२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘स्पिरिचुआलिटी’का भ्रम

आध्यात्मिक बन्न आफ्ना जिम्मेवारी छाड्नुपर्दैन, न त कुनै ठूलो पहाड नै फुटाउनुपर्छ ।
लीना दुवाडी

कोभिड–१९ का कारण सामाजिक दूरी कायम गर्दै भएको चिडियाखाना भ्रमणमा सर्पका प्रजाति अवलोकन गर्दैगर्दा एक जना दाइले भने, ‘यता नाग हेर्न आऊ । तिमी त पूजा गर्ने मान्छे !’मेरो मनमा उनको कुरा चस्स बिझ्यो । यो लेख लेख्नुका केही कारणमध्ये सायद त्यो घटना पनि एक हो ।

‘स्पिरिचुआलिटी’का भ्रम

म आफू हिन्दु भएकामा गर्व गर्छु, तर दुःखद नै भनौं, मैले आजसम्म यथार्थ रीतले पूजाआजा गरेकी छैन । चाडपर्वमा हुने धार्मिक गतिविधिमा सहभागी हुन्छु । तर मलाई कुन भगवान‌्को पूजा कसरी र कहिले गर्ने, खासै जानकारी छैन । मानिसहरूले नित्यकर्मजस्तै दैनिक पूजाआजा गरेको पनि देख्छु । तर न मलाई त्यस्तो नित्य पूजाआजाको विधि थाहा छ, न त मैले त्यसबारे कहिल्यै सिक्ने कोसिस नै गरें । कैयौं मन्दिर भ्रमण गर्दा मैले पूजा गरिनँ, तर देवीदेवताका ती निर्जीव मूर्तिप्रति सम्मान व्यक्त गरेकी छु । उनीहरूको सम्मानमा जम्मा हुने सयौं मान्छेको भावनाको कदर गर्दै स्वानुभूतिमा रमाएकी छु ।

यस हिसाबले हेर्दा सामाजिक परिभाषामा म पक्कै पनि धार्मिक देखिन्नँ होला । यद्यपि म आफूलाई पूर्ण रूपमा आध्यात्मिक र धार्मिक मान्छु, किनकि म विज्ञानमा विश्वास गर्छु । सायद तपाईंलाई अनौठो लाग्यो, ‘अध्यात्ममा रुचि राख्ने, पूजाआजा नगर्ने, व्रत नबस्ने तर आफूलाई आध्यात्मिक र धार्मिक भन्ने अनि विज्ञानमा विश्वास गर्ने भएर आध्यात्मिक र धार्मिक हुँ भन्ने । यो कसरी सम्भव छ ?’

सानैमा आध्यात्मिक जीवनशैलीसँग परिचित हुन पुगें म । मैले ज्ञान र ध्यानबारे सिक्न सुरु गरेकी हुँ, दस वर्षकै उमेरदेखि । त्यस बेलाको कलिलो दिमागले कमै बुझे पनि मभित्र अध्यात्मको बीउ पसिसकेको थियो । पछि दुई वर्ष मैले विज्ञान र अध्यात्मको समर्पित विद्यार्थी भएर बिताएँ । एकसाथ दुई अलग धारको पढाइका कारण पनि मलाई कहिल्यै अध्यात्म र विज्ञान एकअर्काका परिपूरक होइनन् जस्तो लागेन । मेरो अनुभवमा धर्म, विज्ञान र अध्यात्मको तालमेलबारेको तथ्य स्विकार्न नसक्नु नै आस्तिक र नास्तिकका रूपमा सामाजिक विभाजनको एउटा मुख्य कारण हो ।

करिअर सुरु गर्नुपूर्वका दुई वर्ष म साध्वीजस्तै थिएँ । बिहान तीन बजे उठेर ध्यानमा बस्नु, नित्यकर्मसँगै ईश्वरीय ज्ञान सुन्नु, दिउँसो अध्ययन गर्नु, साँझ फेरि ध्यानमा सहभागी हुनु, सात्त्विक भोजन मात्रै गर्नु मेरो दिनचर्या थियो । त्यो म आफैंले रोजेको बाटो थियो । अध्यात्मले मलाई कुनै पनि सिद्धान्तलाई आँखा चिम्लेर विश्वास गर्न सिकाएन । नियमानुसार मैले अध्यात्मका नीतिहरूलाई प्रयोग गरेर हेरें । जीवनमा सकारात्मक परिवर्तन आएको पाएरै म यस मार्गमा अघि बढें । धर्मले ज्ञान दिन्छ, सही र गलतको परख गर्न सिकाइदिन्छ । अध्यात्मले धर्मलाई सही तरिकाले अपनाउन सिकाउँछ । यसलाई नै ‘आर्ट अफ लिभिङ’ अर्थात् जीवन जिउने कला भनिन्छ ।

विज्ञानको विद्यार्थी भएर पनि होला, मैले अध्यात्मलाई प्रयोगात्मक अनुसन्धानको तरिकाले अपनाएँ । ‘विज्ञान’ को शाब्दिक अर्थ यो पनि भनिएको छ– ‘कुनै एउटा विशिष्ट विषयमा गरिएको व्यवस्थित बुझाइ ।’ यसको मतलब विज्ञानको अर्थ प्रविधि र यसले छोएका पक्षहरूबाट अझ फराकिलो छ । मेरो बुझाइमा धर्म, अध्यात्म र विज्ञानका सिद्धान्तमा त्यति धेरै भिन्नता छैन । फरक यत्ति हो– विज्ञानले बाह्य जगत्‌को अध्ययन गर्छ, धर्म र अध्यात्मले आन्तरिक जगत्‌को।

‘तिमी यो उमेरमै धर्मकर्ममा लागेर किन बिग्रिएकी ?’ एकपटक एक काकाले भनेका थिए । धर्मकर्म, अध्यात्म, समाजसेवा अवकाश जीवन बिताउने माध्यम हो भन्ने हामी ठान्छौं । धर्म र अध्यात्मको प्रयोग त त्यति बेला धेरै हुन्छ, जति बेला हामी जीवनको सबैभन्दा व्यस्त समयमा हुन्छौं । जसरी भौतिकवादले हाम्रो जीवनलाई बाहिरी रूपमा सहज बनाइदिएको छ, त्यसरी नै धर्म र अध्यात्मले जीवनलाई आन्तरिक रूपमा सहज बनाउने गर्छ ।

बाह्य र आन्तरिक जीवनको सन्तुलन कायम गर्न नसक्दा वा गर्न नखोज्दा हामी अहिले पर्याप्त स्रोत, साधन, जानकारी हुँदाहुँदै पनि दुःखी छौं । हामीले आफू आधुनिक विश्वको मानव हुनुमा गर्व त गर्‍यौं, तर विज्ञानका महान् हस्ती आइन्स्टाइनको ‘धर्मबिना विज्ञानको दृष्टि रहन्न र विज्ञानबिना धर्म सग्लो रहँदैन’ भन्ने भनाइलाई सही अर्थमा बुझ्ने प्रयाससम्म गरेनौं । समाजमा व्याप्त कैयौं गलत विश्वास प्रणाली (बिलिफ सिस्टम) का कारण हामीमध्ये धेरै जना धर्म भनेको अव्यावहारिक र अनावश्यक हो भन्ने ठान्छौं । संसारका सबै धार्मिक मान्यताहरू मानवहितकै लागि बनेका हुन् । तर शक्तिको द्वन्द्वले अहिले विभिन्न धर्मका मानिसबीच ठूलो दूरी पैदा गरिदिँदा धर्म संसारमा एउटा समस्याका रूपमा देखा परेको छ । रचनात्मक हिसाबले प्रयोग गर्ने हो भने अध्यात्म विज्ञान र धर्मबीचको सुन्दर साँघु हो ।

एउटा रोचक प्रसंग छ, विश्वचर्चित आध्यात्मिक कोच सिस्टर शिवानीसँगको । उनलाई एक सफल व्यवसायीले सोधेका थिए, ‘सिस्टर, म सांसारिक जीवनदेखि आजित भइसकें । अब म यो सबै छोडेर ज्ञान र ध्यानमा लाग्न चाहन्छु ।’ सिस्टरले सोधिन्, ‘आध्यात्मिक जीवनशैली अपनाउन परिवार, कारोबार किन छोड्नुपर्‍यो र ?’ ती व्यवसायीले भने, ‘अब म यो व्यापारको टेन्सनमा लाग्न चाहन्नँ । मलाई पुग्यो अब ।’

सिस्टरले प्रतिप्रश्न गरिन्, ‘अध्यात्ममा लागेर के गर्नुहुन्छ नि ?’

ती व्यवसायीले जवाफ फर्काए, ‘ज्ञान र ध्यान गर्छु ।’

प्रश्न फेरि थपियो, ‘ज्ञान र ध्यान दिनमा कति बेर, अनि कति दिन ?’

व्यापारी आश्चर्यमा परे र सोधे, ‘अनि, कसरी लाग्ने त अध्यात्ममा ?’

सिस्टर शिवानीले भनिन्, ’तपाईंले गरिरहनुभएको काम, पारिवारिक जिम्मेवारी सबै पूरा गर्नुस् । व्यापार दस सहरमा फैलिएको छ भने बीस सहरमा विस्तार गर्नुस् । तर तपाईंले गर्ने हरेक काम मानवीय मूल्यको आधारमा हुनुपर्छ । तपाईंको कारोबार इमानदारी र नैतिकताको बलमा अगाडि बढ्नुपर्छ ।’

व्यापारीले भने, ‘यो त सम्भव छैन ।’

सिस्टरले भनिन्, ‘त्यसो भए अध्यात्मले काम गर्दैन ।’

आध्यात्मिक बन्न आफ्ना जिम्मेवारी छाड्नुपर्दैन, न त कुनै ठूलो पहाड नै फुटाउनुपर्छ । जसरी शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका लागि स्वस्थ आहार र व्यायामको आवश्यकता पर्छ, त्यसरी नै मानसिक र भावनात्मक स्वास्थ्यका लागि आध्यात्मिक पोषणको आवश्यकता पर्छ । यसका लागि दैनिक आधा घण्टा पर्याप्त छ । बढ्दो मानसिक तनाव र अस्थिरताका बीच सन् १९७९ मा अमेरिकी प्रोफेसर जोन कबाटले ध्यानमा आधारित तनाव व्यवस्थापन पद्धतिको सुरुआत गरे । अहिले संसारभरि ‘माइन्डफुलनेस’ अर्थात् ध्यान शारीरिक र मानसिक दुवै उपचारमा प्रभावकारी साबित भएको छ । माइन्डफुलनेस मेडिटेसनले आत्माको आन्तरिक शक्तिलाई जागृत अवस्थामा राख्छ । मानव आत्मामा निहित अथाह ऊर्जालाई व्यावहारिक जीवनमा प्रयोग गर्न सिकाउँछ । यो नै आध्यात्मिक जीवनशैली हो ।

पछिल्लो समय ध्यान लोकप्रिय भएसँगै अहिले यसप्रति आम मानिसको चासो बढेको छ । इन्टरनेटमा हजारौं व्यक्तिले मोटिभेसन स्पिकर र लाइफ कोचका रूपमा तनावमुक्त जीवनशैली सिकाइरहेका छन् । यो पनि अध्यात्मकै पाटो हो । अध्यात्म कुनै छुट्टै ग्रहबाट आएको सिद्धान्त होइन । यो हरेक मानिसभित्र रहेको मानवीय गुण र मूल्यको अनुबोध हो । ध्यान भनेको कुनै आसनमा बसी आँखा बन्द गरेर गरिने क्रिया मात्र होइन, ध्यान अर्थात् अटेन्सन । आफूले गर्ने हरेक कार्यलाई माइन्डफुल भएर गर्नु नै ध्यान हो । ध्यान अर्थात् अध्यात्म अपनाउनेबित्तिकै जीवन रातारात परिवर्तन हुने होइन । यसका लागि निरन्तर अभ्यास आवश्यक छ । चौबीस घण्टामा केही मिनेट मात्र भए पनि हामीले आध्यात्मिक अभ्यासलाई प्रयोग गर्न सक्यौं भने त्यसले ‘मेन्टल इम्युनिटी’ अर्थात् मानसिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन ठूलो मद्दत गर्छ ।

प्रकाशित : पुस ९, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?