कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘ट्रम्पासुर’ बाँध्‍ने संवैधानिक डोरी

क्यापिटल हिलमा ट्रम्पप्रेरित उपद्रवका बीच पनि अमेरिकी लोकतन्त्रका संस्थाहरू सदाझैं यथावत् संविधान कार्यान्वयनमा लागेका छन् ।
प्रमोद मिश्र

काठमाडौँ — ६ जनवरी २०२१ मा अमेरिकी व्यवस्थापिका भवन क्यापिटल हिलमा अमेरिकी राष्ट्रपति ट्रम्प समर्थक ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) भीडले आक्रमण गर्‍यो । क्यापिटल हिलभित्र यसअघि सन् १८१२ को युद्धमा बेलायती सेनाले बलजफ्ती प्रवेश गरी तोडफोड गरेको थियो । अमेरिकाका हितैषीहरूले लोकतन्त्रको धरोहर मानिएको देशमा यस्तो कसरी भयो भनी यस घटनाको भर्त्सना गरेका छन् भने, अमेरिकासँग वैमनस्य राख्नेहरू अब विश्वलाई लोकतन्त्रको पाठ अमेरिकाले नसिकाए राम्रो भन्दै काखी बजाउँदै छन् । 

‘ट्रम्पासुर’ बाँध्‍ने संवैधानिक डोरी

तर यो घटना भयो कसरी ? के यो अमेरिका उँधो लागेको प्रतीकात्मक घटना हो ? के अमेरिका पतनोन्मुख भइसक्यो ?

गत मार्चमा कोभिड महामारी आफूभित्र छिरेदेखि नै अमेरिका निरीह देखिएको थियो । प्रारम्भिक दिनमा पर्याप्त मात्रामा मास्क र भेन्टिलेटरसम्म थिएनन् यहाँ । कोभिड बिरामीले यहाँका अस्पताल एकपटक फेरि अटाइ–नअटाइ भएका छन् । कोभिडले मृतकको संख्या ४ लाख पुग्नै लागेको छ भने संक्रमितको संख्या झन्डै सवा २ करोड पुगिसकेको छ । यसैबीच क्यापिटल हिलमा आक्रमण भयो जसमा एक प्रहरीसहित चार जनाको ज्यान गयो ।

यसो हुनुमा गत चार वर्षमा अमेरिकी राजनीतिमा सन्की व्यक्तित्व भएका डोनाल्ड ट्रम्पको उदयले ल्याएको श्वेत राष्ट्रवादी हलचलले ठूलो भूमिका खेलेको छ । ट्रम्पवाद र कोभिडको विस्फोटक संगमले अमेरिकी लोकतन्त्रको हुर्मत नै लिएजस्तो लाग्छ ।

गत १४ डिसेम्बरमा सीएनएनसँगको अन्तर्वार्तामा टम फ्रिडमेनले भने, ‘आज अमेरिकाको डीडे हो ।’ फ्रिडमेन न्युयोर्क टाइम्सका स्तम्भकारका साथै विश्वव्यापीकरणबारे कैयौं लोकप्रिय पुस्तकका लेखक पनि हुन् । उनले यसो किन भनेका थिए भने, त्यही दिन एकातिर अमेरिकी इलेक्टोरल कलेजले बाइडेनलाई विजय घोषित गरेको थियो, अर्कातिर कोरोनाको खोप पनि पहिलो अमेरिकीले लगाएका थिए । द्वितीय विश्वयुद्धमा अमेरिकी सेना युरोपको नोर्मन्डी समुद्री किनारमा ओर्लेको निर्णायक (६ जुन १९४४) दिनलाई ‘डीडे’ भन्ने गरिन्छ, किनभने यसले हिटलरको नात्सीवाद र मुसोलिनीको फासीवादको पतनको थालनी गरेको थियो । त्यसै गरी कोरोनाको खोप लागेसँगै र ट्रम्पको हारको ठोकुवा भएसँगै अमेरिकासहित विश्वले पनि निकास पाउला भन्ने फ्रिडमेनको आशय थियो । तर त्यसो भएन ।

अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको तेस्रो खुड्किलो अमेरिकी व्यवस्थापिकाद्वारा इलेक्टोरल कलेजले दिएको मतमाथि बहस चलिरहेकै बेला ६ जनवरीको घटना भयो, ट्रम्पको उक्साहटमा । अमेरिकी लोकतन्त्रले यसअघि पनि अग्निपरीक्षा दिइसकेको छ । अठारौं शताब्दीमा बेलायतविरुद्धको स्वतन्त्रता संग्राम अनि संविधान निर्माणकालमा उब्जेको संकट । दासप्रथालाई लिएर उन्नाइसौं शताब्दीमा भएको गृहयुद्धमा लाखौं अमेरिकी युवा होमिनु । बीसौं शताब्दीको पूर्वार्द्धमा भएको विशाल आर्थिक मन्दी र उत्तरार्द्धमा भएको भियतनाम युद्धका दौरान भएको आन्तरिक द्वन्द्व । एकाइसौं शताब्दीमा भएको ९/११ को बाह्य आक्रमण । र, अहिले व्यवस्थापिका–संसद्माथि नै आन्तरिक स्रोतबाट भएको आक्रमण, जसमा थियो स्वयं आफ्नै राष्ट्रपतिकै प्रत्यक्ष संलग्नता ।

वास्तवमा अमेरिकाबारे साधारणदेखि प्रबुद्ध व्यक्तिसम्मले अनेकौं अनुमान, व्याख्या र अडकल लाउँदै आएका छन् । बाहिरियाका लागि सपनाको देश । दूध र महको खोलो बगेको, सुनजडित सडक भएको देश । अमेरिका पुगेपछि सबै दुःख हराउने देश । यहाँकै पनि सत्रौं शताब्दीका धार्मिक संस्थापक प्युरिटन र पिलग्रिमहरूले यसलाई ‘साइनिङ सिटी अपन द हिल’ (डाँडामाथिको झिलिमिली सहर) भनेर सपना र आदर्शको मुकुट पहिर्‍याएका थिए । अठारौं शताब्दीका टोमस जेफरसन र बेन्जामिन फ्र्यांकलिनजस्ता विचारक र राजनेताले आफ्नो जीवन, विचार र राजनीतिक दस्तावेजमार्फत यसलाई राजनीतिक–आर्थिक क्षेत्रको आदर्श प्रयोगशाला बनाए, बेलायतको उपनिवेशबाट मुक्त भएपश्चात् । युरोपेली राजतन्त्रको सौपानिक सामन्तवादबाट अलग जीवन, स्वतन्त्रता, खुसीको खोज गरिने अकाट्य व्यक्तिगत स्वतन्त्रता र समानता भएको ‘युटोपियन’ समाजको कल्पनालाई वास्तविकतामा उतार्ने प्रयास थियो यो ।

त्यसपछिका शताब्दीहरूमा पनि अमेरिकी–गैरअमेरिकीले अमेरिकाबारे अनेक अनुमान र अडकल लगाउँदै आए । कसैले यसलाई विभिन्न जात–वर्गको अद्भुत सम्मिश्रण भने । कसैले लोकतन्त्र र स्वतन्त्रताप्रतिको यसको कटिबद्धतालाई अति नै रमाइलो तर डरलाग्दो प्रयोग भने । यसो भन्नेहरू सबै युरोपेली मूलका श्वेतहरू थिए । तर यहीँ अफ्रिकी मूलका दासहरू र आदिवासी नेटिभ अमेरिकनका लागि अमेरिका एउटा दुःस्वप्न पनि बनेको थियो । पछि तिनै दासमध्येका बौद्धिक अनि अभियन्ताहरूले स्थापनाकालका अविच्छिन्न समानता र स्वतन्त्रताको आदर्शलाई अघि सारेर आफूविरुद्ध भएको अमानवीय व्यवहारको विरोध गरे । गोरा–काला मिलेर गृहयुद्धदेखि नागरिक आन्दोलनसम्म गरे । न्यायको त्यो मुहिम अहिले पनि जारी छ ।

स्वतन्त्रता मात्रै होइन, मानिसले आँट्यो भने जे पनि गर्न सक्छ भन्ने मान्यतालाई व्यवहारमा उतार्दै गयो अमेरिकाले । भौगोलिक दूरीमाथि विजय हासिल गर्न मोटरकारदेखि हवाईजहाज र अन्तरिक्ष यानसम्म, टेलिफोनदेखि इन्टरनेट र आइफोनसम्मको आविष्कार गरेर मानव विकास र पहुँचको सीमा र क्षितिजलाई झन्झन् फराकिलो बनायो यसले । यो क्रम अहिले पनि जारी छ ।

यी उपलब्धिहरूसँगै अमेरिकी समाज विरोधाभासबीच बाँचिरह्यो । एकातर्फ युरोपबाट बसाइँ सर्नेहरूलाई वर्ग, भाषा र पुरानो मुलुकको बन्धनबाट मुक्त गरेर अमेरिकाले फगत स्वतन्त्र व्यक्तिको गरिमाले स्थापित गर्‍यो र श्वेत पहिचान दियो भने, अर्कातर्फ अफ्रिकी मूलका अश्वेत दासहरू र तिनका सन्तानलाई दासप्रथा उन्मूलनपछि पनि नस्लीय भेदभाव गरिरह्यो । तर अमेरिका यो विरोधाभासलाई चिर्दै अगाडि बढिरह्यो । त्यसैले त यहाँ मानवीय मूल्य–मान्यताका लागि गृहयुद्ध (सन् १८६१–१८६५) भयो जसमा ५ लाख अमेरिकी मरे । बीसौं शताब्दीमा पनि दुई–दुईचोटि महायुद्धको चपेटामा विश्व पर्दा नस्लवादी नात्सी र फासिस्टहरूलाई हराउन अमेरिकाले आफ्ना ५ लाख युवाको बलिदान दियो, जबकि यी दुवै विश्वयुद्ध अमेरिकी मुख्य भूमिबाहिर भएका थिए ।

सन् २०२० मा दुईवटा ‘अमेरिकन डाइलेमा’ (द्विविधा) देखा परेका छन् । सन् १९४४ मा स्विडिस अर्थशास्त्री गुनार मिर्दलले कालाहरूबारे गरेको अध्ययन हो— ‘अमेरिकन डाइलेमा’ शीर्षक पुस्तक । गत मे महिनामा प्रहरीद्वारा जोर्ज फ्लोइडको हत्याले ‘ब्ल्याक लाइभ्स म्याटर’ (कालाहरूको जीवन पनि जीवन हो) आन्दोलनको रूप लियो । यससँगै अर्को डाइलेमा पनि श्वेत राष्ट्रवादीहरूको ६ जनवरीको क्यापिटल हिल आक्रमणमा छताछुल्ल भयो । खुसियालीको खोजीमा आधारित अमेरिकाजस्तो मुलुकमा यी दुवै थरी डाइलेमाका कारक तत्त्व विविध र पुराना छन्, जोर्ज फ्लोइडको हत्या र ट्रम्पको उदयले धूवाँ निस्कँदै गरेको अमेरिकी असन्तोषको ज्वालामुखीलाई विस्फोटको अवस्थामा ल्याइपुर्‍याएको मात्र हो ।

डोनाल्ड ट्रम्प अहिलेसम्मकै खराब राष्ट्रपतिमा दरिन्छन्, व्यक्तित्वजनित दोष र नीतिगत असफलताका कारण । तैपनि गत नोभेम्बरको मतदानमा ७५ मिलियन (साढे ७ करोड) अमेरिकीले तिनलाई मत दिए, जुन बाइडेनपछिको अमेरिकाकै सबभन्दा बढी मत थियो, अमेरिकी राष्ट्रपति चुनावको इतिहासमा । किन यति धेरै अमेरिकीले ट्रम्पका पक्षमा भोट हाले ?

एकातिर कालाहरू बसोबास गर्ने भित्री सहरहरू हत्या, लागूऔषध, गिरोह हिंसाको सिकार हुँदै आएका छन् (सन् २०२० भरिमा शिकागो सहरमै झन्डै ८०० मानिसको हत्या भयो) भने, अर्कातिर ‘श्वेत झल्ला’ (ह्वाइट ट्र्यास) र ‘पाखे पहाडिया’ (हिलबिली) जस्ता शब्दले अधिकांश विपन्न गोराहरूलाई चिनाउँछन् । सन् २०१६ मा प्रकाशित ‘हिलबिली एलजी’ र ‘ह्वाइट ट्र्यास’ जस्ता संस्मरणात्मक र प्राज्ञिक पुस्तकले विपन्न गोराहरूको वितृष्णा र आक्रोशलाई वर्णन गरेका छन् । गत तीस वर्षमा आएको विश्वव्यापीकरणले शिक्षित र प्राविधिक रूपमा दक्ष विश्वजनशक्तिलाई उच्च स्थान र पारिश्रमिक दिएर अमेरिकाले सम्पन्न हुने अवसर दियो भने, उत्पादनका कलकारखानालाई सस्तो जनशक्ति भएका मुलुकहरूमा पठाएर अमेरिकाभित्रका गोरा औद्योगिक मजदुरहरूको रोजीरोटी खोस्यो ।

पेन्सिलभेनिया, ओहायो, मिसिगनजस्ता मध्यपश्चिमका ‘रस्टबेल्ट’ राज्यका औद्योगिक क्षेत्रहरू धराशायी भएका छन्, उद्योगधन्दा अमेरिकाबाहिर सर्नाले । ग्रामीण भेगमा कृषकका घरभकारी र साना सहरका औद्योगिक–व्यापारिक भवनहरू खण्डहर बनेका छन् । तिनको पक्की पार्किङका कुनाकाप्चाबाट घाँस उम्रेका छन् । सूचना प्रविधि र ज्ञानमा आधारित अर्थव्यवस्थाले कलेज पढेका अमेरिकी र प्रविधिमा दक्ष आगन्तुक विदेशीलाई रोजगारी दिएको छ भने, भित्री सहरका काला र कलेज नपढेका सहरी–ग्रामीण अमेरिकीहरूलाई बिचल्लीमा पारेको छ । गत तीस वर्षमा क्यालिफोर्नियाको सिलिकन भ्याली, नोर्थ क्यारोलाइनाको रिसर्च ट्र्याङपार्क र यस्तै केही खासखास सहरमा फस्टाएको प्रविधि उद्योगले कलेज पढेका स्वदेशी–विदेशीलाई धनाढ्य बनाएको छ भने, आत्मसम्मानले भरिएका, नियमकानुन मान्ने, कलेज नपढेका सर्वहारा र ग्रामीण गोराहरूलाई रोजगारीको अभावले आत्मसम्मान जोगाउन गाह्रो भएको छ । तिनीहरूमा मादक र लागू पदार्थको लत बढ्दो छ । गत तीस वर्षको तथ्यांकलाई हेर्ने हो भने, गरिब गोराहरूमा आत्महत्याको दर अकासिएको छ । अति सम्पन्न र अति विपन्नबीच भयंकर खाडल जन्माएको छ, यस अर्थव्यवस्थाले । परिणामस्वरूप भित्री सहरका निर्धन कालाहरू एकआपसमै मारकाट गर्छन् भने, हरेस खाएका गोराहरू आफ्नो वितृष्णा र आक्रोश षड्यन्त्र सिद्धान्त र श्वेत राष्ट्रवाद अँगालेर अनि अश्वेतविरुद्ध घृणा पोखेर व्यक्त गर्छन् । मुक्तिदाता मसिहाका रूपमा ट्रम्पको उदयलाई लिन सकिन्छ, जो षड्यन्त्र सिद्धान्तका महानायक नै हुन् । फेरि दक्षिणपन्थी मिडियाले पनि यस्ता गोराहरूको घृणा र आक्रोशको आगोमा घ्यू थप्ने काम त गरेकै छन् ।

गत चार वर्षदेखि ट्रम्पले अनेक थरी कुविचार फैलाउँदै आएका थिए, जसको स्वाभाविक परिणति हो ६ जनवरीको घटना । तर अमेरिकाले उत्तरमा के गर्‍यो ? क्यापिटल हिलमाथि आक्रमणका बेला सिनेटर र सभासद्हरू प्रतिनिधिसभा र सिनेट खाली गरी बंकर–बंकरमा लुके पनि उपद्रवीहरूलाई सुरक्षाकर्मीहरूले धपाउनेबित्तिकै तिनले झन् दृढ आत्मबलका साथ संयुक्त अधिवेशन सुरु गरे । बाइडेनलाई इलेक्टोरल कलेजले बहुमत दिएको अभिप्रमाणित गरे र राष्ट्रपति घोषित गरे । यस क्रममा ट्रम्पका अहिलेसम्म वफादार उपराष्ट्रपति र सिनेटका सभापति माइक पेन्सले ‘म संविधानअनुसार काम गर्छु र हामी कसैसँग डराउँदैनौं’ भने र संवैधानिक काममा लाग्न सबै सिनेटरलाई आह्वान गरे । त्यसको भोलिपल्टदेखि दुई सय वर्षभन्दा पनि बढीका अमेरिकी लोकतन्त्रका संस्थाहरू यो हादसा फेरि नदोहोरियोस् भनेर काम गरिरहेका छन् । संविधानविपरीत मनोमानी गरेको परिणाम अब ट्रम्प र तिनका अन्धभक्तहरूले भोग्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभाले ट्रम्पलाई महाभियोग लगाएको छ भने, आक्रमणकारीहरूलाई पक्रने क्रम चलिसकेको छ । ट्रम्पकै पार्टीका कतिपय सिनेटर र प्रतिनिधिसभा सदस्यले पनि उनलाई राजीनामा दिन भनिराखेका छन् । ट्वीटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले ट्रम्पको खाता बन्द गरिसकेका छन् भने अरू व्यापारिक कर्पोरेसनहरूले ट्रम्पसँग सम्बन्ध तोडेका छन् । ट्रम्पप्रेरित उपद्रवका बीच पनि अमेरिकी लोकतन्त्रका संस्थाहरू सदाझैं यथावत् संविधान कार्यान्वयनमा लागेका छन् । किनभने काला–गोराका असन्तुष्टि संविधानअनुसार नै समाधान हुनेछन् भन्नेमा अमेरिकी संस्थाहरू विश्वस्त छन्, अडिग छन् ।

कुनै पनि राष्ट्रको जीवनमा यस्ता उथलपुथल आउँछन् । तर, त्यहाँका जनताले र जनताद्वारा स्थापित संस्थाहरूले मुलुकमा उदाउने खलपात्रहरूमाथि कसरी अंकुश लाउँछन् र परिआएका समस्या समाधान गर्छन्, त्यसमा भर पर्छ त्यस राष्ट्रको लोकतान्त्रिक जग र भविष्य । सत्ता र शक्तिको होडबाजीमा खलनायकहरू त उदाउँछन् नै, समय–समयमा । राष्ट्रनायकहरू बिग्रिने खतरा पनि उत्तिकै हुन्छ । लोकतन्त्रमा लोकको विवेक र शासन पद्धतिको रक्षा गर्न लोक कति तत्पर रहन्छ र लोकले संस्थाहरूलाई कति बलियो पारेको छ, त्यसमा भर पर्ने हो लोकतन्त्रको भविष्य । तिनै संस्थाहरूले गोरा र कालाहरूका समस्या कसरी समाधान गर्छन्, त्यसमा पनि भर पर्छ अमेरिकी लोकतन्त्रको भविष्य ।

६ जनवरी घटनाको पाठ हाम्रा लागि पनि छ । चीन, इरान र रुस लगायतले अमेरिकाको लोकतन्त्रमाथि औंला ठड्याउनुका सट्टा आफ्नो मुलुकमा राजनीतिक र नागरिक स्वतन्त्रता कसरी उपलब्ध गराउन सकिन्छ, त्यसतर्फ ध्यान दिँदा तिनकै जनताको भलो हुन्छ । किनभने अमेरिका आफ्नो दुई सय वर्षको जीवनमा अनेक बाधा–विरोधका बावजुद लोकतन्त्रलाई अक्षुण्ण राख्न सफल भएको छ र आफ्ना समस्या समाधान गर्दै आएको छ । श्वेत राष्ट्रवादीहरूले क्यापिटल हिलमाथि आक्रमण गरिरहेकै बेला कालाहरूमाथि श्वेत आतंकको गढ मानिने जोर्जिया राज्यले आफ्ना दुई सिनेट सिटमध्ये एउटामा यहुदी र अर्कोमा काला व्यक्तिलाई जिताएर केन्द्रमा पठाएको छ ।

नेपालमा पनि ‘ट्रम्पावतार’ हुने सम्भावना छ । अमेरिकी लोकतन्त्रले ट्रम्पलाई संविधानको डोरीले बाँधेको घटना हाम्रा लागि एउटा पाठ हुनुपर्छ । हामीले पनि आउँदा दिनहरूमा ‘ट्रम्पासुर’ हरूलाई संविधानको डोरीले त्यसरी नै बाँध्नुपर्छ, लोकतन्त्र जोगाउन । संवैधानिक संयन्त्रले बाँध्न सक्यौं भने मात्र लोकतन्त्र रहन्छ नत्र अन्यत्रजस्तै लोकतन्त्र एउटा डेमोगोगको वाक्चातुर्यको सिकार बन्ने निश्चित छ ।

(बुधबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : पुस २८, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?