कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमलपोखरीलाई कंक्रिटपोखरी नबनाऊ

सम्पादकीय

भूकम्पपछि सम्पदा पुनर्निर्माणका क्रममा एउटा पाठ सिकिएको थियो– सम्भव भएसम्म तिनको मौलिक स्वरूप मास्दै नमास्ने । तैपनि ‘हिँड्दै छ, पाइला मेट्दै छ’ शैलीले पछ्याउन छाडेको छैन । धरहरा आफ्नै तालले ठडिँदै छ र यतिखेर कमलपोखरी यस्तै विवादको केन्द्रमा छ ।

कमलपोखरीलाई कंक्रिटपोखरी नबनाऊ

खासगरी, पोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेपछि सम्पदा र पर्यावरणप्रति सचेत समूह यसको विरोधमा उत्रिएको छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सांसद तथा कांग्रेसका नेता गगनकुमार थापाले त महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेखी पोखरी पुनर्निर्माण कार्य रोक्न र सरोकारवालासहितको छलफल राख्न आग्रह नै गरेका छन् । महानगरले सरोकारवालाको यो आवाज सुन्नुपर्छ र जारी निर्माण कार्य हाललाई रोकी मौलिक स्वरूपकै कमलपोखरी बनाउनुपर्छ ।

सहरबीचको पोखरीलाई सुन्दर बनाउने विचार आफैंमा असुन्दर होइन । तर, त्यसका लागि अपनाइने विधि–प्रक्रिया पनि त्यत्तिकै सुन्दर हुनुपर्छ । पोखरीको प्राकृतिक स्वरूप नै मासेर बनाइने कृत्रिम संरचना हेर्दा जति नै मनमोहक देखिए पनि वास्तविक रूपमा त्यो भद्दा र कुरूप नै हुन्छ । यहाँ, कमलपोखरीको ऐतिहासिक महत्त्व कति छ, यसको सांस्कृतिक मूल्य छ कि छैन र सिमसार नै पनि हो कि होइन भन्नेजस्ता प्रश्नमा अल्झिरहन जरुरी छैन । जे भए पनि, वर्षौंदेखि माझसहरमा विद्यमान यो पोखरीको आफ्नै महत्त्व छ । सुन्दर बनाउने नाममा यसको प्राकृतिक सौन्दर्य मास्नु हुँदैन । कृत्रिम पोखरी त महानगरले अरू कुनै नयाँ ठाउँमा चाहे जसरी नै बनाउन सकिहाल्छ नि, कमलपोखरीको मौलिक स्वरूपमा दख्खल पुर्‍याइराख्नै पर्दैन ।

महानगरबाट कमलपोखरी पुनर्निर्माण गर्ने क्रममा भैरहेका केही गल्ती प्रस्टै देखिन्छन् । सर्वप्रथम त पोखरीको आकार नै सानो बनाइँदै छ । यसै पनि समयक्रममा मिचिँदै गएर सानो बनिसकेको पोखरीलाई सुन्दर बनाउने नाममा अझ सानो बनाउनु कुनै हिसाबले जायज हुँदैन । पोखरी सानो बनाउँदा त्यसको चौतर्फी असर पर्छ । पानीको मात्रा घट्छ । जमिनमा पानीको पुनर्भरणदेखि जलचक्र तथा पारिस्थितिक प्रणालीसमेत प्रभावित हुन्छ । सहरमा कथं ठूलै आगलागी भएमा प्रयोग गर्नका लागि पनि पानी पहिले जति हुँदैन । जलाशयमा आश्रित जीवजन्तुमा पनि असर पर्छ । तसर्थ, सहरमा यसै पनि पानीका स्रोतहरू कम भएको अवस्थामा भएकै पोखरीको आकार घटाउनु उचित हुँदैन ।

दोस्रो, यसमा कंक्रिटहरूको प्रयोग असावधानीपूर्वक गर्न लागिएको छ । खासगरी यस्ता फोखरीहरूको घाटमा त्रंक्रिट प्रयोग गर्नु नै हुँदैन । कंक्रिट राखियो भने वर्षाको पानी जमिनमा पुनर्भरण हुन पाउँदैन, जसको असर सोझै पोखरीमा पर्छ । पोखरीमा पानीको मात्रा अस्वाभाविक रूपले तलबितल हुन नदिन यसको घाट क्षेत्रमा हुने पानी पुनर्भरणको ठूलो भूमिका हुन्छ । यसै पनि ढलानैढलान र पिचैपिच भएको सहरमा आकाशबाट परेको पानीले प्राकृतिक जमिन भेट्टाउन मुस्किल छ, यस्तो अवस्थामा पोखरीवरिपरि पनि कंक्रिट नै बिछ्याएर मूर्खता प्रदर्शन गर्नु हुँदैन ।

तेस्रो, पोखरीको बीचमा क्रंक्रिटको कमलको फूल बनाइने भनिएको छ । महानगर प्रस्ट हुनुपर्छ– सिमेन्ट–संरचनाको मोहले सहर थप कुरूप बन्छ । पोखरीमा सयौं साँच्चिकै कमल फूलाउन सकिन्छ, पर्यावरण, प्रकृति र पोखरीको वास्तविक शोभा नै बिग्रने गरी ढलान–पुष्प ठड्याइरहनु पर्दैन । कदाचित् यसो गरिएमा पोखरीको मौलिकता मासिनेसिबाय केही हात लाग्दैन ।

चौथो, पोखरीको पिँध नै फुट्ने गरी पानी सुकाइएको छ, जुन आवश्यक नै थिएन । पानी नसुकाई नै पोखरी सफा गर्न वा त्यसमा भएको अनावश्यक हिलो फाल्न सकिन्थ्यो । यसरी पोखरी सुकाउँदा पछि पानी नअडिन पनि सक्छ । त्यस्तो अवस्था आएमा प्राचीन पद्धति अपनाएर पानी अडाउनुपर्ने हुन्छ । त्यसका लागि कालो माटो र इँटालगायत बिछ्याउने आफ्नै पद्धति छ । तर यस्तो अवस्थामा डर के हुन्छ भने पछि निर्माणकर्ताहरूले पानी नअडिएको बहानामा पिँधमा सिमन्टे प्रयोग गरिदिन सक्छन् । त्यसो गरिएमा यो वास्तविक पोखरी रहँदैन, बेलाबेलामा पानी हालिरहनुपर्ने एउटा पौडी पोखरीजस्तो मात्रै बन्छ । त्यसैले यसप्रति सम्बन्धित सबै सचेत रहनुपर्छ ।

पाँचौं, पोखरी पुनर्निर्माण कार्य पारदर्शी ढंगले पनि भैरहेको देखिँदैन, यसबारे सरोकारवालाबीच यथोचित सल्लाह गरिएको छैन । सम्बन्धित सबै पक्षको सम्मतिमा यो कार्य अघि बढाइएको भए, यसमा गल्ती हुने सम्भावना पनि हुँदैनथ्यो, कसैले विरोध गरिरहनु पनि पर्दैनथ्यो । त्यही भएरै, नेता थापाले मेयर शाक्यसित सरोकारवालासित छलफल गरियोस् भन्दै निर्माणाधीन डिजाइन उपलब्ध गराइदिन अनुरोध गरेका हुन् । तसर्थ, सबै पक्षको सहमतिमा मौलिक स्वरूपकै पोखरी बनाउन अहिलेको निर्माण कार्य रोकिनुपर्छ ।

हिजो रानीपोखरीमा पनि महानगरले जथाभावी बनाउन खोज्दा सर्वत्र विरोध भएकाले पछि मल्लकालीन शैलीमै बनाइएको थियो । त्यो पाठ कमलपोखरीका हकमा पनि लागू हुनुपर्छ । समस्या के भने, सम्पदाहरू निर्माणका क्रममा निर्माणकर्ताले सुरुमा मास्ने होइन, संरक्षण गर्ने हो नै भन्छन्, तर उनीहरूको कार्यकै कारण संरचनाको मौलिक स्वरूप मासिने गर्छ ।

त्यस्तै, मुलुकमा सम्पदाको मूल्य बुझेका निर्माण व्यवसायीको कमी हुनु पनि अर्को समस्या हो । तर सम्बन्धित सरकारी निकायले उचित डिजाइन गरेर त्यहीअनुसारको काम गर्न लगाएर यस्तो समस्या टार्न सकिन्छ । कमलपोखरीका हकमा त डिजाइनमै त्रुटि भएको देखिन्छ, अब त्यसलाई सच्च्याएर मात्रै अघि बढ्नुपर्छ । अघिल्लो वर्षको असारदेखि थालिएको कमलपोखरी पुनर्निर्माणलाई थप ढिलाइ हुन नदिन महानगरले समयमै आफ्नो कदम सच्च्याउने तत्परता देखाउनुपर्छ । कंक्रिटको अनावश्यक प्रयोग नगरीकनै पोखरीलाई सुन्दर बनाउन कैयौं उपाय छन्, त्यस्तो कौशल महानगरले देखाउनुपर्छ । सम्बन्धित निकायले मालको चाल पाउनुपर्छ ।

प्रकाशित : माघ १, २०७७ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?