१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेपालको उच्च शिक्षा

नेपालमा कुल विद्यार्थीमध्ये, विगत पाँच वर्षको औसतमा, विश्वविद्यालय शिक्षाका लागि भर्ना हुने ३ लाख ५०,००० माथि छन् । तीमध्ये करिब २० प्रतिशत उत्तीर्ण हुन्छन् र अझै उच्च शिक्षा लिने जम्मा २५,००० जना हाराहारी छन् ।

नेपालको उच्च शिक्षा

त्यसमा पनि विज्ञान–प्रविधि विषय लिने त झन् ५,००० जनाको हाराहारीमा मात्रै रहेको पछिल्लो तथ्यांकले देखाउँछ । त्यो भनेको हाम्रोजस्तो मध्यम आयस्रोत भएको अल्पविकसित देशमा निकै कम हो ।माध्यमिक विद्यालय शिक्षामा विगत दुई–तीन दशकमा व्यापक सुधार भएको देखिए पनि उच्च शिक्षा सन्तोषजनक मात्रै छ । उच्च शिक्षाका लागि बिदेसिने प्रवृत्ति तथा रोजगारीमूलक शिक्षाको कमी नै यसका मुख्य कारक हुन् । नेपाली विद्यार्थीमध्ये कतिपय उच्च शिक्षाकै लागि बिदेसिन्छन् भने कैयौंले त्यसैका नाममा रोजगारका लागि देश छोड्ने गर्छन् । हाल उच्च शिक्षा– जस्तै : स्नातकपछि–का लागि बिदेसिनेको चाप बढेको छ । त्यसमा पनि विरलैले आफ्नो पढाइ पूरा गरेको पाइन्छ । त्यस्तामध्ये अधिकांश त रोजगारीतिरै लागेका हुन्छन् ।

उच्च शिक्षाका लागि विदेश किन ?

विदेशमा उच्च शिक्षाका लागि मौका तथा त्यससँगै आर्थिक रूपमा हुने फाइदा र भविष्यमा आफ्नो परिवारको सम्पन्नता जोडिएको हुन्छ । विदेशी विश्वविद्यालयले दिने अनुदान, छात्रवृत्ति तथा सुविधा र विदेशको विकासको मोहमा रमाउने प्रवृत्ति यसमा मुख्य रहेको नकार्न सकिँदैन । नेपालमा दस वर्षमा कमाएजति रकम विदेशमा दुई–तीन वर्षको अध्ययन गर्दा अनुदान तथा अनुसन्धानमूलक अध्ययनबाट प्राप्त हुन्छ । अर्को कुरा, नेपालको पाठ्यक्रम पनि रोजगारदाताहरूको आवश्यकताअनुकूल छैन । कम तलबमा अनुभवी र दक्ष कामदार चाहिने यहाँको रोजगारी बजारले हालसालै विद्यावारिधि गरेको कर्मचारीको वृत्तिविकासमा खासै खर्च गर्न चाहँदैन, कामको परिणाम भने राम्रो चाहन्छ । यस्तैयस्तै कारणहरूले गर्दा धेरै विद्यार्थी नचाहँदा–नचाहँदै बिदेसिन पुग्छन् । पढाइ सकेर देश फर्कने सोच भएकाहरू पनि पढ्दाको आर्थिक भार, लोभलाग्दो विदेशी रोजगारी र परिवारको भविष्यको चिन्ताले फर्कने सोच त्याग्ने गर्छन् ।

नेपालको उच्च शिक्षा व्यवहारोपयोगी छ त ?

सम्पूर्ण उच्च शिक्षा–सम्भावित विद्यार्थीको चाहना विदेश गएर पढ्ने अथवा बाहिरको रमझमको स्वाद चाख्दै, कमाउँदै पढ्ने भन्ने हुँदैन । कतिपय विद्यार्थी औपचारिक शिक्षा नसकिउन्जेल लगनशील भएर पढाइप्रति ध्यान दिने पनि छन् । तर त्यस्ता विद्यार्थीहरू जसले स्वदेशमै औपचारिक शिक्षा लिइरहेका छन्, उनीहरूले कतिसम्म व्यावहारिक ज्ञान अर्जन गर्न पाउँछन् त ? नेपालको सैद्धान्तिक पढाइको स्तर विकसित देशहरूका तुलनामा कम छैन । अझ भन्ने हो भने, विकसित कहलिएका राष्ट्रहरूको भन्दा राम्रो हुन सक्छ यहाँको पाठ्यक्रम । तर, प्रयोगात्मक ज्ञानमा अलि पिछडिएको छ । पाठ्यक्रममा प्रयोगात्मक विषयहरू नभएका हैनन् तर स्रोतसाधनको कमीले गर्दा ती विषयहरू पनि सैद्धान्तिकसरह पढाइने र जाँच पनि लिखित नै हुने परिपाटी कायमै छ । यसले गर्दा एउटा कुशल विद्यार्थी औपचारिक शिक्षा सक्नेबित्तिकै रोजगारी बजारमा सजिलै मिश्रित हुन सक्दैन । अरू रोजगारीभन्दा विज्ञान–प्रविधि क्षेत्रसँग सम्बन्धित रोजगारीहरू एकदमै प्रयोगात्मक हुने हुनाले, काम सुरु हुनासाथ योजना बनाउने, कार्यसम्पादन गर्ने र निर्णय लिनेजस्ता गहन जिम्मेवारीहरू एउटा युवाकाँधमा आइपर्छन् । यस्ता जिम्मेवारीहरू वहन गर्न र निर्णय लिन पाठ्यक्रममा रहेका विषयहरूले निकै कम सहयोग गर्छन् । व्यावहारिक विषय र त्यसको अधिकतम प्रयोग विद्यार्थीकालमा हुन सके रोजगारीका क्रममा अवश्य पनि मद्दत हुन्छ ।

नेपालको उच्च शिक्षा तथा अध्ययन–अनुसन्धान

नेपालको उच्च शिक्षा सन्तोषजनक भए पनि शिक्षाको गुणस्तरमा व्यापक सुधार हुन सकेको छैन । उदाहरणका लागि, दुई दशकयता हाम्रा छिमेकी मुलुकहरूमा उच्च शिक्षा तथा अध्ययन–अनुसन्धानमा व्यापक लगानी गरिएको छ, जसबाट उच्च शिक्षाको गुणस्तरमा परिवर्तन आएको छ । यसले गर्दा त्यता उच्च शिक्षाका लागि बिदेसिने प्रवृत्तिमा ह्रास आउँदै गएको छ । नेपाली विद्यार्थीहरूमा स्वदेशी उच्च शिक्षाप्रति लगाव नहुनुमा महँगो शुल्कले पनि काम गरेको छ । रोजगारीमूलक नहुनु, विदेशमा हुने राज्यको अनुदान र सुविधासँग तुल्य नहुनु, अध्ययन–अनुसन्धानका लागि आधुनिक प्रयोगशालाको कमी हुनुले पनि यसमा भूमिका खेलेको छ । रोजगारीमूलक, आर्थिक रूपमा प्रोत्साहित हुने खालको, देशको प्राथमिकतालाई माथि राखी दिगो विकास तथा स्थानीय औद्योगीकरणमा टेवा पुग्ने किसिमको उच्च शिक्षा नेपाललाई सुहाउँदो हुन्छ ।

उच्च शिक्षामा पनि प्राविधिक शिक्षाको त झनै महत्त्वपूर्ण भूमिका छ । कुनै पनि देशको विकास तथा उन्नति त्यहाँको विज्ञान–प्रविधिको समुन्नति र अनुसन्धानको स्तरमा भर पर्छ । विकसित राष्ट्रहरूले आफ्नो देशको प्राथमिकताको विषय निर्क्योल गरी त्यससम्बन्धी अध्ययन–अनुसन्धानमा जोड दिने गर्छन् । नेपालले पनि यो अभ्यास अनुसरण गर्नु जरुरी छ । ऊर्जाले भरिएका अनुसन्धानकर्मी युवालाई, स्वदेशमै केही योगदान दिन सक्ने समयमा, विदेश जान बाध्य पार्दा आफ्नै अहित हुन्छ । त्यस्तो अनुसन्धानकर्मी पछि फर्केर आए पनि उसको अधबैंसे अनुभवबाट देशलाई त्यति फाइदा हुँदैन जति ऊर्जाशील युवा उमेरमा दिन सक्छ । देश विकासको मूल आधार भनेकै युवाहरू हुन् । त्यसमा पनि विज्ञान–प्रविधिमा उच्च शिक्षा हासिल गरेका युवाहरू । देशको भविष्य निर्धारण गर्ने यो पुस्ताका लागि देशभित्रै अध्ययन–अध्यापनको अवसर उपलब्ध गराउन सके विकासले गति लिन सक्छ । प्राथमिकतामा आधारित स्वदेशी उच्च शिक्षाले आजको व्यक्तिगत आर्थिक उपलब्धि तथा सम्पन्नताभन्दा भोलिको देशको आर्थिक विकास र देशको सम्पन्नताको निर्धारण गर्नेछ । हामी युवाहरूले पनि आफ्नो देशको प्राथमिकताको विषय र भोलिको सम्भावनालाई केलाउँदै यहीँ विदेशी अनुसन्धानको अनुकरण गर्नु जरुरी छ । त्यसका लागि व्यवहारोपयोगी शिक्षा, उचित छात्रवृत्ति, सस्तोमा विद्यार्थी ऋण र रोजगारीको सुनिश्चितता आजको आवश्यकता हो ।

(पाण्डे र भट्टराई इन्जिनियर हुन् ।)

प्रकाशित : पुस ९, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?