कक्षा ११ को नयाँ पाठ्यक्रम

भदौदेखि अनलाइन कक्षा सुरु भयो, जुन नयाँ र पुरानो पाठ्यक्रमको रस्साकसीमा अल्झिएर दिशाहीन बन्न पुगेको छ ।
केशव घिमिरे

कोभिड महामारीले आक्रान्त बनाएका क्षेत्रहरूमध्ये शिक्षामा अनलाइन कक्षा सञ्चालनमार्फत अभिभावक तथा विद्यार्थीहरूले न्यून मात्रामा भए पनि राहतको अनुभव गरिरहेको अवस्थामा कक्षा ११ मा चाहिँ नयाँ पाठ्यक्रमले द्विविधा उत्पन्न गरेको छ ।

कक्षा ११ को नयाँ पाठ्यक्रम

गत साउनमा एसईईको परिणाम आएसँगै विद्यार्थीहरूलाई निजी तथा सामुदायिक विद्यालयहरूले अनौपचारिक रूपमा कक्षा ११ मा भर्ना लिए । भदौदेखि अनलाइन कक्षा सुरु भयो, जुन नयाँ र पुरानो पाठ्यक्रमको रस्साकसीमा अल्झिएर दिशाहीन बन्न पुगेको छ ।

कुनै पनि शैक्षिक तहमा पाठ्यक्रमहरू निश्चित अवधिपछि परिवर्तन हुनुपर्ने विश्वव्यापी अवधारणा छ । वैज्ञानिक तथा उद्देश्यमूलक सिकाइमा आधारित तथ्य हो यो, जसलाई सबैले स्वीकार गर्नुपर्छ । पाठ्यक्रम परिवर्तनको नाउँमा शैक्षिक पद्धतिलाई नै संशोधन गरेर, शैक्षिक बहावलाई एकतर्फी मूल्यांकन गरेर एकअर्को विषयबीचको अन्तरसम्बन्धलाई नजरअन्दाज गर्नु अव्यावहारिकता हो । यसले हाम्रो शिक्षाको स्तरलाई अधोगतितिर उन्मुख गराउँछ र लाखौं विद्यार्थीको भविष्यमाथि नै प्रश्नचिह्न लगाइदिन्छ । प्रायः मुलुकमा कक्षा ११–१२ मा प्रत्यक्ष रूपमा विभिन्न संकायमा पाँच विषयको पठनपाठनलाई मान्यता दिइएको हुन्छ । हाम्रै देशमा पनि त्रिभुवन विश्वविद्यालयले आफ्नो स्थापनाकालदेखि नै प्रवीणता प्रमाणपत्र तह (कक्षा ११–१२ को समकक्षी तह) मा पाँच विषयलाई अंगीकार गरेको थियो, काठमाडौं विश्वविद्यालयले पनि यसै प्रणालीलाई लागू गरेको थियो । हालसम्म पनि उच्च माध्यमिक शिक्षा हुँदै आएको एनईबीमार्फत पाँच विषयको पठनपाठन नै प्रचलनमा छ । नेपालमा सञ्चालनमा रहेका विदेशी बोर्डका कक्षा ११–१२ का

समकक्षी तहहरू ए लेभल (क्याम्ब्रिज युनिभर्सिटी, यूके) र सीबीएसई (भारत) मा पनि पाँचै विषयलाई प्राथमिकता दिइएको छ । नेपालमा यो शैक्षिक सत्रदेखि लागू हुने भनिएको नयाँ पाठ्यक्रममा भने विश्वभरि मान्यताप्राप्त पठनपाठनको प्रणालीलाई चुनौती दिँदै सात विषय लागू गर्न खोजिएको छ, जसअन्तर्गत हाललाई छ विषय प्राथमिकताका साथ लागू गर्ने भनिएको छ । यो नयाँ प्रणालीले विषयको पठनपाठनको गाम्भीर्यलाई पूर्ण रूपमा नजरअन्दाज गरेको छ । एक वर्षको अवधिमा पाँच विषयको बोझिलो अध्ययन गर्न असमर्थ भएर प्रत्येक वर्ष ५० प्रतिशतभन्दा बढी विद्यार्थी विगतमा बोर्ड परीक्षामा असफल भएको तथ्य बिर्सनु हुँदैन । त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तहमा उत्तीर्णांक ४० बाट ३५ प्रतिशतमा झार्दा पनि विद्यार्थीहरू असफल हुने क्रमले प्राध्यापक तथा सम्बन्धित क्याम्पसहरूलाई ठूलो चुनौती दिएको थियो ।

भर्खरै सानो वृत्तमा पढाइ पूरा गरेर एसईई छिचोलेका विद्यार्थीहरूलाई फराकिलो वृत्तमा छ वा सात विषय पढाउने प्रणाली बनाउनु महत्त्वाकांक्षी योजना त होला, तर यसले अन्ततोगत्वा विद्यार्थीको स्तरोन्नतिमा बेफाइदा गर्ने निश्चित छ । कक्षा ११–१२ तहले समग्रमा विद्यार्थीहरूलाई विश्वविद्यालय प्रवेशका लागि बलियो तथा मजबुत आधार दिनुपर्छ । यही भएर यो तहका पाठ्यपुस्तकहरूमा विभिन्न संकाय (प्राविधिक, मेडिसिन, इन्जिनियरिङ, कृषि, विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा) मा पढ्न आवश्यक सामग्रीहरू समेटिएका हुन्छन् । विषय थपको अनावश्यक भारीले गर्दा विद्यार्थीर्हरूमा विषयविशेषमा दखल हुन सक्दैन र ती अंग्रेजी उखानमा भनिएझैं ‘ज्याक अफ अल, मास्टर अफ नन’ बन्छन् ।

अहिले नयाँ पाठ्यक्रममा अनिवार्य थपिने भनिएका विषयहरू विश्वविद्यालयका विभिन्न संकायमा पढ्न आवश्यक ज्ञान तथा आधार दिनलाई अत्यावश्यक मानिन्नन् । थपिने भनिएका ‘जीवनोपयोगी शिक्षा’ तथा ‘सामाजिक शिक्षा’ जस्ता दुई विषयका कारण विद्यार्थीहरूले विज्ञान तथा प्राविधिक क्षेत्रको विश्वविद्यालयीय अध्ययनका लागि बौद्धिक खुराक नपाउनेमा सायदै दुईमत होला । यी दुई विषयलाई ऐच्छिक होइन अनिवार्य बनाइएको छ, जसका लागि पूर्वअध्ययन वा गृहकार्य गरिएको प्रतीत हुँदैन । यसबाट विद्यार्थीहरूको भविष्यमाथि पर्ने असरको आकलन पनि नगरिएको देखिन्छ ।

उदाहरणका रूपमा विज्ञान पढ्नका लागि गणित विषयको महत्त्वलाई लिन सकिन्छ । विज्ञान र गणित विषयको अन्योन्याश्रित सम्बन्ध सर्वविदितै छ । माथि उल्लिखित दुई नयाँ विषयले विशेषतः जीवविज्ञान पढ्ने विद्यार्थीका लागि गणितलाई विस्थापन गरिदिएका छन् । भौतिकशास्त्र (फिजिक्स) विषय पढ्न कक्षा ११ को गणितको क्यालकुलेसन नपढी सम्भव छैन । कक्षा ११–१२ को भौतिकशास्त्रमा मेकानिक्स (कक्षा १२), मोडर्न फिजिक्स (कक्षा १२), इलेक्ट्रोस्टाटिक (कक्षा ११), इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिज्म (कक्षा १२) का विभिन्न अध्याय गणित नभई अध्ययन गर्न–गराउन पूर्ण रूपमै असम्भव छ । यो तथ्यलाई हेक्का नराखे विद्यार्थीहरूले नयाँ पाठ्यक्रम लागू भएको केही महिनामै ठूलो दुर्घटना भोग्नुपर्नेछ । अथवा, भौतिकशास्त्रको अध्ययन–अध्यापन नै विस्थापन गरेर कुनै अर्को विषयलाई प्रतिस्थापन गर्नुपर्ने हुन्छ । हाम्रा विद्यार्थीहरूको हातमा कक्षा ११–१२ उत्तीर्णको प्रमाणपत्र त पर्ला, तर उनीहरू डाक्टर, इन्जिनियर अथवा वैज्ञानिक बन्नबाट वञ्चित हुनेछन् । यसको प्रत्यक्ष असर विभिन्न मेडिकल र इन्जिनियरिङ अध्ययन संस्थानलाई पनि पर्नेछ ।

(घिमिरे त्रिचन्द्र क्याम्पसमा भौतिकशास्त्र प्राध्यापन गर्छन् ।)

प्रकाशित : पुस ५, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?