कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिमसार मानव जीवनको आधार

प्रकृतिको मृगौला भनिने सिमसार मानव जीवनलाई अपरिहार्य गाँस, बास र कपासका लागि आवश्यक वस्तु र सेवा निःशुल्क परिपूर्ति गर्ने बहुआयामिक प्राकृतिक स्रोत हो ।
मधु घिमिरे

प्राकृतिक वा कृत्रिम रूपले उत्पत्ति भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ सिमसार हो । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पर्छन् ।

सिमसार मानव जीवनको आधार

पानी र जमिन सिमसारका दुई प्रमुख विशेषता हुन् । पृथ्वीमा जीव वा जीवनको अस्तित्वका लागि यिनै दुई प्राकृतिक उपहारले अतुलनीय, निरन्तर र निःशुल्क योगदान गर्दै आइरहेका छन् । विश्वको करिब ९ प्रतिशत र नेपालको झन्डै ५ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । सिमसार क्षेत्रहरू पृथ्वीका सबैभन्दा उत्पादनशील, गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली हुन् । सिमसारलाई जैविक विविधता संरक्षण एवं सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय दृष्टिले अति नै मूल्यवान् प्राकृतिक प्रणालीको अंश मानिन्छ । सिमसारले विश्वभरका करिब ४० प्रतिशत जीवजन्तु तथा वनस्पतिका प्रजातिलाई बासस्थान दिँदै आएका छन् ।

सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धीकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई प्रकृतिको मृगौला पनि भन्ने गरिन्छ । सिमसारले वस्तु र सेवा प्रदान गर्नुका साथै पानीका स्रोत संरक्षण गर्न, पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न, तापमानलाई सन्तुलन गर्न, पहिरो रोकथाम गर्न अनि माटोको निर्माण र पोषण तत्त्व कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । सिमसार जैविक विविधता र कार्बन सञ्चित गर्ने थलो पनि हो । मानव सभ्यता विकासको एउटा महत्त्वपूर्ण कडीका रूपमा सिमसार क्षेत्रलाई लिइन्छ ।

मानिसहरूको बसोबास त्यस्ता ठाउँहरूबाट सुरु भएको पाइन्छ, जहाँ सिमसार रहेको छ । नेपालका आदिवासी जनजातिहरूमध्ये करिब १० प्रतिशत यस्तै सिमसारमा आश्रित छन् । विश्वका सिमसार क्षेत्रहरूबाट प्राप्त हुने वातावरणीय सेवा र वस्तुहरूको आर्थिक मूल्यांकन सम्बन्धमा गरिएको अध्ययनअनुसार, सिमसारबाट वार्षिक रूपमा करिब १४ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक योगदान प्राप्त हुने गरेको छ । सिमसार संरक्षण र संवर्द्धनमा गरिएको प्रत्येक लगानीको मूल्यको दोब्बर मात्रामा यसबाट फाइदा लिन सकिन्छ भन्ने तथ्यसमेत यससम्बन्धी अध्ययनले देखाएको छ ।

नेपालमा सिमसारको अवस्था

पर्वतीय मुलुक नेपालका विशेषता भनेकै जल, जमिन, जंगल, जीवजन्तु र वनस्पतिजस्ता अपार प्राकृतिक सम्पदा हुन् । नेपालको कुल क्षेत्रफलमध्ये ८,१९,२७७ हेक्टर सिमसारले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्त्व बोकेका सिमसार क्षेत्रहरू छन् । नेपालले अन्तर्राष्ट्रिय महत्त्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गराई व्यवस्थापन गर्दै आइरहेको छ । देशका सबै प्रदेश र स्थानीय तहमा यस्ता सिमसार क्षेत्रहरू बाँडिएका छन् । नेपालमा ५३५८ वटा ताल, ३२५२ वटा हिमनदी, २३२३ वटा हिमताल छन् । तराई क्षेत्रमा १६३ वटा र पहाडमा ७९ वटा सिमसार छन् ।

नेपालमा सिमसार मुख्यतया दुई प्रकारका छन् : (१) प्राकृतिक सिमसार; जस्तै— ताल, तलैया, कुण्ड, खोला, नदी, नदीतटीय बाढी मैदान, धाप र दलदल लगायत (२) मानवनिर्मित सिमसार; जस्तै— जलाशय, तलाउ, पोखरी, धान खेत आदि । सिमसारहरूमध्ये क्षेत्रफलका हिसाबले सिञ्चित धानखेतहरूले सबैभन्दा ठूलो क्षेत्र (करिब ४८.६ प्रतिशत) ओगटेका छन् । प्राकृतिक सिमसार नदीहरूले ४८.२ प्रतिशत क्षेत्र ओगटेका छन् ।

सिमसार र जैविक विविधता

नेपालका सिमसारमा २३० प्रजातिका माछा पाइन्छन्, जसमध्ये १६ प्रजातिका अन्यत्र पाइँदैनन् । यसका साथै १०२ प्रजातिका फाइटोप्लाङ्टन, १०९ प्रजातिका जुप्लाङ्टन, १९२ प्रजातिका चिप्लेकिरा र ५३ प्रजातिका उभयचर पाइन्छन् । अधिकांश सिमसार भ्रमणशील चराहरूका लागि विश्रामस्थल पनि हुन्, जहाँ बर्सेनि हजारौंको संख्यामा यस्ता चराहरू साइबेरिया लगायतबाट आउने गर्छन् ।

नेपालका सिमसारहरूले वानस्पतिक–जैविक विविधता संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालमा हालसम्म पहिचान भएका वानस्पतिक प्रजातिमध्ये करिब २५ प्रतिशत वनस्पति सिमसार क्षेत्रमा पाइन्छन् । नेपालका सिमसारमा १००१ प्रजातिका लेउ, २५ प्रजातिका टेरिडोफाइट्स र ६८३ प्रजातिका फूल फुल्ने वानस्पतिक प्रजातिहरू पाइन्छन् । तीमध्ये २६ प्रजातिका फूल फुल्ने वनस्पतिहरू नेपालका सिमसार क्षेत्रमा मात्र पाइन्छन् । नेपालका सिमसारमा पाँच प्रजातिका जंगली धानसमेत पाइन्छन् ।

सिमसार र पानी

पानीबिना हाम्रो दैनिकी असम्भवप्रायः छ । हामीले दैनिक उपभोग गर्ने, कृषि एवं पशुपालनका लागि चाहिने, जलविद्युत् उत्पादनमा प्रयोग गरिने एवं सम्पूर्ण जीवजन्तु र वनस्पतिले बाँच्नका लागि प्रयोग गर्ने पानी सिमसारबाटै प्राप्त हुन्छ । नेपालको करिब ३ करोड जनसंख्याले दैनिक उपभोग गर्ने, १४.७ लाख हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ गर्ने एवं १०२० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न प्रयोग गरिएको पानी सिमसारबाटै उपलब्ध भएको हो । आर्थिक क्रियाकलापहरू, विकास–निर्माण, पर्यटन क्षेत्र, उद्योग र कलकारखाना आदि क्षेत्रमा प्रयोग हुने पानीको स्रोत पनि सिमसार नै हो ।

नेपालका सिमसारको आर्थिक मूल्य

नेपालका सिमसारबाट प्राप्त वातावरणीय सेवा र वस्तुहरूको छुट्टाछुट्टै वा एकीकृत आर्थिक मूल्यांकनसम्बन्धी अध्ययन भैरहेका छन् । केही प्रमुख अन्तर्राष्ट्रिय स्तरका प्राकृतिक र मानवनिर्मित सिमसारहरूमध्ये गण्डकी प्रदेशमा रहेको फेवातालको आर्थिक मूल्य ४३ मिलियन अमेरिकी डलर बराबर रहेको पाइएको छ । यसै गरी प्रदेशमा १ मा अवस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष र वाग्मती प्रदेशमा रहेको जगदीशपुर जलाशयको आर्थिक मूल्य क्रमशः १६ मिलियन र १ मिलियन अमेरिकी डलर बराबर रहेको अध्ययनमा उल्लेख छ ।

सिमसार संरक्षणमा नेपालको प्रयास

नेपालले संविधान, जलचर संरक्षण ऐन–२०१७, जलस्रोत संरक्षण ऐन–२०४९, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, वातावरण संरक्षण ऐन–२०७६, राष्ट्रिय सिमसार नीति–२०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४) मार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा प्रतिबद्धता जनाएको छ । नेपालले सन् १९८७ मा रामसार महासन्धिमा प्रवेश गरेदेखि हालसम्म १० वटा महत्त्वपूर्ण सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गरी विशेष प्राथमिकताका साथ व्यवस्थापन गर्दै आइरहेको छ ।

साथै नेपालको संविधानले सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापन सम्बन्धमा तीनै तहका सरकारलाई अधिकार र जिम्मेवारी बाँडफाँटसमेत गरेको छ । प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्दै प्राप्त लाभको समन्यायिक बाँडफाँट गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग संवैधानिक आयोगका रूपमा रहेको छ । स्थानीय तहअन्तर्गत पर्ने सिमसारहरूको संरक्षण र व्यवस्थापन गर्न स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक स्थानीय सरकारलाई अधिकार र जिम्मेवारी सुम्पेको छ ।

सिमसार व्यवस्थापनका चुनौती

नेपालका विविध भूभागमा अवस्थित सिमसार क्षेत्रहरू विभिन्न कारणले खतरामा परेका छन् । तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । केही स्थानका सिमसारहरू लोपसमेत भइसकेका छन् । सिमसार ह्रासका केही प्रमुख कारण हुन्– जनसंख्या वृद्धि र बसाइँसराइ, गरिबी र बेरोजगारी, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, जलवायु परिवर्तन, फोहोर तथा दुर्गन्धित पदार्थको मिसावट, अव्यवस्थित सहरीकरण, सडक, जलविद्युत् लगायतका भौतिक संरचना निर्माण एवं विस्तार, सिमसारसम्बन्धी जानकारीमूलक सूचनाहरूको कमी ।

नेपालमा फैलिएका २७ प्रजातिका बाह्य मिचाहा वनस्पतिमध्ये २३ प्रजाति सिमसार क्षेत्रमा पाइन्छन् । सिमसार संरक्षण, संवर्द्धन र व्यवस्थापन गर्ने सम्बन्धमा भएका विद्यमान नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुनु, अन्तरनिकाय समन्वय र सहकार्यको कमी, प्राविधिक, वित्तीय एवं संस्थागत क्षमताको कमी, सिमसारजन्य सूचना र जानकारीको कमी आदि सिमसार संरक्षण र दिगो व्यवस्थापनका थप चुनौती हुन् ।

अन्त्यमा, सिमसार मानव जीवनलाई अपरिहार्य गाँस, बास र कपासका लागि आवश्यक वस्तु र सेवा निःशुल्क परिपूर्ति गर्ने बहुआयामिक प्राकृतिक स्रोत मात्र नभई देशको समग्र आर्थिक विकासको आधारस्तम्भ पनि हो । देशभित्र उपलब्ध यस्ता प्राकृतिक स्रोतहरूको संरक्षण, संवर्द्धन र बुद्धिमत्तापूर्ण उपयोगबिना दिगो विकास सम्भव छैन ।

अतः सिमसार क्षेत्रबाट अधिकतम लाभ लिन अब प्रत्येक जिम्मेवार निकायले आआफ्ना क्षेत्राधिकारभित्रका सिमसारको सर्वेक्षण गरी विवरण संकलन गर्न, सिमसारको महत्त्व र उपयोगिताको आधारमा वर्गीकरण गर्न, सिमसारको योगदानको आर्थिक मूल्यांकन अध्ययन गर्न तथा सिमसारको दिगो व्यवस्थापन एवं लाभको समन्यायिक बाँडफाँटका लागि कानुनी आधार तयार गरी कार्यान्वयन गर्न/गराउन आवश्यक छ । साथै सिमसारलाई जैविक विविधता संरक्षण एवं अध्ययन अनुसन्धान केन्द्र, सिमसारजन्य स्रोतको व्यावसायिक केन्द्र, पर्यापर्यटन केन्द्र, धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्दै लैजान सके यसबाट मनग्य आर्थिक लाभ लिन सकिन्छ ।

(घिमिरे वनस्पति विभागकी उपसचिव (प्राविधिक) हुन् ।)

प्रकाशित : माघ १९, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?