किन सुक्दै छन् मूल ?- विचार - कान्तिपुर समाचार

किन सुक्दै छन् मूल ?

पुराना पोखरीहरूको संरक्षण र पुनरुत्थान गरेर, पुनर्भरण क्षेत्रको पहिचान गरी बर्खाको पानी रोक्ने संरचनाहरू बनाएर मूल/मुहानलाई दीर्घजीवी बनाउन सकिन्छ ।
माधव ढकाल, सन्तोष नेपाल

मध्यपहाडी क्षेत्रका मूल, पोखरी र कुवाहरू पहाडी जनजीवनका आधारशिला हुन् । पहाडी जिल्लाका धेरै ठाउँमा पानीको स्रोत भनेकै मूलहरू हुन् । नेपालको एक करोडभन्दा बढी जनसंख्या मूलको पानीमा आश्रित छ ।

हालैका वर्षहरूमा पहाडी जिल्लामा मूलहरू सुक्दै गएकाले तिनमा आश्रित जीवन, सरसफाइ, स्वच्छता र जीविकोपार्जनमा धेरै नकारात्मक असर परेको छ । कुनैकुनै क्षेत्रमा त मूल सुकेकाले मानिसहरू बसाइँसराइ गर्नसम्म बाध्य भएका छन् । कोभिड–१९ बाट नेपालसहित विश्व आक्रान्त भएको यो समयमा रोगबाट जोगिने विभिन्न उपायमध्ये बारम्बार हात धुनु प्रमुख उपाय हो भन्दै नागरिकलाई सचेत गराइएको छ । पानीको उपलब्धता सीमित भएको यस अवस्थामा सबैले बारम्बार हात धुन चाहिने थप पानी कहाँबाट पाउनु ?

नेपालका सबै भूभागमा कोभिड–१९ सहित अन्य सरुवा रोगबाट जोगिन र जीविकोपार्जन सहज बनाउन नागरिकले पर्याप्त सुरक्षित पानीको उपभोग गर्न पाउनु आधारभूत मानव अधिकार हो । पानीको उपलब्धता र गुणस्तर बढाउने एउटा मुख्य उपाय मूलहरूको संरक्षण र भूमिगत जलभण्डारको पुनर्भरण हो । यस लेखमा मूलहरू किन सुक्दै छन् र सुकिसकेका वा सुक्दै गरेका मुहानलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे गरिएको छ ।

के हो मूल अथवा मुहान ?

वर्षायाममा आकाशबाट परेको पानीको केही भाग भलका रूपमा खोलानालामा पुग्छ, केही भाग वाष्पीकरण भई वायुमण्डलमा जान्छ र केही भाग जमिनमुनि जान्छ । जमिनमुनि पुगेको पानी चट्टानमा रहेका छिद्र र चिराहरूमा जम्मा हुन्छÙ माटो, बालुवा, गेग्य्रान आदिमा पनि जम्मा हुन्छ । यसरी जमिनमुनि पानी जम्मा भएको स्थानलाई भूमिगत जलभण्डार भनिन्छ । यसरी जम्मा भएको पानी समयक्रममा बिस्तारै चट्टानको ढलान वा चिराहरूतर्फ बग्छ र जमिनको सतहबाहिर आउँछ । जुन ठाउँबाट पानी जमिनबाहिर निस्कन्छ, त्यो ठाउँलाई मूल अथवा मुहान भनिन्छ । जमिनमुनिबाट सतहमा निस्किएको हुनाले मुहानको पानी भूमिगत पानी हो । कुवा, पोखरी र सिमसिमे क्षेत्र पनि मूलकै रूप हुन् ।

मुहानहरू के कारणले सुक्छन् ?

पहिले राम्रो पानी आउने मूलहरूमा अहिले नआउने वा कम आउने, बाह्रैमास पानी आउने मूल सुक्खा मौसममा सुक्नेजस्ता केही मुख्य कारणबारे अब केही चर्चा गरौं ।

१. भौतिक पूर्वाधारको निर्माण र भू–उपयोगमा परिवर्तन : ग्रामीण सडक तथा विभिन्न प्रयोजनका भौतिक पूर्वाधारका पक्की संरचनाहरूको निर्माण, वनजंगलको विनाश आदिका कारण जमिनको सतह खँदिलो भएमा वर्षायामको पानी जमिनभित्र नगई सीधै नाली र खोल्सी हुँदै खोलानालामा मिसिन पुग्छ । त्यसैकारण भूमिगत जलभण्डारमा पानीको परिमाण घट्दै जान्छ । जथाभावी ग्रामीण सडक खन्नाले र वातावरणीय अवस्थाको ख्यालै नगरी अन्धाधुन्ध बुल्डोजर प्रयोग गर्नाले पनि मूल भएको जमिनमुनिको संरचनामा असर गर्छ । खानीबाट ढुंगा–बालुवा निकाल्दासमेत जलभण्डारण क्षेत्र कम भई खानीवरपर रहेका मुहानहरूमा पानी कम हुन्छ र ती सुक्दै जान्छन् ।

नेपालका केही स्थानका वनजंगलमा सल्लो प्रजातिका रूखको संख्या बढ्नु र चौडा पात भएका अरू प्रजातिका रूखहरू घट्दै जानु पनि मुहानमा पानी कम हुनु वा मुहान सुक्दै जानुका कारण हुन् । सन् २०१४ मा काभ्रेपलान्चोक जिल्लाको झिखुखोला जलाधार क्षेत्रमा गरिएको एक अनुसन्धान र अरू विभिन्न अध्ययनले सल्ला प्रजातिका रूखले जमिनमुनि जाने पानीको मात्रा घटाउने र वाष्पीकरण बढाउने देखाएको छ । यी दुवै अवस्थाले भूमिगत जलभण्डारमा जाने पानीको मात्रा घटाउँछन् ।

२. लोपोन्मुख प्राचीन पोखरीहरू : हाम्रा पूर्वजहरूले पहाडका विभिन्न रणनीतिक ठाउँमा पोखरीहरू निर्माण गरेका थिए । ती पोखरीले भूमिगत जलभण्डारको पुनर्भरणमा धेरै ठूलो योगदान गर्थे । विभिन्न कारणले गर्दा परम्परागत रूपमा बनाइएका पोखरीहरू नाश हुँदै गएका प्रशस्त उदाहरण हामीसामु छन् । विनाश भएका पोखरीका कारण पनि भूमिगत जलभण्डारमा पानीको कमी भई मुहानहरू सुक्छन् । रामेछापको ढुंग्रे जलाधार क्षेत्रमा भएका अन्दाजी १०० पोखरीमध्ये अहिले औंलामा गन्न सकिने संख्यामा मात्र बाँकी छन् । पानी सुकेकाले केही परिवार हिउँदको समय तल्लो क्षेत्रमा बसाइँ सर्ने गरेका छन् । गाउँमा मात्र नभएर सहरी क्षेत्रका पोखरीहरू पनि सम्पूर्ण रूपमा नाश हुँदै गइरहेको प्रत्यक्ष देख्न सकिन्छ ।

३. भूमिगत जलको बढ्दो उपयोग : काभ्रेपलान्चोक जिल्लासहित अरू विभिन्न पहाडी बस्तीमा लेकदेखि बेंसीसम्म इनार खन्ने वा डिप बोरिङ गर्ने प्रचलन बढ्दै छ । इनार वा बोरिङबाट मोटरले पानी तान्ने अभ्यास बढ्नाले मुहानहरूमा प्रत्यक्ष असर पर्न गई ती सुकेका उदाहरणहरू छन् । काभ्रेपलान्चोकमा समुद्र सतहबाट करिब १६०० मिटर उचाइमा पनि इनार खनेको पाइयो । केही कम गहिरो इनार र डिप बोरिङ पनि सुकेर अझै गहिरो इनार र बोरिङ खन्नुपरेको अवस्था पनि भेटियो । यसरी इनारको पानी मोटर लगाएर तान्दा भूमिगत जलस्तर घट्ने नै भयो ।

४. वर्षामा परिवर्तन : नेपालमा जेठ–असारदेखि असोजसम्म कुल वार्षिक वर्षाको करिब ७०–८० प्रतिशतसम्म पानी पर्छ । जलवायु परिवर्तन वा अन्य कारणले गर्दा पहिलाजस्तो अहिले पानी नपरेको जनसमुदायको अनुभव छ । पहिला तीन–चार दिन लगातार झरी पर्ने गर्थ्यो तर अहिले छोटो समयमा धेरै पानी पर्ने गरेको छ । लामो समयसम्म झरी पर्दा जमिन बिस्तारै भिजेर पानी जमिनभित्र पस्ने गर्थ्यो । अहिले छोटो समयमा धेरै पानी पर्दा जमिनभित्र गइसक्नुअघि नै सतहबाट बगेर खोलानालामा पुग्छ । पानीले जमिन भिजाएर बिस्तारै भित्र पुग्ने प्रक्रिया पूरा नहुँदा भूमिगत जलभण्डारमा पानी थपिँदैन । फलतः मुहानहरूमा पानी कम हुँदै जान्छ र कालान्तरमा ती सुक्छन् ।

५. भूकम्पको असर : नेपालमा सानाठूला भूकम्पहरू बारम्बार गइरहन्छन् । भूकम्पका बेला जमिन र जमिनमुनिका संरचना (जियोलजिक फर्मेसन) चलायमान हुन्छ । यस बेला कतै चट्टानहरू खुम्चिन्छन् भने कतै फुक्छन् । यस्तो अवस्थामा भूकम्पपश्चात् कति मूलबाट बढी पानी निस्कने, कतै कम निस्कने वा सुक्ने र कति ठाउँमा नयाँ मूल निस्कने पनि हुन्छ । कुनै मुहानमा जमिनमुनिबाट पानी आउने बाटोमा अवरोध पुग्न गए पानी भित्रभित्रै जम्मा भएर बस्छ । भूकम्पपछि रित्तो भएको जलभण्डार भूकम्पभन्दा पहिलाको अवस्थामा आउन समय लाग्छ किनकि वर्षाको पानी जमिनमुनि जम्मा भई जलस्तर माथि उठ्नुपर्ने हुन्छ । यदि भूकम्पपछि जमिनमुनि बग्ने पानीको बाटो परिवर्तन भएको छ भने अन्यत्रै मूल फुटेको देखिन्छ । २०७२ सालको भूकम्पपश्चात् सिन्धुपाल्चोक, काभ्रेपलान्चोकसहित धेरै जिल्लामा यस्तो अवस्था बनेको हामीले देखेका थियौं ।

मुहान कसरी सुधार्ने ?

अहिलेसम्म मुहानवरिपरि वा मूल निस्कने स्थानमा पानी जम्मा गर्न स्थायी संरचना बनाउने र सरसफाइ गर्ने काम त हुँदै आएको छ, तर पुनर्भरण क्षेत्रमा वर्षाको पानी संकलन गर्ने वा जमिनको सतहबाटै बगेर खेर गइरहेको पानीलाई जमिनमुनि भण्डारण गर्नेजस्ता भूमिगत जलभण्डारमा पानीको मात्रा बढाउने कार्य खासै भएको पाइँदैन । मूल सुधार्ने केही तरिका तल उल्लेख गरिएका छन् ।

१. पुराना पोखरीहरूको संरक्षण र पुनरुत्थान : पोखरी मूलको एउटा स्रोत हुन सक्छ । विभिन्न कारणले पुरिएका प्राचीन पोखरीहरूलाई मर्मत–सम्भार गरेर क्षमता बढाएमा मूलमा पानीको मात्रा बढ्न सक्छ । केही वर्षअघि काभ्रेपलान्चोक जिल्लाको डराउने पोखरी क्षेत्रमा मासिएका केही पुराना पोखरीहरूको पुनरुत्थान गर्दा मूलमा पानी बढेको पाइएको थियो ।

२. पुनर्भरण क्षेत्र पहिचान र पुनर्भरण संरचनाहरूको निर्माण : यदि मूल सुधार्ने हो भने पुनर्भरण क्षेत्रमा वर्षाको पानी संकलन गरी भूमिगत जल भण्डारमा पानीको मात्रा बढाउने कार्य गर्नुपर्छ । पुनर्भरण क्षेत्र मूलको नजिक वा टाढा र जुनसुकै दिशातर्फ पनि हुन सक्छ । त्यसकारण पुनर्भरण क्षेत्र पहिचान गर्नु आवश्यक हुन्छ । पुनर्भरण क्षेत्रको पहिचान भौगर्भिक अध्ययन र अवलोकनबाट गर्न सकिन्छ । मुहानको वरपर अवस्थित चट्टानहरू कस्तो प्रकारका छन्, कस्ता चट्टानमा पानी भण्डारण हुन्छ र कुनमा हुँदैन, चट्टानहरू कुन दिशातिर ढल्केका छन् आदि तथ्यको अवलोकन गर्नुपर्छ । त्यसबाट भूमिगत पानी कुन दिशातिर बग्छ भन्ने जानकारी लिन मद्दत पुग्छ ।

स्थानीय समुदायको परम्परागत ज्ञान पनि पुनर्भरण क्षेत्र पहिचानमा महत्त्वपूर्ण हुन्छ । वर्षाबाट उपलब्ध पानीलाई जमिनभित्र भण्डारण गर्न सतहमा बगिरहेको भलको गतिलाई कम गरी वा रोकी बिस्तारै जमिनभित्र सोसिन दिनुपर्छ । भलको गति कम गर्ने वा रोक्ने अवरोधक संरचनाहरूमा पुनर्भरण पोखरी, कुलेसो, खाल्डाखुल्डी, ससाना पर्खाल, आली, घाँसेघेरो, वृक्षरोपण, गरा सुधार, चेक ड्याम आदि पर्छन् । पुनर्भरण क्षेत्रमा वनजंगल छ भने वनभित्र रहेका खाली ठाउँ हेरी उपलब्ध ठाउँमा पोखरी, ट्रेन्च, कुलेसा र खाल्डाखुल्डी बनाउन सकिन्छ । सामान्यतया यी संरचनाहरूको आकारप्रकार उपलब्ध जमिनको क्षेत्रफल अनुसार निर्धारण गरिन्छ । पुनर्भरण क्षेत्रमा चरन छ भने कम गहिरा र चौपायामैत्री पोखरी र ट्रेन्च बनाउनुपर्छ । पुनर्भरण क्षेत्रमा खेतीपाती लगाइएको छ भने गरा सुधार गरी भिरालो बारीलाई समतल बनाउनुपर्छ । चरन क्षेत्र, बारी, जंगल अथवा क्षतिग्रस्त जमिनमा ससाना गल्छी छन् भने चेक ड्याम बनाई बगेको पानी जम्मा गर्न सकिन्छ ।

मूलको निरन्तर बहाव सुनिश्चित गर्नमा जमिन सतहका बोटबिरुवाको पनि ठूलो महत्त्व हुन्छ । सल्लो प्रजातिका रूखहरूले जमिनमुनि जाने पानीको मात्रा र वाष्पीकरणबाट माटोमा सिञ्चित पानीको परिमाण घटाउँछन् । पहाडी जिल्लाका धेरै ठाउँमा सल्ला प्रजातिको जंगल बढेपछि मूलको पानीमा कमी आएको पाइएको छ । त्यसैले सल्लो प्रजातिका रूखको सट्टा वाष्पीकरण घटाउने र अहिलेभन्दा धेरै पानी जमिनमुनि छिर्न मद्दत गर्ने रैथाने प्रजातिका अरू रूख लगाउनुपर्छ । यस्ता उपायले भूमिगत जलभण्डारको स्तर बढाई मुहानहरूमा सुधार ल्याउन सघाउँछन् । दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित पादुकास्थानका केही मूलको बहाव उपर्युक्त विधिहरू अपनाएको दुई–तीन वर्षमै बढेको पाइयो । नयाँ संरचनाका साथै प्राचीन पोखरीको संरक्षणमा पनि ध्यान पुग्नु जरुरी हुन्छ ।

भूमिगत जलभण्डार पुनर्भरण संरचनाहरूको निर्माण एकल प्रयासबाट सम्भव हुँदैन । संस्थागत संरचना निर्माण, प्रभावकारी शासन व्यवस्था, स्थानीय निकायसँग सहकार्य र महिला तथा सीमान्तकृत समुदाय आदिसहितको बृहत् जनसहभागिता आवश्यक हुन्छ । भूमिगत जलभण्डार पुनर्भरणका कार्यक्रम पालिकाहरूको प्राथमिकतामा पार्न सके दिगो जलस्रोत व्यवस्थापनमा धेरै मद्दत पुग्छ । स्थानीय जलस्रोत संरक्षणप्रति लक्षित कार्यहरूमा स्थानीय निकायको सहयोग तथा स्थानीय ज्ञान र सीपलाई प्रयोग गर्न सके यसमा ठूलो टेवा मिल्छ । प्रायः सुक्खा मौसम वा खडेरीको समयमा मात्रै मूल संरक्षण गर्नेबारे विषय उठाउने तर वर्षातको समयमा त्यसबारे चर्चा नगर्ने प्रचलन छ । पहाडी जीवनको मुख्य आधारशिला मानिएको मूल तथा पोखरीको संरक्षणलाई वर्षभरि नै प्राथमिकतामा राख्न सके पानीसँग सम्बन्धित समस्याहरू समाधान हुने तथा जीविकोपार्जनमा पनि सकारात्मक योगदान पुग्ने देखिन्छ ।जलाधार व्यवस्थापनका अनुसन्धानकर्ता ढकाल र जलवायु तथा जलविज्ञान समूहका टोली नेता नेपाल दुवै इसिमोडसँग आबद्ध छन् ।

प्रकाशित : पुस ५, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षक दरबन्दी मिलान थालियो

अन्तरजिल्ला र जिल्लाभित्रकै स्थानीय तहहरूमा दरबन्दी मिलानको काम सुरु, तत्काल शिक्षक सरुवा भने नहुने
सुदीप कैनी

काठमाडौँ — मुलुकभरका सामुदायिक विद्यालयमा शिक्षक–विद्यार्थीको अनुपात मिलाउन शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बिहीबारबाट शिक्षक दरबन्दी मिलान थालेको छ । पहिलो चरणमा अन्तरजिल्ला र अन्तरस्थानीय तह गरी १ सय ८४ शिक्षकको रिक्त दरबन्दी मिलाउन गरिएको हो ।

रिक्त दरबन्दी मिलान गरिएकाले तत्काल शिक्षक भने सरुवा नहुने केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले जानकारी दिए । जिल्लागत रूपमा रहेको दरबन्दी मिलान गर्न २०७६ भदौ ४ को मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका दरबन्दी एक पटकका लागि स्थानीय तहगत रूपमा केन्द्रले मिलान गर्न लागेको हो । त्यसका लागि शिक्षक दरबन्दी मिलान तथा व्यवस्था कार्यविधिसमेत जारी भइसकेको छ । पहिलो चरणमा काठमाडौं, मुस्ताङ, मनाङ, तनहुँ र पर्वतमा बढी रहेको प्राथमिक तहको ३३ दरबन्दी धादिङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र बागलुङमा कायम गरिएको छ ।

त्यस्तै, गोरखाको २४, म्याग्दीको १०, अर्घाखाँचीको ११, गुल्मीको २५, इलामको १२, चितवनको २३, रसुवाको ३, पर्वतको ६ र तनहुँको प्राथमिक तहको २७ दरबन्दी मिलान गरिएको छ । यी जिल्लामा भित्रकै एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा दरबन्दी थप गरिएको अर्यालले बताए । यसैअनुसार देशभर शिक्षक दरबन्दी मिलान हुँदा काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाबाट मात्र १ हजार १ सय ३१ दरबन्दी कटौती हुनेछ ।

लामो समयदेखि दरबन्दी मिलान हुन नसक्दा सहरी क्षेत्रमा विद्यार्थीको तुलनामा धेरै शिक्षक र ग्रामीण क्षेत्रमा थोरै शिक्षक कार्यरत रहेको अध्ययनका क्रममा पाइएको थियो । शिक्षक विद्यार्थीको असमान अनुपातलाई व्यवस्थित गर्न स्थानीय तह, जिल्ला र प्रदेशगत रूपमा समेत दरबन्दी मिलान गरिने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार स्थानीय तहहरूमा स्वीकृत मापदण्डको आधारमा बढी हुन आउने दरबन्दीहरू थप हुन जाने स्थानीय तहहरूमा पठाउने गरी मिलान गरिएको केन्द्रले जनाएको छ ।

पहिलो चरणमा केही जिल्लाका प्राथमिक तहबाट काम थालिएको उनले जनाए । ‘अब निम्न माध्यमिक र माध्यमिक तहमा पनि क्रमशः दरबन्दी मिलान गर्दै जान्छौं,’ उनले भने, ‘सबै जिल्लामा तीनै तहका शिक्षक दरबन्दी मिलान गरिसक्ने योजना छ ।’ उनका अनुसार पहिलो चरणमा रिक्त दरबन्दी मात्र थपघट गरिएको हो । रिक्त दरबन्दी मिलान गरिसकेपछि बढी भएका शिक्षक सरुवा हुने गरी दरबन्दी थपघट गरिनेछ । दरबन्दी मिलान सकिएपछि शिक्षकको अभाव टर्ने र पठनपाठनमा सुधार आउने विश्वास गरिएको छ । कार्यविधिमा हिमाल, पहाड र तराईमा शिक्षक–विद्यार्थी अनुपात क्रमशः ४०, ४५ र ५० कायम गर्ने उल्लेख छ । २०७५ फागुनसम्मको शैक्षिक तथ्यांकलाई आधार मानेर शिक्षक दरबन्दी मिलान गर्न थालिएको हो ।

सरकारले शिक्षकको दरबन्दीको अवस्थाबारे अध्ययन गर्न पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो । कार्यदलको सुझावका आधारमा सरकारले दरबन्दी मिलान गर्ने निर्णय गरेको थियो । कार्यदलले सामुदायिक विद्यालयमा ५७ हजार शिक्षकको दरबन्दी अभाव रहेको औंल्याएको थियो । सामुदायिक विद्यालयमा शिक्षक अभाव भएपछि गत वर्षदेखि स्वयंसेवक शिक्षकसमेत परिचालन गर्न थालिएको छ ।

कार्यदलले केही विद्यालयमा आवश्यकताभन्दा बढी र ३ हजार सामुदायिक विद्यालयमा एउटा पनि शिक्षक दरबन्दी नरहेको औंल्याएको थियो । प्राविमा बढी, निमावि र माविमा आवश्यकताभन्दा कम शिक्षक रहेको पाइएको थियो । त्यस्तै, मावि र निमावि तहमा विषयगत शिक्षक नै नभएका विद्यालयको संख्या सबैभन्दा बढी भेटिएको थियो ।

करार नियुक्ति माग्दै प्राध्यापक आन्दोलित

अनलाइन कक्षाको पारिश्रमिक नपाएका त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा धर्ना दिन थालेका छन् । कक्षा र परीक्षा बहिष्कार गर्दै आएका उनीहरूले बिहीबारबाट ‘समान कामको समान ज्याला’ भन्दै आन्दोलन थालेका हुन् । धर्नामा देशभरका आांगिक क्याम्पसका प्राध्यापक सहभागी छन् । त्रिविमा करिब दुई हजार आंशिक प्राध्यापक छन् । उनीहरूले चैतयता पारिश्रमिक पाएका छैनन् ।

‘अधिकांश क्याम्पसमा पठनपाठन छैन,’ त्रिचन्द्र क्याम्पसमा आंशिक प्राध्यापक शशीकुमार शर्माले भने, ‘अनलाइन कक्षामा सहभागीलाई पनि पारिश्रमिक दिइएको छैन ।’ त्रिविमा कक्षाअनुसार पारिश्रमिक दिने गरी १४ वर्षदेखि आंशिक प्राध्यापक कार्यरत छन् । प्रतिपिरियड ३ सयका दरले अध्यापन गराउने उनीहरूले मासिक पारिश्रमिक दिने गरी करारमा नियुक्ति दिनुपर्ने माग अघि सारेका हुन् । त्रिविले आंशिक प्राध्यापकलाई शोषण गर्दै आएको उनीहरूको गुनासो छ । ‘स्थायी र करारमा पढाउने प्राध्यापकले मासिक ४०/४२ हजार रुपैयाँ बुझ्छन्,’ उनले भने, ‘हामी पनि उनीहरूले समान पढाउँछौं, तर लकडाउनयता एक सुका पनि पाएका छैनौं ।’

कक्षाअनुसार ज्यालादारीमा कार्यरत प्राध्यापकलाई करार नियुक्ति दिनुपर्ने र त्रिवि सेवा आयोगको विज्ञापन समयमा नै खुलाउनुपर्ने आंशिक प्राध्यापक संघको माग छ । ‘हामीलाई सिधै स्थायी नियुक्ति देऊ भनेका छैनौं, संघर्ष समितिका संयोजकसमेत रहेका शर्माले भने, ‘समान कामको समान ज्यालासहित ६/६ महिनामा सेवा आयोगको परीक्षा गराउन माग गरेका हौं ।’ आयोगको प्रतिस्पर्धामा सफल हुन नसके शिक्षण पेसा नै छाड्ने उनले बताए ।

संघले २०६५ यता सरकार र विश्वविद्यलायसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग दोहोर्‍याएको छ । विभिन्न समयमा गरिएका सहमतिमा आंशिक प्राध्यापकलाई करार नियुक्ति दिने उल्लेख छ । सहमतिअनुसार आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्न एक हजार ४ सय २० दरबन्दी थप गर्ने निर्णय भइसकेको छ । थपिएको दरबन्दीमा करारलाई नियुक्ति दिनुपर्ने संघको धारणा छ ।

प्रकाशित : पुस ५, २०७७ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×