सेवानिवृत्तिपछिको जीवन- विचार - कान्तिपुर समाचार

सेवानिवृत्तिपछिको जीवन

मधु राई

सामुदायिक विद्यालयमा लामो समय अध्यापन गरेका ७९ वर्षीय जगत अर्यालले सेवानिवृत्तिपछि सत्र वर्षअघि प्रतिव्यक्ति पाँच रुपैयाँ संकलन गरी विराटेश्वर वृद्धाश्रम स्थापना गर्नुभयो । उहाँको आश्रमले अहिले मोरङसहित विभिन्न जिल्लाका सन्ताउन्न ज्येष्ठ नागरिकलाई आश्रय दिएको छ । अर्यालको दैनिकी आश्रमको व्यवस्थापनमा बित्ने गरेको छ ।

विराटनगर–११ निवासी त्रिहत्तर वर्षीया करुणा जोशीले पैँतीसवर्षे शिक्षण पेसाबाट निवृत्त भएपछि आफू आबद्ध नारी विकास भन्ने संस्थामा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आइरहनुभएको छ । अर्कातिर, बहुसंख्यक सेवानिवृत्तहरू कोही घरपरिवारका लागि समय र सीप खर्चिरहेका छन् भने, कोही ‘धेरै काम गरियो, अब त आराम गर्ने हो’ भन्दै निष्क्रिय जीवन बिताइरहेका छन् । कतिपयलाई चाहिँ स्वास्थ्यले पनि साथ दिएको छैन ।

कतिपय सेवानिवृत्त ज्येष्ठ नागरिकहरू आफ्नो हक–अधिकार प्राप्तिका लागि संघसंस्थामा आबद्ध छन् भने, कोही वृद्धाश्रम तथा दिवाकेन्द्र निर्माणमा जुटेका छन् । विराटनगर–११ कै समाजसेवी चिरञ्जीवी दाहालले भवन निर्माणका लागि जग्गादान गरेपछि अहिले वडा कार्यालयको सक्रियतामा ज्येष्ठ नागरिकहरू सहयोग संकलनमा जुटेका छन् ।

त्यसो त अधिकांश जागिरेले सेवानिवृत्तिपछि के गरी दैनिकी बिताउने भन्नेबारे सोचेको देखिँदैन । केही भने सेवाकालमै विभिन्न संघसंस्थामा आबद्ध भएका हुन्छन् र सेवानिवृत्तिपछि सक्रिय जीवन बिताइरहेका छन् । विराटनगर महानगरपालिकाका पूर्वप्रमुख रमेशचन्द्र पौडेल आफ्नो कार्यकालमा स्थापित बहिरा स्कुलमा अहिले पनि व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । उहाँ सुन्तलाको उन्नत प्रविधि विकास र प्रचारमा पनि खटिरहनुभएको छ ।

सेवानिवृत्तिपछि आफ्ना राष्ट्रसेवकहरूले कसरी सक्रिय जीवन बिताउने भन्नेबारे सरकारसहित रोजगारदाताहरू मौनजस्तै छन् । निश्चित अवधि पुगेपछि सेवासुविधाको पोको थमाएर राष्ट्रसेवकलाई बिदा गरिने सरकारी नियमकै कारण पनि बहुसंख्यक सेवानिवृत्तहरू निष्क्रिय जीवन बिताउन बाध्य छन् । विभिन्न निकाय वा क्षेत्रमा विषयविज्ञ भएर राष्ट्रको सेवा गरेकाहरू निवृत्तिपछि निष्क्रिय रहनु भनेको उनीहरूले पाएको ज्ञान र सीपमा खिया लाग्दै जानु हो ।

सेवाकालमा आफूले आर्जन गरेको ज्ञान र सीपलाई समाजोपयोगी बनाउन सकेका छैनन् अधिकांश सेवानिवृत्तहरूले । सेवावधिमा मर्यादित भएर काम गरेका शिक्षक लगायतका राष्ट्रसेवकहरूको निष्क्रिय जीवनशैली घरपरिवारका लागि मात्र हैन, समाजकै लागि अनुत्पादक बन्ने गरेको छ । शिक्षक भनेको विद्यार्थीलाई लेख्न–पढ्न सिकाउने व्यक्ति मात्र हैन । विद्यार्थीको जीवन बदल्न सक्ने तथा व्यक्ति र समाज विकासको संवाहक बन्न सक्ने शिक्षकहरूको ज्ञान र सीप सेवानिवृत्तिपछि बहुजनहिताय बन्न सक्छ ।

लोकसेवा अर्थात् लोकको सेवा गर्ने महान् उद्देश्यका साथ विद्यालय तथा सरकारी सेवामा प्रवेश गरेका अधिकांशले लोकलाई बिर्सने गरेका छन् । सेवानिवृत्तिपछि निष्क्रिय जीवन बिताउने कतिपय घरपरिवारभित्रै एक्लोपनको सिकार भएका छन् । यस्ता व्यक्तिहरू विभिन्न रोग र मनोरोगले ग्रस्त हुने गरेका छन् । कतिपयलाई अल्जाइमर (विस्मृति) हुने अध्ययन–अनुसन्धानले देखाएको छ । घरपरिवारसँग घुलमिल हुन नसक्ने कतिपय वृद्धाश्रमको शरणमा पर्ने गरेका छन् भने कतिपय बेपत्तै हुने गरेका छन् ।

सेवानिवृत्तिपछि पनि स्वस्थ जीवनशैली अपनाई सक्रिय जीवन बिताउन सकिन्छ भन्ने विषयमा विकसित मुलुकहरू संवेदनशील छन्, सोहीअनुरूपको नीतिनिर्माण गर्दै आएका छन् । विभिन्न क्षेत्रमा अनुभव सँगालेका सेवानिवृत्तहरूमध्ये कोही अध्ययन–अनुसन्धानमा जुट्ने गरेका छन्, कोही समाजसेवामा लागेर सक्रिय जीवन बिताइरहेका छन् । राजनीतिको उच्च तहमा पुगेकाहरू क्लबमार्फत सक्रिय रहने गरेका छन् ।

पूर्वराष्ट्रपतिहरूको क्लबमा आबद्ध अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले केही महिनाअघि जो बाइडेनका लागि मतदातासँग मत माग्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएको थियो । कतिपय मुलुकमा राजनीतिको उपल्लो तहमा पुगेकाहरूले सेवानिवृत्तिपछि थिंक ट्यांकका रूपमा सरकार र समाजलाई सहयोग गरिरहेको अध्ययन–अनुसन्धानले देखाएको छ । यस्ता थिंक ट्यांकहरूको अनुभव, ज्ञान र सीपलाई कार्यान्वयन गर्न राजनीतिज्ञहरू लागिपरेकाले पनि त्यहाँ राजनीतिले स्थिरता पाएको हुन सक्छ ।

यस्तै, दक्षिण कोरियामा सेवानिवृत्तिपछि उच्च शिक्षा हासिल गर्नेहरूको संख्या बढ्दै गएपछि अधिकांश विश्वविद्यालयले सन्ध्याकालीन कक्षा सुरु गरेका छन् । तर, हामीकहाँ यस्तो अभ्यासको पूर्णतया कमी छ । विशेष गरी राजनीतिकर्मीहरूमा कहिल्यै निवृत्त नहुने प्रवृत्ति झाँगिँदै गएको छ, जसले अन्ततः समाज र देशलाई अस्थिरतातिर धकेलिरहेको छ । यसैले नेपाली राजनीतिकर्मीहरूको जीवनशैली अनुकरणीय बन्न सकेको छैन । अझ कतिपयलाई त बाँचुन्जेल जनताको करबाट भरणपोषण गर्नुपर्ने नियम बनाएका छन् नीतिनिर्माताहरूले ।

यस्तै कतिपय कारणले राजनीतिकर्मीहरूप्रति आम वितृष्णा चुलिँदै गएको छ । सेवानिवृत्तिपछिको जीवनलाई सक्रिय बनाउन सकिन्छ भन्ने उदाहरण पेस गरेका विकसित मुलुकहरूको असल अभ्यास हाम्रा लागि पनि अनुकरणीय बन्न सक्छ । यसका लागि सेवानिवृत्तहरू स्वयंले पनि सक्रिय जीवनशैली अपनाई घरपरिवार र समाजका लागि प्रेरणादायी भूमिका निर्वाह गर्न जरुरी छ । तिनले एकल वा सामूहिक रूपमा सामाजिक कार्य गर्न सक्छन् ।

विभिन्न तहका सरकारमा आबद्ध राजनीतिकर्मीहरूले विकास–निर्माणका कामसँगै सामाजिक कार्यमा पनि चासो–चिन्ता लिन जरुरी छ । आफ्नो कार्यकालमा सुरु गरिएका सामाजिक कार्यलाई निरन्तरता दिन राजनीतिकर्मीहरू सहयोगी बन्न सके सेवानिवृत्त जीवनलाई उत्पादनमूलक बनाउन अरूहरू पनि अभिप्रेरित हुन्छन् । यसबाट एकातिर समाज र देशमा सन्तुलित विकासको बीजारोपण हुन्छ भने, अर्कातिर सेवानिवृत्तिपछि पनि सक्रिय भइरहनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह हुन्छ ।

प्रकाशित : पुस १७, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

सनातन धर्ममा लगाइने आक्षेपहरूको विवेचना

मन्त्रहरूको निर्वचन प्रकरणबाट अलग गरेर गर्नु हुँदैन, प्रकरणअनुसार नै गर्नुपर्छ ।
आमोदवर्धन कौण्डिन्न्यायन

सैनिक र आर्थिक बल बढाएर धेरै कमजोर आफ्ना धार्मिक–सांस्कृतिक पक्षलाई पनि त्यस बलका आधारमा भूमण्डलव्यापी रूपमा स्थापित गर्न चाहने पश्चिमाहरूले विविध षड्यन्त्र गरी घुसपैठ गर्नाले हाम्रो राजनीति, अर्थनीति, समाजनीति, शिक्षानीति, धर्मनीति र जीवनपद्धति पनि दूषित हुँदै जान थालेको छ ।

पश्चिमा शिक्षादीक्षा, प्रलोभन र विभीषिकाबाट प्रभावित हाम्रा कथित बुद्धिजीवीहरू पनि विपन्नतावश वा लोभवश वा भयवश वा नजानेर–नबुझेर त्यसै हाहामा पनि पश्चिमाहरूका अरौटे–भरौटे बन्दै हाम्रा मूल वैदिक विचार र व्यवस्थाहरूको अयथार्थ रूपमा उल्लेख गरेर तिनको अनादर, उपहास र उन्मूलन गर्नतिर प्रवृत्त भैरहेका छन् ।

सार्वजनिक सञ्चारमाध्यमहरूमा वेद, स्मृति, पुराण इत्यादि हाम्रा शास्त्रका नाम लिएर कुरा गरे पनि ती प्रायः त्यस्तै व्यक्तिहरूबाट भ्रमात्मक रूपमा प्रस्तुत हुने गरेका छन् । तिनमा कुनै स्थापित प्रामाणिक ग्रन्थका प्रसङ्गका मूल वाक्यका र त्यसका स्थलका उल्लेखहरू हुँदैनन् । यही दैनिकमा गत मंसिर ६ गते शनिबार ‘वर्णव्यवस्था : योनिमाथिको अंकुश’ शीर्षकमा प्रकाशित सुजित मैनालीको लेख यसकै उदाहरण हो । कथञ्चित् यस्तो भ्रमात्मक प्रस्तुतिका विरुद्ध वस्तुस्थितिको प्रकाशक कुनै रचना ती सार्वजनिक सञ्चारमाध्यममा प्रकाशनार्थ पठाइयो भने तिनलाई स्थानै प्राप्त हुन सक्तैन । कथञ्चित् स्थान प्राप्त भैहाल्यो भने पनि त्यसमा सम्पादनका नाममा अन्यायपूर्ण काटछाँट गर्ने, मुख्य प्रमाणवचन र तिनका स्थलनिर्देशहरू नै उडाइदिने काम पनि गर्ने गरिन्छ । तथापि यहाँ हाम्रा धर्मसंस्कृतिमा लगाइने गरेका दुइ–तीनोटा आक्षेपहरूको सङ्क्षिप्त विवेचना गर्न खोजिएको छ ।

वेद र वेदको अर्थ

वेद भारतवर्षको अत्यन्त प्राचीन, सुव्यवस्थित र निश्चित वाङ्मय हो । वेद परमेश्वरको शाश्वत वाणी मानिन्छ । ऋषिहरू मन्त्रद्रष्टा मात्र हुन् । मनुस्मृति इत्यादि स्मृतिहरू भने वेदमा विधान गरिएका र वेदका अनुकूल तथा अविरोधी विषयका प्रतिपादक ग्रन्थका रूपमा मान्य छन् । श्रुति वेद) को अनुगामी हुनु स्मृतिको मुख्य लक्षण हो । पुराण–रामायण–महाभारतहरू पनि वेदको उपबृंहण व्याख्या, स्पष्टीकरण आदिद्वारा पुष्टि) गर्न रचिएका हुन् । यिनै श्रुति–स्मृति–पुराणहरू नै वैदिक सनातन वर्णाश्रम धर्मका शास्त्र हुन् ।

वेदादिशास्त्र भनेको मान्छेलाई उसको जन्मजात आहार–निद्रादि पशुसमान चेष्टामा सीमित प्रवृत्तिबाट उद्धार गरी परम कल्याणमय महान् उद्देश्यप्रति अभिमुख गराएर तदनुकूल प्रवृत्तिमा संलग्न हुन र साधनाको मार्गमा अगाडि बढ्न प्रेरणा गर्ने र बाटो देखाउने तथा लोककल्याणका लागि सुव्यवस्था गर्ने, मान्छेबाट हुने त्रुटिबाट मुक्त परम ज्योति हो । शास्त्र भनेको व्यापक प्रयोगविषय भएको शाश्वत नियम हो भने कुनै शासकले वा शासकसमूहले बनाएका संविधान–विधि–नियमहरू भनेका शक्तिसन्तुलन र परिस्थितिका आधारमा बन्ने–बनाइने तात्कालिक सीमित प्रयोगविषय हुने नियम मात्र हुन् भन्नेमा पनि विशेष ध्यान दिई सम्बद्ध विषयको विवेचन गर्नुपर्छ ।

वेदका वाक्यहरूको अर्थ प्रकरणको विपरीत एकदेशी गर्नु हुँदैन । यस विषयमा निरुक्तकार यास्कले झन्डै तीन हजार वर्षअगि नै ‘न तु पृथक्त्वेन मन्त्रा निर्वक्तव्याः प्रकरणश एव तु निर्वक्तव्याः’ १३।१२) (मन्त्रहरूको निर्वचन प्रकरणबाट अलग गरेर गर्नु हुँदैन, प्रकरणअनुसार नै गर्नुपर्छ’ इत्यादि भनी वेदको अर्थ बुझ्न खोज्नेहरूलाई सतर्क हुन शिक्षा दिएका छन् । साथै उनले शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी छओटा वेदाङ्गका आधारमा मात्रै अहिलेका मान्छेले वेदको अर्थ बुझ्न सक्ने पनि बताएका छन् निरुक्त १।६।५) । तसर्थ स्कन्दस्वामी, वेङ्कटमाधव, सायण इत्यादि प्राचीन आचार्यहरूले गरेका मन्त्रका अर्थहरूलाई उपर्युक्त वेदाङ्गहरूका आधारमा समेत बुझ्ने प्रयास गर्नुपर्छ । आजभोलिका पूर्वाग्रहपीडित र भ्रामक अनुवाद र विवेचनाका भरमा वेदका मन्त्रहरूको मूल्याङ्कन गर्ने मूर्खता विवेकशील व्यक्तिले गर्न हुँदैन ।

ब्राह्मणको कर्तव्य

यी शास्त्रहरूको परिपालन गर्नु ब्राह्मणहरूको विशेष कर्तव्य मानिन्छ । वेदको रक्षा र वेदले बताएको सदाचारको पालन गर्नका लागि नै ब्रह्माजीले ब्राह्मणहरूलाई वेद पढाएर, यज्ञ गराएर तथा दान लिएर समेत जीविका चलाउने अधिकार दिनुभएको हो भन्ने शास्त्रको भनाइ छ बौधायनधर्मसूत्र १।१८।२, याज्ञवल्क्यस्मृति १।१९८) । तसर्थ यस धर्मका अनुयायी ब्राह्मणहरू वेदादिशास्त्रको अध्ययन, बोध, आचरण र प्रचारण गर्नमा विशेष ध्यान दिने गर्छन् ।

शास्त्रमा ब्राह्मणले आजीवन पालन गर्नुपर्ने सदाचरण र तपस्याको विधान पाइन्छ । यसरी तपोमय जीवन व्यतीत गर्नु सामान्य व्यक्तिलाई सम्भव हुँदैन । शिक्षाशास्त्र, व्याकरणशास्त्र, निरुक्तशास्त्र, छन्दःशास्त्र, साहित्य, आयुर्वेद, योग, नीतिशास्त्र, अर्थशास्त्र, तन्त्रशास्त्र इत्यादि अनगिन्ती शास्त्रको उत्तरोत्तर विकास गरेर त्याग–तपस्याका आधारमा लोभ–मोहबाट माथि उठी एकचित्त भएर ब्राह्मणहरूले ती विधामा हजारौँ ग्रन्थ बनाएर छाडेका छन्, जो अहिले पनि उपलब्ध नै छन् र विश्वभरि नै तिनको अध्ययन–अनुसन्धान पनि भइरहेको छ ।

ब्राह्मणवादको चर्चा पनि ब्राह्मणप्रति द्वेष, घृणा र असहिष्णुता बढाउने उद्देश्यले र भ्रमात्मक कुरा फैलाउने भावनाले गरिएको देखिन्छ । त्यसमा प्राच्य समाजमा चरित्रपूर्ण चेतनाको दियो बाल्ने ब्राह्मणवर्गप्रति अनास्था फैलाइदिन सके भ्रष्टता र अज्ञानमा रुमलिएको र शिक्षा, राजनीति र अर्थनीतिका प्रभावले पश्चिमाभिमुख र स्वधर्मविमुख भैसकेको प्राच्य समाजलाई आफ्नो धर्ममा पनि हाकाहाकी राम्ररी नै दीक्षित गर्न सकिएला भन्ठान्ने पश्चिमाहरूका षड्यन्त्रले नै मुख्य रूपमा काम गरेको प्रतीत हुन्छ ।

चातुर्वर्ण्य–समाज

प्रागैतिहासिक कालदेखि नै भारतवर्षमा चातुर्वर्ण्य–समाज चल्दै आएको छ । यस्तो समाज ब्राह्मणले जबर्जस्ती बनाएको हैन । आफ्ना आन्तरिक गुणले गर्दा यो चातुर्वर्ण्य–समाज अनेक घात–प्रतिघातहरूको सामना गर्दै आजसम्म पनि कुनै रूपमा चलिआएकै छ ।

भारतमा आफ्नो उपनिवेश टिकाउन अङ्ग्रेजहरूले पनि भारतवर्षीय यस समाजमा आन्तरिक फुट पैदा गरी चार वर्णहरूका बीचमा परस्परमा विरोध गराउन धेरै षड्यन्त्र गरेका थिए । उनीहरूले चलाएका शिक्षाप्रणाली र प्रायोजित गरेका लेखकहरूले भारतवर्षीय चातुर्वर्ण्य–समाजमा परस्पर विरोध चर्काउन काम गरेको देखिन्छ । जुनसुकै समाजलाई पनि विविध जनशक्तिको आवश्यकता पर्छ । चार वर्णको सृष्टि धार्मिक–सामाजिक कार्यविभाजनलाई सुव्यवस्थित रूपमा अघि बढाउन र स्थिर गर्नसमेत अनादि कालदेखि गरिएको हो ।

वैदिक धर्म र महिला

कतिपय व्यक्तिले ‘वैदिक धर्मका सबैजसो नियमले महिलालाई नियन्त्रण गर्ने र पुरुषलाई चाहिँ स्वतन्त्र छाड्ने गरेको, महिलाले परपुरुषसँग सम्बन्ध राखे ऊ चरित्रहीन हुने, तर पुरुषले परस्त्रीसँग सम्बन्ध राखे त्यस्तो नमानिने’ भन्ठानेको देखिन्छ । धर्मशास्त्रमा पुरुष र महिला दुवैलाई अनुशासनमा राख्ने व्यवस्था छ ।

तसर्थ धर्मशास्त्रले पुरुषलाई पनि छुट दिएको छैन । पुरुषलाई सदाचारी वा चरित्रवान् बनाउन धेरै बन्धन वा नियम…हरूको व्यवस्था धर्मशास्त्रले गरेको छ, जसको चर्चा त्यति धेरै गरिएको देखिँदैन । पुरुष व्यभिचारी परस्त्रीगमन गर्ने) खालको नभएमा महिला व्यभिचारिणी पर…पुरुष…सित सम्पर्क गर्ने खालकी) हुनै नसक्ने कुरा राजा अश्वपतिको भनाइका रूपमा आएको ‘मेरा देशमा चोर, कन्जुस, जँड्याहा द्विजाति), अग्निको आधान नगरेको द्विजाति), अविद्वान् विद्या नपढेको) र परस्त्रीगामी कोही पनि छैन, अनि व्यभिचारिणी स्त्री कहाँबाट होस् ?’ भन्ने छान्दोग्योपनिषद् (५।११।५) का कुराबाट पनि स्पष्ट बुझिन्छ—

न मे स्तेनो जनपदे न कदर्यो न मद्यपः ।

नाऽनाहिताग्निर्नाऽविद्वान् न स्वैरी स्वैरिणी कुतः ।।

जसरी स्त्रीका निम्ति पतिव्रता धर्मको महिमा शास्त्रमा धेरै बताइएको छ, त्यसरी नै पुरुषका निम्ति पनि कन्यादूषण गर्ने र परस्त्री…गमन गर्ने कार्यको अत्यन्त निन्दा गरेर तथा त्यसो गर्दा कडा दण्ड दिने व्यवस्था गरेर समेत ब्रह्मचर्यमा बस्न वा एकपत्नी…व्रतमा रहन कडा निर्देश दिइएको छ । आवश्यकता र औचित्य हेरेर धर्मशास्त्रले स्त्री…प्रति…भन्दा पुरुष…प्रति बढी कठोरता अपनाएको कुराको चर्चा भने त्यति गरिएको देखिँदैन ।पुरुष…लाई गम्भीर अपराधमा मृत्युदण्डसम्म दिने व्यवस्था धर्मशास्त्रले गरेको छ । उस्तै पापकर्म गर्दा स्त्रीलाई कम पाप लाग्ने तर पुरुष…लाई भने बढी पाप लाग्ने कुरा…समेत शास्त्रमा पाइन्छ । उपर्युक्त र अन्य धेरै कुराको समेत विचार गर्दा सबैको परम कल्याण चाहने ऋषि…मुनि…हरू…द्वारा सूक्ष्म…भन्दा सूक्ष्म पक्षको समेत विचार गरेर बताइएका आचार…संहिताका लोक…कल्याण…कारी भावना…लाई आकलन गर्न नसकेर तथा केवल भौतिकता…वादी दृष्टि…कोण मात्रै राखेर धर्मशास्त्रको आलोचना गर्न खोज्नु युक्तियुक्त कार्य हैन ।

उपसंहार

हाम्रा मूल धर्मशास्त्रका कुरा सामान्य मनुष्यबाट आफ्नो क्षुद्र स्वार्थ सिद्ध गर्न लेखिएका हैनन्, तत्त्वदर्शी ऋषिमुनिबाट लोकको शाश्वत वस्तुस्थिति प्रतिविम्बित हुने गरेर लोककल्याणवृद्धिका लागि लेखिएका हुन् । धर्मशास्त्र बनाउने ऋषि–मुनिहरू आजभोलिका राग, द्वेष, लोभ, मोह, काम, क्रोध इत्यादिले ग्रस्त स्वार्थी मानवजस्ता नभएर तपस्वी सर्वहितैषी र लोककल्याणकारी लोकोत्तर दिव्य पुरुष हुन् ।

कणाद मुनिले वैशेषिक दर्शनमा ‘यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्मः’ (१।१।२) भनेर धर्मलाई सांसारिक उन्नति र मोक्षको सिद्धि गराउने तत्त्वका रूपमा चिनाएकोप्रति पनि सबैको ध्यान जानुपर्छ । धर्मका सम्बन्धमा कुरा गर्दा यसलाई बिर्सन हुँदैन । गम्भीर अध्ययन–मननबाट मात्र धर्मशास्त्रमा अन्तर्निहित लोककल्याणकारी भावना बुझ्न सकिन्छ । वैदिक धर्मशास्त्रलाई हल्का रूपमा लिएर, मूल ग्रन्थहरू पढ्दै नपढी तात्पर्य बुझ्दै नबुझी भ्रममा पर्न अथवा भ्रम फैलने गरेर लेख्न र प्रचार गर्न उचित हुँदैन ।

प्रकाशित : पुस १७, २०७७ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×