चेतनामा प्रतिगमन

अहिले प्रतिगमनकारी संसद् विघटनको घटनासँगै हिजो नयाँ व्यवस्थाका निम्ति लडेका व्यक्तिहरूका चेतनामा प्रतिगमनका छरपस्ट उदाहरणहरू दिगमिग लाग्ने स्तरमा छताछुल्ल भइरहेका छन् ।
आहुति

संसद्को विघटनसँगै हठात्झैं देखा परेको राजनीतिक प्रतिगमनले नेपाल र नेपाली समाजलाई एउटा अनिश्चयको डरलाग्दो सुरुङमा प्रवेश गराएको छ । साम्राज्यवादी शक्तिकेन्द्रहरूको चलखेलसहित प्रकट भएको हुनाले यो प्रतिगमनको गन्तव्य तत्काल किटान गर्न सकिने अवस्था पनि छैन । 

चेतनामा प्रतिगमन

देशका क्रान्तिकारी शक्तिहरू, प्रगतिशील बौद्धिक जमात र सचेत नागरिक तप्काले योजनाबद्ध रूपमा प्रतिरोधलाई संगठित नगर्ने हो भने निश्चय पनि यो प्रतिगमन अरू केही दर्जन वर्ष नेपाली समाजलाई पछाडि धकेल्ने स्तरमा विकास हुन सक्ने सम्भावना टड्कारो छ । त्यसैले यो निकै गम्भीर विषय हो । व्यक्ति र प्रवृत्तिका रूपमा प्रधानमन्त्री ओली, सतहको परिवेशका रूपमा नेकपा (नेकपा) भित्रको गुट संघर्ष निमित्त कारणका रूपमा देखा परे पनि आजको संकटको वस्तुगत कारणचाहिँ दलाल संसदीय पुँजीवादी व्यवस्थाको असफलतामै रहेको यथार्थ ठम्याउन धेरै कठिन छैन ।

तर के कुरा पनि गम्भीर ध्यानयोग्य हुन्छ भने, वस्तुगत कारण जतिसुकै बलशाली भए पनि यस प्रकारको राजनीतिक प्रतिगमन जन्मिनका निम्ति आम समाजको, त्यसमा पनि समाजको सबैभन्दा अगाडि बढेको मानिएको हिस्साको चेतनाको माहोल कस्तो छ भन्ने विषयले महत्त्वपूर्ण सहायक भूमिका खेल्छ । कुनै पनि समाजमा सामान्यतया समाजको सबैभन्दा अगाडि मानिएको ठूलो हिस्साको चेतनामा प्रतिगमनबिना राजनीतिक प्रतिगमन सम्भव नै हुन्न । त्यसैले आजको प्रतिगमनको सही प्रतिरोध र वास्तविक समाधानको दिशामा अगाडि बढ्न नेपाली समाजमा कुन र कस्तो प्रकारको चेतनामा प्रतिगमनको जग तयार हुन पुग्यो जसमाथि आजको राजनीतिक प्रतिगमन खडा हुन सम्भव भयो भन्ने आयाममाथि गम्भीर विमर्श जरुरी भएको छ ।

चेतनामा प्रतिगमन र राजनीतिक प्रतिगमनबीचको साइनो बुझ्नका निम्ति तत्कालीन राजा ज्ञानेन्द्रले चालेको प्रतिगमनकारी हस्तक्षेपको माहोललाई विश्लेषण गर्दा पनि प्रस्ट हुन्छ । २०४६ को परिवर्तनपछि स्थापित संसदीय व्यवस्थाले जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने वस्तुगत परिस्थिति प्रकट भयो तर संसदीय व्यवस्थाका पक्षधर पार्टीहरू, त्यसका कार्यकर्ता र बुद्धिजीवीहरूचाहिँ त्यही व्यवस्था सर्वोत्तम भएको नारा लगाउँदै त्यसबाट निजी स्वार्थपूर्तिको हन्तकाली दोहनमा लिप्त हुन पुगे । सामाजिक असन्तुष्टि र विद्रोहको माओवादी आन्दोलन लगातार विकसित हुँदै जाँदा पनि उनीहरू त्यही सुरविहीन राग अलापिरहेका थिए ।

संसद्वादी पार्टीका नेता–कार्यकर्ता र बुद्धिजीवीको जमात त्यही थियो जसले पञ्चायतका विरुद्ध लड्न आम जनतामाझ प्रगतिशील सपना सञ्चार गरेको थियो । तर, पञ्चायतको अन्त्यपछि सत्ता, शक्ति र आर्थिक लाभ भागबन्डाका निम्ति पार्टी फोराफोर, सांसद किनबेच, भ्रष्टाचार र कमिसनखोरीजस्ता विषयको नेतृत्व त्यही जमातले छ्याल्लब्याल्ल देखिने गरी गर्न थाल्यो । पञ्चायतका विरुद्ध तीस वर्ष लड्ने समाजको सबैभन्दा अगाडि रहेको हिस्सामा भएको त्यो चेतनामा प्रतिगमन थियो । त्यो चेतनामा प्रतिगमन कुन स्तरमा थियो भन्ने स्मरण गर्नका निम्ति व्यवस्थालाई नै अपदस्थ गर्ने राजाको प्रधानमन्त्री बन्न मरिहत्ते गर्ने, प्रतिगमन आधा सच्चिएको विश्लेषण गर्ने र प्रधानमन्त्री बन्न निवेदन हाल्ने हदसम्म नेपाली कांग्रेस र एमाले पुगेको घटना काफी छ । एकातिर पञ्चायतका विरुद्ध संघर्षमा निर्माण गरिएका आदर्श र मूल्यहरूको विघटनले आम जनतामा वितृष्णा, अर्कातिर सत्ता, शक्ति र आर्थिक लाभका निम्ति जे पनि गर्ने गरी भएको चेतनामा प्रतिगमनको माहोलमै ज्ञानेन्द्रको प्रतिगामी हस्तक्षेप सम्भव भएको थियो ।

त्यति बेलाको चेतनामा भएको प्रतिगमनको माहोललाई बुझ्न संसदीय पार्टीहरूको जमातको हविगत मात्र होइन, समुदायगत अगुवाहरूका हर्कतहरू सम्झिँदा पनि छ्याङ्ग हुन्छ । गोरेबहादुर खपाङ्गी, बद्रीप्रसाद मण्डल हुँदै गोल्चे सार्कीसम्म प्रतिगमनको मतियार बन्ने स्थिति चेतनामा प्रतिगमनका ठोस दसीहरू हुन् । किनभने उनीहरू पार्टी राजनीतिमा मात्र होइन, बरु पञ्चायत अनि बहुदलकालमा समेत आआफ्ना समुदायका योद्धा थिए । चेतनामा प्रतिगमनको त्यही माहोलका कारण त प्रतिगमनविरोधी त्यति बेलाका संसदीय पार्टीहरूको आन्दोलन काठमाडौंको रत्नपार्कको तत्कालीन रातोघरको वरपर मात्रै कैयौं महिना मरन्च्याँसे आकारमा टाक्सिएको थियो ।

त्यति बेला त्यो आन्दोलन टाक्सिनुको मुख्य कारण थियो—संसदीय पार्टीहरूकै व्यापक कार्यकर्ता, समर्थक र आम जनतामा पार्टीहरूप्रति विश्वास गुमेको अवस्था । त्यो अवस्थाको निर्माणको चुरोचाहिँ चेतनामा नाङ्गै देखिएको प्रतिगमन थियो । जब नयाँ व्यवस्थाको सपना र विद्रोहसहित अगाडि आएको तत्कालीन नेकपा (माओवादी) सँग बाह्रबुँदे समझदारी भयो, त्यसपछि नै संसदीय पार्टीका व्यापक कार्यकर्ता, समर्थक र आम जनताले प्रतिगमन सच्याएर पुरानै चेतनाको प्रतिगमन भएको अवस्था दोहोर्‍याउन नभई नयाँ व्यवस्थामा जाने सपना देख्ने परिस्थिति बनेको हो । गणतन्त्रसहितको नयाँ प्रगतिशील व्यवस्थाको सपना समाजले देख्दैनथ्यो भने २०६२/६३ को जनआन्दोलन असम्भव थियो । आज फेरि त्यति बेलाको चेतनामा भएको प्रतिगमनको माहोलजस्तै नयाँ सन्दर्भमा नयाँ ढंगले चेतनामा प्रतिगमनको दुश्चक्र दोहोरिएको छ जसमाथि राजनीतिक प्रतिगमन उभिन सम्भव हुन पुगेको छ ।

अहिले प्रतिगमनकारी संसद् विघटनको घटनासँगै हिजो नयाँ व्यवस्थाका निम्ति लडेका व्यक्तिहरूका चेतनामा प्रतिगमनका छरपस्ट उदाहरणहरू दिगमिग लाग्ने स्तरमा छताछुल्ल भइरहेका छन् । नेकपा (नेकपा) को प्रचण्ड–माधव पक्षका गतिविधि पनि प्रतिगमनका निम्ति एक स्तरमा जिम्मेवार छन् र उनीहरूले यसको समाधानका निम्ति अघि सारेको संसद् पुनःस्थापनाको विकल्प वास्तविक समाधान पनि होइन, यो एउटा पक्ष हो । तर ओली प्रवृत्तिलाई साथ दिन हिजो त्यस खेमासँग गोरु बेचेको साइनोसमेत नराखेकाहरू जसरी हामफालेका छन्, त्यो भने जति बुट्टा भरेर तर्क गरिए पनि चेतनामा भएको प्रतिगमनसिवाय केही होइन ।

सांसद नै नचुनिएकाहरू रातारात मन्त्री बन्न जाने, जनयुद्धका चुनिएका कमान्डरहरू ओली पक्षमा हामफाल्ने अवस्था भनेको चेतनामा भएको प्रतिगमनको टीठलाग्दा ठोस दृश्यहरू हुन् । प्रचण्ड–माधव पक्ष जति खराब भए पनि त्योभन्दा आजको खराब ओली प्रवृत्तिले लादेको प्रतिगमन नै हो । तर एउटा खराबबाट उम्किएर सबैभन्दा खराबको पक्षमा लाग्नु ठीक हो भनी गर्न थालिएका तर्कहरू हास्यास्पद र निर्घिनी स्तरभन्दा माथि रहन सम्भव छैन । आजको प्रतिगमन सही छ भनी तर्क गर्नेहरू अनि त्यसबाट व्यक्तिगत स्वार्थसिद्धिमा रमाउनेहरू ज्ञानेन्द्र शाह, तुलसी गिरी, गोल्चे सार्की प्रवृत्तिका नयाँ संस्करणबाहेक अरू साबित हुनेछैनन् । मात्रामा तल–बितल अनि त्यस्तो साबित हुन कति समय लाग्ला भन्ने विषय मात्र प्रतीक्षाको हो, किनभने अगाडि नबढी प्रगति असम्भव भएको नेपाली समाज पछाडि फर्केर समस्या समाधान हुने त कुनै गल्छेंडो नै बाँकी छैन ।

२०६२/६३ को जनआन्दोलनपछि चेतनामा प्रतिगमनको यो भयावह अवस्था कसरी जन्मिन पुग्यो र मुख्य जिम्मेवार को हो ? यो विषय अब विमर्शको पहिलो सूचीमा रहनु आवश्यक छ । एमाले पार्टीलाई अझै सही ठान्ने र यसले नै केही गर्छ भनी आशारत कार्यकर्ता र समर्थकहरूको सुधो पङ्क्तिको कुरा बेग्लै हो तर त्यो पार्टीको नेतृत्व पङ्क्तिको चेतनामा प्रतिगमन त ज्ञानेन्द्र शाहको प्रतिगमनसम्म पुग्दा छर्लंगै पुष्टि भइसकेको थियो । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउने नीतिको अर्तजलले मात्र एमाले पुनर्जीवित हुन सम्भव भएको हो ।

गणतन्त्र ल्याउनु बयलगाडामा चढेर अमेरिका जानुजस्तै हो भन्ने त्यति बेलाको ओली प्रवृत्तिको ठट्टा यस कुराको अकाट्य प्रमाण हो । माधव नेपाल प्रवृत्तिले आज आफू नैतिकतावान् भएको, पद्धतिका पक्षमा भएको जुन नारा भट्याइरहेको छ, यो पनि सतही तर्कभन्दा बढी देखा पर्दैन । त्यस प्रवृत्तिले सहिदकी पत्नी ताक्ने लगायतका वर्ग दुस्मनकै स्तरमा संगीन आरोपहरू सार्वजनिक रूपमा समेत ओली पक्षलाई लगाउने तर ओली प्रवृत्तिसँगै बसेर शासित हुने कुरा कसरी क्रान्तिकारी नैतिकताभित्र पर्छ र ? क्रान्तिकारी नैतिकता भनेको आधारभूत रूपमा गलत प्रवृत्तिसँग सम्बन्धविच्छेदमा प्रकट हुन्छ । आधारभूत रूपमै गलत प्रवृत्तिसँग सुलह–सम्झौता गरिन्छ भने त्यो त क्रान्तिकारी नैतिकताको रक्षा होइन, बरु नैतिक रूपमा भ्रष्टाचार पो हुन पुग्छ ।

त्यसैले नेपाल प्रवृत्तिले गर्ने गरेका तर्कहरू पनि आफ्नो चेतनामा भएको प्रतिगमनलाई छोपछाप गर्ने उपायहरू मात्रै हुन् । आजको चेतनामा प्रतिगमनको मुख्य पक्ष तत्कालीन एमालेसँग सम्बन्धित विषय होइन, किनभने त्यो त पहिले नै अग्रगामी अग्रसरताबाट किनारा लागिसकेको पक्ष हो । वास्तवमा आजको चेतनामा प्रतिगमनको मुख्य पक्षको सूत्रधार भनेको माओवादी आन्दोलनको प्रचण्ड नेतृत्वको डफ्फा हो । किनभने, शान्ति प्रक्रियासँगै त्यस पार्टीको मात्र होइन, परिवर्तन चाहने समाजको हरेक समुदायको अग्रगामी चेतना त्यस पार्टीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिशानिर्देशित हुन पुगेको थियो ।

सैद्धान्तिक र कार्यदिशाका कोणबाट दिशाहीन हुन पुगेको प्रचण्ड नेतृत्वको माओवादी डफ्फासँग आफू ठूलो संख्यामा रहेको पहिलो संविधानसभालाई फलदायी बनाउने रणनीति र कौशलसम्म थिएन । दोस्रो संविधानसभासम्म पुग्दा नेतृत्व डफ्फा वर्गीय र सांस्कृतिक रूपमा विवर्गीय तथा स्खलित भैसकेको थियो । पूर्वलडाकु, घाइते र सहिद परिवारसम्मलाई पनि संरक्षण दिन तथा तिनलाई निरन्तर उत्साहित गर्न असफल भइसकेको थियो । त्यो असफलता साधनस्रोतको अभावले होइन, बरु नेतृत्वको विवर्गीयकरण र सांस्कृतिक स्खलनले जन्मिन पुगेको थियो । नेतृत्व डफ्फामा देखा परेको त्यस बीभत्स पुँजीवादी उपभोक्तावादी प्रवृत्तिले गर्दा अलपत्र परेका लडाकुहरूको चेतनामा प्रतिगमन सुरु भयो । नेतृत्व डफ्फाले त राज्यको दोहन वा कमिसनखोरी गरेर जीवन चलाउने भयो तर हजारौं लडाकु र कार्यकर्ताले कसरी बाँच्ने जोहो गरून् ? तब नै सुरु भयो जहाँ जसरी हुन्छ पैसाका निम्ति मरुन्जेल गिर्ने सिलसिला, प्रगतिशील चेतनामा प्रतिगमन ।

यस सिलसिलाबाट जन्मिन सक्ने अकल्पनीय दुर्घटना वैदेशिक रोजगारीले थेगेर मात्रै केही सहज भएको हो, नत्र त्यसबाट जन्मिएको आक्रोश केवल प्रचण्डको गालामा भृकुटीमण्डपमा आएर थप्पडवर्षाले मात्र शिथिल हुँदैनथ्यो । यस क्रममा माओवादी आन्दोलनको दिशा गलत भैसकेको निष्कर्षमा पुग्नेहरू त्यसबाट अलग हुन सुरु गरे । जति नेता–कार्यकर्ता आर्थिक औकात उकास्ने यात्रामा सफल भए, उनीहरू एक वा अर्को नेताको आर्थिक झुन्डमा सम्मिलित हुन पुगे । जो आर्थिक रूपमा अक्षम ठहरिए, उनीहरू निष्क्रिय वा पलायन भए । कार्यकर्ताहरूको विशाल पङ्क्ति भने हिजो लडेको यही नेतृत्व भएकाले यसैले राम्रो गर्ला भन्ने आशामा विस्मित भएर टोलाइरह्यो । यसरी नेपाली क्रान्तिलाई अघि बढाउने सिद्धान्त र रणनीतिमा विकास गर्न नसकेर थला परेको माओवादी आन्दोलन चेतनामा प्रतिगमनको यस कालको सूत्रधारमा परिणत हुन पुग्यो ।

माओवादी आन्दोलन त्यस पार्टीसँग मात्र सम्बन्धित चेतना थिएन, बरु मजदुर, किसान, दलित, महिला, मधेसी, जनजाति, मुस्लिम लगायतका निम्ति उत्प्रेरणा थियो । त्यसैले त्यस पार्टीको नेतृत्व डफ्फामा भएको चेतनाको प्रतिगमन सबैतिर सर्दै गयो । पहिलो संविधानसभासम्म जाज्वल्यमान रहेका उत्पीडित समुदायहरूबाट विकसित नेतृत्वपंक्तिले संविधान बन्ने अवस्थासम्म पुग्दा माओवादी नेतृत्व डफ्फा मुर्झाएसँगै धिपिक्कै ज्योति गुमाउन पुग्यो । आफ्नै विरुद्धमा संविधान पास हुन थाल्दासमेत उत्पीडितहरू चुपचाप सहेर बस्ने स्थिति बन्न पुग्यो । मधेसले केही समय अखडा कायम राखे पनि सत्ताको मोहमा अन्ततः त्यो पनि डुब्यो । यस्तो परिदृश्यसँगै संविधान बनेपछि हिजोका दलित, महिला, जनजाति, मुस्लिम लगायतका उत्पीडित समुदायका नेतृत्वको ठूलो हिस्सा आफ्नै मलामी जान कस्सिएझैं सत्तासीन हुन लामबद्ध भयो ।

पहिचानसहितको संघीयताको त कुरै छाडौं, प्रदेशको नाम राख्नसम्म बोल्न नसक्ने हालतमा जनजाति नेताहरू पुगे । मधेसी आन्दोलन सरकारको मन्त्रीसँग साटियो । दलित आन्दोलन त तीन वर्षसम्म संवैधानिक आयोगसम्म गठन नगर्दा पनि चुपचाप बस्ने हालतमा गिर्न पुग्यो । महिला आन्दोलन बीभत्स बलात्कारका घटनाहरूमा समेत सडकमा आउन नसक्ने गरी थला पर्‍यो । मुस्लिम आन्दोलन बढीमा हज कमिटीमा रकम बाँडफाँटभन्दा माथि उठेन । यो सबै के भएको हो ? यो उत्पीडित समुदायहरूका नेतृत्वको ठूलो हिस्सामा भएको चेतनामा प्रतिगमन नै थियो । पचास वर्षसम्म सबै बलिदानमय परीक्षामा भाग लिएर उत्तीर्ण हुँदै आएको समाजको पीँधबाट उठेको दलित नेता नेकपा (नेकपा) बाट प्राप्त हुने चुत्थो सुविधाकै कारण सामान्य आरक्षणको सुविधा खोसिँदा वा रुकुम हत्याकाण्ड हुँदा विरोधमा उत्रिन नसक्ने मनोविज्ञानको निर्माण भनेको चेतनामै प्रतिगमन हो, अरू केही होइन ।

आज ओली प्रवृत्तिको वकालतमा कम्मर कसेर गम्भीर विषयलाई चुट्किला बनाउँदा पनि ताली ठटाएर उन्मादी बनेको भीड होस् या प्रचण्ड–माधव पक्षमा सत्यका लागि मुट्ठी उचालिरहेको ठान्ने जमात, तिनले न्यूनतम आलोचनात्मक चेतमा समेत आफूलाई उठाउने कष्टतिर लैजाँदैनन् भने, तिनको गतिविधि चेतनामा प्रतिगमनको शृङ्खलाको औजारबाहेक केही बन्न सम्भव छैन ।

त्यसै गरी नागरिक समाजका रूपमा कतिपय तत्त्वले प्रतिगमनको विरोधका नाममा प्रचण्ड समूहका निम्ति साखुल्ले पल्टेर भविष्यमा दुनु भर्ने सपना देखेका छन् भने त्यो पनि चेतनामा प्रतिगमनकै एउटा भद्दा रूप ठहरिनेछ । तसर्थ, जरुरी छ— आजको प्रतिगमनलाई परास्त गर्न अग्रगामी नयाँ परिवर्तनको सपना देख्नु । दलाल पुँजीवादी संसदीय व्यवस्थाकै विकल्पमा नयाँ व्यवस्था निर्माणमा जुट्नु । त्यो सपनाको सारथि डफ्फा चेतनामै प्रतिगमन भइसकेको जमातबाट जन्मिन असम्भव छ ।

प्रकाशित : पुस २६, २०७७ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?