कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सोसल मिडियामा ‘तुलना र ईर्ष्या’

कोही व्यक्ति सोसल मिडियामा खुसी देखिनुले ऊ वास्तविक जीवनमा पनि खुसी नै छ भन्ने ग्यारेन्टी हुँदैन ।
लीना दुवाडी

‘तिम्रो इन्स्टाग्राम स्टोरी हेर्दा त मलाई पनि अमेरिका गएर बस्न पाए हुन्थ्यो जस्तो लाग्छ,’ केही साताअघि एउटा भारतीय साथीले मलाई भन्यो । उसको भनाइ सुनेर मलाई ‘अमेरिकामा त्यस्तो के छ र, जुन भारतमा उपलब्ध छैन ?’ भन्ने लाग्यो ।

सोसल मिडियामा ‘तुलना र ईर्ष्या’

ठाउँअनुसार केही हदसम्म प्रविधि र प्रणाली फरक होला, तर फेसबुक वा इन्स्टाग्राममा फोटो हेरेकै भरमा अमेरिकालाई स्वर्ग देख्नु र आफ्नो देशमा केही छैन भन्ने दृष्टिकोण बनाउनु सायद इन्टरनेटको आविष्कारले मानवलाई दिएको एउटा अनावश्यक उपहार हो ।

सोसल मिडियाको क्रान्तिले हाम्रो जीवनलाई सोचेभन्दा निकै सहज र रमाइलो पक्कै बनाइदिएको छ । हामी हाम्रा दैनिकीलाई साथीभाइ र फलोवरसँग साझा गरिरहेका हुन्छौं । अरूको जीवनलाई नियालिरहेका हुन्छौं र फोनको स्क्रिनमार्फत दुनियाँ चहारिरहेका हुन्छौं । हाम्रो जीवन अहिले खुला किताबजस्तै भएको छ । कुन मानिस कस्तो छ भनेर जान्न अहिले उसको सोसल मिडिया प्रोफाइल हेर्ने गरिन्छ । कतिपय ‘जब रिक्रुटर’ ले व्यक्तिको बायोडाटाभन्दा पहिले उसको सोसल मिडिया जाँच्ने गर्छन् ।

आफूलाई सहज लाग्ने व्यक्तिगत कुरा आफ्नो नेटवर्कमा साझा गर्नु गलत होइन । अरूबारे जानकारी लिनु पनि नराम्रो होइन । तर, सोसल मिडियामा अरूका रहनसहन, जीवनशैलीलाई आफ्नोसँग तुलना गरेर अचेतन/अवचेतन मनमा उत्पन्न हुने ईर्ष्या र त्यसले जन्माउने चिन्ता एवम् उदासीले आफूलाई कति असर गरिरहेको छ भन्नेतर्फ हाम्रो ध्यान जानु अत्यावश्यक छ ।

अमेरिकी मनोवैज्ञानिक लेओन फेस्टिंगरले सन् १९५४ मा सामाजिक तुलनाको सिद्धान्त विकास गरेका थिए । उनका अनुसार मानिस आफ्नो उन्नति/प्रगतिको निर्धारण अरूको जीवनसँग दाँजेर गर्न चाहन्छ । सामाजिक तुलना मानव विकासको एउटा प्राकृतिक अवयव नै हो । करिब छ–सात वर्षको उमेरदेखि नै व्यक्तिले आफूलाई अरूसँग तुलना गर्न थाल्छ । समयानुसार तुलनाको प्रकृति बदलिँदै जान्छ । पहिलेपहिले छरछिमेक, स्कुल–कलेज, अफिसमा सीमित हुने सामाजिक तुलनाको स्वरूप सोसल मिडिया फस्टाएसँगै भयावह भएको छ ।

हामी हरेक दिन घण्टौं बिताएर इन्टरनेटमा आफूलाई अरूसँग तुलना गर्छौं । तर हामीले आफूसँग तुलना गरिरहेका मानिसहरू को हुन् र उनीहरू वास्तविक जीवनमा कस्ता छन् भन्ने कमै मात्र जानकारी पाएका हुन्छौं । हामीलाई ती व्यक्तिको पारिवारिक पृष्ठभूमि र उनीहरूले गरेका मिहिनेतबारे पनि जानकारी कमै हुन सक्छ । तर हामी उनीहरूको पृष्ठभूमि नबुझी उनीहरूको सफलतालाई मात्र हेर्छौं र दुःखी हुन्छौं ।

एक छिन तपाईं आफ्नै फेसबुक नियाल्नुस्, आधाजति व्यक्तिहरू व्यावसायिक हिसाबले तपाईंभन्दा सफल होलान् । उनीहरूको फ्रेन्ड्स लिस्ट लामो होला, फलोवर बढी देखिएलान् । तिनका पोस्टमा लाइक र कमेन्ट धेरै आउलान् । तर सायद यहाँसम्म आइपुग्न तिनीहरूले त्यसै अनुसारको मिहिनेत र समय पनि खर्चिए कि ? अब फेसबुकका अरू साथीलाई हेर्नुस् । आधाजति व्यक्तिभन्दा तपाईं सफल हुनुहोला । तपाईंले आफ्नो करिअरलाई गम्भीर रूपले लिनुभयो होला । सिक्ने–सिकाउने कुरामा कन्जुस्याइँ गर्नुभएन होला, त्यसैले त तपाईं ती व्यक्तिभन्दा सफल हुनुहुन्छ । त्यसैका आधारमा तपाईंका सोसल मिडियामा प्रतिक्रिया पनि आइरहेका होलान् ।

तपाईंले इन्स्टाग्राममा देख्ने कैयौं व्यक्ति शारीरिक बनोट र सुन्दरतामा तपाईंभन्दा अगाडि होलान् । तिनका सेल्फी मनमोहक देखिएलान् । ती पोस्टहरूमा लाइक र कमेन्ट पनि टन्नै हुन सक्छन् । तिनलाई जस्तो लुगा पनि सुहाउँछ र तिनका फलोवर तपाईंका भन्दा धेरै छन् ।

तर तपाईंलाई थाहा छ, आफ्नो शरीरलाई फिट राख्न उनीहरू कतिपटक जिम जान्छन् ? शारीरिक अभ्यास गर्छन् वा स्वस्थ जीवनशैली अपनाउँछन् ? त्योभन्दा पनि प्रमुख कुरा, एउटा सुन्दर सेल्फीका लागि बीसवटा सेल्फी खिच्छन् र आधा घण्टा लगाएर त्यसमा फिल्टर प्रयोग गर्छन् । तपाईंले कहिल्यै सोच्नुभएको छ, इन्स्टाग्रामका थुप्रै मानिसभन्दा शारीरिक बनोट र सुन्दरताका हिसाबले तपाईं धेरै राम्रो हुन पनि सक्नुहुन्छ ?

सोसल मिडियामा तपाईंले फलो गर्ने कैयौं व्यक्ति दिनहुँजसो आफ्ना पति/पत्नी/पार्टनर वा बालबच्चासँग खिचिएका फोटो सेयर गर्छन् । तिनमा उनीहरू निकै खुसी देखिन्छन् । तिनको जीवन ‘पर्फेक्ट’ देखिन्छ । फेसबुकमा हेर्दा तिनका भान्सामा सधैं मीठामीठा खाना मात्र पाक्छन् । ती फोटा र टिकटक देखेर तपाईंलाई ‘आफ्नो जीवन पनि त्यस्तै भएदेखि !’ भन्ने पक्कै लाग्छ । तर के उनीहरूको जीवन तपाईंले सोचेजस्तै पूर्ण छ कि सोसल मिडियाका भित्ताहरूमा मात्र ?

बिहान उठ्नेबित्तिकै फेसबुक/इन्स्टाग्राम खोल्दा कसै न कसैको बर्थडे, म्यारिज एनिभर्सरीका पार्टीका फोटाले तपाईंको अटेन्सन कुरिरहेका हुन्छन् । महामारीका बेला तपाईं भने घरमै बस्ने, कहीँ–कतै नजाने, भोजभतेर नगर्ने तर अरूले कोरोना भन्ने कुन चराको नाम हो भनेझैं पार्टी गरेको देख्दा तपाईं भित्रभित्रै मुरमुरिनुहुन्छ होला । अचेतन/अवचेतन मनमा डाह र आक्रोश भरिन्छ होला । तर एक छिन विचार गर्नुस् त, तपाईंले गर्ने विकेन्ड गेट टुगेदरका फोटा हेरेर तपाईंका कैयौं साथीहरू ठ्याक्कै त्यस्तै पो सोचिरहेका छन् कि ?

इन्टरनेटमा तपाईंले देख्ने सयौं मानिस आर्थिक हिसाबले तपाईंभन्दा सम्पन्न होलान् । तिनीहरूको लवाइखवाइ र रहनसहन छुट्टै होला । छुट्टी मनाउन उनीहरू देश–विदेश घुम्न जालान् । एयरपोर्ट, महँगा रेस्टुरेन्ट र आकर्षक ‘बिच’ मा बसेका फोटा पोस्ट गर्लान् । तपाईंलाई लाग्छ, असली जीवन त उनीहरूले बाँचिरहेका छन् । यस्तो देखेर फेसबुक/इन्स्टाग्राममै फोटो हाल्न मात्र भए पनि तपाईंलाई घुम्न जान मन लाग्छ ।

त्यसविपरीत सोसल मिडियामा देखिने हजारौं मानिसभन्दा तपाईंको आर्थिक स्थिति बलियो हुन सक्छ । जीवनका आधारभूत आवश्यकताहरू पूर्ति गरेर पनि आफूलाई मन लागेका लक्जरीका लागि तपाईंसँग पैसा हुन सक्छ । तपाईंलाई राम्रोसँग थाहा छ, धन कमाउन र बचाउन जति मिहिनेत लाग्छ, त्यसको आवश्यकता र मूल्य बुझ्न उत्तिकै बल लगाउनुपर्छ ।

तपाईंका प्रायः फेसबुक फिड कसै न कसैको अवार्ड, पुरस्कार र उपलब्धिका ‘प्रुफ’ ले भरिएका हुन्छन् । लामा क्याप्सनसाथ ती फोटा देखेर तपाईंलाई लाग्न सक्छ, ‘म कति पछाडि छु ।’ आफूदेखि वितृष्णा पैदा हुन पनि सक्ला । रिसले कतिलाई अनफलो पनि गर्नुभयो होला । याद गर्नुस् त, तपाईंकै त्यस्ता फोटा र क्याप्सन देखेर कतिलाई ठ्याक्कै त्यस्तै डाह लागेन होला र ?

सोसल मिडियामा कतिपय व्यक्ति फोटो र भिडियो कम अनि ज्ञानगुनका कुरा बढी साझा गर्छन् । ती व्यक्ति तपाईंभन्दा बुद्धिमान र जानकार होलान् । सायद उनीहरू आफ्नो दैनिकीको उल्लेखनीय हिस्सा पढ्नमा पो व्यतीत गर्छन् कि ? उनीहरूका पोस्ट पढेर तपाईंमा हल्का निराशा पैदा हुन सक्छ । तर के सम्झनुस् भने, थुप्रै व्यक्ति यस्ता पनि हुन्छन् जो आफूसँग भएभन्दा अलि बढी नै ज्ञान देखाउनमा विश्वास गर्छन् ।

अचेल टिकटकले सबैलाई मोहित पारेको छ । आफ्ना काम बित्दाबित्दै पनि हामीलाई दिनहुँ दुई–तीनवटा टिकटक नबनाई चित्तै बुझ्दैन । अरूको टिकटक र त्यसको वाहवाही देखेर तपाईंले पनि अप्ठेरो लागीलागी भिडियो बनाउन सुरु गर्नुभयो होला । तर के त्यो आवश्यकता थियो कि मात्र देखासिकी ?

यद्यपि सोसल मिडियामा हुने तुलना अर्थात् ‘सोसल कम्पेरिजन’ सधैं नकारात्मक मात्र हुँदैन । सन् २०१५ को एक अध्ययनअनुसार, उमेर बढ्दै जाँदा व्यक्तिको सामाजिक तुलना प्रक्रियामा संलग्न हुने झुकाव घट्दै जान्छ । तपाईं/हामीमध्ये धेरै जनाले इन्टरनेटमै भेटिएका मानिसको जीवनशैली र उपलब्धिबाट प्रेरित भएर आफूमा सकारात्मक परिवर्तन ल्याएका छौं । करिअरमा प्रगति गरेका छौं । तर बुझ्नुपर्ने कुरा के हो भने, कोही व्यक्ति सोसल मिडियामा खुसी देखिनुले ऊ वास्तविक जीवनमा पनि खुसी नै छ भन्ने ग्यारेन्टी हुँदैन ।

सोसल मिडियामा देखा पर्ने हँसिलो मुहार, आकर्षक शरीर, आर्थिक, व्यावसायिक र सामाजिक सफलता मात्र वास्तविक खुसी र सन्तुष्टिको मापक होइनन् । त्यसैले हामीले सोसल मिडियामा अर्काले पोस्ट गरेका कृत्रिम खुसीका शब्दहरू वा फोटाहरूलाई हेरेर आफैंलाई मनरोगी बनाउनुभन्दा आफ्नो धरातलीय यथार्थलाई आत्मसात् गरेर अघि बढ्न कोसिस गर्‍यौं भने मात्र दीर्घकालीन रूपमा खुसी र सुखी हुनेछौं ।

प्रकाशित : माघ १३, २०७७ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?