दार्जिलिङको सुनौलो काल

त्यसताक भनिन्थ्यो, ‘दार्जिलिङले आज जे सोच्छ, त्यो नेपाल, भोटाङ र सिक्किमले भोलि सोच्छ ।’ फेरि फर्केर आऊ न तिमी ! सबैको निवेदन र चाहना, आजको नियास्रो र फोस्रो दार्जिलिङमा !

सन् १८३५ देखि १९३९ सम्मको १०४ वर्षको अवधिलाई दार्जिलिङको निर्माणकाल मान्न सकिन्छ । एउटा सग्लो अन्तर्राष्ट्रिय र भौगोलिक पृष्ठभूमिभित्र रहेको दार्जिलिङको छोटो इतिहासमा अति नै चाखलाग्दो एवं घत पर्ने घटनाक्रम रेकर्ड गरिएको छ ।

दार्जिलिङको सुनौलो काल

सन् १९४० देखि १९७९ सम्मको चार दशकलाई हामी धेरैले सुनौलो काल मान्दै आएका छौं । राजनीतिक एवं ऐतिहासिक घटनाहरू भएसँगसँगै यस सुनौलो कालमा दार्जिलिङ एउटा विश्व ब्रान्ड नै भयो । चिया, सिन्कोना, पर्यटन, शिक्षा, स्वास्थ्य अनि साहित्य–संस्कृति क्षेत्रमा दार्जिलिङ एउटा अब्बल एवं उन्नत भूगोल भयो । र नै ‘पहाडकी रानी’ नामले परिचित हुन पुग्यो ।

निर्माणकालमा सबै क्षेत्रहरूमा गहकिलो जग बसालिएपछि दार्जिलिङमा सुनौलो काल आउनैपर्ने थियो । स्वतन्त्रता सेनानीहरू धेरै संख्यामा रहेको दार्जिलिङमा महात्मा गान्धी, पण्डित नेहरू, सरदार पटेल सबैले आँखा गाडेका थिए । एकापट्टि सिस्टर निवेदिता, चित्तरञ्जन दास र रवीन्द्रनाथ ठाकुरको दार्जिलिङप्रतिको अगाध प्रेम; अर्कापट्टि स्वतन्त्रता संग्रामी दलबहादुर गिरी, हेलेन दिदी, गागा छिरिङजस्ता पहाडवासीको राष्ट्रप्रेम । सानो–चिटिक्क–सुन्दर दार्जिलिङ भन्नासाथ सबैले त्यहाँ कहिले पुगूँ भन्ने सपना देख्न र कल्पना गर्न थाले ।

भारत स्वतन्त्र भएपछि राष्ट्रको संविधान, राज्यहरूका आकार, जाति–जनजातिहरूको कल्याण, अर्थव्यवस्था आदिका ढाँचा तयार पार्न बनाइएको विधानसभामा अखिल भारतीय गोर्खा लिग पार्टीका नेता डम्बरसिंह गुरुङ र अरिबहादुर गुरुङ सामेल भएका थिए । उनीहरूले भारतीय गोर्खाहरूका राजनीतिक एवं जातीय आकांक्षाबारे असल कुराहरू राखे ।

यसरी गोर्खा लिग पार्टी असमतिर पनि पुग्यो र निकै प्रभावशाली पनि भयो । दार्जिलिङमा राष्ट्रिय कंग्रेस पार्टी पनि प्रचलित भएर नै दार्जिलिङबाट लोकसभा सदस्य मायादेवी क्षेत्रीले पण्डित नेहरूसँग घनिष्ठ रहेर काम गरिन् । तिनताकको शक्तिशाली कंग्रेस पार्टीका मूल सचिवसम्म भए दार्जिलिङकै थियोडर मनेन । राष्ट्रिय पार्टीको यति माथिल्लो ओहदामा कोही पुगेनन् त्यसपछि ।

भारतीय संविधानमा नेपाली भाषालाई मान्यता दिलाउन देहरादूनबाट आनन्द थापाले सन् १९५६ मा आवाज उठाएपछि दार्जिलिङले नै अझ ठोस राजनीतिक रूप दिएर लगातार माग र आन्दोलन गर्‍यो । यही समयका उपज थिए भारतीय नेपाली राष्ट्रिय परिषद् र अखिल भारतीय नेपाली भाषा समिति, जसले पछि गएर भारतको संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई मान्यता दिलाए । सन् १९७९ मा भाषा समितिको प्रतिनिधिमण्डललाई तिनताकका प्रधानमन्त्री मोरारजी देसाईले ‘नेपाली विदेशी भाषा हो’ भनेपछि दार्जिलिङमा जनविरोधको आगो लाग्यो । मोरारजी देसाईले शान्तिप्रिय दार्जिलिङमा आउँदा भयानक बाधाको दृश्य देख्नुपर्‍यो ।

सन् १९६०–७० को दशकमा मार्क्सवादी कम्युनिस्ट पार्टीका नेता रतनलाल ब्राह्मण (माइला बाजे), गोर्खा लिगका नेता देवप्रकाश राई अनि रेणुलिना सुब्बाले दार्जिलिङको राजनीतिक वातावरण र स्तरलाई राष्ट्रियस्तरमै पुर्‍याए । बंगालका मुख्यमन्त्री बीसी रोयले सन् १९५५ मै ‘दार्जिलिङ इन्क्वायरी कमिटी’ को गठन गरे र यस क्षेत्रको विकास कसरी गर्ने, यहाँका बासिन्दाहरूलाई बंगालले कसरी आफ्नो बनाउने भन्ने मन्त्रहरू प्राप्त गरे । किनकि सन् १९५६ मा राज्य पुनर्गठन आयोगमा दार्जिलिङले अलग राज्यको माग गर्दै निकै गहकिलो आवाज उठाएको थियो । र नै सन् १९६१ मा नेपाली भाषालाई दार्जिलिङ पहाडी क्षेत्रमा बंगालीजस्तै आधिकारिक भाषा भनी घोषणा पनि गरिएको थियो ।

सन् १९०७ मा छुट्टै प्रशासन र पछिबाट छुट्टै राज्यको मागलाई दार्जिलिङेहरूले अघि बढाउँदा नै कंग्रेसका मुख्यमन्त्री सिद्धार्थ शंकर रोयले दार्जिलिङमा पहाड सचिवालय स्थापना गरे । पछि ज्योति वसुको वामपन्थी सरकारले पहाड क्षेत्रका निम्ति विशेष विभाग नै खोल्यो । दार्जिलिङ जिल्लामा पञ्चायती राजअन्तर्गत नै जिल्ला परिषद्मा पञ्चरत्न प्रधान अध्यक्षसमेत भए ।

एउटा सुनौलो अवधि खेल जगत्‌को पनि थियो । हकीमा सीएस गुरुङ र भीएस थापा, फुटबलमा चन्दनसिंह रावत, पर्वत आरोहणमा तेन्जिङ शेर्पा र नवाङ गोम्बु । विश्वले नै चिनेका यिनीहरू । टाढोको एउटा सानो जिल्लाले यति संख्यामा ओलम्पिक खेलाडीहरू जन्माउनु सायद नयाँ कुरो हो, भारतको स्वाधीनतापछिको इतिहासमा ।

दार्जिलिङमा सिनेमा जगत्, खेल जगत्, साहित्य र संस्कृतिका विश्वले मानेका महारथीहरू आउँथे । बबी चार्लटन, प्रकाश पादुकोण, अमिताभ बच्चन, राजेश खन्ना, राखी, ऋषि कपुरदेखि लिएर बडी बिल्डिङका मिस्टर युनिभर्स मोनोतोस रोयसमेत दार्जिलिङमा घरीघरी आउँथे । गनु गिरी बडी बिल्डिङका अन्तर्राष्ट्रिय रेफरीसम्म बन्न पुगे ।

कस्तो थियो यो दार्जिलिङ ? विश्वका कुनाकुनाबाट शिक्षक र विद्यार्थीहरू आउँथे । फादर स्टानफोर्ड, फेरेल, लेक्लेयर, भ्यान, वर्न्स, अब्राहम, मदर ज्यामियन । कोही आयरल्यान्ड, कोही क्यानडा अनि धेरै शिक्षक भारतका विभिन्न कुनाबाट आउँथे । राजा–महाराजा, रानी–नेत्री, नोकरशाहीमा माथिल्लो ओहदामा पुगेका थाइल्यान्ड, बर्मा, नेपाल, भोटाङ, बंगलादेश, पाकिस्तान, मलेसिया, सिंगापुर, भियतनाम, चीनका धेरै जना विद्यार्थी भएर दार्जिलिङ आएका थिए ।

धेरैले मीठा, मन छुने कुराहरू लेखेका छन् । कोही त प्रधानमन्त्रीसम्म बने । उनीहरू आएर विद्या दान र शिक्षा आर्जन मात्रै गरेनन्, दार्जिलिङलाई पश्चिमी–पूर्वीय संस्कृतिको मीठो समागम पनि बनाए । रञ्जित गजमेर, लुइ ब्यांक्स, गोपाल योन्जन, अम्बर गुरुङ यहीँ संगीतमय वातावरणमा हुर्केका थिए । यी अन्य क्षेत्र र राष्ट्रबाट आएकाहरू दार्जिलिङको एम्बासडर–राजदूत भएर फर्के र प्रथम पटक यहाँ एउटा गुणस्तरीय विश्व–पर्यटनको विकास भयो ।

आफ्ना छोरा–छोरीलाई स्कुल छोड्न आएका अभिभावकहरूले फर्केर गएर दार्जिलिङका स्कुल र कलेजको यति गुन गाए, हजारौंको संख्यामा ठूलठूला महानगर छोडी दार्जिलिङ आउने भए, विद्या/शिक्षा आर्जनका निम्ति । दार्जिलिङ पहाडी क्षेत्रमा मात्रै ९८ वटा सरकारी पुस्तकालय थिए, गाउँमा समेत ।

विश्वकै व्यापारी, लेखक, डाक्टर, पत्रकार दार्जिलिङ आउन थालेपछि यहाँ होडबाजीको चरम सीमा देखा पर्‍यो । र नै दार्जिलिङले मणिकुमार क्षेत्री : चिकित्सक; रामकृष्ण शर्मा : न्यायाधीश; भूषण लकान्द्री, पूर्णिमा खड्गा, विनोद प्रधान, रमेश शर्मा, प्रताप सुब्बा, तुलसी घिमिरे : फिल्मकर्मी; अर्जुन स्याङ्देन : प्रिन्सिपल चिफ कन्जर्भेटर; लालबहादुर सेवा : पुलिसको उच्च अधिकारी अनि कृष्णसिंह मोक्तान : पुलिस अधिकारी जन्मायो । यति मात्रै कहाँ हो र, एउटा सानो जिल्लाले छोकिला आयर र हर्षवर्द्धन शृंगला जस्ता भारतका विदेशसचिवहरू जन्मायो ।

धुइरो लाग्थ्यो दार्जिलिङमा, वैज्ञानिकहरूको । विश्वका चारैतर्फबाट, ‘घुमीफिरी रुम्जाटार’ भनेझैं, कीराफट्याङ्ग्रा, पशुप्राणी, झारजंगल, ओखतीमूलो, भलपहिरो, भुइँचालो, पर्वत, पानी र माटोमा अन्वेषण गर्न वैज्ञानिक र विद्वान्हरू आउँथे । यसरी नै आए यहाँनेर जगदीश चन्द्र बोस, राहुल सांकृत्यायन, निकोलस रोहरिक, अलेक्जेन्डर डी कोवरोस, हडसन, लोयड र हुकर पनि ।

साहित्य–संस्कृति क्षेत्रमा दार्जिलिङ सदैव फुल्यो–फल्यो । रूपनारायण सिन्हाको ‘भ्रमर’, लैनसिंह बाङ्देलको ‘लंगडाको साथी’, अगमसिंह गिरीको ‘युद्ध र योद्धा’, इन्द्रबहादुर राईको ‘आज रमिता छ’, शिवकुमार राईको ‘डाक बंगला’, इन्द्र सुन्दासको ‘मौली’ र कृष्णसिंह मोक्तानको ‘चरणधूलि’ एकापट्टि अनि संस्कृति क्षेत्रमा एम.एम. गुरुङको ‘बिर्सिएको संस्कृति’ र आर.पी. लामाको ‘इन्द्रधनुष’ अति नै प्रचलित कृतिहरू भए ।

सयौं प्रतिष्ठित लेखकहरू जन्मिए यही सुनौलो कालमा– लक्खीदेवी सुन्दास, असित राई, कुमार प्रधान, बद्रीनारायण प्रधान, गुमानसिंह चामलिङ, नरबहादुर दाहाल, रामलाल अधिकारी, कमला सांकृत्यायन, जस योन्जनजस्ता । कलाकारहरूले संगीत नाटक ढकमक्क फुलाए । हरिमदन गुरुङ, अरुणा लामा, कर्म योन्जन, कुमार सुब्बा, हीरादेवी वाइबा, शान्ति ठटाल, मनबहादुर मुखिया, पी. अर्जुन, दाबा ग्याल्मो, टंक शर्मा, आई.के. सिंह, दिलमाया खाती सबैलाई कसैले भुल्न सक्तैनौं ।

त्यसताक भनिन्थ्यो, ‘दार्जिलिङले आज जे सोच्छ, त्यो नेपाल, भोटाङ र सिक्किमले भोलि सोच्छ ।’ सायद यसको पनि गहिरै कारण थियो होला । नेपालमा अनेकन् क्षेत्रमा अग्रिम पंक्तिमा रहेकाहरू पारिजात (साहित्य), रणधीर सुब्बा र निर्मल लामा (राजनीति), लैनसिंह बाङ्देल (कला), अनुराधा कोइराला (सामाजिक कार्य) सबै दार्जिलिङमै जन्मेका थिए/हुन् ।

यसरी नै सिक्किमका मुख्यमन्त्रीहरू बीबी गुरुङ, नरबहादुर भण्डारी, प्रेमसिंह तामाङ सबैले दार्जिलिङमा स्कुल–कलेज पढेका थिए । रवीन्द्रनाथ ठाकुरले बंगलादेशको राष्ट्रिय गीत ‘आमार सोनार बांगला’ रचेका थिए, दार्जिलिङमा जन्मेका भाग्यमानी अम्बर गुरुङले नेपालको राष्ट्रिय गीत ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ लाई संगीतबद्ध गरेका थिए । आफू जन्मेको राष्ट्रदेखि अलिक टाढो अर्को राष्ट्रको राष्ट्रगानमा संलग्न हुने यस्ता व्यक्तिहरू विरलै पाइन्छन् ।

जंगल, पानी, चिया, सिन्कोनाको त कुरै नगरे पनि हुन्छ । सन् १९६४–६५ मा कालिम्पोङको बोङबस्तीमा हेमलाल शर्मा नामक कृषकले आफ्नो खेतको एक एकरमा २,६५३ किलो धान उमारेको रेकर्ड नै छ । धानको बीउबिजनको नाम पनि ‘कालिम्पोङ–१’ र ‘कालिम्पोङ–२’ राखिएको थियो । सन् १९६० को दशकमा सगुन र सालको जंगल भरमार थियो ।

दार्जिलिङ (१०० हेक्टर), कालिम्पोङ (५८९ हेक्टर), खरसाङ (१,३९९ हेक्टर) र पंखाबारीनजिक वामपोखरी (१,८०८ हेक्टर) सगुन–सालको जंगलले भरिएका थिए । काम्ने ज्वरो (मलेरिया) को ओखती कुइनेनको निकासी सन् १९६६–६७ मा मात्रै ९७ लाख (आजको भाउमा ५१ करोड) भारुको भएको थियो । अमेरिका, युरोप र एसियामा अरू कुनै चियाको माग दार्जिलिङ चियाको जति थिएन । र नै दार्जिलिङमा वर्षेनि १२० लाख किलो चिया उमारिन्थ्यो, उता विश्वमा भने दार्जिलिङको चिया भनी ४०० लाख किलो बिक्री गरिन्थ्यो ।

सुनौलो अवधिको दार्जिलिङ मनै खलबलाइदिने दार्जिलिङ थियो । म्युनिसिप्यालिटीहरू अति नै प्रभावशाली र कर्तव्यनिष्ठ थिए । बिहान पाँच बजे तलतिरको किलीखानमा खसी–गोरु–सुँगुर काटिन्थे । कमिस्नर चार्ली डनले गएर छालामाथि छाप लगाएपछि मात्रै बजारमा बेच्न पाइन्थ्यो ।

लेखक विक्रम सेठकी आमा लीला सेठले सन् १९५० को पहिरोमा आफू छोरा–छोरीसमेत कसरी बाँचिन्, फ्रेड पिनले दार्जिलिङ कसरी चलाइन्थ्यो, भास्कर घोषले दार्जिलिङमा बंगालको शासन र बंगलादेशका रहमान शोभानले स्कुल पढ्दाको दार्जिलिङको वर्णन आआफ्ना पुस्तकहरूमा गरेका छन् । मैत्रेयी देवीले त रवीन्द्रनाथ ठाकुरको मङ्पु भ्रमण र उनका कविताहरूमाथि बंगाली भाषामा ‘मङ्पुते रवीन्द्रनाथ’ लेखेर दार्जिलिङको अर्को पक्षको परिचय गराएकी छन् ।

नाटक, खेलकुद, चाडबाड, पूजापाठ, राष्ट्रिय दिवस दार्जिलिङमा भव्य रूपमा हुन्थे । दसैं, तिहार, क्रिसमस, माघे संक्रान्ति, सरस्वती पूजा र इद–उल–फितर सबैले मनाउँथे । हर्ली, मल्ला र ब्रिगेड अफ गोर्खाज गोल्डकप फुटबल खेल्न भोटाङ, नेपाल, कलकत्ता सबैतिरबाट आउँथे । वर्षाझरीमा पनि फुटबल हेर्न हजारौंको संख्यामा आउँथे । सबैले छाता खोलेपछि फुटबल मैदान देखिँदैनथ्यो । पानी पर्न कम हुनासाथ चारैतिरबाट आवाज आउँथ्यो, ‘किल द अम्ब्रेला !’ अर्थात्, ‘छाता मार !’

दार्जिलिङको भाषा नै दार्जिलिङे थियो । अति नै रमाइलो थियो । गोरे डगलस, भोटु प्रधान, बीआर गुरुङ र हेम राईको कला प्रदर्शनी, अमियनाथ बनर्जीको स्ट्याम्प–टिकट प्रदर्शनी । दोर्जे, निनी र गम्फुज अनि माया रेस्टुराँको मोमो; घुरामिया र ग्लोनेरिजको रोटी र केक; अक्सफोर्ड, साझा र उपासकका पत्रिका र पुस्तक; फु सिन र गोगोजका जुत्ता अनि सिंहमारी जाने ट्याक्सीमा अटेसमटेस ।

दार्जिलिङ यस्तै थियो । बोर्डिङकी मिस साहेब, टर्नबुलका महेन्द्र प्रधान, कालिम्पोङका खिदमद सुब्बा अति नै उच्चस्तरका हेडमास्टरहरू थिए । सुनौलो कालको दार्जिलिङ सपना–कल्पनाको दार्जिलिङ थियो । फेरि फर्केर आऊ न तिमी ! सबैको निवेदन र चाहना, आजको नियास्रो र फोस्रो दार्जिलिङमा !

प्रकाशित : पुस २१, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?