कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भाषिक समस्यासँग जुझ्दै साना विद्यार्थीहरू

मधु राई

‘मैले सम्झेँ म्याम, भोलि पढा’को ।’ यूकेजी पढ्ने रमण मुखिया मधेसी समुदायका प्रतिनिधि पात्र हुन् जसले कक्षामा सधैँजसो यस्ता संवाद दोहोर्‍याउँछन् । एलकेजी पढ्ने नेहा यादव र मीनाक्षी मेहताले पनि साथीलाई ‘तपाईं’ र हामी शिक्षकलाई ‘तिम्रो/तेरो’ भन्ने गर्छन् । हामी शिक्षकले बारम्बार सिकाए पनि उनीहरू बेलाबेला यसरी नै बोल्ने गर्छन् ।

भाषिक समस्यासँग जुझ्दै साना विद्यार्थीहरू

प्रायः पूर्वप्राथमिक तह पढ्ने अधिकांश विद्यार्थी विभिन्न समुदायका हुन्छन् । विभिन्न समुदाय र जातजातिका साना विद्यार्थीहरूले विद्यालय भर्ना हुनेबित्तिकै कहिल्यै नसुनेको/नबोलेको भाषा सुन्नु/बोल्नु पर्ने हुन्छ । खास गरी मधेसी समुदायबहुल टोलमा अधिकांश अभिभावक पनि नेपालीमा कुरा गर्दैनन् । त्यसमाथि लकडाउनका बेला लामो समय घर बसेका मधेसी मूलका साना विद्यार्थीहरूले परिवार र समुदायमा नेपाली भाषा बोल्न पाएनन् ।

त्यसो त पहाडे मूलका साना विद्यार्थीहरूले पनि घरपरिवार र टोलछिमेकमा नबोलिने अंग्रेजी भाषा विद्यालयमा सकी–नसकी सिक्नुपर्ने बाध्यता छ । यस्तै, मधेसी समुदायका विद्यार्थीले घरमा नबोलिने नेपाली भाषाका कतिपय शब्दको अर्थ थाहा पाउँदैनन् । यसले गर्दा उनीहरूको सिकाइमा दूरगामी असर परेको देखिन्छ भने, पहाडे समुदायका अधिकांश शिक्षित अभिभावकले समेत घरपरिवारभित्र अंग्रेजी भाषा बोल्दैनन् । मधेसी समुदायका विद्यार्थीले नेपाली भाषामा भोग्दै आएको समस्या पहाडे समुदायका विद्यार्थीहरूलाई अंग्रेजीले दिने गरेको छ ।

विद्यार्थी मधेसी होऊन् वा पहाडे, घरपरिवार र टोलछिमेकमा नबोलिने भाषामा शिक्षा आर्जन गर्नुको पीडा सिक्ने र सिकाउनेले मात्र महसुस गर्न सक्छन् । भाषिक समस्याले गर्दा एकातिर विद्यार्थीले सोचेअनुसार उपलब्धि हासिल गर्न सक्दैनन् भने, अर्कातिर शिक्षकहरूले मिहिनेत गरेअनुसारको परिणाम आउँदैन । साना विद्यार्थीहरूलाई नेपाली, अंग्रेजी र गणितसहित विज्ञान र सामाजिक अध्ययनजस्ता विषयहरू पनि पढाउनुपर्ने हुन्छ । विज्ञान र सामाजिक अध्ययनका विषयहरूमा शब्दार्थ बुझाउनुपर्ने हुन्छ । कतिपय अंग्रेजीको शब्दार्थ बुझाउन नेपाली भाषा चाहिन्छ । नेपालीमा अर्थ बुझेपछि सम्झन र बुझ्न सहज हुन्छ । उदाहरणका लागि, अंग्रेजी शब्द ‘एप्पल’ लाई नेपालीमा के भनिन्छ भनेर सोध्दा मधेसी मूलका कतिपय विद्यार्थी अलमलिने गरेका छन् । कतिपय विद्यार्थी ‘हामी त सेब भन्छु, म्याम’ भन्ने गर्छन् । यस्ता विद्यार्थीहरूलाई ‘नेपालीमा स्याउ भन्नुपर्छ’ भनेर सिकाउनुपर्ने हुन्छ ।

यस्तै कारणले गर्दा नेपाली भाषा बोल्ने विद्यार्थीका तुलनामा अन्य भाषा बोल्ने विद्यार्थीलाई पढाउन र बुझाउन गाह्रो हुने यथार्थ स्वयं शिक्षक र अभिभावकहरूले बुझेको देखिँदैन । अर्को परोक्ष कारण उमेरअनुसारको सिकाइ नहुनु हो । पछिल्लो समय उमेर नपुगी विद्यालय भर्ना गर्ने चलन बढ्दै गएको छ । घरपरिवारभित्र बोलिने भाषामा दोहोरो कुरा गर्न नसक्ने साना विद्यार्थीहरूले विद्यालयमा नेपाली र अंग्रेजी सिक्नु/पढ्नु पर्ने बाध्यता छ ।

पछिल्लो समय केही निजी विद्यालयले पूर्वप्राथमिक तहमा स्थानीय मधेसी समुदायका शिक्षिकाहरूलाई अवसर दिन थालेका छन् । यसले गर्दा मधेसी समुदायका कतिपय अभिभावक र विद्यार्थीहरूलाई नेपाली भाषा सिक्न र सिकाउन सहज भएको छ । त्यति मात्र हैन, कतिपय मधेसी समुदायका अभिभावकहरू आफ्ना छोराछोरीले घरमा पनि नेपाली बोल्न थालेको बताउँछन् । हुन त शिक्षाको माध्यम नेपाली भएका सामुदायिक विद्यालयमा पनि मधेसी मूलका विद्यार्थीहरूले निजीमा जस्तै समस्या झेल्दै आएका छन् ।

राष्ट्रिय शिक्षा नीति, २०७६ मा भनिएको छ, ‘नेपाली भाषाको शिक्षणलाई प्रवर्द्धन गर्दै नेपाली मौलिक कला, संस्कृति, सामाजिक अध्ययनसम्बन्धी विषय नेपाली भाषामा पठनपाठन गरिनेछ तर बहुभाषी कक्षाकोठामा मातृभाषामा आधारित बहुभाषी शिक्षण पद्धतिलाई प्रोत्साहित गरिनेछ ।’ तर, यहाँ भनिए बमोजिम शिक्षण पद्धति कुनकुन जिल्लामा कसरी लागू गरियो/गरिँदै छ ? मातृभाषामा आधारित शिक्षण पनि कागजमै सीमित छ ।

पछिल्लो समय नेपालभरका ३५ हजार सामुदायिक विद्यालयमध्ये कतिपयले शिक्षाको माध्यम अंग्रेजी बनाई विद्यार्थी र अभिभावकहरूलाई आकर्षित गर्ने प्रयास गर्दै आएका छन् । यद्यपि कतिपय शिक्षाका सरोकारवालाहरू शिक्षाको माध्यमले गर्दा सामुदायिक शिक्षाप्रति वितृष्णा बढेकामा सहमत देखिँदैनन् । हुन पनि हो, माध्यम अंग्रेजी हुँदैमा शिक्षाको गुणस्तर र उपादेयता बढ्ने हो भने निजी विद्यालयले उत्पादन गरेका विद्यार्थीहरू किन स्वदेशमा अवसर देख्दैनन् ?

कुनै पनि देशको शिक्षाले जनजीविकालाई सहज मात्र हैन, त्यस देशका नागरिकलाई परिवर्तनको संवाहक बनाउनुपर्ने हो । यसमा कुन भाषामा शिक्षा आर्जन गर्दा फलदायी हुन्छ भन्नेबारे सरकार र शिक्षाका सरोकारवालाहरूले ध्यान दिनुपर्ने हो । तर हामीकहाँ शिक्षाको माध्यमबारे राष्ट्रिय छलफल हुन सकेको छैन । यसले गर्दा पनि कुन माध्यमले नेपाली शिक्षाको गुणस्तर र उपादेयता बढ्छ भन्नेबारे बृहत् छलफल हुन जरुरी छ । जापान, चीन, फिनल्यान्ड, स्पेनजस्ता कैयौं मुलुकमा शिक्षाको माध्यम आफ्नै मातृभाषा भएका कारण त्यहाँका नागरिकले अवसर खोज्न बिदेसिनुपरेको छैन । हामीकहाँ शिक्षाको माध्यम नेपाली भएकाले जनजीविका लगायतका अवसरहरू गुम्दै गएको भन्ने सोच नराम्ररी झाँगिएको छ ।

विकसित मुलुकहरूले भाषागत समस्यालाई निराकरण गरी मातृभाषालाई शिक्षाको माध्यम बनाउँदै आएको सफल अभ्यासलाई हाम्रोजस्तो मुलुकले अवलम्बन गर्न जरुरी छ । अनि मात्र शिक्षाको गुणस्तर र उपादेयता बढ्छ । यसो हुन सके मात्र पलायनवादी सोचमा विराम लाग्छ । वर्तमान शिक्षा उत्पादनमूलक बन्न नसक्नुका धेरै कारणमध्ये एउटा भाषा पनि हो भनेर तीनै तहका सरकारले बुझ्न जरुरी छ ।

प्रकाशित : माघ १६, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?