन्दा धेरै गुणा बढी मानिस मरे ।

धेरैका आआफ्ना समस्या । सामान्य कुराहरू पनि समस्या भए । सहर–नगरमा एउटा ठूलो समस्या कपाल काट्ने हजाम र सलुन नपाउनु भयो । हामी साना छँदादेखि नै छाप्राका साधु हजामले दार्जिलिङको ठुटे बजारमा कपाल काट्ने कोठा लिएका थिए । महिनाको अन्तिम आइतबार बिहान सातै बजे हाम्रो घरमा आएर चारै छोराको कपालमा खटखट गर्ने मेसिन चलाइदिन्थे । पिताजी छेवैमा उभिएर साधु हजामलाई ‘कानको मास्तिर चिल्लो बनाउनुपर्छ’ भन्ने आदेश दिन्थे । दार्जिलिङजस्तो एउटा अन्तर्राष्ट्रिय फेसन केन्द्रमा कपाल मुडुलिँदा हामी विरोध गर्थ्यौं । तर पिताजी र हजाम भने राष्ट्र र बिहारको राजनीति र विकासबारे गफमा मस्त रहन्थे । साधु हजाम परलोक भएपछि शंकर हजामले त्यही काम गर्थे । यसैले आजसम्म पनि कपालले कान छुनासाथ र गफ हाँक्न मन पर्‍यो भने हामी हजामलाई सम्झिहाल्छौं । कोरोनाको लकडाउनमा कपालले केश छुँदा यति असजिलो हुन लाग्यो कि, आफैंलाई ‘अब लौ संकेतबिना (एसिमटोटिक) को कोभिडले पो घेरेछ’ भन्ने भय र त्रासले लपेट्न थाल्यो । कहाँ जाने ? हजाम छैन । अस्पताल जानु अझै खतरनाक ।

आफू अललिएको यस नाजुक घडीमा मलाई गत छ दशकमा भेटेका हजामहरूको अति विघ्न याद आयो । कहाँ गए होलान् साधु–शंकर, दिल्लीका यादव र सञ्जय, अमेरिकाका पिटर, जापानका ओगावा–सान, चीनका देङ चु, कलकत्ताको न्यु मार्केट पछाडितिरको छटपटे हजाम र फेरि श्रीलंकाका हुसेन हजाम ! आँखैमा आए उनीहरूका तस्बिर, हात र मेसिनको तालमेल अनि फेरि त्यही मीठो गफ । चौबीस वर्षअघि अमेरिकाको नोट्रे डेम विश्वविद्यालयमा पढाउन जाँदा पिटर हजामसँग मित्रता जोडियो । विश्वविद्यालयको इतिहास नै बोकेका पिटरले किन अमेरिकी फुटबल त्यहाँ प्रचलित भयो, कसरी आयरल्यान्डबाट जेसुट पुरोहितहरू आएर आधुनिक शिक्षण प्रणाली सुरु गरे, एक–एक कुरो बताइदिन्थे । अलिक परतिरको गोरेटोमा हाँस–बकुल्लाको संख्यासमेत ।

त्यसै बखत कलकत्ताबाट आएका मेरा पुराना साथीले त्यहीँ अर्को विभागमा पढाउन थालेका थिए । एक दिन अचानक भेट भयो, ठम्याउन सकिनँ । किनकि केश–दाह्री–जुँगा जंगलमा नागबेली फैलिएझैं, उनले छाडै छोडिदिएका थिए । ‘महेन्द्र, तुमार की खोबर ?’ स्वरले मात्रै चिनें । सोधें किन यस्तो घना जंगलको बोझ बोकेको भनी । उनको जवाफ सीधा थियो— यहाँ एक ताल कपाल काट्ने पैसाले कलकत्तामा जीवनभरि काट्न सक्छु । त्यसताक पिटरले कपाल काटेको पच्चीस डलर लिन्थे । अहिलेसम्म पनि पाँच रुपैयाँमा मीठो चिया पाइने कलकत्तामा तिनताक कपाल काटेको सायद छ–आठ रुपैयाँ थियो ।

दिल्लीका यादव र सञ्जय अचम्मका थिए । बिहारको मुजफ्फरपुरबाट आएका दुवैले आरकेपुरममा सलुन खोलेका थिए । घरीघरी भन्थे– ‘काहो तनी रे ? खैनी बा ?’ लिची र आँपका भोगी थिए; जात–थरसम्म बताइदिन्थे, रूख मात्रै देखे पनि । सञ्जयलाई अलिक आधुनिकताले छोएको थियो । फोरेन ओइलले हेड मसाज पनि गरिदिन्थे । बिहारको राजनीति खर्लप्पै खाएका थिए । कर्पुरी ठाकुर र लालु यादवका तानाबाना बुनिदिन्थे । यादवको हात खस्रो थियो, मेसिन चलाउँदा कपाल–केश उखेली नै दिन्थे । आफूचाहिँ जुल्फीवाला थिए । तर यादवले कैंची अति नै आकर्षक ढंगमा चलाउँथे ।

जापानको हितोत्सावासी विश्वविद्यालयनजिक कुनिताचीमा ओगावा–सानको अति नै सुन्दर सलुन थियो । पहिलोपटक जाँदाको घटनाले उनीमाथि मेरो ममता बढ्यो । जापानमा कपाल काट्ने विभिन्न प्रकारका मेसिनहरू हेलमेटजस्तै झुन्ड्याइएका हुने । छेवैमा राखिएका कपालका विभिन्न नक्साहरूमा टाँसिएको बटन दबाएर हेलमेटभित्र शिर हालेपछि पन्ध्र मिनेटमा कपाल काटिएर तयार हुन्थ्यो । जापानी एक हजार येन लाग्थ्यो । तर त्यसले भनेझैं नकाट्दा म ओगावा–सानकोमा सात हजार येन दिएर कपाल कटाउँथें ।

पहिलोपटक गएका बेला भाषा नबुझ्दा, पिताजीले सिकाएको त्यही दार्जिलिङ मोडलको, कानमाथिसम्म मुडुल्याउने गरी कपाल काट्ने भनी हातैले इसारा गरें ओगावा–सानलाई । उनले सुरु गरे । अघिपट्टिको ऐनामा मेसिन–शरीर–खुट्टा–हातको अति नै सुन्दर समागम देखेपछि ढुक्क भएँ । अचानक जुरेली चरीको शिरको जुरोजस्तै कपालको आकार निस्कँदै गएको देख्दा रिसले व्याकुल भएँ । हत्तपत्त उठेर यस्तो फेसन होइन भनें । ओगावा–सान अतालिए । जापानीहरू आफ्नो कौशलको कीरा हुन्छन् । अलिकति सच्याइदिए । पैसा लिनै मानेनन्, घरीघरी ‘आरिघात्तो गोजाइमास’ भनिरहे । तत्पश्चात् अर्को पटकदेखि उनी पनि साधु र शंकरजस्तै भए । ओगावा–सानसँग गफ भने हात–मुखको इसाराले गरिन्थ्यो ।

चीनका हजाम देङ चु अति नै फेसनदार थिए । सिचुवान विश्वविद्यालयको नर्थ गेटनजिक उनको सलुनमा कपाल काट्नुअघि कपाल नरम हातले लामो समयसम्म धोइदिन्थे । त्यसपछि उनले उफ्रीउफ्री, कम्मर हल्लाई आफ्नै अनुहार ऐनामा घरीघरी हेर्दै कपाल काटिदिन्थे । सेम्पुको डामले पोलेको कपाल, काट्दै जाँदा फररर झर्थ्यो । मेसिनभन्दा छिटो कुद्ने देङ चुले कपाल काटेपछि फेरि शिर मनतातो पानीले धोइदिन्थे, हल्का मसाज गर्दै । त्यहीँ निद्रा लाग्थ्यो । चिनियाँ हजामले यसरी लट्याउँथे । कहिले केश कानको नजिक पुग्छ र देङ चुको सलुनमा जाऊँ हुन्थ्यो ।

कलकत्ताको न्यु मार्केट पछाडितिरको गल्लीमा एकपटक म केश काट्न गएँ । कसैले बस्नचाहिँ मलाई फाइभ स्टार होटल पार्क स्ट्रिटमा बन्दोबस्त गरिदिएका थिए । छटपटे हजाम रहेछ, दार्जिलिङबाट आएको भन्नासाथ दार्जिलिङको नालीबेली बताइदियो । रोबर्टसन रोडका जाँड दोकानहरू एक–एक गरी चिन्दो रहेछ । रक्सी गड्डीखानमा भन्दा सिंहमारीको भानुग्राममा टेसिलो हुन्छ अरे ! नजिकैको दोकानबाट माटाको प्यालामा चिया मगाएर अतिथिसत्कार पनि गर्‍यो । ऊ पनि छाप्राकै रहेछ । तर मेसिनभन्दा उसको मुख छिटो चल्थ्यो ।

श्रीलंकाको बेलावत्तानजिक हुसेनको सलुन थियो । भीडभाडयुक्त कोलम्बोमा यो सलुन अति नै प्रचलित थियो । चार–पाँच जना हजाम सदैव व्यस्त रहन्थे । हुसेनले भारतीयहरूको खुब खातिर गर्थे । उनी पनि श्रीलंकामा चिया कमान बसाउन लगेका भारतीय तामिलहरूसँगै हुर्के–बढेका थिए । हुसेनसँग मलाई मेरा अभिन्न अर्थशास्त्री मित्र (स्वर्गीय) समन केलेगामाले चिनाएका थिए । हुसेनसँग मैले श्रीलंकाका पोर्सेलिन र बहुमूल्य पत्थर गहनाबारे धेरै कुराकानी गरें । कपाल काट्नभन्दा गफ गर्न म त्यहाँ जान्थें । छेवैको रेस्टुराँमा राइस एन्ड करी खाएर, अखबार काटी बनाएको न्याप्किन पेपरले हात पुछेर डेरा फर्किन्थें ।

कोरोनाका कारण लकडाउन हुँदा धेरैले आ–आफ्नै घरमा चिनियाँ मेसिन किनेर कपाल काटे । हाम्रो घरमा निर्मललाई अस्ट्रेलियाबाट टोटोलाले एक वर्षअघि नै मेसिन पठाइदिएको थियो । मेरो, इष्टमित्रको र आफ्नो कपालसमेत निर्मलले घरको आँगनमा धेरैपटक काटिदिए । कोरोनाले निर्मललाई नै आफूभित्रको सीप–कला–कौशल थाहा नभएको कुरालाई सबैले देख्ने गरी अघि ल्याइदियो । साधु–पिटर–देङ चु–हुसेनले निर्मलको रूप धारण गरे । कोरोनाले एकापट्टि मानवजीवन भुर्कुट बनायो, अर्कोपट्टि आफैंमा निर्भर हुने आँट र क्षमता दियो! बजार व्यवस्थाभन्दा परिवारको व्यवस्था नै अब्बल हो भन्ने ठूलो पाठ पनि सिकायो ।

प्रकाशित : माघ २०, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?