खोप ल्याउन किन अलमल ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप ल्याउन किन अलमल ?

सम्पादकीय

विश्वका कैयौं मुलुकले कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् । छिमेकी भारतले पनि यसै साताको अन्त्यबाट खोप अभियान सुरु गर्ने निर्णय गरिसकेको छ । छ महिनाभित्र ३० करोडलाई खोप लगाउने घोषणा गरिसकेको भारतले पहिलो चरणमा यसलाई देशैभरि निःशुल्क गर्न लागेको छ ।


केही दिनअघि मात्र आफ्नो देशमा उत्पादन भइरहेको कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपत्कालीन अनुमति दिने निर्णय गरेको भारत सरकारले खोप अभियान सञ्चालनका खातिर करिब सवा ६ लाख व्यक्तिलाई तालिम नै दिएको छ । अभियानको तयारीका लागि तीन चरणमा पूर्वाभ्यास गरिसकेको छ । अर्को छिमेकी चीनले पनि आफ्नो मुलुकमा बनेको सिनोफार्म खोपलाई अनुमति दिइसकेको छ । एक महिनापछि आउने वसन्त चाडअगावै ५ करोड नागरिकलाई खोप लगाइसक्ने उसको योजना छ । छिमेकी मुलुकका यी गतिविधि हाम्रा लागि केवल समाचार होइनन्, नेपालमा समेत यथाशीघ्र यस्तो अभियान थाल्न प्रेरित गर्नुपर्ने ऊर्जा पनि हुन् । तैपनि विश्वभर र छिमेकी मुलुकका यस्ता शुभ समाचार सुनिरहँदासमेत हाम्रोतर्फबाट भने खोप ल्याउनकै लागि पनि ठोस निर्णय गरिएको छैन, न त यसका निम्ति निजी क्षेत्रलाई नै आवश्यक प्रोत्साहन गरेको देखिन्छ ।

हाम्रा छिमेकीहरू भारत र चीनमा उत्पादन भएका खोप नेपालमा छिटो ल्याउन सकिने सुझाव विज्ञहरूको छ । अन्तर्राष्ट्रिय मान्यतालगायत धेरै हिसाबले भारतमा बनेका खोप ल्याउन र प्रयोग गर्न सहज हुने कतिपयको मत छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यसै साता नयाँदिल्लीमा हुने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय विशेष संयन्त्रको बैठकमा सहभागी हुँदै छन् । सरकारले उक्त बैठकका एजेन्डाबारे बताइसकेको छैन । कामचलाउ सरकारका मन्त्री भएकाले उक्त बैठकमा दुई मुलुकबीच दीर्घकालका लागि प्रभाव पार्ने के–कस्ता विषयमा छलफल हुन सक्छ, त्यसबारे हुनुपर्ने बहस आफ्नै ठाउँमा छ ।

तर, नेपालका लागि तत्काल आवश्यक परेको कोभिड खोप ल्याउनका लागि मन्त्री ज्ञवालीको उक्त भ्रमणलाई फलदायी बनाउन सकिन्छ, बनाउनु पनि पर्छ । त्यसैले अबका दिनमा त्यस दिशामा आवश्यक गृहकार्य गर्नुपर्छ र भ्रमण दलमा सम्बन्धित सरोकारवाला अधिकारीहरूलाई पनि सहभागी गरिनुपर्छ । तुलनात्मक हिसाबले निकै थोरै जनसंख्या भएको छिमेकी मुलुक नेपालका लागि परल मूल्यमै खोप उपलब्ध गराउन भारतलाई सम्भवतः कुनै कठिनाइ हुनेछैन, खालि त्यसका लागि नेपालले प्रभावकारी खोप–कूटनीति अपनाउन आवश्यक छ ।

सरकार ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनअन्तर्गतको कोभाक्स सुविधाबाट सहुलियत दरमा आउने भनिएको खोपमा मात्रै भर पर्नु हुँदैन । सहुलियतको खोपभन्दा पहिले नै विश्वबजारमा उपलब्ध हुने अवस्था हुँदाहुँदै सरकार त्यसै हात बाँधेर बस्न मिल्दैन । यसै पनि सहुलियतमा उपलब्ध हुने खोप कुल जनसंख्याको २० प्रतिशतका लागि मात्रै हो, त्यो पनि आइपुग्न कम्तीमा चैत–वैशाख लाग्ने देखिन्छ । र, सुरुमा करिब ३ प्रतिशत जनसंख्यालाई मात्र पुग्ने गरी आउनेछ । बाँकी १७ प्रतिशतका लागि सन् २०२१ को अन्त्यसम्म कुर्नुपर्ने हुन सक्छ । तसर्थ, यो खोपमा मात्रै भर पर्नु कुनै पनि हिसाबले बुद्धिमानी हुँदैन ।

कतिपय मुलुकले क्लिनिकल परीक्षण सम्पन्न हुनुअघि नै उत्पादक कम्पनीलाई बैना दिइसकेका थिए । अहिले त कति खोपले सफलतापूर्वक परीक्षण चरण सकाएर कैयौं मुलुकबाट प्रयोगको अनुमति पाइसकेका छन् । यो बेला पनि नेपाल आफूलाई चाहिने खोप माग गर्नका लागि अलमलिरहनुपर्ने कारण छैन । सरकारले प्रत्यक्ष रूपमा अक्सफोर्ड– अस्ट्राजेनिकाको खोप कोभिसिल्डको नाममा बनाएको सिरम इन्स्टिच्युट अफ इन्डियासँग नै गम्भीर कुराकानी अघि बढाउन पनि सक्छ । यो खोप नेपालको राष्ट्रिय खोप कार्यक्रमको कोल्ड चेनअनुकूल पनि छ । अहिलेसम्म पाँच करोड डोज खोप उत्पादन गरिसकेको सिरमले आगामी मार्चदेखि हरेक महिना १० करोड डोज उत्पादन गर्ने जनाइएको छ ।

निजी क्षेत्रले समेत मुलुकमा खोप ल्याउन चासो देखाए पनि सरकारले यसबारे कुनै निर्णय गरिसकेको छैन । निजी क्षेत्रले खोप ल्याउँदा सरकारी अभियानलाई नै टेवा पुग्ने भएकाले यस्तो ढोका खुला गर्न आनाकानी गर्नुपर्ने कारण देखिँदैन । खालि, अवाञ्छित नाफा असुल्न नपाऊन् भनेर सरकारले मूल्यमा सीमा तोक्नुपर्ने हुन सक्छ । जसरी हुन्छ, विश्वका सबै देशलाई एउटै खोप चाहिएको यो बेला नेपालले यसको ‘अर्डर’ गर्न अनावश्यक ढिलाइ गर्नु हुँदैन ।

भविष्यमा अझ सहज विकल्प उपलब्ध भए, त्यसैअनुसार निर्णय गर्न सकिन्छ, तर अहिले उपलब्ध विकल्पहरूका बीचबाट नेपाललाई सुहाउने उत्कृष्टको छनोट बेलैमा गर्नुपर्छ । समयमै खोप लगाउन सके मात्रै भविष्यमा आउने सक्ने कोरोनाको थप लहरसित जुध्न मुस्किल नपर्न सक्छ । तसर्थ, सरकारले सक्दो चाँडो मुलुकमा खोप भित्र्याएर अभियान सञ्चालन गर्नुपर्छ । र, त्यसका लागि भण्डारण क्षमता बढाउने र जनशक्तिलाई आवश्यक तालिम दिनेलगायतका पूर्वतयारी बेलैमा सम्पन्न गर्नुपर्छ ।

प्रकाशित : पुस २७, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

दम्पती मृत फेला : पतिको भन्दा १० घण्टापछि पत्‍नीको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्रिनभिला हाउजिङमा मृत अवस्थामा फेला परेका एक दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । उमेश केसी र उनी पत्नी सुदीक्षा गिरीको शव शुक्रबार राति अपार्टमेन्टमा भेटिएको थियो ।

उमेशको शव ओछ्यान र सुदीक्षाको घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शुक्रबार राति नै दुवै शव त्रिवि शिक्षण अस्पताल पुर्‍याएर प्रहरी अनुसन्धानमा जुटेको छ ।

घटनाको मुचुल्का तयार पार्न खटिएका एक प्रहरीका अनुसार उमेशको शव अर्धनग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो । उनको देब्रेतर्फको टाउकोमा चोटपटक लागेको थियो । नजिकै मसला पिस्ने सिलौटो रगतले लतपतिएको अवस्थामा भेटिएको छ । सुदीक्षाको शव सलले पासो लगाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो । त्रिवि शिक्षण अस्पतालमा दुवै शवको आइतबार पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको विस्तृत रिपोर्ट आउन अझै एक साता लाग्ने जानकारी चिकित्सकले प्रहरीलाई दिएका छन् ।

चिकित्सकले पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उमेशको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’बाट भएको उल्लेख गरेका छन् । उमेशको मृत्यु भएको करिब १०/१२ घण्टापछि सुदीक्षाको मृत्यु भएको जानकारी चिकित्सकले प्रहरीलाई गराएका छन् । घटनास्थलबाट बरामद गरिएका उमेश र सुदीक्षाका मोबाइल फोन लक गरिएकाले प्रहरीले खोल्न सकेको थिएन । दुवै मोबाइल लक खोलेर प्रमाण जुटाउन विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले हत्यापछि सुदीक्षाले आत्महत्या गरेको प्रारम्भिक अनुमान भए पनि मोबाइलबाट प्राप्त हुने तथ्य र पोस्टमार्टम रिपोर्टपछि मात्रै सबै कुरा खुल्ने बताए । घटनास्थलमा मृतक सुदीक्षाकी दिदी शर्मिला भान्सातर्फको ढोकाबाट प्रवेश गरेको भनिएको विषयमा प्रहरी बढी केन्द्रित भएर अनुसन्धानमा जुटेको छ ।

शर्मिलाले आफू बिहीबार बिहान ११ बजेतिर बहिनीको कोठामा पुग्दा ढोका लगाएको र भान्सातर्फको ढोका ठेलेर भित्र पस्दा दुवैलाई मृत अवस्थामा फेला पारेको अनि आत्तिएर आफू बाहिर निस्किएको बयान दिएकी छन् । तर उनले किन त्यो घटना देखेर पनि करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरिन् भन्ने पनि शंकाको घेरामा छ । आफू आत्तिएर घटनाबारे जानकारी गराउन नसकेको जिकिर उनको छ । तर प्रहरीले यसलाई सहज रूपमा लिएको छैन । उनलाई कागज गराएर बोलाएका बेला उपस्थित हुने सर्तमा छोडिएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यस घटनाका पछाडि चारवटा कारण हुन सक्ने बताउँछन् । ‘घरायसी विवाद, कुराकानीका क्रममा निम्तिने आवेग, सुदीक्षा अमेरिका जान नपाएको र त्यसले निम्त्याउने कटुता, विवाह भएर पनि सन्तान हुन नसकेको र अन्तिममा तेस्रो पक्षको प्रवेश र यसमा उमेश–सुदीक्षालाई सिध्याएर अर्को पक्षले लिएको हुन सक्ने आर्थिक लाभ, यी कारणले घटना घटेको हुन सक्छ,’ उनले कान्तिपुरसँग भने, ‘अनुसन्धानका सबै दायरालाई खुला राखेर तथ्य र प्रमाणमा प्रहरी केन्द्रित हुनुपर्छ ।’

अध्ययनका क्रममा २०७२ वैशाखमा अमेरिका पुगेका उमेश गएको कात्तिक ७ गते नेपाल आएका थिए । उनी माघ १ मा अमेरिका जाने तयारीमा थिए ।

सम्बन्धित समाचार

‘पारिवारिक बेमेल’ पछि हत्याको आशंका

प्रकाशित : पुस २७, २०७७ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×