२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

स्कुलमा मैनबत्ती

मधु राई

कुरा सन् ७० को दशकको भारतको हो । इन्दिरा गान्धीको प्रधानमन्त्रीकालमा स्कुले शिक्षामा व्यावसायिक कक्षा अनिवार्य थियो । कक्षा सातदेखि दससम्मका विद्यार्थीले साताका तीन दिन व्यावसायिक कक्षामा विद्यालयलाई चाहिने खाम, चक, मैनबत्ती, कागजका थुँगा आदि बनाउनुपर्थ्यो ।

स्कुलमा मैनबत्ती

व्यावसायिक कक्षामा उत्पादित खाम र चक विद्यालयमा खपत हुन्थे भने, मैनबत्ती र थुँगा हामी किरानापसलमा बिक्री गर्थ्यौं । किरानापसले कतिपय अभिभावकले ती सामग्री किनिदिएर हाम्रो हौसला बढाउँथे । किरानापसलमा मैनबत्ती र थुँगा बिक्री गर्दा शिक्षकले कहिलेकाहीँ हामीलाई मैनबत्ती दिने गर्नुहुन्थ्यो । बिजुली नभएको उस बेला मैनबत्तीले घर झलमल हुँदा मट्टीतेलको कुपीबाट आउने धूवाँबाट केही दिनका लागि भए पनि राहत मिल्थ्यो । मट्टीतेलको बचत पनि हुन्थ्यो ।

स्कुले शिक्षासँगै व्यावसायिक सीप सिकाई स्वरोजगार बन्न अभिप्रेरित गर्ने भारत सरकारको दूरगामी सोचले हुनुपर्छ, हामी अधिकांश विद्यार्थी जागिर खाने कुरा त्यति गर्दैनथ्यौं । स्कुले शिक्षा अन्तर्गतको त्यो सिकाइले अर्थोपार्जनसँगै बजारीकरणको सीप पनि सिकाउँथ्यो । शिक्षा आर्जन गरेर जागिर खानेभन्दा पनि स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएका ती व्यावसायिक कक्षाले हुनुपर्छ, मलाई स्वरोजगार बन्नुपर्छ भन्ने कुराले सधैं उत्प्रेरित गरिरह्यो । कलेज पढ्दा साथीहरूले छात्रावासको सुविधा नपाउँदा मलाई आफूले पैसा कमाएपछि छात्रावास सञ्चालन गर्छु भन्ने लाग्थ्यो । तिनताका कलेजको पढाइ सकेपछि मैले केही समय गाउँले दाइले खोलेको स्कुलमा पढाएँ पनि । बिहेलगत्तै नेपाल आएँ, पच्चीस वर्षअघि पूर्वप्राथमिक विद्यालय स्थापना गरें र स्वरोजगार बनें ।

मेरा छोराछोरीले स्कुले शिक्षा हासिल गर्दाताका मैलेजस्तो व्यावसायिक सीप सिक्ने अवसर नपाए पनि बाल समूहमा आबद्ध छोरी र उनका साथीहरूलाई समूह सञ्चालनको खर्च जोहो गर्न माटाका पालामा मैनबत्ती पगालेर दियो बनाउन सिकाएँ । त्यस्ता पाला तिहारमा आमाछोरी घरदैलो गरी बिक्री गर्थ्यौं । आफू स्वरोजगार बनेकै कारण छोराछोरीलाई जहिल्यै ‘सकिन्छ भने स्वरोजगार बन्नुपर्छ, सकिँदैन भने मात्र जागिर खानुपर्छ’ भन्दै आएकी छु । नभन्दै कक्षा १२ को वार्षिक परीक्षा दिएर बसेका बेला छोरीले अंग्रेजी दैनिकमा लेख लेख्न थालिन् र तीन वर्षअघि अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर पनि गरिन् । नेपाल फर्केर केही समय एक राष्ट्रिय अंग्रेजी दैनिकमा जागिर खाएकी उनी गत वर्षदेखि स्वरोजगार बनेकी छन् र केहीलाई रोजगारीसमेत दिएकी छन् ।

भारतका कतिपय राज्यमा अहिले पनि स्कुलहरूमा व्यावसायिक कक्षा सञ्चालन हुने गरेका छन् । केही समयअघि नौ कक्षा पढ्दै गरेकी एक छात्राले स्थानीय कच्चा पदार्थ प्रयोग गरी कुलर बनाएको समाचार टीभी च्यानलमा आएको थियो । हुँदा खाने परिवारलाई लक्षित गरी बनाइएका ती कुलरहरू दुई हजार भारुमा बिक्री भइरहेको समाचारले धेरैजसोलाई उत्साहित बनाएको हुनुपर्छ । विकसित मुलुकहरूले स्कुलहरूमा जीविकोपार्जनको सीप सिकाउँदै आएको वर्षौं भइसक्यो । त्यस्तो सीप सिक्न पाएका विद्यार्थीहरूले स्कुले शिक्षापछि आफैं कमाएर उच्च शिक्षा हासिल गर्छन् भनी हामीले सुन्दै आएको पनि धेरै भइसक्यो । विद्यालय शिक्षाले आत्मनिर्भरताको पाठ सिकाउने यस्तो अभ्यास हाम्रा लागि पनि अनुकरणीय बन्न सक्छ । अफसोस, हाम्रो शिक्षाले पढाइ सकेर जागिर खाने प्रवृत्तिलाई मलजल गरिरहेकै छ ।

हाम्रो स्कुले शिक्षाले परनिर्भरताको पाठ पढाउने गरेकै कारण उच्च शिक्षाका लागि पनि अभिभावकले लगानी गरिदिनुपर्छ । स्कुले शिक्षापछि छोराछोरीले बाटो बिराउलान् कि भनेर अभिभावकहरू त्राहिमाम् हुनुपर्छ, गोठालोको भूमिका निर्वाह गरिरहनुपर्छ । हाम्रो शिक्षाले जीवन र जगत्बारे आधारभूत कुराहरू बुझाउन नसकेकै कारण स्कुलपछि विद्यार्थीहरू बढी अलमलिने गरेका छन्, जसको परिणाम समाज र देशले भोग्दै आइरहेका छन् । शिक्षा आर्जन गर्नु भनेको जागिर खानु हो भनेर बुझेका विद्यार्थीलाई जागिरमुखी बनाउनुमा वर्तमान शिक्षा मात्र हैन, शिक्षक र अभिभावकहरू पनि दोषी छन् । कतिपय जागिरे अभिभावकहरू छोराछोरी आफूजस्तै बनून् भन्ने चाहन्छन् । उनीहरूको चाहना पूरा गर्न शिक्षकहरू पनि बाध्य छन् ।

हामीकहाँ पनि स्कुले शिक्षाअन्तर्गत व्यावसायिक सीपबारे पठनपाठन सुरु भएको वर्षौं नभएको होइन । छदेखि आठ कक्षासम्मका विद्यार्थीलाई सामुदायिक शिक्षाअन्तर्गत यस्तो सीप दिइराखिएको छ । अफसोस, त्यस्ता कक्षा व्यावहारिक ज्ञानभन्दा सैद्धान्तिक कुरामा सीमित भइरहेका छन् । यस्ता कक्षाको उपादेयताबारे स्वयं विद्यालय र शिक्षकले बुझेको देखिँदैन । वास्तवमा स्कुले विद्यार्थीहरूलाई माथि उल्लिखितसहित अनेकौं सीप सिकाउन सकिन्छ । अहिले कोभिड महामारीले गर्दा एकातिर रोजगारी खोसिएको अवस्था छ, अर्कातिर नयाँनयाँ उद्यमहरू खुल्ने क्रम बढेको छ । पछिल्लो समय स्वास्थ्य सामग्रीमध्ये मास्कको माग ह्वात्तै बढेको छ । नेपाली ढाका लगायतका कपडाबाट बनेका मास्क विदेशमा समेत निर्यात हुन थालेका छन् । स्कुले विद्यार्थीहरूलाई मास्क बनाउने सीप सिकाउन सके आयात घट्ने थियो ।

अर्को कुरा, हाल कक्षा छदेखि आठसम्मका विद्यार्थीलाई लक्षित गरी बनाइएको व्यावसायिक शिक्षाको पाठ्यसामग्री त्यति वैज्ञानिक र व्यावहारिक देखिँदैन । यस्तो ज्ञान दस कक्षासम्म दिने हो भने विद्यार्थीहरू स्वरोजगार बन्न अभिप्रेरित हुन्छन् न कि जागिरे । यसतर्फ शिक्षा क्षेत्रका सरोकारवालाहरू संवेदनशील बन्न जरुरी छ । विद्यालय व्यवस्थापन र व्यावसायिक कक्षाका शिक्षकले पनि स्थानीय निकाय र उद्यमीहरूसँग समन्वय र सहकार्य गरी आफ्ना विद्यार्थीहरूलाई व्यावसायिक सीपको महत्त्वबारे बुझाउन जरुरी छ ।

प्रकाशित : माघ १, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?