३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सेवानिवृत्तिपछिको जीवन

मधु राई

सामुदायिक विद्यालयमा लामो समय अध्यापन गरेका ७९ वर्षीय जगत अर्यालले सेवानिवृत्तिपछि सत्र वर्षअघि प्रतिव्यक्ति पाँच रुपैयाँ संकलन गरी विराटेश्वर वृद्धाश्रम स्थापना गर्नुभयो । उहाँको आश्रमले अहिले मोरङसहित विभिन्न जिल्लाका सन्ताउन्न ज्येष्ठ नागरिकलाई आश्रय दिएको छ । अर्यालको दैनिकी आश्रमको व्यवस्थापनमा बित्ने गरेको छ ।

सेवानिवृत्तिपछिको जीवन

विराटनगर–११ निवासी त्रिहत्तर वर्षीया करुणा जोशीले पैँतीसवर्षे शिक्षण पेसाबाट निवृत्त भएपछि आफू आबद्ध नारी विकास भन्ने संस्थामा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आइरहनुभएको छ । अर्कातिर, बहुसंख्यक सेवानिवृत्तहरू कोही घरपरिवारका लागि समय र सीप खर्चिरहेका छन् भने, कोही ‘धेरै काम गरियो, अब त आराम गर्ने हो’ भन्दै निष्क्रिय जीवन बिताइरहेका छन् । कतिपयलाई चाहिँ स्वास्थ्यले पनि साथ दिएको छैन ।

कतिपय सेवानिवृत्त ज्येष्ठ नागरिकहरू आफ्नो हक–अधिकार प्राप्तिका लागि संघसंस्थामा आबद्ध छन् भने, कोही वृद्धाश्रम तथा दिवाकेन्द्र निर्माणमा जुटेका छन् । विराटनगर–११ कै समाजसेवी चिरञ्जीवी दाहालले भवन निर्माणका लागि जग्गादान गरेपछि अहिले वडा कार्यालयको सक्रियतामा ज्येष्ठ नागरिकहरू सहयोग संकलनमा जुटेका छन् ।

त्यसो त अधिकांश जागिरेले सेवानिवृत्तिपछि के गरी दैनिकी बिताउने भन्नेबारे सोचेको देखिँदैन । केही भने सेवाकालमै विभिन्न संघसंस्थामा आबद्ध भएका हुन्छन् र सेवानिवृत्तिपछि सक्रिय जीवन बिताइरहेका छन् । विराटनगर महानगरपालिकाका पूर्वप्रमुख रमेशचन्द्र पौडेल आफ्नो कार्यकालमा स्थापित बहिरा स्कुलमा अहिले पनि व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । उहाँ सुन्तलाको उन्नत प्रविधि विकास र प्रचारमा पनि खटिरहनुभएको छ ।

सेवानिवृत्तिपछि आफ्ना राष्ट्रसेवकहरूले कसरी सक्रिय जीवन बिताउने भन्नेबारे सरकारसहित रोजगारदाताहरू मौनजस्तै छन् । निश्चित अवधि पुगेपछि सेवासुविधाको पोको थमाएर राष्ट्रसेवकलाई बिदा गरिने सरकारी नियमकै कारण पनि बहुसंख्यक सेवानिवृत्तहरू निष्क्रिय जीवन बिताउन बाध्य छन् । विभिन्न निकाय वा क्षेत्रमा विषयविज्ञ भएर राष्ट्रको सेवा गरेकाहरू निवृत्तिपछि निष्क्रिय रहनु भनेको उनीहरूले पाएको ज्ञान र सीपमा खिया लाग्दै जानु हो ।

सेवाकालमा आफूले आर्जन गरेको ज्ञान र सीपलाई समाजोपयोगी बनाउन सकेका छैनन् अधिकांश सेवानिवृत्तहरूले । सेवावधिमा मर्यादित भएर काम गरेका शिक्षक लगायतका राष्ट्रसेवकहरूको निष्क्रिय जीवनशैली घरपरिवारका लागि मात्र हैन, समाजकै लागि अनुत्पादक बन्ने गरेको छ । शिक्षक भनेको विद्यार्थीलाई लेख्न–पढ्न सिकाउने व्यक्ति मात्र हैन । विद्यार्थीको जीवन बदल्न सक्ने तथा व्यक्ति र समाज विकासको संवाहक बन्न सक्ने शिक्षकहरूको ज्ञान र सीप सेवानिवृत्तिपछि बहुजनहिताय बन्न सक्छ ।

लोकसेवा अर्थात् लोकको सेवा गर्ने महान् उद्देश्यका साथ विद्यालय तथा सरकारी सेवामा प्रवेश गरेका अधिकांशले लोकलाई बिर्सने गरेका छन् । सेवानिवृत्तिपछि निष्क्रिय जीवन बिताउने कतिपय घरपरिवारभित्रै एक्लोपनको सिकार भएका छन् । यस्ता व्यक्तिहरू विभिन्न रोग र मनोरोगले ग्रस्त हुने गरेका छन् । कतिपयलाई अल्जाइमर (विस्मृति) हुने अध्ययन–अनुसन्धानले देखाएको छ । घरपरिवारसँग घुलमिल हुन नसक्ने कतिपय वृद्धाश्रमको शरणमा पर्ने गरेका छन् भने कतिपय बेपत्तै हुने गरेका छन् ।

सेवानिवृत्तिपछि पनि स्वस्थ जीवनशैली अपनाई सक्रिय जीवन बिताउन सकिन्छ भन्ने विषयमा विकसित मुलुकहरू संवेदनशील छन्, सोहीअनुरूपको नीतिनिर्माण गर्दै आएका छन् । विभिन्न क्षेत्रमा अनुभव सँगालेका सेवानिवृत्तहरूमध्ये कोही अध्ययन–अनुसन्धानमा जुट्ने गरेका छन्, कोही समाजसेवामा लागेर सक्रिय जीवन बिताइरहेका छन् । राजनीतिको उच्च तहमा पुगेकाहरू क्लबमार्फत सक्रिय रहने गरेका छन् ।

पूर्वराष्ट्रपतिहरूको क्लबमा आबद्ध अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले केही महिनाअघि जो बाइडेनका लागि मतदातासँग मत माग्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएको थियो । कतिपय मुलुकमा राजनीतिको उपल्लो तहमा पुगेकाहरूले सेवानिवृत्तिपछि थिंक ट्यांकका रूपमा सरकार र समाजलाई सहयोग गरिरहेको अध्ययन–अनुसन्धानले देखाएको छ । यस्ता थिंक ट्यांकहरूको अनुभव, ज्ञान र सीपलाई कार्यान्वयन गर्न राजनीतिज्ञहरू लागिपरेकाले पनि त्यहाँ राजनीतिले स्थिरता पाएको हुन सक्छ ।

यस्तै, दक्षिण कोरियामा सेवानिवृत्तिपछि उच्च शिक्षा हासिल गर्नेहरूको संख्या बढ्दै गएपछि अधिकांश विश्वविद्यालयले सन्ध्याकालीन कक्षा सुरु गरेका छन् । तर, हामीकहाँ यस्तो अभ्यासको पूर्णतया कमी छ । विशेष गरी राजनीतिकर्मीहरूमा कहिल्यै निवृत्त नहुने प्रवृत्ति झाँगिँदै गएको छ, जसले अन्ततः समाज र देशलाई अस्थिरतातिर धकेलिरहेको छ । यसैले नेपाली राजनीतिकर्मीहरूको जीवनशैली अनुकरणीय बन्न सकेको छैन । अझ कतिपयलाई त बाँचुन्जेल जनताको करबाट भरणपोषण गर्नुपर्ने नियम बनाएका छन् नीतिनिर्माताहरूले ।

यस्तै कतिपय कारणले राजनीतिकर्मीहरूप्रति आम वितृष्णा चुलिँदै गएको छ । सेवानिवृत्तिपछिको जीवनलाई सक्रिय बनाउन सकिन्छ भन्ने उदाहरण पेस गरेका विकसित मुलुकहरूको असल अभ्यास हाम्रा लागि पनि अनुकरणीय बन्न सक्छ । यसका लागि सेवानिवृत्तहरू स्वयंले पनि सक्रिय जीवनशैली अपनाई घरपरिवार र समाजका लागि प्रेरणादायी भूमिका निर्वाह गर्न जरुरी छ । तिनले एकल वा सामूहिक रूपमा सामाजिक कार्य गर्न सक्छन् ।

विभिन्न तहका सरकारमा आबद्ध राजनीतिकर्मीहरूले विकास–निर्माणका कामसँगै सामाजिक कार्यमा पनि चासो–चिन्ता लिन जरुरी छ । आफ्नो कार्यकालमा सुरु गरिएका सामाजिक कार्यलाई निरन्तरता दिन राजनीतिकर्मीहरू सहयोगी बन्न सके सेवानिवृत्त जीवनलाई उत्पादनमूलक बनाउन अरूहरू पनि अभिप्रेरित हुन्छन् । यसबाट एकातिर समाज र देशमा सन्तुलित विकासको बीजारोपण हुन्छ भने, अर्कातिर सेवानिवृत्तिपछि पनि सक्रिय भइरहनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह हुन्छ ।

प्रकाशित : पुस १७, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?