ओलीगमनविरुद्ध सडकको पदचाप



ओलीगमन भनेको प्रतिगमनको पर्यायवाची शब्द हो, तथापि यसका केही विशिष्ट लक्षण पनि छन् । त्यसैले यहाँ ओलीगमन शब्दको व्युत्पत्ति भएको हो । नेपाली इतिहासमा लोकतन्त्र पटकपटक प्रतिगमनको चपेटामा पर्ने गरेको छ ।

यसअघि प्रतिगमनका घटनामा दरबार जिम्मेवार हुने गर्थ्यो, यसपटक भने निर्वाचित प्रधानमन्त्री नै दरबारिया रवाफ प्रदर्शन गर्दै दोबाटामा खडा हुन आइपुगे । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको यात्रामा ओलीगमन इतिहासको एक दूषित मोड हुन पुगेको छ ।
आफ्नै ‘आदेश’ ले आफैंलाई कामचलाउ तुल्याएका प्रधानमन्त्री ओलीलाई यसरी नै कामचलाउ बनाउने रहर जनतालाई थिएन । संविधानलाई पनि त्यस्तो रहर थिएन । प्रधानमन्त्रीको एक सनकमा विघटन नभैजाओस् भनेर संविधानमा बाध्यकारी प्रावधान पनि लेखिएको थियो । सरकार निर्माण हुने कुनै न कुनै विकल्प छइन्जेल संसद् विघटनको सिफारिसै गर्न नमिल्ने विधि त्यहाँ बाँधियो । इतिहासको गर्तमा भासिएका जंगबहादुरको मन्त्र पुनः जगाउँदै ओलीले हठात् एक ‘आदेश’ को आ.वा. पठाए र राष्ट्रपतिले हतारहतार त्यसमा लाहाछाप ठोकिदिइन् । संसद् विघटित भएको ठानियो । यो ठानेको हो कि मानेको ? ठान्दिए हुने कि मान्दिए हुने ? कसले ठान्यो र कसले मान्यो ? प्रश्नहरूले सडकको बाटो रोजे ।
त्यसैले ‘बृहत् नागरिक आन्दोलन’ प्रश्नहरू बोकेर सडकमा पुग्यो । सडकमा थप प्रश्न पनि उब्जिए । संविधान र विधिको शासन हुने कि जंगबहादुर–मार्का आदेशको ? के संसद् पुनःस्थापनालाई नै प्रतिगमन सच्चिएको मान्न सकिन्छ ? संसद् विघटन प्रतिगमनको पहिलो पाइलो हो कि प्रतिगामी खेलको निर्णायक झड्का ? प्रतिगमनविरुद्ध आन्दोलनमा उत्रने पाइलाहरूले अग्रगमनको कुन मार्ग पहिल्याउन खोजिरहेका छन् ? यी सबै प्रश्न पनि सडकमै पुगेका छन् ।
ओलीगमनको एक दशक
करिब एक शताब्दीभरि पटकपटक चलेका अनेकन् संघर्ष, विद्रोह र जनआन्दोलनहरू अन्ततः २०६३ मा राज्य पुनःसंरचना गर्नुपर्ने निष्कर्षमा पुगेका थिए । अढाई सय वर्षअघि हनुमानढोकामा स्थापना भएको गोर्खाली राज्यसत्ताको वैचारिकीले मुलुकलाई एक्काइसौं शताब्दीमा गति दिन नसक्ने निष्कर्ष थियो त्यो । त्यसैले राज्य पुनःसंरचनाको वैचारिक प्रवाहले राजतन्त्रलाई निषेध गरिदियो र गणतन्त्र स्थापना गर्यो । गणतन्त्रलाई संघीय, समावेशी, धर्मनिरपेक्ष तुल्याएर जातीय, क्षेत्रीय, लैंगिक आदि विभेद र असन्तुलनलाई खारेज गर्दै जाने मर्म र प्रतिज्ञा पूरा गर्न नै संविधानसभा गठन भएको थियो ।
त्यो संविधानसभा विघटन भएकै दिनदेखि प्रतिगमनको सूत्रपात भयो । त्यहाँदेखि यहाँसम्म एक दशक पूरा भएको छ र प्रत्येक दशकमा एउटा नयाँ राजनीतिक उथलपुथल हुने ऐतिहासिक दृष्टान्त फेरि एकपटक दोहोरिएको छ । धेरैलाई लागेको थियो, दुईतिहाइको सरकार बनेपछि राजनीतिक अस्थिरता हुँदैन र कथित् समृद्धिको काम मात्रै हुन्छ । दुईतिहाइकै प्रधानमन्त्रीले संविधानलाई नै हाकाहाकी मिचेर संसद् विघटन गर्नेछन् र जानाजान दुर्घटना निम्त्याउनेछन् भन्ने अनुमान कसैले किन गरोस् ? तर यो कामचलाउ प्रधानमन्त्री ओलीको सनकको मात्र परिणाम होइन, दुर्घटित विचारको अनिवार्य नियति हो । अतः जे हुनुपर्ने थियो, त्यही भयो ।
यद्यपि जे भयो, त्यो सुखद अवश्य पनि भएन । विभिन्न फरक मत तथा अस्वीकृतिहरू हुँदाहुँदै पनि संविधान र संसद् जनताका राजनीतिक सम्पत्ति हुन् । कुनै जंगी आदेशमा मुलुक चल्ने प्रणाली त राजतन्त्रसँगै जनताले चिहानमा छाडेर आएका थिए । त्यही कसरी बहुरिन्छ वा बहुरिएको किन मान्ने ? एउटा कठपुतली आदेशको भरमा जनताका राजनीतिक सम्पत्ति लुटिएको टुलुटुलु हेरेर किन बस्ने ? त्यसैले यसलाई ओलीगमन भन्नुपर्ने भयो र दशक लामो प्रतिगमनको शृंखलामा ओलीगमनको पाइला खोज्नुपर्ने भयो । सय वर्षका राजनीतिक क्रान्ति, जनआन्दोलन तथा विद्रोहको शिक्षा र अनुभव थेग्रिएर गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, संघीयताजस्ता ज्ञानहरू बनेका थिए ।
यी सबैभन्दा अगाडि बढेर ज्ञानको अझ नयाँ आविष्कार हुन सक्ने ठाउँ नभएको होइन, छ; तर जेजति ज्ञान बनेका थिए, तिनका आधारमा एउटा नयाँ राजनीतिक प्रणाली, सामाजिक/मनोवैज्ञानिक प्रवाह र अभ्यासमार्फत नयाँ फड्को हान्ने सम्भावना अवश्य थियो । न्यूनतम यसले गोर्खाली सत्ताले अढाई सय वर्षअघि बनाएको शक्ति संरचनाको ज्ञान प्रणालीलाई भत्काएर नयाँ बनाउने सम्भावना थियो । संविधानसभाको विघटनसँगै समाज हिँडिरहेको नयाँ चेतनाको प्रवाह पनि दुर्घटनामा पर्यो । त्यही दुर्घटनाको उपज हुन् ओली । सबै नयाँ ज्ञानको विघटन गर्ने ओलीगमनको चेतनाले जब ऊर्जा पायो, प्रतिगमनको जहाज पनि हुइँकियो । दुर्घटनाबाट जन्मेको ओली–प्रवृत्तिको अवसान दुर्घटनामै पुगेर हुने हो । त्यसका निम्ति ओली नै निमित्त पात्र भए । यो ओलीगमनको अवश्यम्भावी दुर्दशा हो ।
माइतीघरको मञ्च
विचारको तीर बडो सीधासीधा चल्छ, चाहे त्यो अग्रगामी होस् वा प्रतिगामी । विचार खुट्यायो भने तीर कहाँ पुगेर झर्छ भन्ने पनि थाहा हुन्छ । तीर चलेको दस वर्ष भयो र नियमानुसार नै त्यो दुर्घटनामा पुगेर समाप्त भयो । घटना के हुन्छ र रापताप, तेरोमेरो, झैझगडा के चल्छ भन्ने कुरा तपसिलमा हुन्छन् । अहिले कोही ओलीगमनको पक्षमा होलान् वा विपक्षमा, मुख्य कुरा यो होइन । दार्शनिक सारतत्त्वमा प्रतिगमनले दशक पूरा गर्यो र अब समयले एउटा नयाँ बाटो पक्रिन्छ । संसद् पुनःस्थापना नै भए पनि, दुर्घटनाको घाउ त बाँकी रहन्छ । संविधानमा लागेको चोट र खोट पनि बाँकी रहन्छ ।
त्यसैले माइतीघरको मञ्चमा नागरिक आन्दोलन विघटनको रोष मात्र होइन, ज्ञान पुनर्गठनको जोससमेत लिएर पुग्यो । उखु किसानको होस् वा निर्मला हत्याकाण्ड वा रुकुम हत्याकाण्ड, जनताको सबै परिताप ब्युँझिने मञ्च त्यही हो । ओलीगमनले क्षत–विक्षत तुल्याएको संविधान र लोकतान्त्रिक मूल्यको शिर उठाउन माङ्गेना गर्ने ठाउँ त्यही हो । जनताको दमित आकांक्षा एवम् विभेदविरुद्धको आवाज बुलन्द गर्ने मञ्च पनि त्यही हो । ओलीगमनको दस वर्ष लामो दुःखको उपचार खोज्ने आरोग्यशाला पनि त्यही हो ।
ओलीगमनको अर्थ संसद् विघटन मात्र होइन, विभेदहरूको उपचार खोज्ने सारा वैचारिकीविरुद्ध विषवमन गरेर अहंकार र तानाशाही जगाउने प्रपञ्च पनि हो । हाकाहाकी भ्रष्टाचार र जनताका सरोकारलाई चोर औंलो देखाउने अव्यवस्था र मनोमानी पनि हो । जनस्वास्थ्य संकट र आर्थिक हताहतीमा जनतालाई बितरा पारिराखेर राजनीतिक दुर्घटनामा मुलुकलाई होमिदिने निर्घिणी षड्यन्त्र पनि हो । त्यसैले माइतीघरको मञ्चमा संसद् विघटनको प्राविधिक कारण मात्र होइन, प्रतिगमनको समग्र वैचारिकी नै चिरफार हुनुपर्छ । विभेदको खारेजी र समतामूलक समाज निर्माण, अनि संविधानमा बाँकी रहेका जनताका असहमतिलाई समेत सम्बोधन गर्ने नयाँ पहलको सुरुआत पनि माइतीघरकै मञ्चबाट हुनुपर्छ । यो नै ओलीगमनको अन्त्य र वास्तविक राजनीतिक स्थिरताको सुरुआत हुनेछ ।
निर्णायक सवाल
अहिले एउटा विचित्रको स्थिति पैदा भएको छ । संविधान बनाएँ भनेर हुँकार गर्नेले नै संविधानलाई घाइते बनाएको छ । संविधानमा असहमति राख्नेहरू यही संविधानको आंशिक उपलब्धि जोगाउन सडकमा उभिएका छन् । को जिम्मेवार र को गैरजिम्मेवार रहेछ, छुट्याउने कसी इतिहासले जनजनका आँखाअघिल्तिर राखिदिएको विचित्र क्षण हो यो । यो विचित्रताकै बीचमा ओलीगमनको उत्थान र पतनको कथा पनि छ ।
ओलीगमनको उत्थान राष्ट्रवादको आवेगबाट भएको थियो । नेपाली राजनीतिमा सजिलै बिक्री हुने झाकाझुमरी राष्ट्रवाद खास गरी भारतविरोधी उत्तेजनाबाट पैदा हुने गरेको छ । का.च. प्रधानमन्त्री ओलीले त्यही झाकाझुमरी जिनिस सफलतापूर्वक बेचेका थिए । अहिले के भयो ? शक्तिका भोका ओलीको व्यक्तिगत आकांक्षालाई राष्ट्रवादी अडान ठान्नेहरूले अहिलेको दुर्दशा ध्यानले हेर्नु जरुरी छ । हेरेर मात्र पुग्दैन, यसको सारतत्त्व पनि बुझ्न जरुरी छ ।
नेकपाले नेपाललाई चीनतिर ढल्काइदियो भन्ने भाष्यमा जबर्जस्त विश्वास गर्ने भारतीय संस्थापनलाई नेकपा फुटाउन जरुरी थियो । राज्यको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्ने तानाशाही सपना बोक्ने ओलीको इगो उसका निम्ति मलिलो साबित भयो । यो मामिला नेकपाको मात्रै भैदिएको भए ठूलो कुरा हुने थिएन, तर मुलुकलाई नै अस्थिरता र जंगी शासनतिर लैजाने लिस्नो भएकाले यो सबैको चासो भएको छ ।
अझ महत्त्वपूर्ण पाठ त यो कथित राष्ट्रवादमा विश्वास राख्नेहरूका लागि हो । जसले राष्ट्रवाद र स्थिरताको भाष्य बेचेर दुईतिहाइको शक्ति हासिल गर्यो, उसैले स्थिरताको जनविश्वासमा मात्र घात गरेन, मुलुकलाई नै विदेशीको प्रत्यक्ष क्रीडास्थल पनि बनाइदियो । र, यसपटक भारतीय संस्थापनले सबै कुरा देखाएर गरिरहेको छ, पर्दापछाडिबाट होइन ।
राष्ट्रवादको नाराबाट ओलीगमनले पकड जमायो र मुलुकलाई नै दुर्घटनामा धकेलिदियो । त्यसैले निर्णायक सवाल यो छ– राष्ट्रवादको उत्तेजनाबाट तानाशाही जन्मिने गरेको इतिहासबाट हामीले सिक्ने कि नसिक्ने ? जनतालाई समतामूलक र न्यायपूर्ण समाजको मैदान उपलब्ध नगराईकन कुनै स्थिरता आउँदैन भन्ने सारभूत कुरा आत्मसात् गरेर अघि बढ्ने कि नबढ्ने ? ओलीगमनबाट मुलुकलाई जोगाउनु मात्र आजको कार्यभार होइन, प्रतिगमनको प्रत्येक पाइलालाई पराजित गर्दै नयाँ बाटो कोर्नु पनि हो ।
yugnew@gmail.com
प्रकाशित : पुस २३, २०७७ ०८:२५