नेम्बाङ : अब ‘सुरुङ–युग’ का साक्षी- विचार - कान्तिपुर समाचार

नेम्बाङ : अब ‘सुरुङ–युग’ का साक्षी

संविधानसभाबाट संविधान निर्माणको सत्तरी वर्ष लामो सपनाको साक्षी आज संविधानको हत्या गर्ने उद्यमको समेत साक्षी बन्न पुग्नु असामान्य कुरा हो ।
सरिता तिवारी

वर्षदिनअघि प्रधानमन्त्रीले गरेको घोषणा धेरैको स्मरणमा ताजै छ । शब्दजाल भर्न र नामनामका तिकडमकारी ‘पत्ता’ फ्याँकेर लोकलाई रनभुल्ल पार्न खप्पिस शासकले बोलेका कुरा यति छिट्टै बिर्सिहाल्न कहाँ सकिन्छ र ! भलै यो विषय देशको सडक सञ्जालसँग गाँसिएको किन नहोस्; तर जसरी होस्, हाम्रा प्रधानमन्त्रीले बोलेको कुरो पुर्‍याउँछन् भन्ने दसी दिएरै देखाएका छन् । त्यो पनि समयअगावै !

संवत् २०८० सम्म देशलाई सुरुङ–युगमा प्रवेश गराउने घोषणाले ठ्याक्कै वर्षीको मिति पार गरिसक्दा देश साँच्चै एउटा घनघोर अन्योलको सुरुङभित्र पसिसकेको छ ।

इतिहासकै सबैभन्दा कठोर र अँध्यारो अनिश्चय र अभरको सुरुङभित्र !

यहाँनेर ‘इतिहासकै’ भन्ने शब्दमाथि अलि धेरै जोड दिनु यसकारण जरुरी छ, यसअघिका संविधान र शासनपद्धति आजका जति जनमुखी थिएनन् । जनतामुखी र जवाफदेह लोकतन्त्रको कल्पनामा झन्डै शताब्दी लामो संघर्षबाट प्राप्त आजको संविधानलाई हदैसम्म निरीह र पंगु बनाइदिएको स्थितिमा प्रधानमन्त्री र राष्ट्रपति मिलेर चालेको कदम न राजनीतिक हो न संवैधानिक । यो त मात्रै केपी ओली नामका एक व्यक्ति र तिनका चाकर वर्गको सत्तासुखकारी दाउपेचका लागि रचिएको षड्यन्त्रकारी ‘पत्ता’ हो । यो त्यत्ति मात्रै हो र त्योभन्दा बढी केही पनि होइन भन्नेमा थप बहस गर्नु जरुरी छैन ।

मुलुकको यो अकल्पनीय सुरुङयात्राको साइतमा निरपराध संसद्को बलि चढाइएको छ । जनताका प्रतिनिधि सांसद यी सबै गतिविधिका निम्छरा दर्शक मात्रै बनेका छन् । खैर, प्रधानमन्त्रीले देशलाई सुरुङ–युगमा प्रवेश गराउने उद्घोष यत्तिकै गरेका रहेनछन् ! यति थाहा पाउन २०८० सम्म कुर्नैपरेन ।

000

पुस ५ यताका महिनादिन विस्मय र विडम्बनामै बितेका छन् । बीचको यो समयले नेपाली राजनीतिले स्थापित गरेका पात्र र प्रवृत्तिको खसोखास धरातल चिनाइदिएको छ । हुन त संसदीय लोकतन्त्रको अभ्यासले कसलाई कति चिन्न बाँकी राखेको हो र ! को कति चिनिन बाँकी छ र ! प्रजातान्त्रिक समाजवादी भनाउने कांग्रेसमार्का र सर्वहारावादी, साम्यवादी भनाउने ‘कम्युनिस्ट’ ! अनुहार र नियत उदाङ्गिन बाँकी अब नगण्य मात्रै पात्र छन् । तैपनि यसपटक सबैभन्दा बढी उदाङ्गो भए संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ ।

केपी ओलीका यसअघिका अरू पनि धुन्धुकारि हर्कतहरूका दृश्य–अदृश्य रक्षाकवचका रूपमा यिनको भूमिका जगजाहेरै थियो । संसदीय राजनीतिको एकै रछ्यानमा हामफालेपछि बसेको ‘वर्गीय’ मायाप्रीति र दलाल पुँजी बाँडी खाने स्वार्थले जडित नेकपा (नेकपा) का बाहिरबाटै देखिने गुट र समूहमध्ये कुनै एउटा कित्तामा रहनुलाई अस्वाभाविक मान्ने कुरा त भएन, तर जुनसुकै गुटमा रहे पनि संविधानको मर्म नै उल्टिने, संविधानको भाषा नै भाँचकुँच पार्ने अभिव्यक्ति दिन कोही कसरी राजी हुन्छ ? त्यसमाथि स्वयम् संविधानसभाको अध्यक्ष ! खेदको कुरा यति नै हो ।

विगत गतिविधिले स्पष्ट देखाउँछन्, वकिली तजबिजीले वारको पार पुग्ने राजनीति गर्न सिपालु नेम्बाङ नेपाली राजनीतिका एक पारङ्गत खेलाडी नै हुन् । गुट राजनीतिमा एउटा गुट समातेर खेल्ने उनको राजनीतिक हकमाथि हामीलाई उस्तो टिप्पणी गर्नु छैन । तर त्यसभन्दा माथि हामीले चिनेका अर्का सुवासचन्द्र नेम्बाङ छन्, संविधानसभाध्यक्ष । यो ऐतिहासिक परिचयको साख र गरिमा जिउँदो राख्ने कि यसलाई लोभ र स्वार्थको तत्कालीन खेलमा झोसेर खरानीतुल्य बनाउने ? यसको छिनोफानो गर्ने अन्तिम व्यक्ति नेम्बाङ आफैं थिए । उनले दोस्रो बाटो लिए ।

आफ्नो नाम र साखमाथि कालिमा पोत्ने यी आत्महन्ता पात्रले संविधानसभालाई पुतलीखेल र संविधानको किताबलाई चटपट पानीपुरी खाने कागजको थुप्रो बनाउन यति बेला सबैभन्दा अहम् भूमिका निर्वाह गरेका छन् । यो अपराधको पुर्ताल केले गर्ला ? संविधान बनाउनै भनेर आठ–आठ वर्ष संविधानसभाको हर्ताकर्ता भै बसेको व्यक्ति प्रधानमन्त्रीको गैरसंवैधानिक ‘कू’ को रक्षा गर्नै उभिएपछि इतिहासमा अबको पुस्ताले उनलाई कसरी चिन्ला ? अथवा, चिन्न स्वीकार नै गर्ला कि नगर्ला ? यी प्रश्नका उत्तर उनको व्यक्तिगत जीवनसँग मात्रै जोडिएका छैनन् ।

गएको असारयताका गतिविधि र पछिल्ला शंकास्पद भेटघाटहरूले दिने संकेतबाट धुन्धुकारि ओलीले कुनै पनि बेला ताण्डव मच्चाउन सक्छन् भन्नेमा जनमानस लगभग निश्चित भएरै बसेको थियो । प्रतिगमनको ‘भनक’ दिने घटनाक्रमका शृङ्खलाले त्यस्तो खास आश्चर्य र कौतूहल बाँकी राखेका थिएनन् । उसै पनि दाम्लो चुँडालेर भागेको मत्ता साँढे तिलबारीमा पसोस् या मकैबारीमा, मासिने त खेती नै हो । ओली नामको आतंक कुनचाहिँ बारीमा पस्ने हो, पर्खाइ त्यति मात्रै थियो ।

यसै मेसोमा उल्टो क्रमको बाटो हिँड्ने निमित्त नायक ओलीका ‘इन्टेलेक्चुअल पार्टनर’ मानिने नेम्बाङ पनि कहीँकतै शंका नरहने गरी अनावरण भए ! समयले मान्छेका खोलहरू कसरी निकाल्दै जान्छ, नेम्बाङ त्यसैको एउटा कटु दृष्टान्त बने । गत शनिबार विराटनगरको प्रदेशस्तरीय गुट भेलामा व्यक्त सुवास–वाणीले संविधानसभाध्यक्षको रहेबचेको यश र इज्जत ध्वस्तन्यस्त पारेर छोडिदिएको छ । त्यहाँ व्यक्त उनका आत्मघाती बोली कदाचित् खरानी उधिनेर फिनिक्स चराजस्तो नाटकीय पुनर्जीवनमा बौराएर फर्काउने खालका छैनन् ।

त्यसयता चोक, चौतारा र चियापसलमा भेटिने सामान्यजनदेखि राजनीतिक वृत्तसम्मैले गरेको प्रतिक्रिया छ, ‘शुक्रबारसम्म संविधानसभाध्यक्ष कोमामा थिए । तै बाँचेर फर्कने झिनो आशा थियो । अब सकिए, गए !’

२०७२ सालमा संविधान निर्माणपछि संविधानसभाको अध्यक्षका रूपमा उनी स्वयम्ले बयान गरेका कुराको चर्चा चुलिँदा धेरैले अपेक्षा गरेका थिए, ऊ बेला प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकारको व्यवस्था हटायौं भन्ने नेम्बाङले यतिखेर के भनेर बोल्लान् ? पुस ५ पछि विभिन्न मञ्चबाट ओलीरक्षार्थ प्रकट उनका पछिल्ला अभिव्यक्तिसँग अद्यावधिक भइरहेका मानिसहरू ओलीले चालेको प्रतिगमनभन्दा बढी नेम्बाङले प्रयोग गरिरहेको अधकल्चो भाषामाथि टिप्पणी गरिरहेका भेटिन्थे ।

सूत्रवाक्यजस्तो ‘अदालतमा विचाराधीन विषयमा बोल्दिनँ’ भन्ने कुराभित्रै नभनिएका गूढ अर्थको खोजी भइरहेको थियो । ओलीरक्षक नेम्बाङलाई परेको संकट नैतिक वा राजनीतिक होइन, विशुद्ध गुटगत हो भन्ने कसैले पनि बुझ्ने कुरा थियो । किनभने ‘नैतिक’ वा ‘राजनीतिक’ हुनासाथ संविधानको पक्षमा उभिनुको विकल्प नै छैन । तैपनि संविधानको मर्मस्थलमै भएको आपराधिक आक्रमणमा खुलेरै साथ दिन उनलाई सजिलो त पक्कै नहोला भन्ने अनुमान थियो ।

तर गत शनिबारको आफ्नो भाषामा उनले त्यस्तो कुनै गुन्जाइस राखेका छैनन् । उनको सीधा कुरा छ— वैशाखमा चुनाव हुन्छ । यसले दिने सीधा अर्थ हो— संविधान ‘भाडमा गए पनि जाओस्’, ओली अहंकारको तुष्टि हुनैपर्छ । उनले थपेका छन्, ‘पहिले (२०७६ साउन ६ गते) भनेका कुरा त संसदीय मामिला पत्रकार समाजलाई प्रशिक्षण पो दिएको हो, तर अहिले प्रसंग अर्कै छ ।’

संविधानलाई कुनै व्यक्तिको स्वार्थअनुकूल मदारीको भालु जसरी नचाउन सकिने यति सजिलो विषय ठान्न अर्को कसैले सक्ला तर स्वयम् संविधाननिर्माता संविधानसभाको अध्यक्षले ठान्न मिल्छ ? कदापि मिल्दैन । नेपालको संविधान, २०७२ को ऐतिहासिक प्रसवकालको अहोरात्र साक्षी र त्यसको जन्मदात्री संविधानसभाको मुख्य कर्ताका रूपमा नेम्बाङ आजीवन संविधानसभाध्यक्ष सम्मानधारी व्यक्ति थिए । उनको भूमिका सत्ताधारी दलको कुनै एउटा गुटको स्वार्थरक्षकभन्दा कति हो कति माथि संविधानको रक्षकका रूपमा अपेक्षित थियो । दुर्भाग्य, यो कालातीत सम्मान र निर्णायक भूमिकालाई लत्त्याउँदै उनले प्रतिगमनकारी केपी ओलीको एउटा प्यादा, एउटा गोटी मात्रै बन्ने बाटो रोजे ।

000

इतिहासले केही थोरै मान्छेलाई अत्यन्तै विशिष्ट भूमिका पूरा गर्ने जिम्मेवारी सुम्पन्छ । सुवास नेम्बाङ नेपालको इतिहासका यस्ता दुर्लभ पात्र हुन् जो राज्यको कर्के दृष्टिले निरन्तर अपमानित समुदायलाई प्रतिनिधित्व गरेर उत्पीडित वर्गीय राजनीति हुँदै कानुनमन्त्रीदेखि संविधानसभाको ऐतिहासिक कालखण्डका कर्ता–पात्र बन्ने अवसरका धनी भए । यो उबडखाबड यात्रामा उनको व्यक्तिगत मेधा र श्रम कति होला अनि नेपाली जनताको विश्वास कति ? यसका लागि उनी कति योग्य थिए वा उनीभन्दा योग्य अरू कति हुन सक्थे ? यी तपसिलका कुरा भएका छन् । तर संविधानसभाबाट संविधान निर्माणको सत्तरी वर्ष लामो सपनाको साक्षी आज संविधानको हत्या गर्ने उद्यमको समेत साक्षी बन्न पुग्नुचाहिँ असामान्य र अनपेक्षित कुरा हो ।

सिनेमाहरूमा देखिन्छ– एउटै व्यक्ति कुनैमा नायक बनेर खेल्छ, कुनैमा खलनायक । कतै सत्य र आदर्शको पथप्रदर्शक हुन्छ, कतै षड्यन्त्र र दुराचारको नाइके हुन्छ । यसरी सिनेमाको पात्रलाई समेत विपरीत भूमिकामा देख्दा यो त सिनेमा हो, वास्तविकता होइन भन्ने बोध हुने दर्शक पनि आत्तिन्छ । तर वास्तविक र ऐतिहासिक व्यक्ति नै सिनेमाको पात्रजस्ता बनेपछि के हुन्छ ? विगत केही समयदेखि जनता रनभुल्ल छन् । के भइरहेको हो देशमा ? किन राजनीति र सिनेमा उस्तैउस्तै लाग्न थाल्दै छ ?

यथार्थ के हो भने, जानीजानी देशको इतिहासलाई सिनेमाजस्तो बनाइएको छ । इतिहासमाथि ठूलो खेलाँची गरिएको छ । संविधानलाई रद्दीको कागज बनाउने उद्यम जोडतोडसँग चलिरहेको छ । हुन त यो अहिले, यतिखेर मात्रै भइरहेको होइन । संविधान मिच्ने उद्योग ओली र उनका मतियारले मात्रै पनि गरेका होइनन् । संविधान मिच्ने भूमिकामा प्रचण्ड–माधव–देउबासहित अधिकांश नेता एवं दलहरूको सहमति र सम्मति नै छ । तर यतिखेर ओली संविधान मिच्ने सानोतिनो खेलबाट धेरै नै अघि बढे । उनको कदमले संविधान मिचिएको मात्रै छैन, यसको सास–प्राण नै थिचिएको छ ।

इतिहासको एउटा कालले सुम्पेको भूमिका पूरा गरेपछि कालक्रममा कोही व्यक्तिले सिनेमाको पात्रझैं नायकबाट खलनायक नै बन्ने बाटो रोज्यो भने आउँदो इतिहासले उसलाई खलनायकै भनेर चिन्छ । विगत इतिहासको नायकीलाई आजको खलनायकीले बढारेर कोसौं टाढा पुर्‍याइसकेपछि पनि नायक बनिरहन पाउने सुविधा सिनेमामा मात्रै हुन्छ, राजनीतिमा हुँदैन ।

विडम्बनाको कुरो के छ भने, जनताको संविधान रच्ने इतिहासको मूल साक्षी (नायक) आज ओलीराजले तय गरेको अन्योल र अनिश्चयको सुरुङ–युगको पनि मूल उत्प्रेरक (खलनायक) बन्न पुगेको छ । यो विरोधाभास लिएरै बाँच्नु र यही विरोधाभास लिएर मर्नु संविधानसभाध्यक्षको नियति हुने पक्का छ ।

बाँकी रह्यो समयको कुरा, समय त कसैका लागि अड्केर बस्दैन । नयाँ पुस्ताले रच्ने क्रान्ति र अब लेखिने इतिहासले आफ्ना नायक–नायिका आफैं जन्माउँदै जानेछ । आज प्रतिनायकको कित्तामा जो–जो उभिन्छन्, तिनको खत माफ हुने एक मात्र उपाय हो– बेला रहँदै गरिने माफीनामाको हिम्मत । तर जनतासमक्ष उभिएर यसो गर्ने हिम्मत जोकसैसँग कहाँ हुन्छ ?

प्रकाशित : माघ ६, २०७७ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ कोरोनाप्रति सजग रहन आग्रह

अतुल मिश्र

काठमाडौँ — बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबाट तीन जना संक्रमित भएको पुष्टि भएपछि विज्ञहरूले थप स्वास्थ्य सतर्कतामा जोड दिएका छन् ।

नेपालमा सोमबार २८ वर्षीया एक महिला तथा ६७ र ३२ वर्षीय दुई पुरुषलाई नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले गत २१ डिसेम्बरमा आएका उनीहरूमध्ये दुई जना रिपोर्ट नआउँदै गत आइतबार बेलायत फर्किसकेको बताए । ‘नेपालभित्रै रहेका ६७ वर्षीय पुरुषको सम्पर्कमा भएका व्यक्तिमा कोभिड पोजिटिभ देखिएको छैन,’ उनले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १४ डिसेम्बरमा बेलायती अधिकारीहरूले त्यहाँ नयाँ प्रजातिको कोरोना भाइरस देखिएको रिपोर्ट गरेका थिए । नयाँ प्रजाति सबैभन्दा पहिले बेलायतको उत्तरपूर्वस्थित केन्ट काउन्टीमा सेप्टेम्बर तेस्रो साता लिइएको नमुनामा देखिएको थियो । बेलायतमा नयाँ प्रजातिको भाइरस देखिएपछि लकडाउन गरिए संक्रमण बढिरहेको विज्ञहरूले जनाएका छन् । छिमेकी मुलुक भारतमा समेत बाहिरबाट आएकाहरूमा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले पछिल्लो समय विदेशबाट आउनेहरू कडा क्वारेन्टाइनमा बस्न आवश्यक रहेको बताए । ‘हाल मुलुकमा कोभिडको केस घट्दो देखिए पनि जनस्वास्थ्य मापदण्ड पहिलेभन्दा पनि कडाइका साथ पालना गर्नुपर्ने भएको छ,’ उनले भने ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस आइसकेको आशंका पहिलेदेखि रहेको जनाउँदै हाल त्यसको पुष्टि मात्र भएको बताए । ‘यो प्रजातिको संक्रामकता बढी देखिएकाले अब हामी बढी सतर्क र गम्भीर हुनुपर्‍यो । थप स्वास्थ्य सतर्कता नअपनाए यसले मुलुकमा कोभिडको छिटो दोस्रो लहर ल्याउन सघाउनेछ,’ उनले भने । नयाँ प्रजातिको भाइरस नेपालमा फैलिइसकेको छ कि छैन भन्नेमा हाल आधिकारिक रूपमा भन्न नसकिए पनि यसले संक्रमण फैलाइसकेको ठानेर सुरक्षा उपाय अवलम्बन गर्नुपर्ने डा. वन्तले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका निर्देशक एवं भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले नयाँ प्रजातिको भाइरस देखिएका मुलुकहरूबाट आउनेहरूलाई कडा आइसोलेसनमा राख्नुपर्ने बताए । ‘यो भाइरस यसअघिको भन्दा छिटो देशभरि फैलिने सम्भावना छ,’ उनले भने, ‘संक्रमितको शरीरमा भाइरल लोड (भाइरसको मात्रा) पनि धेरै देखिएकाले बढी सतर्क रहनुपर्छ ।’

प्रकाशित : माघ ६, २०७७ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×