कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेताहरूले नदेखेको सुदूरपश्चिमको आँसु

नयाँ जीवन निर्माणको एउटा कारक महिनावारी नै सुदूरपश्चिमका महिलाका लागि अभिशाप बनिरहेको छ ।
अरुणा उप्रेती

अछामका प्रमुख जिल्ला अधिकारी नै जिल्लालाई छाउपडीबाट मुक्ति दिलाउने काममा लागेपछि आशा लागेको छ, अब केही त कम हुन्छ होला छाउपडीको कुप्रथा । काठमाडौंमा पनि महिनावारी हुँदा ‘पर सरेर’ बस्ने, भान्सामा नजाने कुप्रथा छ तर यो विषयमा प्रायः बोलिन्न ।

नेताहरूले नदेखेको सुदूरपश्चिमको आँसु

छाउपडी प्रथा हटाउन मानसिक चिन्तन फेर्नुपर्ने र शिक्षा दिनुपर्ने भनेर अनेक छलफल हुन्छन्, तर शिक्षाले मात्र छाउपडी हट्दैन; कानुनी कदम पनि चाहिन्छ भन्ने स्पष्ट छ ।

‘तिमारु काठमाडौंबाट आन्या ? केके कुरा अर्न्या ? छौपडीको विषयमा कुरा अर्न्या त तिमीहरू गै जाऊ ? तमलाई के चासो हाम्रा क्वारी कता रहन्छन् छुई हुँदा । हाम्रा आँखा निका छैनन् । हामलाई धम्कीको रोग छ । यस्ता बात क्यै नअर्न्या, केवल छाउपडी छाउपडी भन्या ।’ केही वर्षअघि अछामको लइटी गाविसका सत्तरी वर्षजतिका बूढा मान्छे यसरी मसँग निकै रिसाएका थिए, उनका बुहारीहरूसँग छाउपडीका बारेमा कुरा गर्न खोज्दा । छाउपडी कति हटेछ भनेर एउटा संस्थाको कामको मूल्यांकन गर्न म काठमाडौंबाट गएकी थिएँ । म काठमाडौंको छाउपडी हटाउनचाहिँ असफल थिएँ ।

ती बूढाको घरनजिकै सानो छाउघर रहेछ । त्यो देख्नेबित्तिकै सोचें— म पाँच फिटकी सानी मान्छेको पनि झन्डै काँधसम्म मात्र आउने छाउघरमा महिलाहरू पाँच–सात दिनसम्म कसरी बस्छन् होला ! त्यो छाउघरमा छिर्न खोज्दा ढोका धेरै सानो भएकाले म सफल भएकी थिइनँ । बाहिरबाटै फोटो खिचाएकी थिएँ । ‘हामीले कति गाविसमा कार्यक्रम पनि चलायौं । केही गाविसका केही वडाहरू त छाउपडी गोठबाट मुक्त पनि भए ।’ त्यति बेला महिला विकास कार्यक्रमकी कर्मचारीले उदास भएर भनेकी थिइन् । ‘यस्तो प्रथा हटाउन गाह्रै हुन्छ ।’ अर्की महिला सरकारी कर्मचारीले भनेकी थिइन् ।

सुदूरपश्चिममा, हेर्दा पुतलीको घरजस्तै ‘सुन्दर’ लाग्ने छाउगोठहरूमा धेरै महिला अझै पनि महिनामा केही दिन बाध्य भएर बस्नुपर्छ । यसरी त्यहाँका महिलालाई कुन अपराधको दण्ड दिइएको हो ? कसैले भन्न सक्दैन । छाउगोठमा त्यही एउटा ढोका हुन्छ, खापा हुँदैनन् । ‘त्यसैले जाडोको बेला सिरेटो चल्दा रातभरि आगो बालेर बस्नुपर्छ र अनि धूवाँमा निसासिनुपर्छ ।’ केही महिलाले दुखेसो पोखेका थिए । तर कतिपय महिला र पुरुषहरूले ‘पहिलेपहिले छाउगोठ घरबाट धेरै टाढा हुन्थ्यो, अहिले त प्रगति भएको छ, छाउगोठ कम से कम घरनजिकै ल्याएका छन्’ भनेको सुन्दा मेरो मनै कुँडियो ।

टाढाको त्यो गोठ घरनजिक ल्याएर राख्दा ‘प्रगति’ मान्ने सुदूरपश्चिम ! छाउपडीमा बस्दा सर्पले टोकेर तड्पीतड्पी मृत्युको मुखमा पर्ने कतिपय देवीको दुःखलाई सुन्दर सुदूरपश्चिमले कम गर्न सकेको छैन । नयाँ जीवन निर्माणको एउटा कारक महिनावारी नै सुदूरपश्चिमका महिलाका लागि अभिशाप बनिरहेको छ ।

अछामका विनायक, जनाली मण्डली, कालिकास्थान, चण्डिका, मंगलसेन, बयलपाटा, साँफेबगर आदि घुम्दा मैले थाहा पाएकी थिएँ, कतिपय महिलाले त छाउप्रथाको विरोधमा नजानिँदो तरिकाले ‘क्रान्ति’ नै गरेका रहेछन् । उनीहरूले आफूले जस्तो दुःख आफ्ना छोरी र बुहारीले नपाऊन् भनेर तिनलाई बिस्तारै छाउगोठको अन्त्य गरेर घरभित्रै तर छुट्टै कोठामा राख्न थालेका रहेछन् ।

कालीदेवीले अछामेली भाषामा हामीलाई भनेकी थिइन्, ‘पहिले त हामीलाई छाउगोठमा महिनावारी भएका महिलाहरू बस्न घरभित्र आए भने त देवता रिसाउँछन्, घरमा बाघ लाग्छ, मान्छेहरू बिरामी हुन्छन् भन्थे । म पनि पहिला त छाउगोठमै बस्थें । बुहारीहरू पनि त्यहीँ बस्थे । तर महिला विकासका नानीहरू आएर हामीलाई महिनावारीको विषयमा बताएपछि पो थाहा भयो, यसरी महिनावारी भएको बेलामा त सफा ठाउँमा, सुरक्षितसाथ राख्नुपर्दो रहेछ । अनि त मैले राखें आफ्नी बुहारीलाई घरभित्र । पहिलेपहिले त गाउँका मान्छेले बेस्सरी कुरा काटे । मलाई डर त लागेको थियो तर देउता रिसाएनन्, घरका मान्छे पनि बिरामी परेनन् । मलाई त महिला विकास कार्यालयले पुरस्कार दियो । रूपन्देही, सर्लाही पनि घुमेर आएँ ।’

कालीदेवीले यसो भन्दै गर्दा उनकी सत्र वर्षीया प्यारी नातिनी बज्यैको आडमा बसिरहेकी थिइन् । बज्यैको काँधमा टाउको राखेर बसेकी ती किशोरी प्रतीक थिइन् नयाँ सुदूरपश्चिमको ! ‘तर यो प्रथा डोटीका गाउँगाउँमा पनि छ । हटाउन निकै गाह्रो परेको छ,’ एक सरकारी कर्मचारीले भनेकी थिइन्, ‘मेरो घर नै डोटी हो, मेरो कस्तो मन पोल्छ, त्यहाँका महिलाहरूको यस्तो अवस्था देख्दा । अछाममा त हामीले आवाज उठाएकोले गर्दा कति धामी र पुजारीहरूले पनि छाउगोठमा महिलाहरूलाई राख्नुपर्दैन भनेका छन् ।’

नभन्दै जनाली मण्डलीमा भेटिएका एक जना ‘लोकतान्त्रिक’ धामीले महिनावारीका बेला आफ्ना घरका महिलाहरूलाई चाहिँ घरभित्र राख्न सुरु गरेका रहेछन् । उनका कारण गाउँका अन्य मानिसलाई पनि प्रेरणा मिल्यो । ‘केही वडा त एउटा पनि छाउगोठ नभएका नमुना वडा बन्दै छन्,’ एक महिलाले भनेकी थिइन् । यसरी छाउपडीविरुद्ध आवाज उठ्दै पनि गरेको छ ।

छाउपडी प्रथाविरुद्ध यो आन्दोलनमा सुदूरपश्चिमका सञ्चारकर्मीहरूको भूमिका निकै ठूलो छ । रामा रोशन रेडियोले छाउपडी प्रथाविरुद्ध चलाएको छलफल, डेउडामा समेटिने महिलाहरूका व्यथा लगायतबाट मानिसहरूमा ठूलो प्रभाव परेको छ । “पहिले त हामीलाई गाउँमा देखे कि मुख बिगारेर ‘उः छाउपडी आए, छाउपडी आए, हाऽहाऽ’ भनेर जिस्क्याउँथे । अहिले त जिस्क्याउँदैनन्,” अर्की महिला विकास कर्मचारीले भनिन् । उनी लामो समय छाउपडीविरुद्ध लडेकी रहिछन् ।

प्रमुख जिल्ला अधिकारी, सामाजिक संघसंस्था, अन्य व्यक्ति र सञ्चारमाध्यमका कारण अहिले आएको परिवर्तन हो— छाउपडीविरुद्धको कदम । तर अझै पनि सुदूरपश्चिमकै केही भागमा गौरा अझै उदास भएर रोइरहेकै छिन् । उनको आँसु पुछ्ने हातहरू सुदूरपश्चिममा छन् होला नि ? उनको आँसु रावल, चन्द, देउवाले देख्दैनन्, किनभने यी नेताका आमा, बहिनी र छोरीहरू छाउपडीमा बस्दैनन् ।

प्रकाशित : पुस १९, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?