२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एक इतिहास–साधकको अवसान

श्रीकृष्ण आचार्यले आफ्ना पिताजी इतिहासशिरोमणि बाबुराम आचार्यका अपूरा कृतिहरू पूरा गरी प्रकाशन गरिदिएर नेपाली इतिहास लेखनको क्षेत्रलाई ठूलो गुन लगाएका छन्।
रमण घिमिरे

अहिले काठमाडौंमा विश्वका ठूलठूला विमान जहाँ ओर्लिन्छन् र जहाँबाट उड्छन्, ८४ वर्षअघि ठीक त्यही ठाउँमा श्रीकृष्ण आचार्यको जन्म भएको थियो, १९९३ भाद्र कृष्णाष्टमीको रात । इतिहासशिरोमणि बाबुराम आचार्यका छोरा भए पनि उनले आठ वर्षसम्म शिक्षाको उज्यालो पाउन सकेनन् ।

एक इतिहास–साधकको अवसान

उनी घरमै दाजुदिदीहरूसँग पढाइमाग्थे, आफैं पनि किताबहरू खोजीखोजी पढ्थे । यो छुट्टै कुरा हो । तर इतिहासशिरोमणिको पुलपुलिएको कान्छो छोरा भएर पनि यतिका वर्ष अध्ययन नगरी बस्नुको प्रमुख कारण थियो– पितृभक्ति र सेवाभाव ।

बाबुराम आचार्य त्यस बेला नेपाली भाषा प्रकाशिनी समितिमा कार्यरत थिए । त्यसको कार्यालय त्रिचन्द्र कलेजको सरस्वती सदनमा थियो । हो, पिताजीलाई दिनहुँ सिनामङ्गल गौचरनदेखि डोर्‍याएर त्रिचन्द्र कलेज लैजाने र दिनभरि त्यहीँ कुरेर फेरि बेलुका घर लिएर आउने काममा खटिएका थिए श्रीकृष्ण । कहिलेकाहीँ टाइम पास गर्न उनी त्यहाँका कर्मचारी अङ्कलहरूसँग कागज मागेर लेख्थे पनि र कर्मचारीहरू उनको उमेरलाई सुहाउने कुनै किताब भए पढ्न पनि दिन्थे । तर उनले औपचारिक शिक्षाको गोरेटो पहिल्याउन सकिरहेकै थिएनन् ।

इतिहासका प्रकाण्ड विद्वान् बाबुरामलाई पनि छोराको शिक्षाप्रतिको खटपटी निश्चय नै थियो होला, तर यसलाई परिणाममुखी बनाउनका लागि कहिलेकाहीँ नियति संयोग भएर व्यक्तिका अगाडि उभिनुपर्दो रहेछ । यस नियतिको संयोग भएर एक दिन अर्का प्रकाण्ड इतिहासकार नयराज पन्त नेपाली भाषा प्रकाशिनी समितिमा बाबुराम आचार्यलाई भेट्न आए ।

त्यही बेला पन्तको दृष्टि बालक श्रीकृष्णमाथि पर्‍यो । उनी एउटा कुनामा बसी घोप्टिएर बडो लगनका साथ लेख्दै थिए । पन्तले बाबुरामलाई सोधे, ‘यी बाबु को हुन् ? यहाँ के गर्न आएका ?’ बाबुरामले भने, ‘यी मेरा कनिष्ठ सुपुत्र हुन् । अध्ययनका लागि कुनै मेलोमेसो नपाएर अहिले मलाई ल्याउने–लैजाने काममा खटिएका छन् ।’ पन्तले भने, ‘यिनलाई म पढाइदिन्छु । भोलिदेखि नै मेरो पाठशालामा पठाइदिनुस् ।’ यसरी श्रीकृष्ण २००४ सालमा रानीपोखरी प्रधान पाठशालामा भर्ना भए ।

त्यस बखत पाठशालामा भर्ना हुने नियम पनि अनौठो थियो । एउटा फूल र एक रुपैयाँ दाम राखेर गुरुका गोडामा ढोग्नुपर्थ्यो । तर त्यो समय पूर्व मध्यमा पढाउने शिक्षकमा पन्त होइन, तोयनाथ पाण्डे थिए । त्यसैले श्रीकृष्ण त्यो फूल र एक रुपैयाँ दाम पन्त होइन, पाण्डेका गोडामा राखी ढोगेर पाठशालामा भर्ना भए । विद्यालय जान अलि ढिलो भए पनि उनले पढाइमा भने कुनै ढिलाइ गरेनन् । २००४ देखि २००८ सालसम्म रानीपोखरीमा पढेर सम्पूर्ण मध्यमा उत्तीर्ण गरे । त्यसपछि भर्खरै स्थापित वाल्मीकि संस्कृत महाविद्यालय, पुतलीसडकबाट शास्त्री र आचार्यसम्मको शिक्षा हासिल गरे । २०१४ सालमा सिद्धान्त ज्योतिषमा आचार्य पास गर्दा उनी २१ वर्षका भइसकेका थिए ।

पढाइ त सकियो, अब के जागिर खाने ? सहपाठीहरूबीच विचार मन्थन भयो । अरू सबै लोकसेवा दिएर सरकारी जागिर खाने निर्णयमा पुगे । तर श्रीकृष्णलाई पिताजीले सरकारी जागिर खानु हुँदैन भने । किनभने बाबुरामका सरकारी जागिरे जेठा छोरा हिसाब फर्छ्यौट गर्न नसकेपछि श्रीमतीका गरगहना र आफूसँग भएका सम्पूर्ण नगद हर्जाना बुझाएर बल्लबल्ल उम्केका थिए । फेरि, भर्खरभर्खर खुलेको सेक्सन अफिसरको जागिर के हो, कहाँ खटाइन्छ भन्ने पनि त्यति थाहा भइसकेको थिएन ।

तर पिताजीले नै श्रीकृष्णका लागि जागिर खोजिदिए, सानो ठिमीमा । त्यस बेला सानो ठिमीमा एउटा शिक्षा केन्द्र खुलेको थियो, जुन पछि जनक शिक्षा सामग्री केन्द्रमा परिणत भयो । शिक्षा केन्द्रका प्रमुख थिए अर्का इतिहासकार बालचन्द्र शर्मा । त्यस केन्द्रले नेपाली विषयक केही लेखकको दरबन्दी आह्वान गरेको थियो । श्रीकृष्णले त्यसैमा केही समय काम गरे । तर उनको गन्तव्यको बाटो अन्यत्रै रेखाङ्कन भएको रहेछ ।

त्यहाँ केही समय काम गरेपछि एक दिन रानीपोखरी विद्यालयका केही विद्यार्थी आई ‘हामीलाई पढाउने गतिलो शिक्षक भएनन्, त्यसैले तपाईंले पढाइ दिनुपर्छ’ भनेर अड्डी कसे । श्रीकृष्ण मिलनसार स्वभावका थिए र उनमा विद्यार्थीलाई स्नेहपूर्वक राम्ररी बुझाएर पढाउने पनि कला थियो । त्यसैले पिताजीसँग सहमति लिई उनी त्यहाँको शिक्षकमा नियुक्त भए । श्रीकृष्णले यस पङ्क्तिकारसँग भनेका थिए, ‘संयोग कस्तो पर्‍यो भने, २०१६ जेठ १३ गते जुन दिन विश्वेश्वरप्रसाद कोइराला मन्त्रिमण्डलको शपथ ग्रहण भयो, त्यसै दिन म पनि रानीपोखरी पाठशालामा बहाल हुन पुगें ।’

यसैबीच, आचार्य परिवारमा ठूलो सङ्कट आइपर्‍यो । जहाँ श्रीकृष्ण जन्मे–हुर्केका थिए, त्यहाँ विमानस्थल बनाइने भयो । राजधानीमा अलि अग्लो ठाउँ त्यही गौचरन थियो । अनि सरकारले आचार्य परिवारको ५२ रोपनी जग्गा अधिग्रहण गर्‍यो । भएका तीनवटा घर पनि भत्काएर लैजान आदेश दिइयो । भर्खरभर्खर पञ्चायती व्यवस्था लागू भएको समय, विरोध गर्ने परिस्थिति थिएन । सरकारले प्रतिरोपनी ६०० का दरले जग्गाको र तीन घरको ४० हजार रुपैयाँ मुआब्जा दिएर मुख बुझो लगाइदियो ।

‘त्यस बेला मेरो बिल्लीबाठ भयो,’ श्रीकृष्णले भनेका थिए, ‘श्रीमती बिरामी भएर शान्तभवनमा भर्ना भएकी थिइन् । जेठी छोरी कञ्चन काखमा । म एक्लो, श्रीमतीलाई रुङ्न जाऊँ कि छोरीलाई हेरूँ या अचानक आइपरेको सङ्कट पार गर्ने उपाय खोजूँ ? म रनभुल्लमा परेको थिएँ ।’ तर पछि अवस्था सामान्य हुँदै गयो । दुई दाजुभाइले पिताजीले दिएको १५/१५ हजार रुपैयाँले आ–आफ्ना घर जोडे ।

यता रानीपोखरी विद्यालयमा खासै पदोन्नति हुने सम्भावना नभएकाले श्रीकृष्णले २०२४ असोज १६ देखि वाल्मीकि संस्कृत महाविद्यालयमा शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरी प्राध्यापन गर्न थाले । त्यहाँ उनी सिद्धान्त ज्योतिष विषयका प्राध्यापक थिए । उनले त्यहाँ गएको केही समयपछि पाठ्यतालिका बनाउने जिम्मेवारी पाए । यसले गर्दा प्राध्यापक र विद्यार्थीबीच उनको सुमधुर सम्बन्ध स्थापित भयो ।

सरल, शिष्ट र आफ्नो कामप्रति सदा निष्ठावान् भएकाले त्यहाँ सबैले उनको सम्मान गर्थे । ‘मैले त्यहाँ प्राध्यापन गरेर ज्योतिष विषयक धेरै शिक्षक पनि उत्पादन गरें,’ उनले भनेका थिए, ‘म आफूले वहन गरेको जिम्मेवारीप्रति सदैव सजग र समर्पित भई काम गर्ने भएकाले सबैको सहयोग पनि प्राप्त भयो र मलाई काम गर्न सजिलो भयो ।’

श्रीकृष्ण २०४६ सालको राजनीतिक परिवर्तनपछि महेन्द्र संस्कृत विश्वविद्यालयको उपकुलपति भए । त्यही बेला उनले दरबारको राजज्योतिष भएर राजारानीको निकट रहेर काम गर्ने अवसर पनि पाए । त्यही समयदेखि उनको ग्रहदशा पनि बिग्रिन थाल्यो ।पहिला त श्रीकृष्णलाई घरायसी समस्याका कारण महेन्द्र संस्कृत विश्वविद्यालयको मुख्यालय दाङमा गएर काम गर्न कठिनाइ पर्‍यो । जो आफ्नो काम र कर्तव्यप्रति निष्ठाका साथ लाग्छ, उसलाई अन्यत्र चियाउने फुर्सद हुँदैन । तर नेपालमा राजनीति जानेपछि अरू विशेषता वा विशेषज्ञताको खासै दरकार पर्दैन । तर उनी परे राजनीतिक दाउपेच पटक्कै नजानेका सरल बौद्धिक व्यक्ति ।

उपकुलपति भएपछि प्रशासनिक झमेलाहरू आउन थाले । राजनीतिको छिँडीबाट पसेर विश्वविद्यालयमा जागिर खाने कार्यकर्ताहरूको ठूलै जमात खडा भयो । महिनाभरि गाउँका विद्यालयमा पढाउने र महिना मरेपछि मात्र विश्वविद्यालयमा आएर हाजिरीकापीमा दस्तखत गरी तलब बुझ्ने प्रवृत्तिका शिक्षकहरूको हालीमुहाली त्यत्तिकै चल्न थाल्यो ।

भर्खरको राजनीतिक परिवर्तन, मन्त्री र उनका कार्यकर्ताहरूलाई पनि आफ्ना मान्छेहरूलाई जागिर खुवाउनु थियो । त्यसैबीच काञ्ची कामाकोटि पीठका शङ्कराचार्यले विश्वविद्यालयकै जमिनमा शिक्षण अस्पताल खोल्ने प्रस्ताव दरबारबाट स्वीकृत गराई उनलाई दबाब दिन थाले । दाङमा रहेको विश्वविद्यालयको सम्पूर्ण जग्गा स्थानीय शिक्षाप्रेमी समाजसेवीहरूको दानबाट प्राप्त भएको थियो । त्यसैले उनले यो जग्गा दिन नसक्ने राय प्रकट गरे । राजनीतिक दबाबमा कर्मचारी र शिक्षकहरू घुसाउन त्यहीँकै प्रशासकहरू उनका पछि लागेकै थिए, त्यसमाथि शङ्कराचार्यको यस प्रस्तावले उनलाई त्यहाँ टिकी खानै दिएन । अन्ततः आफ्नो कार्यकाल नौ महिना बाँकी छँदै राजीनामा गरेर उनी पिताजीले छाडेका अधुरा काम पूरा गर्न र आफ्नै पुस्तक लेखनमा व्यस्त भए ।

उनी सिद्धान्त ज्योतिषमा मात्र होइन, आफ्ना पिताजीले गर्दै आएको इतिहासलेखनको काममा पनि त्यत्तिकै सक्रिय थिए । पिताजीका काखमा बसीबसी उनले नेपाली इतिहासको पाठ सिकेका थिए । पछि दृष्टिहीन पिताजीले भट्ट्याउने र आफूले टिपोट गर्ने गर्दा उनले इतिहासको यथेष्ट ज्ञान हासिल गरेका थिए । त्यसैले उनले निवृत्त जीवन पूर्ण रूपमा इतिहासलेखनमै लगाए ।

यस क्रममा उनले पिताजीकै टिपोटका आधारमा ‘अब यस्तो कहिल्यै नहोस्’, ‘चीन, तिब्बत र नेपाल’, ‘नेपालको संक्षिप्त वृत्तान्त’, ‘नेपालको सांस्कृतिक परम्परा’, ‘प्राचीनकालको नेपाल’, ‘जनरल भीमसेन थापा : यिनको उत्थान तथा पतन’, ‘हाम्रो राष्ट्रभाषा’ आदि आफैंले सम्पादन गरी प्रकाशित गरे । साथै ‘नेपालका पछिल्ला मल्ल राजाहरूको आपसी अन्तःकलह’ दुई भाग आफैंले लेखे र प्रकाशित गरे । नेपाली इतिहासका यी पुस्तक, खास गरी इतिहासशिरोमणि बाबुराम आचार्यका अपूरा कृतिहरू पूरा गरी प्रकाशन गरिदिएर उनले नेपाली इतिहासलेखनको क्षेत्रलाई ठूलो गुन लगाएका छन् । यस कार्यका लागि पनि उनलाई मुलुकले सम्झिरहनेछ ।

क्यान्सर रोगसँग लडिरहेको पीडान्त समयमा पनि आफूकहाँ इतिहास या अन्य विषयमा जिज्ञासा राख्न आउने जोकोहीलाई श्रीकृष्णले निराश पारेनन् । उनी जीवनभरि शिक्षाका लागि उदार र निष्ठावान् रहे । जीवनभरि वृत्तिका लागि कार्य गरे । निवृत्त भएपछि पनि उनले एउटा सच्चा इतिहासका साधकका रूपमा निःशुल्क विद्यादान गरिरहे । अन्ततः साधना गरिरहँदाकै अवस्थामा यही पुस १० गते उनी पार्थिव रूपले हामीबाट सदाका लागि बिदा भए ।

प्रकाशित : पुस २१, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?