सुखानीविहीन सभ्यता- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुखानीविहीन सभ्यता

सरकार भन्नु अब बेला–कुबेला तर्साउने छाया मात्र भएको छ ।
उज्ज्वल प्रसाई

सुखानी शब्द नेपालका कम्युनिस्टहरूलाई प्रिय लाग्छ । दार्शनिक ‘कम्युनिज्म’ छोडेर राजनीतिक ‘कम्युनिज्म’ को पहिचानमा सीमित भएको सार्वजनिक जिकिर गरेका खड्गप्रसाद ओलीले पनि समयसमयमा सुखानीप्रति अनुराग देखाउँछन् ।

ओलीसमेत सम्मिलित २०२८ सालको झापा आन्दोलनमा सहभागी पाँच कम्युनिस्ट नेताको पञ्चायत सरकारले सुखानी जंगलमा हत्या गर्‍यो । इलाम जेल सरुवा गर्ने बहानामा झापाको चन्द्रगढीबाट हतकडी र नेलसहित झापा–इलाम सिमानाको जंगलमा पुर्‍याएर उनीहरूको हत्या गरियो । सुखानी त्यसपछि विद्रोहको विम्ब बन्यो । सुखानीले प्रतिनिधित्व गर्ने विद्रोही तत्त्व पञ्चायती व्यवस्था एवं विचारधाराको अन्त्य थियो, समतामूलक समाजको निर्माण थियो । त्यही आन्दोलनमा हुर्केका नेता खड्गप्रसादको सुमेरु घुमिरहेको नेपाली राजनीतिले अहिले सुखानीको अवमूल्यन गर्दै पञ्चायत ब्युँताएको छ ।

सुखानी हत्याकाण्डको लगभग पचास वर्षपछि नेपाली लोकतन्त्रको अपूरो कथा बनेर आइपुगेका छन् अर्का सुखानी– वर्ष ४१ का सुखानी मण्डल । आफूलाई सुखानीका सन्तति दाबी गर्ने सत्ताधारीले कोरलेको सुकिलो सहरको परिकल्पनामा ऐंजेरु साबित भएका छन् यी सुखानी । यी सुकुम्बासी हुन्, ओत लाग्न बनाएको यिनको निर्बल छाप्रो बलशाली सरकारको ठूलो डोजरले बेलाबेला भत्काइरहन्छ । विगत दुई दशकदेखि काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमा बस्दै आएका यिनको घर गत पुस २४ गते पनि भत्काइयो । वाग्मती एकीकृत सभ्यता समितिको डोजरले दुईकोठे घर उखेलेर मिल्काइदिएपछि यी मजदुर बेघर भएका छन् ।

सभ्यता समितिले गरेको ‘सभ्यता’ को परिभाषामा न त्यो सुखानीको कुनै धुकधुकी बाँकी रह्यो, न यी सुखानी कतै अटाए । सुखानीविहीन सभ्यताको शिरमा बसेका खड्गप्रसाद भने आफूले रचेको एकपछि अर्को क्रूर प्रहसन हेरेर मुसुमुसु हाँसिरहन्छन् ।

सयौं बेघर सुखानीहरू

सुकुम्बासीका घर भत्काउने सिलसिला नयाँ होइन । गणतन्त्र घोषणापश्चात् पनि गरिबका छाप्रामा निर्ममतापूर्वक डोजर चलाइएका दर्जनौं घटना छन् । समृद्धिको सपना कोरलिन थालेपछि सुकुम्बासी बस्तीमा हुने आक्रमण तीव्र भएका हुन् । पछिल्लो एक वर्ष हाराहारी समयमा दर्जनजति ठाउँका गरिब र सुकुम्बासीहरू सरकारी आक्रमणको तारो भएका छन् । सिरहाका दुई दर्जनभन्दा बढी सुकुम्बासी परिवारका घरमा धावा बोलेको करिब दुई साता नबित्दै काठमाडौंका सुखानीहरूको आवास मिल्काइएको हो । एक वर्षअघि महोत्तरीका सुकुम्बासीका घर भत्काउने आदेश तामेल गर्न तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्याल आफैं हेलिकप्टरमा सवार भएर घटनास्थल पुगेकी थिइन् । कैलाली र विराटनगरमा भएका सरकारी दुष्प्रयासले सुकुम्बासी र प्रहरीबीच झडप निम्त्याएका थिए । कतिपय ठाउँमा राजनीतिक दलनिकट गुन्डा परिचालन गरिएका खबर पनि प्रकाशित छन् । जग्गा दलालीमा संलग्न पहुँचवालाको उक्साहटमा समेत यस्ता घटना गराइएको आशंका गरिन्छ ।

गत साउन ३ गते चितवन राष्ट्रिय निकुञ्जनजिकैको माडी कुसुमखोला क्षेत्रमा बसोबास गरिरहेका दस चेपाङ परिवारको बस्तीमा आगलागी भयो । त्यो कुनै अपर्झट वा असावधानीले निम्त्याइएको विपत् थिएन । सात हात्तीमा सवार करिब दुई दर्जन मान्छेले बस्ती खाली गर्न धम्की दिँदै आगो झोसेको चेपाङ युवाहरूले बताए । घर जल्नु र धम्की सहनुमा मात्र सीमित छैन सुकुम्बासी चेपाङहरूको दैनिकी । निकुञ्ज क्षेत्रमा प्रवेश गरेको अभियोगमा पक्राउ परेका २४ वर्षीय राजकुमार चेपाङ थुनिए । थुनिएको छ दिनपछि उनको मृत्यु भयो । यातनाका कारण उनको मृत्यु भएको आशंका गरिएको छ ।

कुनै ठाउँमा सग्ला घर भएर जग्गा ओगट्न मात्र निकुञ्जनजिकैको क्षेत्रमा चेपाङ परिवार बसोबास गरिरहेका थिएनन् । अहिले भोगचलन गरेको जग्गा पछि नम्बरी भएर आफ्ना नाममा आउने आशा पनि होइन उनीहरूको । बरु मकवानपुरको आफ्नो गाउँमा पहिरोले सबै घर लगेपछि उनीहरू कुसुमखोलामा छाप्रा हालेर बस्न बाध्य भएका थिए । श्रम गरेर खाने आफ्नो जग्गा बगेर छाप्रो हाल्ने निजी समथर जमिन नभएकाले सुकुम्बासी बनेका थिए उनीहरू । जग्गा नहुँदा घर बनाउन र गरिखान मात्रै होइन, सरकारबाट पाउन सकिने स–साना सुविधा पाउन र आवश्यक कागजात बनाउन पनि उनीहरूले सयौं हैरानी बेहोर्नुपरिरहेको छ । सहरका अड्डामा सुकिलाहरूले गफ गरेझैं जग्गाजमिन वा औसत कमाइ भएको कोही पनि रहर वा एक चोक्टा जग्गाको लोभले सुकुम्बासी बन्न जाँदैन ।

करिब डेढ सय चेपाङ परिवार कुसुमखोला क्षेत्रमा बसोबास गरिरहेकामा बहुसंख्यक परिवारलाई लामो हैरानीपछि अन्यत्र स्थानान्तरण गरियो । बाँकी रहेका परिवारलाई सो क्षेत्र खाली गर्न निकुञ्जले उर्दी जारी गरिरह्यो । विकल्प नभएकाले कतै नगएका उनीहरूलाई खेद्न निकुञ्जका कर्मचारी आगो झोस्न पुगे । निमुखा, सीमान्तकृत त्यो सानो समूहविरुद्ध बलियो सरकार जाइलाग्यो, उनीहरू बिचल्लीमा परे ।

कुसुमखोला घटनाको करिब एक महिनाअघि मात्रै बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका थारू परिवारलाई पनि उनीहरू बसोबास गरेको क्षेत्रबाट हटाउने प्रयास गरिएको थियो । यसरी लखेटाइमा परेका यी थारू परिवार पनि भूमिहीन नै थिए । करिब चौध वर्षदेखि त्यस क्षेत्रमा बसोबास गरिरहेका उनीहरूलाई ठाउँ खाली गर्न निकुञ्जले पत्र लेखेको थियो । निकुञ्जको सो निर्णयको चौतर्फी विरोध भएपछि ती थारू परिवारलाई हटाउन सकेनन् ।

सत्तामा पहुँच नभएका सीमान्तकृत समुदाय र निमुखाका लागि कुनै वैकल्पिक व्यवस्थापन नगरी जबर्जस्ती हटाउने प्रयास अझै द्रुत हुन सक्छ । जंगल संरक्षणका नाममा भइरहेका यी काम अब सहर विस्तार एवं सौन्दर्य प्रवर्द्धनका बहानामा तीव्र हुने सम्भावना प्रबल छ । जग्गा अतिक्रमण वा विकासका नाममा यसरी लखेटिएका निमुखाले न्यायालयमा हालेका थुप्रै मुद्दा फैसला नभई मुल्तबीमा बसिरहेका होलान् । आफ्ना थातथलोबाट बेदखल भएका कतिपयले न्याय पाउने आशा पनि मारिसकेका हुन्छन् ।

सहर, सत्ता र सुकुम्बासी

काठमाडौंभन्दा पर निकुञ्ज वरपरका गाउँमा सुखानीहरूका एकखाले दुःख हुन्छन्, सहरमा राइँदाइँ मच्चाइरहेको सत्तासँगको पौंठेजोरीमा सुखानीहरूले दुःखका अन्य आयामसँग साक्षात्कार गरिरहनुपर्छ । सत्ताका शक्तिशाली अड्डाहरूमा सहर सपनाको स्वर्ग हो, सुकिला र चौडा बाटाहरूको बुट्टेदार फाँट हो, विविध सुविधाहरूको चिटिक्क गठजोड हो, स्रोतदोहनको मुहान पनि हो । यथार्थमा सहर रस्साकस्सी हो, वर्गीय घर्षण हो,जातीय पेलपाल हो, नस्लीय र लैंगिक नोंकझोंकको असमेल चित्र हो ।

यो सपना र यथार्थको गोधूलिमा सबैभन्दा बढी पेलिने, लड्ने र फेरि सग्लो उभिएर जीवन सञ्चालन गर्न खोज्नेहरूको उल्लेख्य संख्या सुकुम्बासीको हुन्छ । सहरका खोलाकिनारहरूमा देखिने छाप्राहरू सुकिलाहरूका आँखामा फोहोरी धब्बा भए पनि सहरको जीवन्तताका लागि आवश्यक श्रमको अजस्र स्रोत तिनै छाप्रा हुन् । सभ्यताको आफ्नो परिभाषा लाद्न बानी परेका सत्ताका अड्डाहरूले यो यथार्थ अनदेखा गर्ने हरदम कोसिस गरिरहन्छन् ।

सत्ताको यही चरित्रका कारण बिचल्ली परेका सुखानी मण्डलको कथा सहरको विस्मृतिमा पुग्न कति समय पनि लाग्दैन । उनलाई बिर्सेरै, उनको बिचल्लीलाई देखादेखी बेवास्ता गरेरै, अनि उनका संघर्षको कुनै खास अभिलेख कतै नराखेरै सहरले उनको श्रम दोहन गरिरहन्छ । सत्तासँग सोझो लडाइँका लागि सधैं तयार नरहने सुखानीहरूले बाँच्ने संघर्षमा अनेक उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ । कहिले आफ्ना प्रतिनिधिका रूपमा सत्तामा पुगेकाको मोलाहिजा, कहिले तिनैलाई केही दिन झुक्याएर अर्को कुनै ठाउँमा पहिलेको झैं छाप्रो हाल्ने ‘अवैध’ काम । अलि दिन जीवन चलाएपछि फेरि वैधताको लौरो लिएर आइपुग्छन् सत्ताका पहरेदारहरू । अनि उही रीत पुनः दोहोरिन्छ । पुनरावृत्त भइरहने संघर्षको यो चक्र सधैंका लागि तोडिने राजनीतिक वाचाहरू पनि त्यसरी नै चक्रीय मेलोमा सधैं घुमिरहन्छन् ।

खाँचो आन्दोलनको

दोस्रो जनआन्दोलनपश्चात् हुने राज्य पुनःसंरचनासँगै अलोकतान्त्रिक राजनीतिक चरित्रको पुनरावृत्ति हुँदैन भन्ने आम अपेक्षा थियो । तर के गाउँ के सहर, राजनीति फेरिएन । पुनःसंरचनाका सपना पनि अधुरै रहे । पछिल्ला केही दशकमा भएका गर्विला राजनीतिक आन्दोलनका महत्तासमेतलाई धूमिल बनाउने गरी विसंगत बन्यो मूलधारको नेपाली राजनीति । मौजुदा थिति बदल्ने विकल्पका रूपमा सतहमा देखा परेका यत्नहरूमा नयाँपनको हलुका आभाससम्म नहुनु अर्को विडम्बना हो । आम नागरिकले थोरै आशा बिसाउँला भनी सम्झेको त्यही एउटा संसद्समेतको असामयिक अवसान गराइएको छ । सरकार भन्नु अब बेला–कुबेला तर्साउने छाया मात्र भएको छ ।

नभएको अधिकार दर्ज गर्ने सवालमा, सुखसुविधा लिने मामिलामा वा आफ्नो गोजीका दलाल पोस्ने मौकामा यो सरकार सदैव अग्रसर छ । आम नागरिकको हित गर्ने हरेक सवालमा ऊ सधैं कामचलाउ साबित हुँदै आएको छ । महामारीले उथलपुथल बनाएका आधारभूत तहका नागरिकको दुरवस्था हेरे यो सरकारले धेरै पहिलेदेखि धारण गरेको कामचलाउ रूप स्पष्ट देखिन्छ । संसद् विघटन गरेपछि मात्रै होइन, सत्तामा पुगेदेखि नै यो सरकार न किसानसँग, न मजदुरसँग, न गाउँका गरिबसँग, न सहरका निमुखासँगै छ । दलितहरू निर्ममतापूर्वक मारिँदा यो सरकार गयल हुन्छ, महिला हिंसाका बवन्डर मच्चिँदा यो सरकार कामचलाउभन्दा निरीह देखिन्छ, मलर सदाहरू भोकले ढल्दा यो भए/नभएको आभाससम्म पाइँदैन । आफ्नै छात्रवृत्तिमा डाक्टर बन्न मिहिनेत गरिरहेका रामजी रामजस्ता मधेसी दलितलाई निजी कलेजले जाँचमा बस्न नदिँदा सरकारी डंका कतै सुनिँदैन ।

सुखानी जंगलमा हुर्केर जनयुद्ध हुँदै जनआन्दोलनसम्म बेहोरेर वयस्क भएको नेपाली राजनीति हजारौं सुखानी मण्डलको आँसुमा डुब्न अभिशप्त छ । यसमा लोकतन्त्रको त्राण भर्ने एक मात्र विकल्पन सुखानी र रामजी रामहरू संगठित भएको नयाँ आन्दोलन मात्रै हो ।

प्रकाशित : माघ २, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

इक्यान एजुकेसन मेला आजदेखि

‘विद्यार्थीले कोभिडपछि पनि विदेशको शिक्षा रोजिरहेका छन्, त्यस्ता विद्यार्थीलाई सहज र सरल होस् भनेर मेलामा अधिक जानकारी दिने व्यवस्था मिलाएका छौं ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — इक्यान शैक्षिक मेलाको १४ औं संस्करण आजदेखि सुरु हुँदै छ । कोभिड–१९ को महामारीका कारण नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटक भर्चुअल एजुकेसन मेला आयोजना गरेको हो ।

सोमबार सकिने चारदिने मेलामा करिब एक लाख विद्यार्थी र अभिभावकले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । मेला सुरु हुनुअघि नै करिब ३० हजार विद्यार्थी सहभागी हुनका लागि अनलाइनमार्फत दर्ता भइसकेका छन् ।

इक्यानले हरेक वर्ष विदेश अध्ययन गर्न चाहने विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्दै आएको छ । यसपटक भाइरसको महामारीका कारण भर्चुअल रूपमा मेला आयोजना गरिएको आयोजक समितिका संयोजक वासुदेव दाहालले जनाए । ‘विदेश पढ्न जाने विद्यार्थीका लागि यो क्षेत्र खुल्ला र सुरक्षित रहेको सन्देश मेलाबाट दिन लागेका छौं,’ उनले भने ।

कोभिडपछि पनि नेपाली विद्यार्थीको विदेशप्रतिको आकर्षण नघटेको इक्यान आबद्ध संस्थाहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यार्थीको गतिविधि क्रमशः झनै बढ्ने उनीहरूको दाबी छ । ‘विद्यार्थीले कोभिडपछि पनि विदेशको शिक्षा रोजिरहेका छन्,’ संयोजक दाहालले भने, ‘त्यस्ता विद्यार्थीलाई सहज र सरल होस् भनेर मेलामा अधिक जानकारी दिने व्यवस्था मिलाएका छौं ।’

विदेशी विश्वविद्यालय र कलेजहरूमा छात्रवृत्ति र सेवासुविधाका प्याकेजहरू झनै बढेको दाहालले जनाए । ‘त्यो अवसर र सुविधा नेपाली विद्यार्थीलाई पनि दिन चाहन्छौं,’ उनले भने, ‘यो सूचना विद्यार्थी र अभिभावकका बीचमा पुर्‍याउनु मेलाको मुख्य उद्देश्य रहेको छ ।’

विदेशमा अध्ययन गरिरहेका विद्याथीलाई कोभिडपछि विभिन्न सहायता र सहज रूपमा बैंकबाट ऋणसमेत उपलब्ध भएको क्यान पदाधिकारीको भनाइ छ । आकर्षण सुविधाकै कारण महामारीमा पनि नेपाली विद्यार्थी स्वदेश फर्कन नचाहेको संयोजक दाहालले जनाए । ‘स्वास्थ्य बिमाका कारणले नेपाली विद्यार्थीले यहाँभन्दा आफुलाई अध्ययन गरिरहेको देशमा सुरक्षित ठाने,’ उनले भने ।

प्राविधिक रूपमा मेलाको तयारी पूरा गरिएको आयोजकले जनाएको छ । ‘इक्यान फेयरमा लग इन’ गरेर मेलामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । त्यसमा प्रि–रजिस्ट्रेसन गर्न सकिने व्यवस्था पनि छ । रजिस्ट्रेसनपछि अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरू, मेलामा सहभागी संस्था, शैक्षिक कन्सल्टेन्सी, बैंकलगायतसँग विद्यार्थी, अभिभावकले सीधा सर्म्पक गरेर संवाद गर्न सक्नेछन् । ‘विद्यार्थीले आफूले रोजेको देशको शिक्षण संस्था, शैक्षिक कन्सल्टेन्सी र बैंकका प्रतिनिधिसँग विविध जिज्ञासा राखेर जानकारी प्राप्त गर्न पाउँनेछन्,’ उनले भने ।

भर्चुअल मेला शुक्रबारदेखि सोमबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई विदेशी शिक्षण संस्था, नेपालस्थित शैक्षिक परामर्शदाता र विभिन्न बैंकका प्रतिनिधिले काउन्सिलिङ गर्नेछन् । ‘विद्यार्थीले रोजेको देश, कलेज, कोर्सबारे धेरैभन्दा धेरै जानकारी दिएर काउन्सिलिङ गर्छौं,’ संयोजक दाहालले भने । विद्यार्थीको चाहनालाई नै ध्यानमा दिएर सम्बन्धित मुलुकको शिक्षा प्रणाली, त्यहाँ जान पूरा गर्नुपर्ने प्रक्रियाहरू आदानप्रदान गरिने इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले जनाए । इक्यानमा ४ सय ७३ वटा परामर्शदाता संस्थाहरू आबद्ध छन् । मेलामा ती संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

मेलामा सहभागी बैंकहरूले विद्यार्थीलाई अध्ययनलगायत वैदेशिक शिक्षाका लागि लागत र रकम पठाउने माध्यमबारे जानकारी दिने व्यवस्थासमेत गरिएको छ । विद्यार्थी र अभिभावकलाई वैदेशिक शिक्षाबारे सही परामर्श र सूचना दिनेबाहेक अन्य उद्देश्य नरहेको इक्यानले जनाएको छ । ‘विदेश पढ्न जान चाहाने विद्यार्थी र पठाउन चाहने अभिभावक कोरोनाले अलमलमा हुनुहुन्छ,’ पाण्डेले भने, ‘परामर्श क्षेत्र खुल्ला छ, विदेश पढ्न जाने र फर्कने क्रम चलिनै रहेको छ, यही कुरा प्रस्टसँग मेलामा राख्छौं ।’

मेलाले कन्सल्टेन्सी, विद्यार्थी र अभिभावकमा विश्वासको वातावरण झनै बढ्ने र व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘कोरोनाले वैदेशिक शिक्षाको क्षेत्रमा पनि थुप्रै चुनौती देखिएको छ, सुरुको अवस्थामा ठप्पै भयो, अहिले यो क्षेत्र पनि चलायमान हुँदै गएको छ,’ उनले भने, ‘मेलापछि शैक्षिक परामर्श क्षेत्र पनि पुनर्जागरण हुन्छ ।’

कोरोनापछि विभिन्न देशले विदेशी विद्यार्थीलाई पठनपाठन गराउने नीति हेरफेर गरेकाले पनि मेलामार्फत सही र स्पष्ट जानकारी प्राप्त गर्न सकिने इक्यानको भनाइ छ । सम्बन्धित देश, शिक्षण संस्था कोर्स, भिसा प्रणालीलगायत अन्य सेवासुविधा र प्रक्रियाबारे जानकारी पाउन विद्यार्थीलाई मेलामा सहभागी हुन पूर्वअध्यक्ष पाण्डेले आग्रह गरे ।

प्रकाशित : माघ २, २०७७ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×