आत्मकेन्द्रित नेता र लोकतन्त्र- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्मकेन्द्रित नेता र लोकतन्त्र

सुरुका केही दिन या महिनासम्म अधिनायकवादी नेताले आफू सुरक्षित भएको ठान्छ तर समय र सन्दर्भ या जनचेतनाको आकलन गर्न सकेन भने उसको दिनगन्ती सुरु हुन्छ ।
लोकराज बराल

नेता धेरै प्रकारका हुन्छन् । प्रत्येकले जन्मदेखि नै स्वभाव लिएर आउँछन् र केही मात्रामा शिक्षा र पारिवारिक परिवेशले पनि स्वभाव निर्धारण गर्न सक्छन् । त्यसैले एकै घर र परिवेशमा धुन्धुकारिदेखि अति विवेकशील व्यक्तिसम्म देखिन्छन् । राजनीतिमा नेताका यी दुवै खाले गुण (सकारात्मक र नकारात्मक) पाइन्छन् ।

नेता आत्मकेन्द्रित, सनकी, लहडी, गफाडी, चटकी, अति महत्त्वाकांक्षीदेखि लिएर जनमुखी, विवेकी, दूरगामी सोच राख्नेसम्म पर्छन् । पछिल्लो समूहका नेता अति थोरै हुन्छन् र अन्याय र अत्याचारविरुद्ध लड्न अरूलाई उत्साहित पार्छन् । यस्तो काम गर्ने नेतालाई परिवर्तनकारी या क्रान्तिकारी मानिन्छ । शक्ति आर्जन गरे पनि यसलाई राष्ट्र र जनहितमा लगाउनुपर्नेमा तिनले जोड दिन्छन् । जस्तोसुकै परिवारका भए पनि उनीहरू जनकल्याणको उद्देश्य लिएर राजनीतिमा लागेका हुन्छन् ।

आत्मकेन्द्रित नेताका लक्षण हुन्— आफैं मात्र ठीक र अरू बेठीक ठान्ने, आफैंले रचेको काल्पनिक संसारको सेरोफेरोमा घुम्ने, अरूको कुरा नसुन्ने । राष्ट्रपति ट्रम्प आजका सन्दर्भमा पहिलो नम्बरमा पर्छन् भने, प्रधानमन्त्री ओलीका केही काम गर्ने शैली र लक्षण पनि केही मात्रामा हठी स्वभावका छन् । प्रतिरक्षा गर्नै नसकिने निर्णयका लागि उनी आफैं मात्र ठीक भन्ने मानसिकताले पीडित देखिन्छन् । संसद् विघटनका सिलसिलामा आफू संसद्मा ६४ प्रतिशत समर्थन भएको नेता रहेको भनी तर्क गर्छन् तर संसद् छली नयाँ जनमत लिन चुनावमा जाने वकालत गर्छन् । आफ्नै दलले काम गर्न नदिएको भन्दै संविधानको अक्षर र भावनाविपरीत अघि बढ्छन् । कतिसम्म भने, आज नेपाललाई बाहिर चिनाउने एक मात्र नेता आफू भएको घोषणा गर्नमा उनी अलिकति पनि लज्जाबोध गर्दैनन् ।

यस्ता नेताको चिन्तन र शैलीको कुरा उठ्ता मलाई आफूले आईएमा पढेको पुस्तक ‘डन क्विजोट’ को याद आउँछ । डन क्विजोट एक पात्र हो, जो काल्पनिक शत्रु देख्दै लडाइँ गर्न सुर्रिन्छ र उसलाई सहायक स्यान्जोपान्जाले समर्थन गर्छ । ट्रम्पले पनि आफूविपरीत आएका सबै मतलाई फर्जी देखी, आफूलाई चुनावमा हराएको ठानी, धुन्धुकारि स्वभाव प्रदर्शित गरी अमेरिकाको हुर्मत लिने कामका लागि नन्दीभृंगीलाई उत्तेजित गरेर कंग्रेस (संसद्) मा हमला गराउँछन् । त्यस्तो व्यक्तिलाई सबैभन्दा पुरानो दल (जीओपी) का कतिपय संसद्् र अन्य नेताले समर्थन गर्छन् । कंग्रेसमा हमलापछि तिनै नेताको चेत फर्की यसको भर्त्सना गर्छन् र लोकतान्त्रिक प्रणालीलाई बचाउँछन् ।

कामचलाउ प्रधानमन्त्री ओली पनि ‘मै सर्वेसर्वा नेता’ र ‘मेरो निर्णय बदलिन नसक्ने’ भन्दै अदालतमा विचाराधीन संसद् विघटनको मुद्दालाई बेवास्ता गर्दै कुनै पनि हालतमा संसद् बिउँतिन नसक्ने जिकिर गर्छन् । तर उनको असंवैधानिक कदमका पक्षमा वकालत गर्ने, समर्थन जनाउने उनका अघिपछिका व्यक्ति र कार्यकर्ताबाहेक अरू देखिँदैनन् । उनको बोलीमा अब धेरै अहंकार र अतिशयोक्ति देखिन थालेको छ, तथ्यमा आधारितभन्दा बढी आफैं मपाईं भएको पाइन्छ । तर खुसीको कुरा के छ भने, अब चेतनशील जनता के ठीक र के बेठीक छुट्याउन सक्षम भएका छन् । अब कामका आधारमा राजनीतिकर्मीको मूल्यांकन हुन थालेको छ । उनीहरू संविधानसम्मत व्यवस्था र सक्षम सरकार खोज्छन् तर सरकार भ्रष्ट र कमजोर बन्दा यसको विकल्प खोज्छन्, जुन लोकतान्त्रिक व्यवस्थाको सकारात्मक पक्ष हो ।

अधिनायकवादमा नेता बन्न सजिलो हुन्छ किनभने शक्तिका बलमा नेता सञ्चार, संसद्, दल, बुद्धिजीवी र समाजको आलोचना या विरोधबाट क्षणिक कालका लागि मुक्त रहन सक्छ । सुरुका केही दिन या महिनासम्म अधिनायकवादी नेताले आफू सुरक्षित भएको ठान्छ तर समय र सन्दर्भ या जनचेतनाको आकलन गर्न सकेन भने उसको दिनगन्ती सुरु हुन्छ । अधिनायकवादको स्वरूप फरक हुने भएकाले सबैको आयु एकै किसिमले निर्धारण हुँदैन । तर औंलामा गन्न सकिने, साम्यवादी र एकाध सैनिक मुलुकबाहेक सबै अधिनायकवादी शासनतन्त्रको अवसान जनविद्रोहले तय गरेको उदाहरण विश्वभरि पाइन्छ । नेपालमा विकल्परहित भनिएको राजाको ‘सर्वोच्च र सबल नेतृत्व’ मा चलेको निर्दलीय पञ्चायत व्यवस्था र राजतन्त्रको यति चाँडै पतन होला भन्ने कसैले अनुमान गरेको थिएन । पाकिस्तान, बंगलादेश, इन्डोनेसिया लगायतमा भएका परिवर्तनले पनि यही कुरालाई पुष्टि गरेका छन् ।

लोकतन्त्रमा नेता बन्ने बाटा धेरै छन् । जनप्रिय हुन सके र जनतालाई भरोसा भए नेताले चुनावबाट शक्ति आर्जन गर्न सक्छ । अमेरिकामा ट्रम्पजस्ता धनाढ्य व्यापारीका लागि पनि गरिबी र बेरोजगारीको मारमा परेका अनि जातीय भेदभावमा विश्वास गर्ने जमात या ‘अरू देशका मानिसले अमेरिका बिगारेको’ भन्ने चुनावी कार्डले सन् २०१६ मा काम गर्‍यो र उनी राष्ट्रपतिजस्तो उच्च पदमा पुगे । यसपल्टको चुनावमा हार भए पनि उनका पक्षमा आएको मतले अमेरिकालाई नमीठो रूपमा विभाजित गरेको छ । यस विभाजनलाई कम गर्न नवनिर्वाचित राष्ट्रपति जो बाइडेन प्रतिबद्ध छन् । तर ट्रम्प प्रवृत्ति (फेनोमेनन) ले अमेरिकाजस्तो लोकतान्त्रिक देशलाई लामो समयसम्म असर गरिरहने आकलन धेरैको छ ।

ट्रम्प अति आत्मकेन्द्रित, शक्तिका प्रति असीमित आसक्ति भएका र यसका लागि सबै अस्त्र प्रयोग गर्ने व्यक्तिका रूपमा देखिन्छन् । विडम्बना त के छ भने, अमेरिकाजस्तो विकसित मानिएको लोकतन्त्रमा पनि यस्ता मान्छे नेताका रूपमा आउन सक्दा रहेछन् र लोकतन्त्रलाई धराशायी पार्दै या होच्याउँदै आफ्नो स्वार्थरक्षाका लागि सबै खाले हत्कण्डा प्रयोग गर्न पछि नपर्ने रहेछन् । लोकतन्त्रमा विश्वास नगर्ने र आफू मात्र ठीक भएको ठान्ने व्यक्ति लोकतन्त्रका लागि घातक सिद्ध हुन सक्छ भन्ने उदाहरण ट्रम्पले दिएका छन् । यस्तो प्रवृत्ति अन्य देशका केही शक्तिपिपासु नेतामा पनि पाइन्छ ।

नेपालका ओली यसरी नै प्रस्तुत भइरहेका छन् । उनको तीन वर्षसम्मको शासनशैली र क्षमताको आकलन गर्दा उनले चुनावमा दिएका सस्ता लोकप्रियवादी नारा र तिनको कार्यान्वयनमा देखिएको असफलताले उनीप्रति जनविश्वासमा ह्रास आएको छ । उनी पनि अति आत्मकेन्द्रित र घमन्डी नेताका रूपमा हुन् । उनमा उडन्ते कुरा गर्नबाहेक अरू क्षमता छैन । ओली क्षणिक जनप्रियताको बुई चढी शक्तिमा पुग्न सकेको तर गर्न केही नसकेको नेताका रूपमा स्थापित भएका छन् । यस्तो चटके चाल धेरै टिक्न सक्तैन । उनको पतनको कारण उनकै हठ र अलोकप्रिय हुने वातावरणले निर्धारण गर्ने देखिन्छ । ओली न दूरदृष्टि राख्ने न त लोकतान्त्रिक ढंगले चल्ने नेता हुन् । त्यसैले आफ्नो स्वार्थका लागि उनले संसद् विघटन गर्दा वर्तमान संविधानको चीरहरण हुन्छ भन्ने जानीजानी बुझ पचाएर विघटनको बाटो समाए ।

ओली मात्र होइन, सबै दलका शीर्षस्थ भनिने नेताहरूको क्षमतामा जनताको भरोसा हट्दै गएको छ । ती सबैको कार्यक्षमता जनताले चाल पाइसकेका छन् । कहिलेकहिले सत्ता परिवर्तन गर्नमा भूमिका रहेको भए पनि परिवर्तनकारी भूमिकामा उनीहरू पछि परेका छन् । अति स्वार्थकेन्द्रित राजनीतिले उनीहरूको परिवर्तनकारी भूमिका हराएको छ । अब चुनाव जित्ने नारा पनि कमजोर भएको छ, जसका बलमा ओली सत्तामा पुग्न सफल भएका थिए ।

लोकतन्त्रलाई बलियो पार्न, स्थायित्व र विकास यकिन गर्न दल र नेताहरूको भूमिका ठूलो हुन्छ । भारतमा स्वतन्त्रता आन्दोलनका नेताहरूले नै सुरुका दिनमा गणतन्त्र भारतको नेतृत्व लिएकाले लोकतन्त्रको जग बलियो भयो, जुन आजसम्म चलिरहेछ । त्यसैले, भारतीय संविधानका कतिपय प्रावधान आफ्नो सिद्धान्त अनुसार नभए पनि सत्तारूढ भारतीय जनता पार्टीले तिनमा विचलन ल्याउने धृष्टता गरेको छैन ।

भारतका तुलनामा नेपालको लोकतन्त्रको विकासक्रम अवरुद्ध (इन्टरमिटन्ट) हुँदै आएको छ । अनेक संविधान र राजनीतिक मोडलको प्रयोग गरिँदा संवैधानिक स्थिरता आउन सकेको छैन । संवैधानिक र राजनीतिक स्थिरता सुन्दा उस्तै लागे पनि यिनमा केही तात्त्विक भिन्नता भने पाइन्छ । भारतमा संवैधानिक स्थिरता सधैं रह्यो (इमर्जेन्सी कालबाहेक), तर सरकारको अस्थिरता समयसमयमा देखियो, भारतीय कांग्रेसको वर्चस्व कम हुँदै गएपछि । नेपालमा भने हालसम्म सात संविधानको प्रयोग भए पनि अहिलेसम्म संवैधानिक स्थायित्वको यकिन हुन सकेको छैन ।

ओलीको पछिल्लो कदमले फेरि संवैधानिक र राजनीतिक अस्थिरताको वातावरण र सम्भावना बढाएको छ । अब दुईतिहाइको जनमतले मात्र स्थायित्व दिने रहेनछ भन्ने तथ्य प्रमाणित भएको छ । लोकतन्त्रले त्याग, समर्पण, सुशासन र उत्तरदायित्व खोज्छ । यसका लागि न्यूनतम मूल्य–मान्यता र विवेक चाहिन्छ । तर आज सिद्धान्त, मान्यता र स्वच्छ शासनको नारा मात्र छ; काम भने छैन । जो भ्रष्ट छन्, तिनीहरूकै प्रतिरक्षा गर्ने व्यक्ति देशको पहिलो नेता भएपछि अरू के चाहियो ! लोकतन्त्रलाई चुनावी तन्त्रमा मात्र हेरिए यसको मर्म हराउनेछ । जति चुनाव गरे पनि सार नबदलिए यो आवरणको लोकतन्त्र मात्र हुनेछ । आज जनतालाई सार चाहिएको छ, देखावटी चुनावी तन्त्र होइन ।

प्रकाशित : पुस २९, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

लयमा फर्किंदै उद्योगधन्दा

५४ प्रतिशत पूर्ण सञ्चालन, ३७ प्रतिशत आंशिक चल्दै
आर्थिक गतिविधि सञ्चालनमा सहजता आएको राष्ट्र बैंकको दाबी
यज्ञ बञ्जाडे

काठमाडौँ — कोरोनाका कारण अस्तव्यस्त बनेको उद्योग व्यवसाय लयमा फर्किन थालेको छ । लकडाउन खुलेपछि करिब ५४ प्रतिशत उद्योग–व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत उद्योग–व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा थिए । मंसिरमा बढेर करिब ५३.९५ प्रतिशत पुगेको अध्ययनको निष्कर्ष छ ।

‘अझै पनि करिब ३७ प्रतिशत उद्योग–व्यवसाय आंशिक सञ्चालनमा छन् भने ९ प्रतिशत सञ्चालनमा आउनै नसकेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । गत असारको तुलनामा सबै प्रकारका उद्योग व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । ‘साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको छ,’ बैंकले भनेको छ ।

गत असारको तुलनामा मंसिरमा उद्योग–व्यवसाय सञ्चालन, कारोबार/उत्पादनलगायतमा सुधार आउनुले अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘कोभिडको संक्रमण नियन्त्रणमा आएर सहज अवस्था हुने हो भने अर्को वर्षको आर्थिक वृद्धि राम्रो हुने देखिन्छ,’ उनले भने, ‘चालु वर्षको आर्थिक वृद्धि भने प्रभावित हुने देखिन्छ ।’

कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न गत चैत ११ देखि गरिएको लकडाउनलगायत उपायका कारण आर्थिक क्रियाकलाप प्रभावित हुन पुगेका थिए । संक्रमण रोकथामका लागि अपनाइएका गैरस्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई क्रमशः खुकुलो बनाउँदै लगिएसँगै आर्थिक गतिविधि सञ्चालनमा सहजता आएको राष्ट्र बैंकको दाबी छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत उद्योग–व्यवसाय पूर्ण र ३४.९२ प्रतिशत आंशिक रूपमा सञ्चालनमा थिए । बाँकी ६१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा बन्द थिए ।

गत असारको तुलनामा मंसिरसम्म उद्योग–व्यवसायको उत्पादन र कारोबारमा सुधार भएको प्रतिवेदनले औंल्याएको छ । ‘कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन/कारोबार रहेकामा मंसिरसम्म आइपुग्दा औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन/कारोबार बढेको पाइएको छ ।’

होटल तथा रेस्टुरेन्ट, शिक्षालगायत क्षेत्रका उद्योग–व्यवसाय भने सबैभन्दा न्यून क्षमतामा सञ्चालन भएका छन् । कोभिड महामारीअघिको तुलनामा गत असारमा होटल तथा रेस्टुरेन्टको उत्पादन/कारोबार ७.१३ प्रतिशत मात्र थियो ।

गत मंसिरमा होटल तथा रेस्टुरेन्टको उत्पादन/कारोबार ११.१८ प्रतिशत पुगेको छ । गत मंसिरमा शिक्षा क्षेत्रको औसत उत्पादन/कारोबार ३७.५८, सञ्चारको ४२.२७ र उत्पादनमूलक उद्योगको करिब ६२ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।

गत असारको तुलनामा उद्योग–व्यवसायले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारीअगाडिको अवस्थामा भने पुग्न सकेको छैन । कोभिड महामारीअगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग–व्यवसायले मंसिरमा ८७.५ प्रतिशत रोजगारी दिएको प्रतिवेदनले देखाएको छ । ‘मझौला उद्योगले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको छ ।

मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेस्टुरेन्ट क्षेत्रका उद्योग–व्यवसायको बाहुल्य रहेकाले रोजगारीको दरमा थप कटौती हुन गएका अनुमान छ,’ प्रतिवेदनमा उल्लेख छ । गत असारको तुलनामा मंसिरसम्म उद्योग–व्यवसायको औसत तलब–ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग/व्यवसायहरूको औसत तलब–ज्याला खर्च घटेको देखिन्छ ।

‘अधिकांश उद्योग–व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च (तलब–ज्याला, घरजग्गा भाडा तथा ब्याज खर्च) धान्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या रहेको बताएका छन्,’ प्रतिवेदनमा भनिएको छ । कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७७ जेठ २६ देखि असार १० सम्म ५२ जिल्लाका ६ सय ७४ उद्योगी व्यवसायीबाट तथ्यांक संकलन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त सर्वेक्षणले लकडाउनपछि औसतमा ६१.०३ प्रतिशत उद्योग–व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग–व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो ।

सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् । व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्म पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको राष्ट्र बैंकले बताएको छ । गत असारमा सहभागी ६ सय ७४ उत्तरदातामध्ये करिब ९० प्रतिशत अर्थात् ६ सय ४ जना उद्योगी व्यवसायीले सर्वेक्षणमा सहभागिता जनाएका थिए ।

सर्वेक्षणमा औद्योगिक वर्गीकरणअनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २९.३, उत्पादनमूलक उद्योगबाट १७.२ र होटल तथा रेस्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त भएको थियो । सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट ०.५ र खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशतको सहभागिता थियो ।

प्रकाशित : पुस २९, २०७७ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×