१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उद्यममा फैलिँदै महिला

महिलाहरू उद्यमी हुनु भनेको देशको अर्थतन्त्र दिगो र बलियो हुनु हो ।
मधु राई

विराटनगर–११ की जानुका श्रेष्ठले साथीहरूसँग मिलेर महिलाका लागि जुत्ता–चप्पल बनाउन थालेको दुई दशक भयो । उनको समूहले तयार गरेका ती सामग्री विराटनगर, इटहरी र इलाममा खपत हुन थालेको पनि धेरै वर्ष भयो ।

उद्यममा फैलिँदै महिला

समूहमा आबद्ध कतिपय सदस्य इलाममा पनि बसोबास गर्ने भएकाले उनीहरूले इलामका ललिपप, बम्बैसन मिठाई र नौनी घ्यूसहित मुढा अनि हातले बुनेका ऊनीका टोपी र मोजाहरू पनि बिक्री गर्छन् । ती सामग्री बिक्री गर्न उनीहरूले एक महिनाअघि मात्र महेन्द्र चोकमा पाथीभरा एग्रोमार्ट खोलेका छन् ।

इटहरी निवासी सञ्जु लिम्बूले पनि सिंहदेवी तेह्रथुमे ढाका उद्योग स्थापना गरी तेह्रथुमे ढाका र रेशमबाट बनेका साडी, टोपी, मफलर, पर्स र पछ्यौरी लगायत बनाउन थालेको चार वर्ष भयो । उनले त्यस्ता उत्पादन स्थानीय बजार र काठमाडौंमा पठाउने गरेकी छन् । श्रीमान् वैदेशिक रोजगारीमा गए पनि ससाना दुई छोरा हुर्काउँदै उनले पाँच महिलालाई रोजगारीसमेत दिएकी छन् । व्यक्तिगत लगानीबाट व्यवसाय थालेकी सञ्जु अब भने सरकारबाट ऋण लिई व्यवसाय बढाउन चाहन्छिन् । यसरी जानुकाको समूह र सञ्जुजस्ता धेरै महिला उद्यमी आफू मात्र रोजगार बनेका छैनन्, अरूका लागि पनि प्रेरक बन्दै छन् ।

केही दिनअघि नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङले विराटनगरमा ११ औं जिल्ला अधिवेशन एवं २२ औं जिल्ला सम्मेलन तथा महिला उद्यम समितिको १९ औं जिल्ला सम्मेलन गर्‍यो । उक्त अवसरमा महासंघले मोरङसहित छिमेकी जिल्लाका उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण गर्न प्रदर्शनीसमेत आयोजना गरेको थियो । उक्त प्रदर्शनीमा उद्यमीहरूले आफ्ना उत्पादन बिक्री मात्र गरेनन्, महासंघले सफल उद्यमीहरूलाई सम्मानसमेत गर्‍यो ।

उद्यमी बन्न चाहनेहरूका लागि यस्ता प्रदर्शनीहरू सहयोगी देखिए पनि पछिल्लो समय महामारीका कारण कतिपय उद्योग बन्द भएका छन् भने, जेनतेन चलिरहेकाको अवस्था पनि नाजुक बन्दै गएको छ । तथापि महिलाहरूले सञ्चालन गर्दै आएका कतिपय साना उद्योगहरू स्थानीय स्रोतसाधन परिचालन गरी अघि बढिरहेका छन् ।

त्यसो त महिलाहरूले स्थापना गरेका कतिपय उद्योगहरूले पुरुषले चलाएकाका तुलनामा त्यति गति लिन सकेको देखिँदैन । घरव्यवहार सम्हाल्दै आएका कतिपय उद्यमी महिलाहरूले पनि ‘आऽ चलेकै छ, किन टाउको दुखाउनु’ भन्ने गरेको पनि पाइन्छ । यस्तै कतिपय कारणले पनि महिला उद्यमीहरूले आफ्नो व्यवसाय अघि बढाउन नसकेको र नचाहेको देखिन्छ । त्यसमाथि पछिल्लो समय एउटै खाले व्यवसाय गर्ने उद्यमीहरूको संख्या बढ्दै छ । उदाहरणका लागि ढाका उद्योग लिऔं । ढाकाको पहिरनको बजारीकरण कसरी गर्ने भन्ने अन्योलकै बीच अर्को ढाका उद्योग स्थापना हुँदा समस्या झनै बढ्छ । त्यसमाथि ढाका उद्यमीहरूबीच समन्वय र सहकार्य नहुँदा पनि उनीहरूको उत्पादनले स्थानीय र बाहिरिया बजार लिन नसकेको देखिन्छ । अर्को मुख्य कुरा मूल्य पनि हो । पछिल्लो समय ढाका र रेशमबाट बनेका पहिरनमध्ये साडी र पछ्यौरीको मूल्य सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । आफूले उत्पादन गरेका ५ हजारदेखि १५ हजार रुपैयाँसम्मका साडी स्थानीय बजारमा भन्दा काठमाडौंतर्फ बढी पठाउने गरेको सञ्जु बताउँछिन् ।

ढाकाको व्यवसायमा विविधता ल्याउन अल्लोमिश्रित कपडाका कोट, टोपी र जुत्ताहरू पनि उत्पादन गर्न थालेका छन् महिला उद्यमीहरूले । विराटचोकस्थित लुमा घरेलु अल्लो कपडा उद्योगले ढाका र अल्लोबाट सामग्री मात्र उत्पादन गर्दैन, स्थानीय निकायसँग सहकार्य र समन्वय गरी बेलाबेला महिलाहरूलाई तालिमसमेत दिँदै आएको छ । ढाकापछि महिलाहरूले सञ्चालन गर्ने अर्को उद्यम हो– जुत्ता–चप्पल । विराटनगरको सबैभन्दा पुरानो चम्पा सु सेन्टरले विभिन्न किसिमका जुत्ता–चप्पलको उत्पादन र बिक्री गर्दै आएको छ । तर, सेन्टरले अहिलेसम्म छुट्टै पसल सञ्चालन गर्न सकेको छैन । आफूले पसल सञ्चालन गर्न नसके पनि गृहजिल्ला र छिमेकी जिल्लाका धेरै महिलालाई जुत्ता–चप्पल बनाउने तालिम दिँदै आएकी छन् सेन्टरकी प्रशिक्षक चम्पा नेपालले ।

सहरी क्षेत्रमा महिलाहरूले थालेको र फस्टाएको अर्को व्यवसाय भनेको बुटिक व्यवसाय पनि हो । यसपालि सम्मानित हुने बुटिक व्यवसायी शिल्पा कार्की निरालाले क्रियटिभ हेन्ड्स र जिना श्रेष्ठले रोयल बुटिक स्थापना गरेको धेरै भयो । वास्तवमा महिलाहरूले थालेको उद्यममा त्यति साह्रो विविधता देखिँदैन । यसो हुनुको एउटा कारण हो– उद्यमी महिलाहरूमा बजारीकरणसम्बन्धी आधारभूत ज्ञानको कमी । पछिल्लो समय कतिपय महिलाले ऊनी धागो, सिरु, चाउचाउको खोल र बाँसबाट सजावटका सामग्रीसहित पर्सहरू फाट्टफुट्ट रूपमा बनाउन थालेका छन् । ती सामग्रीको बजार भने न्यून देखिन्छ । यस्तै, औंलामा गन्न सकिने केहीले ऊनीका मोजा र टोपी बनाउन थालेका छन् । विशेष गरी जाडोयाममा यस्ता सामग्रीले राम्रै बजार पाउने सम्भावना देखिए पनि यसतर्फ कसैको ध्यान पुगेको देखिँदैन । विराटनगरजस्तो ठाउँमा तीन महिना मात्र जाडो हुने भएकाले पनि ऊनी पहिरनतर्फ कसैले चासो नदिएको हुन सक्छ । वर्षर्भरिजसो जाडो हुने काठमाडौं लगायतमा यस्ता सामग्री पुर्‍याउन सके राम्रै बजार पाउने सम्भावना छ ।

पछिल्लो समय कोभिड महामारीका कारण सीमानाकाहरू बन्द भएपछि आयात–निर्यातमा प्रत्यक्ष र परोक्ष असर परेको छ । बढी आयात हुने वस्तुहरूमा तयारी पोसाक पनि पर्छ । तर, चालु आर्थिक वर्षका चार महिनामा त्यसको आयात ३६ प्रतिशत घटेकाले स्वदेशी उद्योगबाट उत्पादित कपडाको माग बढेको समाचारहरूमा पढ्न–सुन्न पाइन्छ । ढाकाबाट बनेका मास्कले विदेशमा बजार पाएका सुखद समाचारहरू पनि आउने गरेका छन् । ऊनी धागो र बाँसबाट सजावटका सामग्री बनाउने महिला उद्यमीहरूले ऊनीका पहिरन र बाँसका फर्निचर बनाउने हो भने मास्कको जस्तै बजार बढ्ने निश्चित छ । तयारी पोसाकसँगै ऊनीको पहिरनले बजार पाउन सके धेरै महिला स्वरोजगार बन्न सक्छन् । स्वदेशी बाँसका टेबुल र कुर्सी लगायत बनाउने हो भने काठको मागमा कमी आउन सक्छ । काठलाई विस्थापित गर्न बाँस सफल हुनु भनेको वन फँडानी रोकिनु हो ।

सम्भावनायुक्त अर्को उद्यम हो– कृषि । गाउँघरभन्दा पनि सहरबजारमा करेसा र कौसीखेती गर्नेहरूको संख्या बढ्दै छ । विषादीमुक्त तरकारी खानुपर्छ भन्ने सचेतना बढ्दै जाँदा स्वस्थ बिरुवाको माग बढ्ने निश्चित छ । सहरवासीको यस्तो माग पूरा गर्न महिलाहरू जुट्ने हो भने वडा र टोलहरूमा बिरुवा बैंक स्थापना गर्न सकिन्छ । कृषिकर्ममा रुचि राख्ने महिलाहरूका लागि यो नयाँ अवसर पनि हो । यी र यस्ता विषयमा घरेलु तथा साना उद्योग कार्यालयजस्ता सरकारी निकायहरूले आवश्यक तालिम दिनु जरुरी छ । यस्तै, स्थानीय बजारले खोजेको वस्तु उत्पादन गर्न तालिमले मात्र पनि पुग्दैन, बीउपुँजीसमेत उपलब्ध गराए मात्र बढीभन्दा बढी महिला उद्यम–व्यवसायतिर आकर्षित हुन्छन् । महिलाहरू उद्यमी हुनु भनेको देशको अर्थतन्त्र दिगो र बलियो हुनु हो ।

प्रकाशित : पुस ५, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?