कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मैमत्त राजनीति

चाहे सरकार पक्ष होस् वा प्रमुख प्रतिपक्ष र अन्य दलका नेतृत्वहरू होऊन्, सबै कहीँ न कहीँ सत्ता र शक्तिको स्वार्थले झ्यापी र फुत्ती गरिरहेका हुन्छन् । स्वार्थका लागि स्वदेशी–विदेशीसँग जस्तासुकै घातक सम्झौता र सहमति गर्ने प्रवृत्ति नेपाली राजनीतिमा नौलो रहेन ।

हाम्रो देशका सबैजसो क्षेत्रमा अहिले मैमत्तपन हावी भएको छ । राजनीतिमा अझ बढी । मैमत्त शब्दले सकारात्मकभन्दा बढी नकारात्मक अर्थ दिन्छ । मदोन्मत्त, अभिमानले पूर्ण, अहंकारी । मैमत्त हुँदा कसैलाई क्षणिक फाइदा त होला, सन्तुष्टि पनि मिल्ला तर अन्त्यमा यसको नतिजा सकारात्मक आउँदैन ।

मैमत्त राजनीति

प्रसंगलाई पदीय जिम्मेवारी तथा अधिकारप्राप्त अधिकारीसँग जोड्दा, आफ्नो हातमा आएको अधिकारको सदुपयोग गर्न नसक्दा स्वयं व्यक्तिका लागि पर्ने असर त छँदै छ, अन्य वर्गमा पर्ने असर, समाजले लिने शिक्षा र यसको प्रभावको मूल्य गणना गर्न कठिन हुन्छ । मैमत्तापनकै कारण जिम्मेवार तहका कतिपय व्यक्तिहरू भ्रष्टाचार, महिला हिंसा, कसुरजन्य क्रियाकलाप तथा अपराधमा समेत मुछिएका उदाहरण छन् । अरू त अरू, आफूलाई राजनीतिज्ञ हुँ भन्नेहरूमा देखिएको मैमत्तपनले देशलाई कता डोर्‍याइरहेको छ, सचेत वर्गबाट छिपेको छैन ।

लामो समय देश र जनताका लागि राजनीति गरेको भन्नेहरू पदलोलुपता, भ्रष्टाचार र अपराधमा लिप्त हुँदा देश गतिहीन अवस्थामै छ । देशमा लामो समयदेखि राजनीतिक अस्थिरता रहिरहेको छ । सरकार बदलिरहने खेल चलिरहेको छ । एउटा सरकारले सुरु गरेको काम अर्को सरकारको प्राथमिकतामा नपर्ने कारण कुनै पनि विकास आयोजना तोकिएको समयमा पूरा हुन सकेको छैन । कति आयोजना सुरु नहुँदै अन्त्य भएका छन् भने मेलम्ची खानेपानी र बूढीगण्डकी जलविद्युत् आयोजना कहिले सकिने हुन्, अनिश्चितप्रायः छ ।

भनिन्छ, ‘बाटो देखाउनेहरूले बाटो बिराउनु हुन्न, अभ्यास गराउनेहरूले गल्ती सिकाउनु हुन्न ।’ नेतृत्व पनि अनुसरण गर्नयोग्य हुनुपर्छ, सही बाटो देखाउन सक्नुपर्छ, रोल मोडल हुन सक्नुपर्छ, व्यक्तिगत स्वार्थबाट माथि उठ्नुपर्छ, आफ्ना अनुयायीहरूको भावनाको कदर गर्नुपर्छ । विडम्बना, नेकपाको नेतृत्वमा रहेकाहरूबीच सिँगौरी चलेकाले यति बेला संसद् विघटन गरिएको छ ।

स्वार्थ मिल्दा विचार र सिद्धान्त मिल्नु नपर्ने, स्वार्थ नमिल्दा विचार र सिद्धान्तलाई तिलाञ्जली दिने ? स्वार्थ मिल्दा जस्तासुकै निर्णयमा सहमति जनाउने, स्वार्थ नमिल्दा राम्रो काम गर्दा पनि खेदो खनिरहने ? विधि र पद्धतिमा चल्नुपर्ने नेतृत्वको मनोमानी कार्यशैलीका कारण नेपालको राजनीति यो अवस्थामा पुगेको हो । चाहे सरकार पक्ष होस् वा प्रमुख प्रतिपक्ष र अन्य दलका नेतृत्वहरू होऊन्, सबै कहीँ न कहीँ सत्ता र शक्तिको स्वार्थले झ्यापी र फुत्ती गरिरहेका हुन्छन् । स्वार्थका लागि स्वदेशी–विदेशीसँग जस्तासुकै घातक सम्झौता र सहमति गर्ने प्रवृत्ति नेपाली राजनीतिमा नौलो रहेन । चाहे खोलानाला बुझाउने सम्झौता होस् वा विदेशीको हस्तक्षेप निम्त्याउने विषय, चाहे दलहरूबीच एकीकरण होस् वा अरू केही, यस्ता अनगिन्ती क्रियाकलाप नेपाली राजनीतिको विशेषता बन्न पुगेको आभास हुन्छ ।

नेपाली राजनीति अहिले जहाँ पुगेको छ, यसको जस–अपजस पक्ष र प्रतिपक्ष सबैलाई बराबरी जान्छ । आफ्नै सरकारले गरेका राम्रा कामको अपनत्व ग्रहण गर्न नसक्ने, खुलेर प्रशंसा गर्न नसक्ने, सधैं विरोध र असहयोग गर्ने, गुट–उपगुटको जोड–घटाउमा लागिरहने प्रवृत्तिले सत्तारूढ दलका सरकारबाहिर रहेका नेता–कार्यकर्ताहरूलाई गाँजिरह्यो । त्यस्तै, प्रतिपक्षमा रहेकाहरूले पनि बाटो बिराइरहे । अर्कातिर, सरकारको नेतृत्वले बजाउने बेमौसमी बाजाले राजनीतिक माहोल तताइरह्यो । चुलिँदो भ्रष्टाचार, महिला हिंसा, दलित हत्या जस्ता पक्षहरूमा सरकारको गम्भीर ध्यानाकर्षण हुन सकेन । पक्ष–प्रतिपक्षबाहेक अन्य राजनीतिक झुन्डहरू पनि सत्ता र शक्तिका लागि समायोजन र विभाजनमा सक्रिय भइरहने गर्नाले जनतामा व्याप्त अन्योल कम हुन सकेको छैन ।

राजनीतिक दलहरूका नेतृत्वमा जरो गाडेको ‘हामीले जे गर्दा पनि हुन्छ, हामी सर्वशक्तिमान छौं’ भन्ने सोचकै कारण यस्तो दुरवस्था निम्तिएको हो । पटकपटक प्रधानमन्त्री भइसकेका, महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालिसकेकाहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्दैन ? राजनीतिकर्मीहरूको मैमत्तापनकै कारण छिमेकीहरूको ठाडो हस्तक्षेप सुरु भएको हो । हाम्रा राजनीतिकर्मीहरू विदेशी शक्तिहरूको गोटी नबनेका भए यस्तो बेथिति सायदै हुने थियो । घरभित्रको झगडामा छिमेकीलाई मध्यस्थ बनाउँदा घर कमजोर बन्न पुग्छ । तसर्थ घरभित्रको असमझदारीको दीर्घकालीन निकास घरभित्रै खोज्न सक्नुपर्छ ।

पार्टीगत झगडा, व्यक्तिगत स्वार्थ र टकरावका कारण संसद् विघटनका माध्यमले देशमा पुनः अस्थिरता निम्त्याइएको छ । इतिहासमा आफ्नो नाम कालो अक्षरले दर्ज हुने गरी यस्तो कदम चाल्नुअघि प्रधानमन्त्रीले व्यक्ति, गुट अनि दलगत स्वार्थबाट माथि उठेर देश र जनतालाई सम्झिएका भए झन् ठूलो संकट निम्तिने थिएन । सरकार प्रमुखको मैमत्तपनका कारण देशमा अहिले विषम परिस्थिति उत्पन्न भएको छ र यसलाई सल्टाउन सम्पूर्ण दलहरू लड्नुको विकल्प छैन ।

प्रकाशित : पुस २२, २०७७ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?