परम्परामा जेलिएको महिला–मस्तिष्क- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परम्परामा जेलिएको महिला–मस्तिष्क

महिलाहरूलाई विभेद गरिएको छ भन्ने वास्तविकता पुरुषहरूले थाहा नपाएका होइनन् । तर ती मर्यादा बचाउने, परिवार र संस्कृति जोगाउने नाममा महिलालाई दोस्रो दर्जामै राख्न लालायित हुन्छन् ।
सुशीला शर्मा

अभिनेत्री श्वेता खड्काले हालै एक युवकसँग विवाह गरिन् । व्यवसायी र समाजसेवीको समेत परिचय बनाइसकेकी, पढेलेखेकी र सक्षम अनि बालिग महिलाले बिहे गर्नु सामान्य विषय हो तर पहिलो श्रीमान् गुमाएपछिको भएकाले यो बिहे सञ्चारमाध्यममा गसिप बन्यो ।

एकातिर अझै हाम्रो समाज र हाम्रो मानसिकताले एकल महिलाको दोस्रो बिहेलाई पचाउन सकिरहेको छैन भने, अर्कातिर श्वेताले बिहेलगत्तै ‘आफूले सिन्दूर र चुराजस्तै पवित्र तवरले आफ्ना सामाजिक कार्य अघि बढाउने’ आशयका अभिव्यक्ति दिनुले आधुनिक पुस्ता भनिनेहरूको अर्धसामन्ती र अर्धपुँजीवादी दोहोरो चरित्र छर्लंग भएको छ ।

एक्काइसौं शताब्दीकी एक युवा महिला, जो आर्थिक–सामाजिक रूपमा आफैं निर्णय पनि गर्न सक्ने अवस्थाकी छन्, उनले बारम्बार समाजअगाडि सिन्दूर, पोते र चुरा साक्षी राख्दै प्रतिबद्धता गरिरहनु विरोधाभासपूर्ण छ । श्वेताले निर्धक्क रूपले आफ्नो जीवनलाई अगाडि बढाउन सक्छिन् किनकि उनको जिउने पाटो उनकै व्यक्तिगत हो । तर दोस्रो पटक वैवाहिक सम्बन्ध गाँसिरहँदा उनले सिन्दूर र चुराको पवित्र बन्धनलाई साक्षी राख्नु भनेको बिहेसँग जोडिएका महिलासम्बद्ध खास परिधान र प्रतीकहरूसम्बन्धी हिन्दु पितृसत्तात्मक समाजको बन्धनलाई अटुट रूपमा स्वीकार गर्नु हो । महिला या पुरुषले नै पनि आफूलाई थप आकर्षक बनाउन अनेक शृंगार गर्न सक्छन्, तर संस्कृतिको नाउँमा केही शृंगारले शुभ–अशुभकै काम गर्छन् र पतिको मृत्यु हुनेबित्तिकै महिलाले ती शृंगारका वस्तुतिर हेर्न पनि नहुने सामाजिक व्यवहारचाहिँ महिलामाथिको विभेदित हस्तक्षेप हो भनी श्वेताले बुझेकी रहिनछिन् ।

प्राचीन समयमा महिला र पुरुष दुवैले गहना लगाउँथे । विभिन्न मठमन्दिर, गुफामा कुँदिएका मानव आकृतिहरूबाट यो थाहा पाउन सकिन्छ । वैदिक ग्रन्थमा महिलाको सोह्र शृंगारबारे उल्लेख छ । तीमध्ये पनि निधारमा बिन्दी, गलामा मंगलसूत्र, कानमा झुम्का, कपालमा फूल, औंलामा औंठी, नाडीमा चुरा र बाला, हत्केलामा मेहन्दी, शरीरमा अत्तर आदि विवाहित महिलाका आवश्यक गहना हुन् । दुलही हुँदा त यी वस्तु अनिवार्य मानिन्छन् । महिलालाई शक्तिकी खानी पनि भनिने हुँदा शृंगार र गरगहना शक्तिको प्रतीकका रूपमा समेत लगाइने चलन छ । महिलाशक्तिका प्रमुख अंगहरू निधार, गला, औंला, कपाल आदि भएकाले शक्तिको नियन्त्रणका खातिर पनि यस्तो शृंगार गरिएको मान्यता छ ।

शृंगारको परम्परागत भाष्य

वैदिक कालदेखि नै महिलाले गरगहना लगाउने, शृंगार गर्ने चलन थियो । हामीमध्ये अधिकांश यिनै संस्कृतिभित्र रहेर कतिपय शृंगार व्यवस्थामा रमाउँदै आइरहेकै छौं । महिलाले पहिरिने यी शृंगारका साधनबारे वैज्ञानिक तत्त्व पनि मिसिएको छ भन्ने एक लेख (टाइम्स अफ इन्डिया, सन् २०१६) मा शृंगारको वैज्ञानिक पाटोलाई अकुप्रेसरसँग दाँजिएको छ । तर यी पक्षको साँच्चै वैज्ञानिक पाटोबारे चाहिँ पूर्ण रूपमा विश्वस्त हुन सकिँदैन । किनकि पुरुषहरू यी चीजको उपयोग नगरे पनि उत्तिकै स्वस्थ भएर बाँचिरहेकै छन् ।

बिन्दी (टीका) महिलाले निधारमा दुई आँखीभौंबीच लगाउँछन्, जुन ठाउँलाई तेस्रो नेत्र पनि भनिन्छ । दुइटा आँखालाई चन्द्र र सूर्यका रूपमा लिइन्छ जसले विगत र वर्तमानलाई बुझाउँछ । तेस्रो आँखाले भने भविष्यलाई जनाउँछ । अर्थात्, भविष्यप्रति वफादार, सञ्चयी, दूरदर्शी । फुली लाउन नाक छेडेका महिलालाई प्रसव व्यथा कम हुन्छ, दिमागलाई नियन्त्रण गर्न सक्छन् भन्ने चलन छ । हातका बालाहरूले रक्त सञ्चालन नियमित गर्न सहयोग पुर्‍याउँछन्, खुट्टाका औंलामा लगाइने बिच्छीले महिनावारी चक्रमा नियमितता ल्याउँछ तथा प्रजनन अंगलाई ‘रिभाइटलाइज’ गर्छ अनि कान्छी औंलाको औंठीले दिमागको स्नायुकोषलाई ‘एक्टिभेट’ गर्छ रे ! नेकलेस वा मंगलसूत्रले ब्लडप्रेसर नियन्त्रण गर्ने, वेस्टबेन्डले त झन् महिलाको फिगर मेन्टेन गर्ने उल्लेख पनि पाइन्छ ।

धातुका गरगहना लाउने महिलाको समग्र स्वास्थ्य राम्रो हुने, जीवन आत्मविश्वास तथा सहजताका साथ अगाडि बढ्ने हुन्छ रे । शृंगारका साधनहरूले महिलालाई स्वस्थ राख्न सघाउ पुर्‍याइरहेका छन् भने पुरुषहरूले चाहिँ किन यी चीजको उपयोग नगरेका होलान् ? पुरुषहरूले सुन–चाँदीका बाला, सिक्री, औंठीजस्ता गहना लगाउँदै आए पनि तिनले महिलालाई जसरी सोह्र शृंगार, शुभ–अशुभजस्ता मान्यतामा किन जेलिनु नपर्ने ?

महिलाका शृंगार र पहिरनलाई शक्तिको प्रतीक मान्ने अनि जब विवाहित महिला कारणवश आफ्ना लोग्नेबाट बिछोडिन पुग्छिन्, ती शक्तिका स्रोत सबै फुकाल्न लगाएर उनलाई उजाड बनाइदिने मान्यता चरम पितृसत्तात्मक छ । विरहका गीतहरूमा यिनै चुरा–पोते–तिलहरी खोसिएको, जीवन उजाड भएको आदि–इत्यादि हुने गर्छन् । अझ सिन्दूर पुछिएको वेदनाले महिलालाई बाँचुन्जेल रुवाइरहेको हुन्छ । यी पक्षहरूले पुरुषहरूलाई भने त्यही बिछोडपछि खासै बन्धनमा पनि राख्दैनन् र शुभ–अशुभको कुनै संकेत लिएर हिँडिरहनु पनि पर्दैन ।

हालै एक महिलाले आफ्ना पतिको मृत्युपश्चात् टीका र पोते फुकाल्न नमानेको समाचार व्यापक भयो । र, यसलाई महिलाको पक्षमा क्रान्तिकारी कदमजस्तो पनि ठानियो । जीवित हुँदा पति–पत्नी एकअर्कालाई प्रेम गर्थे । विडम्बना, दुईमध्ये एकको मृत्यु भइदिन्छ । हिन्दु समाजमा पतिको मृत्युसँग महिलाका लागि उनको साथको मात्र मृत्यु हुँदैन, चुरा, टीका, सिन्दूर, पोते, शुभ मानिने राता परिधान पनि छुट्छन् । पतिको देहान्तपछि, पत्नीले विवाहित देखिन प्रयोग गरेका गरगहना, सिन्दूर, पोते आदि सम्पूर्ण रूपमा परित्याग गर्नुपर्ने हुन्छ । एकातिर पतिवियोगको पीडा, त्यसमाथि परिधान त्यागेर विरही देखिनैपर्ने बाध्यता । यस्तो संस्कार हाम्रो मनमस्तिष्कमा जड बनेर बसिसकेको छ । महिलाहरूले आफूलाई यस्ता संस्कारमा ढालिसकेकैले पुरुषहरूमा पनि उनीहरूको खुसी आफ्ना नाममा लगाएका सिन्दूर–पोते नै हो भन्ने छाप परेको हुन सक्छ । सान्त्वना दिने क्रममा कोही पुरुषले आफ्नी श्रीमतीलाई उनको खुसी सिन्दूर, चुरा, पोते पनि हुन् भन्ठानेर ती चीज लगाइराख्न भनेका पनि हुन सक्लान् । तर समाजलाई पच्दैन । पतिको मृत्युपछि पनि महिलाले आफूलाई सिँगार्ने या नसिँगार्ने, नितान्त व्यक्तिगत रुचिको विषय हुनुपर्थ्यो, यदि समाजमा मानवीय मूल्यमान्यता, छनोटको स्वतन्त्रतालाई पनि महत्त्व दिने गरिएको भए । मृत्यु भइसकेका त भई नै हाले तर बिछोडिएकाहरू, विशेष गरी महिलालाई उनको जीवन पुनः अघि बढाउन, उज्यालोतिर लैजान, भरपूर बाँच्न समाज र परिवारले सहस्र माया र प्रेम दिनुपर्छ । पतिबाट छुट्टिएर एकल जीवन बिताइरहेका, बालबच्चा आफूसँग राखेर जीवन डोर्‍याइरहेका महिलाका हकमा पनि यस्तै व्यवहार गर्नुपर्छ । तर परिवार र समाज एकल महिलामैत्री बन्न अझै कैयौं वर्ष लाग्ने देखिन्छ ।

यस्ता विभेदित सामाजिक–सांस्कृतिक मूल्यमान्यतासँग निडर हुँदै सकारात्मक र स्वतन्त्र रूपले बाँच्ने साहस पनि एकल महिलाले गर्नैपर्ने हुन्छ । मृत्युशोकपछिका संस्कार पनि पुरानै छन्, एक्कासि महिलाका परिधानमै उजाडता ल्याउनुपर्छ भन्ने खालका । महिलाले दोस्रो बिहे गर्ने निर्णय गर्दा या पतिको मृत्युपश्चात्, पतिका नाममा लगाइएका शृंगार उनको सम्झनामा लगाइराख्छु भन्दा पनि क्रान्ति मानिने अवस्था छ । हजारौं वर्षदेखिको पितृसत्तात्मक समाज व्यवस्थाका हाँगाबिँगाहरू नै महिला अविकासका प्रमुख कारक हुन् । समाज विकासका क्रममा जब महिलाहरू पनि सचेत हुन थाले, तब आफू पुरुषभन्दा तल्लो स्तरका रूपमा परिभाषित हुँदै आएको वास्तविकता महसुस गर्न थाले अनि शक्ति र सामर्थ्यको लेखाजोखा पनि गर्न थाले । सीमित नै सही, महिलाले पनि पुरुषसरह कमाउन, उस्तै पेसामा पनि सफलता हासिल गर्न थाले । आफू र पुरुषमा केही शारीरिक भिन्नता मात्रै रहेछ, अरू सब त समाजले बनाइदिएको भिन्नता पो रहेछ भनेर महिलालाई बोध भयो । महिलाहरू बच्चा जन्माउने र हुर्काउने जिम्मेवारीले पछि पारिएका हुन् भन्ने मान्यता स्थापित भएकाले कतिपय महिला घरजम नै नगर्न तयार हुँदै गए ।

महिलाहरूलाई विभेद गरिएको छ भन्ने वास्तविकता पुरुषहरूले थाहा नपाएका होइनन् । यसबारे पुरुषहरू नै बढीभन्दा बढी अध्ययन–अनुसन्धानमा लागेका छन्, आफूले पाएको स्वतन्त्रतालाई उपभोग गर्दै । तर तिनै शिक्षित पुरुष पनि मर्यादा बचाउने, परिवार र संस्कृति जोगाउने, इज्जत ढाक्ने नाममा महिलालाई दोस्रो दर्जामै राख्न लालायित हुन्छन् । पद, शक्ति, पैसा, नाम यस्ता विषय हुन्, पाइसकेपछि मानिसले छोड्नै चाहँदैन । यसैकारण पितृसत्ता जन्मिएको थियो र हालसम्म पनि यसको अवशेष बाँकी छ । पितृसत्तासँगसँगै पुँजीवादी बजार व्यवस्था पनि यसलाई मलजल गर्न । यो व्यवस्थाले बुझ्नु जरुरी छ– महिलाहरूले चाहेको समानता, न्याय, मानवता र सहकार्य मात्र हो । र, श्वेताहरूले पनि यसलाई बिर्सनु हुन्न ।

प्रकाशित : पुस ६, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

घरधन्दाको बोझमा महिला 

सुशीला शर्मा

निकै दिनदेखि ग्यास्ट्रिकले सताएर धामीलाई भेट्न हिँडेकी एक महिलासँग गाउँमा मेरो भेट हुन्छ । ३५ वर्षकी ती महिलाको २० वर्षे सन्तान पनि सँगै छ । बाआमाले १४ वर्षे कलिलो उमेरमै विवाह गरिदिए ।

गाउँमा छोरीको कर्म यस्तै त हुन्छ । दुर्गम पहाडी भेगमा खेल्ने, रमाउने, पढ्ने उमेरमै विवाह गरिन्छ । विवाहपछि ती महिलाका दिनहरू घाँस काट्ने र भैंसीको हेरचाहमा बित्यो । आफूलाई समय दिन पाइनन् । सानै उमेरमा धेरै बच्चा जन्माउँदा उनको शरीर कमजोर बन्यो । बच्चा हुर्काउने, खनजोत र मेलापर्ममै जीवनका दिनहरू बिते । आफ्नो स्वास्थ्यको ख्याल गर्न पाइनन् । उनको शरीर बच्चा जन्माउँदाको पीडा र कामको बोझले गल्यो । यो उमेरमा पनि उनको दिनचर्यामा केही परिवर्तन आएको छैन । घाँस काट्ने, दाउरा बटुल्ने, गाईभैंसी चराउने र खेतीपाती ।

समयमै खाना नखाएर वा शरीरमा पानीको मात्रा नपुग्दा उनी बेलाबेला बिरामी पर्छिन् । धामीले झारफुक गरेर रोग निको पार्दिन्छ भन्नेमा उनको विश्वास छ । त्यसैले उनी बिरामी पर्दा धामीकहाँ जान्छिन् । मैले भेट्दा उनलाई धामीले पानी फुकेर खान दिइरहेको थियो । धामीले पहिले नाडी छामे अनि सानो भाँडोमा पानी हालेर हँसियाले घोले र उनलाई पिउन लगाए । उनले ग्यास्ट्रिकको औषधि पनि खाएकी रहिछन् तर निको नभएपछि धामीको शरणमा आइन् । गाउँमा पेट दुखेकोदेखि ज्वरोसम्म फुकफाकले निको हुन्छ भन्ने विश्वास गहिरो छ । धामीले बिरामीलाई बुटी भनेर विभिन्न आयुर्वेदिक झार दिने भएकाले केही व्यक्तिलाई निको पनि भएकै छ ।

बिरामी हुने गरी काम गर्दा पनि उनको श्रीमान्ले जस दिँदैनन् । बिरामी छु भन्दा श्रीमान्ले के अब सुतेर बस्ने हो त भन्छन् रे । उनी स्वस्थ र फुर्तिलो देखुन्जेल श्रीमान्ले घर र खेतको काम लगाइरहन्छन् । श्रीमान्लाई लाग्दो हो पढे-लेखेकी छैन, घरको काम नगरे केमा लगाउने ? परिवारभित्र उनी कामदारको भूमिकामा छिन् र उनले जानेको सीप घाँसको भारी बोक्नु मात्रै हो ।

उनको दुःख-सुख, रहर र चाहनाबारे श्रीमान्ले वास्ता गर्दैनन् । श्रीमतीको बारेमा यस्तो सोच्ने फुर्सद पनि हुँदैन । पुरुषले भान्साको काम गर्नु हाम्रो समाजमा लाजको विषय बन्ने गर्छ । यदि कसैले भान्साको काम सघाइहाले भने पनि गाउँलेले कस्तो जोईटिंग्रे रहेछ भन्लान् भन्ने डर सधैँ श्रीमान्मा हुन्छ । श्रीमतीलाई मायालु व्यवहार गर्ने त बेसोमती कहलिन्छ । वर्षौंदेखि निरन्तर एकतमासको शारीरिक र मानसिक थकान ती महिलाको बोलीमा झल्कन्थ्यो ।अधिकांश पहाडी परिवार पशुपालनमा निर्भर छ । घाँस महिलाले काट्छन् ।

पुरुषले भने दूध बजारसम्म पुर्‍याउँछन् । बजारमा जमघट गरी राजनीतिको कुरा गर्छन् । गाउँ-सहरको खबर थाहा पाउँछन् । बजार जाँदा नयाँ कुरा सिकेर आउँछन् । बा रेडियो सुन्छन्, टेलिभिजन हेर्छन्, सभासम्मेलनतिर पनि पुग्छन् । भलै लकडाउनका कारण केही समययता दैनिकी बदलिएको छ । आमा घरकै चौघेराभित्र कुरा सुनेका आधारमा आफ्नो धारणा बनाउँछिन् । अनि परिवारमा बाको आवाज ठूलो हुने नै भयो । महिलाहरू घरव्यवहारमा जोतिइरहेका हुन्छन् । कतै मेलापातमा साथीसंगीको भेट भयो भने पनि अभाव, भात-भान्सा र श्रीमान्ले गरेको हेलाकै कुरा गर्छन् ।

हाम्रा आमाहरू र हाम्रो दुःख उस्तै छ । ‘बुद्धि छोटो हुने भएकाले स्त्रीको मनमाथि अधिकार जमाउन असम्भव छ’ भन्ने ऋग्वेदको पाठ हामीले पुस्तौंदेखि घोक्दै आयौं । महिलाहरू जीवनसाथीभन्दा पनि यौनदासी र सेविकाको हैसियतमा छन् अझैं । छोराछोरीको हेरचाह र घरायसी काममा नै जीवन बित्छ । त्यसैले पनि अहिलेका सचेत महिलाले हजारौं वर्षदेखिका चलन, मान्यता र त्यसले महिलाको मानसिक, शारीरिक र सामाजिक अवस्थामा पारेको प्रभावको बारे लेख्नु-बोल्नुपर्छ । यो चलन हटाउन अझै धेरै समय लाग्छ । जान्ने-बुझ्ने पुरुषलाई महिलाको यो पाटो गन्थन-मन्थन लाग्न सक्छ । तर बोल्न छोड्नु हुन्न । हाम्रो समाजमा महिलालाई मानवको रूपमा नहेरी सती, सावित्री र पृथ्वी भनिन्छ ।

महिला सहनशील अनि शारीरिक रूपमा कमजोर हुन्छन्, त्यसैले घरभित्रको मात्र केन्द्रित हुनुपर्छ भन्ने धारणा अझै छ । शिक्षित र आत्मनिर्भर महिलाले पनि भान्साको काम गर्नैपर्छ । अनि बौद्धिक बहसमा कहिले सहभागी हुने ? कहिले राजनीतिमा आफ्नो हिस्सा खोज्ने ? महिलालाई समेटियो भने मात्र समाजको विकास हुन सक्छ । समाज अविकसित हुनुको एउटा कारण महिलाहरूका पक्षलाई ख्याल नगरी सधैं पितृसत्ताभित्रै रहेर सोच्नु र व्यवहार गर्नु हो ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×