१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सडकलाई वन्यजन्तुमैत्री बनाऊ

सम्पादकीय

निकुञ्ज–आरक्ष, संरक्षित क्षेत्र वा कुनै जंगल आसपासका सडकमा यात्रा गर्दा बाघलगायतका वन्यजन्तुसित जम्काभेट भइरहनु कुनै आकस्मिक संयोग होइन । यो त वन्यजन्तुको बाटोमा सडक बनाएपछिको स्वाभाविक नतिजा मात्रै हो ।

सडकलाई वन्यजन्तुमैत्री बनाऊ

आफ्नो जैविक मार्गमा ओहोरदोहोर गर्दा सडक छिचोल्नु ती जनावरहरूको बाध्यता हो । दुःखद पक्ष, यस क्रममा घरीघरी अप्रिय घटना हुने गरेका छन् । कहिले मानिसमाथि वन्यजन्तुबाट आक्रमण हुन्छ, कहिले गाडीले यस्ता जीवहरूलाई ठक्कर दिन्छ ।

गत शुक्रबार मात्रै बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने अम्बासा–चिसापानी खण्डमा बाघले एक महिलालाई मोटरसाइकलबाटै तानेर मारेको छ । त्यसको भोलिपल्ट शनिबार पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा वयस्क पोथी बाघ मरेको छ । यी विस्मयकारी घटनालाई दोहोरिन नदिन सरकारले सम्बन्धित क्षेत्रका सडकहरूलाई सक्दो चाँडो वन्यजन्तुमैत्री बनाउनुपर्छ ।

बर्दियामा शुक्रबार छोराको मोटरसाइकलमा पछाडि बसेकी ती महिलालाई गुडिरहेकै बेला बाघले झम्टेर लगेको हो । यसअघि २०५८ मा पनि त्यही क्षेत्रमा एक व्यक्ति यस्तै घटनामा मारिएका थिए । पछिल्लो घटनापछि ८ बजेदेखि बिहान ६ बजेसम्म उक्त खण्डमा दुईपांग्रे सवारी र पैदलयात्रुलाई आउजाउ गर्न रोक लगाइएको छ । सधैं यो शैली व्यावहारिक नहुने भएकाले दिगो समाधान नै खोजिनुपर्छ ।

निकुञ्ज र संरक्षित क्षेत्रमा वन्यजन्तुलाई बाधा नपुगोस् भनेर सवारी साधनका लागि गतिको सीमा तोकिएको हुन्छ । तर, शुक्रबार बर्दियामा गति कम भएकैले ती महिलालाई बाघले सजिलै लैजान सम्भव भयो भने, शनिबार नियम नमानेर तीव्र गतिमा दगुराइएको कारको ठक्करबाट बाघ मारियो । तसर्थ, धेरै हदसम्म भरपर्दो समाधानका लागि सरकारले वन्यजन्तुमैत्री मार्गमै जोड दिनुपर्छ ।

आफ्नो बासस्थान क्षेत्रमा घुम्न र आहारा खोज्न निस्किने क्रममा वन्यजन्तुहरू दुर्घटनामा पर्ने गरेका हुन् । बाघको संख्या बढाउन लागिपरेको मुलुकमा चार वर्षयता मात्रै तीनवटा बाघ सडक दुर्घटनामा मरिसकेका छन् । चार वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जभित्र पूर्व–पश्चिम राजमार्गको अम्बासा–चिसापानी सडकखण्डमा पनि बसले ठक्कर दिएर एउटा बाघ मारेको थियो । दुई वर्षअघि त्यही क्षेत्रमा जिपले ठक्कर दिएर घाइते बनाएको बाघ पछि उपचारका क्रममा मरेको थियो । एकातिर मुलुकले संरक्षित वन्यजन्तु जोगाउन जोडबल दिइरहेको छ भने, अर्कातिर बर्सेनि ठूलो संख्यामा त्यस्ता जनावरहरू सडक दुर्घटनाकै कारण मारिने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको २ सय ७१ किलोमिटर सडक पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्छ । हुलाकी राजमार्गअन्तर्गत बाँकेको काम्दी, बर्दियाको खाता, कैलालीको वसन्ता र लालझाडी–मोहना करिडोर निकुञ्जभित्रै पर्छन् । यी सबै सडकखण्डमा गाडीको ठक्करबाट संरक्षित र अन्य वन्यजन्तु मर्ने गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ मा निकुञ्ज र आरक्षण क्षेत्रमा ४ सय ९५ वटा वन्यजन्तु मारिएकामध्ये एक चौथाइ अर्थात् १ सय १९ वटाको कारक त गाडीको ठक्कर नै थियो । २०७४–७५ मा ३ सय ९१ वन्यजन्तु मरेकामा त्यसको झन्डै एकतिहाइ अर्थात् १ सय २४ वटा सडक दुर्घटनामा मारिएका थिए । २०७३–७४ मा ३ सय २६ वन्यजन्तु मरेकामा १ सय ३३ वटा अर्थात् ४१ प्रतिशत गाडीको ठक्करबाट मारिएका थिए ।

सडक दुर्घटनाबाट हुने गरेको यो क्षति आफैंमा निकै ठूलो हो । त्यसैले, सरकारले यी सडकमा वन्यजन्तुलाई वारपार गर्न सघाउने संरचना निर्माणमा ढिलाइ गर्नु हुँदैन । र, सम्बन्धित क्षेत्रमा नयाँ बन्ने सडकका हकमा पनि यो पक्षलाई ध्यान दिइनुपर्छ । वनजंगल वा संरक्षित क्षेत्रमा सडक नै नबनाउने कुरा व्यावहारिक हुँदैन । तर त्यस्तो क्षेत्रका राजमार्गमा वन्यजन्तुका लागि वैकल्पिक मार्ग बनाइदिएर क्षति न्यूनीकरण गर्न सकिन्छ ।

त्यसका निम्ति वन्यजन्तुको बढी ओहोरदोहोर हुने राजमार्गमा तिनका लागि ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउन सकिन्छ । विश्वमा यो शैली–प्रविधि पछ्याउने मुलुकहरू थुप्रै छन् । यस्तो संरचनामा बोटबिरुवा पनि लगाएर जनावरहरूलाई जंगलकै एक भाग भएको भान पार्न सकिन्छ । यसका लागि निकुञ्जले अहिले गरिरहेको तयारीलाई तीव्रता दिनुपर्छ ।

विकासमा साझेदारी गर्ने निकायलगायतका सरोकारवालाले पनि यसलाई प्रोत्साहन दिनुपर्छ । अन्तर्राष्ट्रिय अभ्यास मात्र होइन, नेपालकै अनुभवले पनि वन्यजन्तुमैत्री संरचना उपयोगी भएको पुष्टि भैसकेको छ । ३३ किलोमिटर लामो नारायणघाट–मुग्लिङ सडकखण्डमा चारवटा अन्डरपास बनाइएका छन् ।

विभिन्न वन्यजन्तुले ती अन्डरपास भरपूर प्रयोग गरेको अध्ययनले देखाइसकेको छ । अब, यस्तै प्रयोग अन्यत्रका सडकमा पनि गरिनुपर्छ । यस्तो व्यवस्थाले वन्यजन्तुलाई गाडीको आक्रमणबाट त जोगाउन मद्दत पुग्छ नै, राजमार्गमा यात्रारत मानिसका लागि पनि वन्यजन्तुको आक्रमणको सम्भावना कम हुन्छ ।

प्रकाशित : पुस २१, २०७७ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?