१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भर्चुअल हिंसाको मारमा महिला

सम्पादकीय

नेपाली समाजमा महिला हिंसाका अनेक रूप छन् । पछिल्लो समय, इन्टरनेटको भर्चुअल दुनियाँमा समेत महिलाले अनेकथरी हिंसा भोगिरहेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोमा यस्ता उजुरीको संख्या बढ्दो छ, तिनमा अधिकांश घटना महिलाको चरित्रहत्यासँग जोडिएका हुन्छन् । पहिचान लुकाएर वा खुलाएरै पनि यस्ता गतिविधि हुने गरेका छन् ।

भर्चुअल हिंसाको मारमा महिला

महिलामाथि सजिलै हिंसा हुने सामाजिक संरचना भएको मुलुकमा प्रविधिको आडमा भैरहेको यस्तो अपराधको प्रवृत्ति चिन्ताजनक छ । इन्टरनेट र सामाजिक सञ्जालमार्फत हुने अपराधका किसिमबारे सचेतना फैलाएर, ‘डिजिटल डाटा’ सुरक्षासम्बन्धी साक्षरता बढाएर, साइबर कानुनको उचित प्रचार–प्रसार र कार्यान्वयन गरेर यस्तो हिंसा न्यूनीकरण गर्न सकिन्छ ।

प्रहरीको साइबर ब्युरोको तथ्यांक हेर्दा इन्टरनेट र सामाजिक सञ्जालसँग सम्बन्धित घटनाबाट पुरुषभन्दा डेढ गुणा बढी महिला पीडित बनेको देखिन्छ । ब्युरोका अनुसार आर्थिक वर्ष २०७७/७८ को पुस १८ सम्म १८ वर्षमुनिमा १९ बालक र ५२ बालिका विभिन्न प्रकारको साइबर अपराधबाट पीडित बनेका छन् ।

यही अवधिमा १८ वर्षमाथिका ७ सय २७ महिला तथा ५ सय २५ पुरुष यस्ता अपराधबाट पीडित बनेका देखिन्छन् । दुवै उमेर समूहमा पुरुषभन्दा महिलाको संख्या बढी छ, १८ वर्षभन्दा मुनिका हकमा त बालिकाको संख्या बालकभन्दा झन्डै तीन गुणा नै छ । मूलतः पैसाको लालसा, बदलाको भावना र आपराधिक प्रवृत्तिका कारण यस्ता घटना भएको देखिन्छ । कतिले मानसिक यातना दिनकै लागि चरित्रहत्याको औजार उज्याएको पाइन्छ ।

भर्चुअल अपराध विभिन्न प्रकृतिका छन् । अरू कसैको नग्न तस्बिरमा मुहार जोडिएको वा सम्बन्धित व्यक्तिकै नग्न फोटो तथा भिडियो सामाजिक सञ्जाल वा इन्टरनेटमा राख्नेदेखि कसैको सम्पूर्ण सूचना लिएर फिरौती माग्ने र दुःख दिन वा बेइज्जत गर्नकै निम्ति सामाजिक सञ्जालमा व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर ‘प्रोफाइल पेज’ खोल्नेसम्मका घटना हुने गरेका छन् । महिलाहरूलाई ‘तिम्रो नग्न/अर्धनग्न तस्बिर/भिडियो आफूसित भएको’ भन्दै भने जति पैसा नदिए सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिएका घटना बढिरहेका छन् ।

कतिसम्म भने, गत वर्ष असारमा ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक किशोरीले आफ्नो आत्महत्या नोटमा ‘मेरो फेक आईडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ लेखेकी थिइन् । ती किशोरीले वास्ता नगरेपछि उनलाई मन पराउने एक युवकले उनको तस्बिर राखेर ‘सबैको बूढी म’ भन्ने नक्कली फेसबुक अकाउन्ट खोलेको तथ्य पछि प्रहरी अनुसन्धानबाट खुलेको थियो । यो दृष्टान्तले समाजमा यस्तो समस्या कुन हदसम्म झांगिएको छ देखाउँछ ।

महिलामाथि सधैं अतिरिक्त आशंका गर्ने नेपाली समाजमा चरित्रहत्या गर्ने धम्की पाउनेहरू आत्तिनु स्वाभाविक हो । यस्तो अवस्थामा कतिपय त्यसै पिरोलिएर बस्छन्, कोहीले भने जति नभए पनि सके जति पैसा दिएर मिलाउन खोज्छन्, प्रहरीसम्म समयमा सूचनै पुग्दैन । यही पीडितहरू तुरुन्त प्रहरीकहाँ नपुग्नु नै ठूलो समस्या हो ।

पहिलो त, उनीहरूलाई प्रहरीलाई खबर गरे झनै बेइज्जती गरिदिनेलगायतका धम्की दिइएको हुन्छ । दोस्रो, कतिपयलाई प्रहरीकहाँ गएर उजुरी गर्न सकिने र समस्या सल्टिनेबारे पनि थाहा हुन्न । तेस्रो, कानुनी प्रक्रिया थाहा पाएर पनि कतिपय थप हल्ला होला भन्ने डरले आफैं घटना मिलाउनपट्टि लाग्छन्, आफ्नो बुताबाट केही नलागेपछि मात्रै प्रहरी गुहार्छन् । त्यसैले, प्रहरीले घटना भैसकेपछि मात्रै सूचना पाउने अवस्थामा सुधार ल्याउन सकेमा यस्तो प्रवृत्तिमा कमी ल्याउन सकिन्छ ।

यस्ता कति घटनामा आफूसित नजिक भएकै व्यक्तिले नै नक्कली ‘आईडी’ बनाएर धम्की दिइरहेका हुन्छन् । कतिका पूर्वप्रेमीले नै यसो गरिरहेका हुन्छन् । अधिंकाश घटनामा पीडित र पीडकबीच सम्बन्धको लामो पृष्ठभूमि भेटिन्छ । पछिल्लो समयमा ‘लकडाउन’ पछि अनलाइन कक्षालगायतका क्रममा पनि यस्तो हिंसा बढिरहेको पाइन्छ । त्यसैले, मोबाइल फोन तथा इन्टरनेट प्रयोग गर्दा आफ्नो ‘डाटा’ कसरी सुरक्षित गर्ने भन्नेबारेमा प्रयोगकर्तालाई जागरूक बनाउन आवश्यक छ । र, यससम्बन्धी आवश्यक जानकारी अभिभावकहरूलाई पनि दिइनुपर्छ ।

अर्को महत्त्वपूर्ण पक्ष, नक्कली होस् या वास्तविक— दुराशयका साथ इन्टरनेट वा सामाजिक सञ्जालमा राखिएका तस्बिर/भिडियोकै कारण समाजले पीडितलाई नै आरोप/लाञ्छना लगाउने कार्य गर्नु हुँदैन । यसमा सम्पूर्ण दोष त्यस्तो सामग्री सार्वजनिक गर्ने व्यक्तिको हो । कोही व्यक्ति आफ्नो निजी जीवनको कुनै पलमा सावधानी अपनाउन चुकेको हुन सक्छ, तर त्यसो भन्दैमा अरूको गोप्य सामग्रीलाई सार्वजनिक गर्ने छुट कसैलाई हुँदैन, यस्तो प्रवृत्तिलाई सवैले निरुत्साहित गर्नुपर्छ । र, महत्त्वपूर्ण विषय, यस्तो गतिविधि कसैले गरेको पाइएमा जोकोहीले प्रहरीलाई तुरुन्त खबर गर्नुपर्छ, ताकि कुनै अप्रिय घटना हुन नपाउँदै प्रहरीले पीडकलाई कारबाही गर्न सकोस् ।

प्रकाशित : माघ २, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?