अनैतिक कूटनीति- विचार - कान्तिपुर समाचार

अनैतिक कूटनीति

राज्य सञ्चालनको अत्यन्त महत्त्वपूर्ण हिस्सा मानिने कूटनीति संविधानको मार्गनिर्देशनमा निर्धारित मापदण्डअनुरूप सञ्चालन गर्नुपर्ने हुन्छ ।
भीम रावल

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँगको गोप्य मन्त्रणापछि संविधान मिच्दै प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यही माघ १ गते तीनदिने भारत भ्रमणमा पठाउनुभयो । परराष्ट्रमन्त्री त्यता जानुअघिदेखि नै सरकारी स्तरबाट त्यसको गुणगान सुरु गरिएको थियो ।

कूटनीति र प्रशासनिक क्षेत्रको लामो अनुभव भएका देशभक्त नेपालीहरूले भने प्रधानमन्त्री ओलीले असंवैधानिक किसिमले प्रतिनिधिसभा भंग गर्नुका साथै सरकारको नेतृत्व गरिरहेको नेकपा फुटाउने काम गरेका बेला परराष्ट्रमन्त्रीको भारत भ्रमण अर्थहीन मात्र होइन, नेपालका लागि प्रत्युत्पादक हुने धारणा व्यक्त गरेका थिए । यस्तो धारणा प्रधानमन्त्रीले सुन्ने कुरै भएन । तर, परराष्ट्रमन्त्रीको भारत भ्रमणले राष्ट्रहित र स्वाभिमानमा आँच पुर्‍याउने प्रधानमन्त्री ओलीको अनैतिक कूटनीतिलाई थप उदांग पारेको छ । यस सन्दर्भमा उठेका केही गम्भीर प्रश्न र विषयबारे चर्चा गर्नु सामयिक हुनेछ । यसमा प्रवेश गर्नुअघि ओलीले विगतमा अभ्यास गर्नुभएको अनैतिक कूटनीतिका केही पक्षको स्मरण गर्नु उचित हुन्छ ।

देशको राज्य प्रणाली संविधान तथा निश्चित सिद्धान्त, मान्यता र पद्धतिअनुरूप सञ्चालित हुन्छ । राज्य सञ्चालनको अत्यन्त महत्त्वपूर्ण हिस्सा मानिने कूटनीति पनि संविधानको मार्गनिर्देशनमा निर्धारित मापदण्डअनुरूप सञ्चालन गरिन्छ । तर ओलीले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आम निर्वाचनमा बहुमत प्राप्त गरी आफू प्रधानमन्त्री बन्ने स्थिति बनेदेखि नै उक्त मान्यताका विपरीत राज्यलाई कमजोर तुल्याउने किसिमले कूटनीति चलाउने काम गर्नुभयो । आम निर्वाचनपछि प्रधानमन्त्री हुनुअघि ओलीले बैंककमा उपचार गर्न भनी गएका बेला भारतीय संस्थापनका मानिसहरूसँग गोप्य भेटवार्ता गर्नुभयो । त्यहीँबाटै नेपाललाई देशभक्तिपूर्ण बाटामा जान नदिने खेल सुरु भयो । त्यसलगत्तै ओलीले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग होटल सोल्टीमा कूटनीतिक मर्यादा उल्लंघन गर्दै मन्त्रणा गर्नुभयो । त्यस मन्त्रणाले नेपाललाई चीनको बोआओ शिखर सम्मेलनमा भाग लिनबाट वञ्चित गर्‍यो ।

नेपालका कम्युनिस्टहरूले सात दशक लामो कठिन आन्दोलन र संघर्षपछि आम निर्वाचनबाट बहुमत प्राप्त गरेको अवस्थामा, नेपालले पहिलेदेखि नै निरन्तर भाग लिँदै आएको एवं विभिन्न देशका राष्ट्राध्यक्ष र सरकारप्रमुखहरू सहभागी हुने बोआओ सम्मेलनले ठूलो कूटनीतिक र राजनीतिक अर्थ राख्थ्यो । तर त्यस अवसरबाट नेपाललाई वञ्चित गराउँदै एक सय दिन नपुग्दै प्रधानमन्त्रीलाई भारत भ्रमण गराउने भारतीय विदेशमन्त्रीको अनुचित सल्लाहमा ओलीले सहमति जनाउनुभयो । यसबारे पार्टीमा कुनै संस्थागत छलफल भएन । कुनै समय ‘नेपालका प्रधानमन्त्रीले एक सय दिन नपुग्दै भारतमा गएर दर्शनभेट गर्ने प्रचलन भंग गर्छु’ भन्ने ओली किन हो, लुरुक्क पर्नुभयो । यो बैंकक बैठककै प्रभाव थियो ।

प्रधानमन्त्री भइसकेपछि नेपालको संविधानले मार्गनिर्देशन गरेको स्वतन्त्र परराष्ट्रनीति तथा असमान सन्धि–सम्झौताहरूको पुनरवलोकन गर्ने दिशामा अघि बढ्नु उहाँको कर्तव्य हुन्थ्यो तर त्यो पनि गर्नुभएन । राष्ट्रिय स्वतन्त्रता र स्वाधीनतासँग मेल नखाने वा त्यसमा आघात पुर्‍याउने असमान सन्धि–सम्झौताहरूबारे नेकपाको नेतृत्वमा रहेको सरकार तदारुकताका साथ अग्रसर होला भन्ने जनताको आशा र अपेक्षाअनुरूप प्रधानमन्त्रीले काम गर्नुभएन । उहाँले प्रधानमन्त्री पदको जिम्मेवारी लिएको एक सय दिन नपुग्दै गरेको भारत भ्रमणपछि नेपाल र भारतबीच कुनै समस्या नरहेको र सम्बन्ध ‘अत्यन्त उचाइ’ मा पुगेको प्रचार गराउनुभयो । समस्या कायम रहेको र तिनको समाधान यथोचित किसिमले गरिनुपर्छ भन्ने मत प्रकट गर्नेहरूलाई उहाँले शत्रुझैं ठान्नुभयो ।

सन् १९५० को असमान सन्धि खारेज वा परिवर्तन हुनुपर्ने भनी नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टीले २००७ सालदेखि नै उठाउँदै आएको आवाजअनुरूप भारतसँग वार्ता गर्नुको साटो यस विषयलाई अलमल्याउनका लागि अगाडि सारिएको ‘प्रबुद्ध व्यक्ति समूह’ गठनको दिशातर्फ प्रधानमन्त्री लाग्नुभयो । भारतका प्रधानमन्त्री हालसम्म प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझ्न तयार नहुनु र प्रतिवेदन पहिले भारतकै प्रधानमन्त्रीलाई बुझाउने सहमति गरिनु अलमल्याउने नीतिकै द्योतक हो ।

भारतीय प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीले पटक–पटक भेटवार्ता गर्नुभयो तर उक्त प्रतिवेदन बुझ्नेबारे कहिल्यै गम्भीर रूपमा कुरा उठाउनुभएन, सन् १९५० को असमान सन्धिबारे छलफल गर्नुभएन । स्मरण रहोस्, २०५२ सालमा अल्पमत सरकारको प्रधानमन्त्री भएर पनि मनमोहन अधिकारीले तत्कालीन भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावसँग उक्त सन्धि पुनरवलोकन गर्नुपर्ने कुरा उठाउनुभएको थियो र दुवै देशले कूटनीतिक माध्यमबाट उक्त विषयलाई अगाडि बढाउने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले भने उल्टै नेपाल र भारतका बीच कुनै समस्या नरहेको र सम्बन्ध ‘उचाइ’ मा पुगेको भ्रम सिर्जना गरिरहने प्रयत्न गर्नुभयो । त्यस्तो भ्रमको पर्दा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेर प्रकाशित गरेपछि आधा च्यातियो अनि भारतीय रक्षामन्त्रीले नेपाली भूभागमा सडकको कथित उद्घाटन गरेपछि पूरै च्यातियो ।

देशभक्त नेपालीहरूले आग्रह गर्दा तथा सरकारको नेतृत्वमा रहेको नेकपाले संस्थागत निर्णय गर्दै निर्देशन दिँदा पनि प्रधानमन्त्री ओली नेपालको अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशित गर्न तयार हुनुभएन । सम्बन्धित मन्त्रालयका एक मन्त्रीले अतिक्रमित नेपाली भूमिको एक महत्त्वपूर्ण हिस्सा नेपालको नभएको भन्नेसम्मको गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो । यो सबै नेपालको कूटनीतिलाई कमजोर तुल्याउने काम नै थियो ।

भारतसँग संयुक्त सैनिक अभ्यासको निर्णय, संसद्मा अनुमोदनका लागि विचाराधीन रहेको नेपाल सरकार र एमसीसीसँगको सम्झौताको एउटा प्रावधान प्रधानमन्त्रीका प्रियपात्र अर्थमन्त्री युवराज खतिवडाले गोप्य पत्राचारबाट गरेको संशोधन, सम्झौता अनुमोदन नै नभई एमसीसीसँग गरिएको कार्यान्वयन सम्झौता र अमेरिकासँग गोप्य रूपमा अगाडि बढाउन खोजिएको साझेदारी सम्झौता अनैतिक कूटनीतिका केही ज्वलन्त उदाहरण हुन् । अर्कातर्फ, नेपालले भारतीय नाकाबन्दीका कारण भोग्नुपरेको सास्तीलाई स्मरण गर्दै तथा त्यस्तो स्थिति आइपर्दा गर्नुपर्ने पूर्वतयारीका लागि संयुक्त सरकारमा रहँदा प्रधानमन्त्री ओलीले स्वयं जे भन्नुभएको थियो तथा देश र जनताले जस्तो अपेक्षा गरेका थिए, झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका बेला त्यसतर्फ गम्भीर चासो राखेर कुनै काम गर्ने तत्परता देखाउनुभएन ।

जनताको अपेक्षा र देशको आवश्यकताविपरीत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गर्नुअघि भारतीय गुप्तचर प्रमुखलाई भारतीय सेनाको जहाजबाट काठमाडौंमा अवतरण गराई बालुवाटारमा आधा रातसम्म तीन घण्टा गोप्य मन्त्रणा गर्नुभयो । त्यहाँ परराष्ट्र मन्त्रालयका कुनै कर्मचारी थिएनन् । यस्तो अमर्यादित भेटवार्ताको आलोचना भएपछि प्रधानमन्त्री ओलीवरिपरि रहनेहरूले पहिले त्यो ‘शिष्टाचार भेट’ थियो भनी प्रधानमन्त्रीको बचाउ गर्न खोजे । त्यसो भन्दा बचाउ हुन नसक्ने भएपछि रअ प्रमुुख सामन्त गोयल भारतीय प्रधानमन्त्रीका ‘विशेष दूत’ भएको प्रचार गराइयो । तर भारत सरकारको कुनै पनि निकाय वा कार्यालयले सामन्त गोयललाई भारतीय प्रधानमन्त्रीका ‘विशेष दूत’ का रूपमा नेपाल पठाइएको कुरा गर्दै गरेन । त्यसलगत्तै नेपालले आफ्नो भूमि समेटेर नक्सा प्रकाशित गर्दा चीनतर्फ संकेत गर्दै कुनै ‘अर्को देशको उक्साहट’ मा त्यसो गरिएको भन्ने भारतीय सेनाप्रमुखलाई नेपालमा आमन्त्रण गरेर सम्मान गरियो । पार्टीको विदेश विभागलाई जानकारी नै नगराई भाजपाका विदेश विभाग प्रमुखसँग बालुवाटारमा मन्त्रणा गरियो । यी सबै काम राष्ट्रिय हित र स्वाभिमानमा आँच पुर्‍याउने अनैतिक कूटनीतिकै परिणाम थिए ।

निरन्तरको अस्थिर राजनीति तथा कतिपय सरकार–सञ्चालकहरूको राष्ट्रिय हितप्रतिको संवेदनहीन र गैरजिम्मेवार सोच तथा व्यवहारका कारण नेपालको राष्ट्रियताविपरीत इतिहासको उत्तरदानका रूपमा रहेका गलत सन्धि, सम्झौता, सहमति र व्यवहारलाई सच्याउन सकिएको थिएन । राष्ट्रियताको झन्डा उठाउँदै आएको नेकपाले सरकार सञ्चालनको जिम्मेवारी पाएपछि देशलाई स्वाधीनताको मार्गतर्फ अग्रसर गराउने प्रयत्न होला भन्ने विश्वास नेपाली जनता र नेकपापंक्तिमा हुनु स्वाभाविक हो । तर, प्रधानमन्त्री ओलीले जनता र पार्टीपंक्तिको अपेक्षा तथा देशको युगीन आवश्यकताप्रति आँखा चिम्लेझैं गर्नुभयो । उहाँको त्यही प्रवृत्ति, सोच र व्यवहार प्रतिनिधिसभाको विघटनपछि छताछुल्ल भइरहेछ । यसको एउटा ज्वलन्त नमुना परराष्ट्रमन्त्री ज्ञवालीको हालैको भारत भ्रमण र त्यस क्रममा देखिएका कुराहरू हुन् ।

जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने तथा भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरी नक्सा प्रकाशित गर्न एकमतले साथ दिने प्रतिनिधिसभा रहँदासम्म प्रधानमन्त्री ओलीले भारतसँग अतिक्रमित भूमिबारे वार्ता गर्न सक्नुभएन वा भारतले चाहेन । देशको भौगोलिक अखण्डतासम्बद्ध गम्भीर विषयमा प्रवेशै नगरी, कुनै समस्यै नरहेझैं गरी प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग गोप्य मन्त्रणा गर्नुका साथै भारतीय विदेशसचिव, सेना प्रमुख र भाजपाको विदेश विभाग प्रमुखसँग ‘वार्ता’ गर्नुभयो । यही पृष्ठभूमिमा भारतीय अतिक्रमणमा परेको नेपाली भूमि समावेश गरी नेपालको नक्सा प्रकाशित गर्ने प्रतिनिधिसभा विघटन भई सरकार कामचलाउ स्थितिमा पुगेपछि प्रधानमन्त्री ओली र भारत सरकार दुवैबाट वार्ताप्रति उत्साह देखाइयो । नेपालको प्रतिनिधिसभा विघटन गरिनुका साथै सरकारको नेतृत्व गरिरहेको नेकपा ओलीद्वारा विभाजित गरिएपछि मात्र भारतसँग वार्ता अगाडि बढाइनु संयोग मात्र होइन । राष्ट्रिय राजनीति अस्थिर र राज्य कमजोर भएका बेला वार्ताको कुरा गरिनु नेपालको हात तल पार्ने सुनियोजित खेल भएको बुझ्न कुनै ठूलो अनुसन्धान गरिरहनुपर्दैन ।

यही परिवेशमा परराष्ट्रमन्त्री भारत भ्रमणमा जानुभयो । तर दुई देशका परराष्ट्रमन्त्रीहरूको वार्तामा नेपालको अतिक्रमित भूमि तथा प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनका विषयमा कुनै कार्यसूची नबनेको मात्र होइन, अतिक्रमित भूमिबारे परराष्ट्रमन्त्री ज्ञवालीले एक शब्द बोल्नुभएन । वार्ताका क्रममा मात्र उहाँले त्यसबारे बोल्ने हिम्मत नगर्नुभएको होइन, भारतीय विश्व मामिलासम्बन्धी परिषद्मा दिएको मन्तव्यमा समेत त्यो कुरै निकाल्नुभएन । अझ संयुक्त वक्तव्यसमेत जारी भएन । नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले छुट्टाछुट्टै प्रेस वक्तव्य निकाल्नुका साथै अत्यन्त संवदेनशील विषयमा धारणासमेत फरक किसिमले सार्वजनिक गरे । नेपालले राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्य बन्ने भारतीय चाहनालाई समर्थन गरेको भनी भारतले प्रेस वक्तव्यमा उल्लेख गर्‍यो भने, नेपालको वक्तव्यमा त्यो कुरा उल्लेख छैन । नेपालले उल्लेख गरेको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन र सीमा व्यवस्थापन (अतिक्रमित भूमिबारे होइन) जस्तो विषय भारतको वक्तव्यमा छैन । यसो गरिनु अत्यन्त सन्देहास्पद छ । यसबाट प्रधानमन्त्री ओलीले केवल सत्तास्वार्थका लागि परराष्ट्रमन्त्रीको भ्रमण गराएको पुष्टि हुन्छ ।

प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादा र पदीय गरिमालाई समेत मिचेर रअ प्रमुखसँग रातिराति गोप्य मन्त्रणा र भाजपाका विदेश विभाग प्रमुखसँग ‘वार्ता’ गर्नुभएको थियो । तर उहाँले निकै ठूलो महत्त्व दिनुभएको परराष्ट्रमन्त्रीको भ्रमणबारे भारतले मन्त्री ज्ञवालीले यात्रा आरम्भ गर्नुभएपछि मात्र औपचारिक जानकारी सार्वजनिक गर्‍यो, भारतीय रक्षामन्त्रीसँगको भेटलाई पूर्वनिर्धारित कार्यक्रममा उल्लेख गरेन र भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेटको कुनै कार्यक्रम राखेन । सार्वभौमसत्तासम्पन्न स्वाधीन देशका परराष्ट्रमन्त्री संयुक्त आयोगको बैठकमा सहभागी हुन गइरहेकाले उहाँको भ्रमणका अवसरमा हुने कार्यक्रम पूर्वनिर्धारित भई सार्वजनिक हुनुपथ्र्यो । तर भारतीय रक्षामन्त्रीसँगको उहाँको भेटवार्ता अन्तिममा तय गरियो । परराष्ट्रमन्त्री ज्ञवालीका तर्फबाट भारतीय प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ का लागि अन्तिम क्षणसम्म ‘प्रयत्न’ गरियो ।

नेपाली भूभागमा सडकको कथित उद्घाटन गर्ने व्यक्तिसँग भेटवार्ता गराउनु तर प्रधानमन्त्रीसँग शिष्टाचार भेट नगराउनुलाई कूटनीतिक दृष्टिबाट कसैले पनि पारस्परिक हित र सम्मान तथा स्वाभिमानको कदर भएको ठहर्‍याउन सक्दैन, बरु अनैतिक कूटनीतिको अभ्यास भएको देखिन्छ । यसले नेपालको स्वाभिमान र प्रतिष्ठामा आघात पुगेको छ । सबै कुरा ठीकठाक भएझैं परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण उपलब्धिमूलक भएको भन्ने सरकारी प्रचार, माथि उल्लिखित समस्याहरूलाई ढाकछोप गर्दै राष्ट्रियताजस्तो अति संवेदनशील विषयलाई सत्तास्वार्थको बलिवेदीमा होम्ने चेष्टा अनैतिक कूटनीतिकै दृष्टान्त हो । यस्ता क्रियाकलापप्रति देशभक्त नेपालीहरू सचेत हुनु आवश्यक छ ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : माघ ८, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

भाषणमा पटक-पटक फेक न्युजको सहारा 

प्रधानमन्त्री ओलीले पटक पटक आफूइतरका नेताले भन्दै नभनेको र फेक न्युज भनेर पुष्टि भइसकेको झूटको सहारा लिएर लाञ्छना लगाइरहेका छन्
जनकराज सापकोटा

काठमाडौँ — विभाजित नेकपाको ओली समूह निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूइतर समूहकालाई कटाक्ष गर्न फेक न्यूजको सहारा लिए ।

उनले दाहाल–नेपाल समूहका नेता भिम रावलतिर संकेत गर्दै उनले महिलाको किड्नी राखेका कारण दिमाग खुस्कियो भनेर भनेको आरोप लगाउँदै भने, ‘महिलामाथि कत्रो अपमान । लेख्या छन डा. !’

प्रधानमन्त्रीले आफूइतरका नेताले भन्दै नभनेको र फेक न्युज भनेर पुष्टि भइसकेको यही झूटको सहारा लिएर लाञ्छना लगाउने काम १९ पुसमा कार्की ब्याङ्क्वेटमा आयोजित अनेरास्ववियुको कार्यक्रममा पनि गरेका थिए । ओलीकै शैली पछ्याउँदै २३ पुसमा राष्ट्रिय सभाको बैठकमा विमला पौडेलले पनि फेक न्युजलाई पत्याउँदै भाषण ठोकेकी थिइन् । उक्त दिन उनले महिलाको अंग परेको कारण प्रधानमन्त्रीको दिमाग खुस्किएको छ भनेर एकजना माननीयले भनेको भन्दै भाषण सुरु गरिन् । उनले यस्तो कसले भन्यो भनेर नाम त तोकिनन् तर उनले अन्तिममा भनिन, ‘मेरो अनुरोध छ नेताज्यूहरुलाई बोल्दा खेरी राजनीतिक संस्कार सम्झेर बोल्नुस् । होइन भने राजनीति छोडदिनुस् ।’

पौडेलले संकेत गर्न खोजेका माननीय थिए, नेकपाका दाहाल–नेपाल समूहका भिम रावल । १३ पुसमा नै रावलले धनगढीमा आयोजित एक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई तोडमोड गरी एक अनलाइनले समाचार राखेपछि त्यो भाइरल भएको थियो । ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन भनेर रावलले बोलेको भन्दै केही अनलाइनले समाचार सार्वजनिक गरेका थिए । तिनै समाचारमा विश्वास मान्दै रावलप्रति सामाजिक सञ्जालमार्फत थुप्रै मानिस खनिएका थिए । १४ पुसमा सेन्टर फर मिडिया रिसर्च र माइसंसारले भाइरल भएको उक्त अभिव्यक्तिको तथ्य जाँच गरी नेता रावलले उक्त भाषणमा त्यस्तो नबोलेको र हचुवाको भरमा केही भिजिटर बढाउनका लागि भन्दै नभनेको कुरा थपेर भाइरल बनाएको तथ्य उधिनेको थियो । लगत्तै रावलले पनि सामाजिक सञ्जालमार्फत नै आफूले बोल्दै नबोलेको कुरामा अफवाह फैलाइएको भन्दै स्पष्टीकरण पनि दिए ।

राष्ट्रिय सभामा पौडेलले झूटो खबरमाथि विश्वास गरेर बोल्नुका अघि नै १९ पुसमा प्रधानमन्त्री ओलीले यही झूटमाथि टेकेर लाञ्छना लगाएका थिए । जबकी प्रधानमन्त्रीले त्यस्तो आरोप लगाउनुअघि नै फेक न्युज फैलिएको तथ्यसहित पुष्टि भइसकेको थियो । तर ओलीले त्यसलाई नजरअन्दाज गर्दै सोही विषयलाई सत्य झै मानेर भाषण दिए । विरोधीप्रति निर्मम रुपमा प्रस्तुत हुन रुचाउने ओलीले कार्यक्रममा नेता रावलको नाम त लिएनन् तर फेक न्युजमाथि नै टेकेर भने, ‘एउटा नेताले चर्को भाषण गरेछ । केपी ओलीमा महिलाको किड्नी लगाएर दिमाग नै बिग्रियो भनेर ।’ फेक न्युजलाई विश्वास गरेका ओली यतिमै अडिएनन् । उनले थपे, ‘महिलामाथि कत्रो अपमान हो । महिलाको त किड्नीमात्र लगायो भने पनि मान्छे पागल हुन्छ अरे ।’

गलत तथ्यमाथि विश्वास गर्दै ओलीले भाषण गरेको यो पहिलो पटक भने थिएन । आफूले बोल्ने तथ्य तथ्यांकको स्रोत र आधिकारिकतामाथि उतिसारो सचेत नहुने तर आफ्नो तर्क बलियो पार्न अनेकन गलत तथ्यांकको पछि सहारा लिने प्रधानमन्त्री ओलीको पुरानै बानी हो । असार ४ मा राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सन्जालमा भाइरल भइरहेको एउटा गलत तथ्यमाथि टेकेर बोलेका थिए ।

इटालीमा कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला सामाजिक सञ्जालमा केही वाक्य लेखिएको एउटा तस्बिर भाइरल भइरहेको थियो । इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्ट रोइरहेको भन्दै भाइरल बनाइएको उक्त तस्बिरमा हाम्रो नियन्त्रण गुम्यो, संक्रामक रोगले हामीलाई मारिरहेको छ, सम्भवतः सबै प्रयासहरु सकिए, अब आकाशतिर हेर्नुको विकल्प छैन लेखिएको थियो । जबकी अन्तर्राष्ट्रिय तथ्य जाँचकीहरुले उक्त फोटो इटालीका प्रधानमन्त्रीको पनि नभएको र उनले त्यस्तो कहिल्यै नभनेको भनेर उक्त खबर फेक भइसकेको लेखिसकेका थिए । तर प्रधानमन्त्री ओलीले भने सोही फेक खबरमाथि विश्वास गर्दै राष्ट्रिय सभामा भनेका थिए, ‘अब भगवानको भरोसा छ, हामीबाट केही पनि हुन सक्दैन भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेको र लाचारी प्रकट गरेको हामीले देखेका छौं ।’ उनले कार्की ब्याङक्वेटमा जस्तै उक्त भाषणमा पनि इटालीको नाम त लिएनन्, तर प्रधानमन्त्रीको भाषणाको सारमा सामाजिक सञ्जालमार्फत फैलिएको फेक सूचनाको प्रभाव प्रष्ट देखिन्थ्यो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिका भनाइ र दाबी कति सही छन् भनेर तथ्य जाँच गर्ने अनलाइन पोर्टल साउथ एसिया चेकका सम्पादक दीपक अधिकारी प्रधानमन्त्रीकै तहबाट झूटो स्थापित भइसकेको तथ्यमाथि टेकेर बोल्ने अभ्यासलाई आफ्नो एजेन्डा स्थापित गर्न फेक न्युजलाई हतियार बनाउने शैलीका रुपमा टिप्पणी गर्छन् । उनले भने, ‘सत्य असत्यको ख्याल नगरी आफ्नो अघि जम्मा भएका मान्छेले जे मन पराउँछन् त्यही बोल्ने र वाहवाही बटुल्ने शैली प्रधानमन्त्रीले अँगालेको देखिन्छ । त्यही शैलीबाट उनका नेताहरु पनि धेरथोर प्रभावित छन् ।’ उनले भीडले जे मन पराउँछन् त्यही बोल्ने शैलीले सधैं टिकिराख्‍न नसकिने बताउँदै भने, ‘झूटा कुराहरुको जाँच पडताल हुन समय लाग्न सक्छ । तर त्यही सत्य त एकदिन स्थापित हुन्छ नै । केही मान्छेलाई केही समय ढाँट्न सके पनि सबैलाई सधैं ढाँट्न सकिँदैन ।’

प्रकाशित : माघ ८, २०७७ १८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×