कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सम्बन्धविच्छेदको हाउगुजी

दीप्स शाह

सम्बन्धविच्छेदबारे यदाकदा पढेसुनेकी भए पनि यस्तो घटनासित म नजिकबाट परिचित थिइनँ । आफ्नो घर–परिवार वा आफन्तमा कोही यसरी नछुट्टिएकाले होला, यसबारे ममा खासै चासो थिएन ।

सम्बन्धविच्छेदको हाउगुजी

मलाई यत्ति लाग्थ्यो— सम्बन्धविच्छेद हुनु भनेको दुई व्यक्तिबीचको सम्बन्ध मात्रै नसकिएर दुई परिवारबीच नै एउटा अजंगको पर्खाल ठडिनु हो, आफ्नोपन सकिनु हो र उस्तै परे शत्रुताको बीजारोपण हुनु हो । तर, वैदेशिक रोजगारीको सिलसिलामा इजरायल पुगेपछि थाहा भयो— सम्बन्धविच्छेद त्यस्तो असामान्य घटना होइन रहेछ । मैले सोचेजस्तो हाउगुजी त झनै होइन रहेछ ।

इजरायलमा सम्बन्धविच्छेद भनेको मान्छेको जीवनमा हुने सामान्य घटनाजस्तो रहेछ । त्यहाँ वैवाहिक सम्बन्ध टिक्दै नटिक्ने र हरकोहीको सम्बन्धविच्छेद हुन्छ भन्ने चाहिँ होइन; सत्तरिऔं, एकहत्तरौं वैवाहिक वर्षगाँठ मनाउने जोडी पनि भेटिन्थे । व्यक्तिगत स्वतन्त्रतालाई सबैभन्दा माथि राखेर हेरिने हुंँदा पछिल्लो समय त्यहाँ सम्बन्धविच्छेद सामान्य हुन थालेको भने सत्य हो ।

त्यहाँ बस्दा मेरो चिनजान भएको थियो दक्षिण इजरायलवासी सुन्दरी गाब्रियला मार्कसँग । स्वतन्त्र इजरायलको सुरुआतताका हंगेरीबाट आएर स्थापित कट्टर यहुदी परिवारकी अत्याधुनिक छोरी गाब्रियला दुई सन्तानकी ‘डिभोर्सी’ आमा थिई, जोसँग दुई–चार हंगेरियन शब्द सिक्न पाइने लोभले पनि म नजिकिएकी थिएँ । हप्तामा तीन–चार पटक पोस्ट अफिस, ग्रोसरी मार्केट वा नजिकैको क्याफेमा हामी भेटघाट गर्थ्यौं । ऊ कहिलेकाहीँ एउटा पातलो ठिटोसँग हुन्थी, जसलाई ऊ ‘ब्वायफ्रेन्ड’ भन्थी । सुरुसुरुमा मलाई अचम्म लाग्थ्यो— यो कस्तो समाज हो ? कति सजिलै यिनीहरू डिभोर्सका कुरा गर्छन्, फेरि खुलेआम ब्वायफ्रेन्ड पनि रे ! त्यो ब्वायफ्रेन्ड सजिलै गाब्रियलाका छोराछोरीसँग पनि घुलमिल भएको देखिन्थ्यो ।

यस्तैमा एक दिन बाटामा गाब्रियला अलिक अधबैंसे लोग्नेमान्छेसँग खित्का छोडेर हाँस्दै गफिँदै गरेकी भेटिई । म त बडो संकुचित समाजमा हुर्केकी मान्छे न परें ! सोचें, उसले ब्वायफ्रेन्ड फेरिछ क्यार ! नजिक पुगेपछि हातैमा तानेर उसैले परिचय गराई— जेबिक डोरोन, उसको पूर्वपति ! सामान्य शिष्टाचार आदानप्रदानपछि म छुट्टिएँ । तर मेरो मनमा अचम्मको घनले हानिरह्यो, निकै बेरसम्म । मलाई फेरि छिट्टै गाब्रियलालाई एकान्तमा भेट्न हतार भयो, आफ्ना अनेक जिज्ञासाा शान्त पार्नलाई । सम्बन्धविच्छेदपछि पनि कस्तो भेटघाट ? त्यो पनि मस्कीमस्की, खित्का छोडेरै कुरा गर्न सकिने गरी ? यो सब बाँकी नै थियो भने किन डिभोर्स गरेको त ? अनि बाटो नै अलग गरिसकेपछि फेरि भेटघाट गर्न वा सँगै कफी पिउन सम्भव छ र ? एकपटक सम्बन्धविच्छेद भएपछि एकअर्काको मुखै नहेर्नेजस्तो वातावरण भएको समाजमा हुर्केकी मेरा लागि गाब्रियलाको सन्दर्भ विस्मयकारी थियो । झन्डै एक साता गाब्रियलासँग भेट्ने मौका जुरेन । मलाई लामा र पट्यारलाग्दा लागेका हप्तामध्ये त्यो पनि एक थियो ।

जब अर्को हप्ता हामी क्याफेमा भेटियौं, मैले एकैसासमा अनगिन्ती जिज्ञासा ओकलिहालें । उसले बडो सामान्य तरिकाले मेरा सबै सवालको जवाफ मात्र होइन, एउटा अद्भुत ज्ञान पनि दिई । गाब्रियलाका अनुसार, सम्बन्धविच्छेदपछि पनि त्यहाँ केही बाँकी रहन्छ । आफूहरूबाट जन्मिएका बच्चाहरूको भविष्य र तिनलाई हेर्नुपर्ने जिम्मेवारी । ती बच्चाहरूको कुनै भूमिका थिएन, तिनका मातापिता जोडिनुमा र फेरि अलग्गिनुमा । जेबिक र गाब्रियलाको सम्बन्ध पतिपत्नीका रूपमा सकिए पनि ती बच्चाहरूका मातापिताका रूपमा सकिएको छैन, सकिँदैन पनि । र, तिनैको खुसीका लागि पनि उनीहरू समयसमयमा भेट्नु, भोजमा सामेल हुनु जरुरी छ । अन्तमा उसले यो पनि थपी, ‘अबउप्रान्त लोग्ने–स्वास्नी पो रहिएन, तर एकअर्काको असल साथी त रहन सकिन्छ नि !’

पछिल्लो समय नेपालमा पनि सम्बन्धविच्छेदका घटना तीव्र रूपमा बढिरहेका छन् । यसले निम्त्याउने तिक्ततामा केही फरकपन आउन थालेको पनि आभास भएको छ । गत वर्षतिर होला, एक नेपाली चर्चित साहित्यकारले डिभोर्सपछि पनि पूर्वपतिसँग आफ्नो मित्रतापूर्ण सम्बन्ध रहिरहेको खुलासा गर्दा एक खालको तरंग उत्पन्न भएको थियो, धेरैजसो टिप्पणी सकारात्मक थिए । त्यसले मलाई गाब्रियलाको याद दिलाएको थियो ।

कुनै पनि सम्बन्धमा उतारचढाव स्वाभाविक हुन्छ । सकिन्छ सम्बन्धलाई हरतरहले सम्हालेर राखौं, बचाएर लगौं । तर कसै गरी सकिन्न भने एउटा नाता तोडिएको न हो, तमाम सम्भावना सकिएको होइन भन्ने हिसाबले सोचौं । कुनै अति सहेरै पनि सम्बन्धलाई अघि बढाइराख्न जरुरी नठानौं । सम्बन्धविच्छेदलाई अजंगको पहाड नमानेर सम्बन्धको सामान्य रूप फेरिएको सम्झौं । र, सकेदेखि विच्छेदपछि पनि मित्रतामै रहौं, जिन्दगीभरि तिक्तताको बोझ नबोकौं ।

प्रकाशित : माघ ७, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?