कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निष्ठावान् राजनीतिज्ञ

नैनबहादुर स्वाँर पञ्चायत व्यवस्थाको सुधारका पक्षमा थिए । बालिग मताधिकारका आधारमा चुनाव र राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी प्रधानमन्त्री हुनुपर्ने उनको अडान थियो ।
यज्ञराज उपाध्याय

अछामका गोदाम्याकी फुलौट्या उकालो 
खुडीमा पाल्याका सुवा पाइनकी मुकालो

निष्ठावान् राजनीतिज्ञ

२०१४ सालताका यो गीत अछामेलीको जिब्रोमा झुन्डिएको थियो । यो गीतले अछामेलीले त्यति बेला भोग्नुपरेको पीडाको यथार्थ चित्रण गर्थ्यो । १९८६ सालदेखि डोटीमा बस्ने सरकारी पल्टनका लागि अछामीहरूले एक रुपैयाँ बराबर बाइस पाथी धान तिरो बुझाउनुपर्ने प्रावधान राणाहरूले ल्याएका थिए ।

त्यो पनि डोटी, सिलगढीको गोदाममै पुर्‍याइदिनुपर्ने । डोटी, फुलौटको अत्यासलाग्दो उकालोमा धानको भारी बोकेर पसिना चुहाउँदै हिँड्नुपर्दाको अछामीको पीडा उक्त गीतमा झल्कन्छ । राणा शासनको अन्त भैसक्दा पनि तिरो तिर्न डोटी मालपोतमै जानुपर्ने प्रावधान यथावत् थियो । अछामीले भोग्नुपरेको यो कहालीलाग्दो पीडा नैनबहादुर स्वाँरलगायत अछामका युवाहरूले टुलुटुलु हेरेर बस्न सकेनन् । २०१४ सालमा राजा महेन्द्रको डोटी, सिलगढीमा भएको भ्रमणका क्रममा, यही विषयलाई लिएर यी युवाहरूले राजा चढेको घोडाको लगाम समाते र सवारी अवरुद्ध गर्दै राजालाई घेराउ गरे । अछामी युवाहरूको यो साहसिक कार्यपछि तिरो तिर्न डोटी जानुपरेन ।

तिनै युवामध्येका एक नैनबहादुरको जन्म अछामको रिडिकोटमा १९८४ सालमा भएको थियो । त्यस बेला मुलुकमा जहानियाँ निरंकुश राणा शासन थियो । राणाहरूले विद्यालय खोल्न दिएका थिएनन् । औपचारिक पठनपाठनको व्यवस्था राणाका छोराछोरीलाई मात्र थियो । त्यस्तो अँध्यारो समयमा पनि साहित्यकार पहलमानसिंह स्वाँर लगायतको विशेष पहलमा अछामको बयाल्पाटामा भाषा पाठशालाको स्थापना भयो । यही पाठशालाबाट नैनबहादुरले तीन कक्षासम्मको औपचारिक शिक्षा प्राप्त गरे । भाषा पाठशालामा अंग्रेजी विषयको पठनपाठन नहुने भएकाले उनी डोटी पुगे । त्यहाँ कान्छा बुबाको सहयोगमा प्राइभेट शिक्षकसँग तीन वर्ष अंग्रेजी र गणित अध्ययन गरे ।

त्यस बेला सरकारी जागिर खानेको ठूलो इज्जत र प्रतिष्ठा हुन्थ्यो । यही प्रतिष्ठाको लोभले हर्कजंग स्वाँरले छोरा नैनबहादुरलाई काठमाडौं ल्याएर दरबार स्कुलमा भर्ना गरिदिए । दरबार स्कुलबाट मध्यमा पास गरेपछि त्यस बेलाका वन विभागका हाकिम अर्जुन राणाको भनसुनमा नैनबहादुरले नेपालगन्जमा खरिदारको जागिर पाउने पक्का भयो । त्यस बखत खरिदार ठूलै पद थियो । नेपालगन्जमा वनको हाकिमको जिम्मेवारी खरिदारले पाउँथे । तर, समाजसेवामा रुचि भएका नैनबहादुरलाई जागिर खान मनै थिएन । नियुक्ति पाउन दाम राखेर जर्नेललाई ढोग्नुपर्ने चलन थियो, त्यस बेला । दाजु नृपबहादुर स्वाँरसँग आफ्ना रुचिबारे कुरा गरेपछि उनी जागिर नखाने निर्णयमा पुगे । र, जर्नेललाई दाम नराखी भागेर कलैया गए ।

केही दिनको कलैया बसाइपछि मुम्बई जान ठिक्क परेर रक्सौलमा उभिइरहेका बेला नैनबहादुरको भेट गणेशमान सिंहसँग भयो । नैनबहादुरको जोस र आँट देखेर सिंहले प्रजातन्त्र प्राप्तिको यात्रामा समाहित हुन आग्रह गरे । नैनबहादुरले उनको आग्रह स्विकारे । त्यही भेटले नैनबहादुरलाई राष्ट्रिय कांग्रेसको सदस्य बनायो । र, उनको राजनीतिक यात्रा सुरु भयो । मुम्बईमा केएस रावल लगायतका नेपालीको सहयोगमा उनले राष्ट्रिय कांग्रेसको प्रवास जनसम्पर्क समिति गठन गरे, जुन अहिले भारतमा सशक्त जनसम्पर्क समितिका रूपमा स्थापित भएको छ । मुम्बई बसाइले उनलाई अभिनेता दिलीप कुमारको फ्यान बनायो । दिलीप कुमारको ‘मेला’ सिनेमा चौध पटकसम्म हेरेको पछिसम्म सुनाउँथे उनी । छोरो भागेर मुम्बई बसेको थाहा पाएपछि हर्कजंग आफैं मुम्बई पुगे र नैनबहादुरलाई डोर्‍याएर अछाम ल्याए ।

अछाम आइसकेपछि गाउँघरमै केही गर्ने चाहनाअनुरूप उनले बयाल्पाटामा नवदुर्गा मिडिल स्कुल स्थापना गरे । र, त्यहीँ पढाउन थाले । अछामको गाँज्रामा कार्तिक पूर्णिमामा राँगा र बोका बलि दिएर कात्तिके दसैं मनाउने चलन छ । डौठेगडाको मेला पनि भनिन्छ, यसलाई । नैनबहादुरले पहिलो राजनीतिक भाषण यही डौठेगडाको मेलामा दिएका थिए । आफ्नै काकालाई तत्कालीन प्रशासनले जेलमा थुनेपछि जिल्लामा आएका बडाहाकिमलाई कसैले पनि बास र खाना नदिनू भन्ने उर्दी नैनबहादुरले दिएका थिए । उनको भाषणको विषय पनि यही थियो । सबैले उनको यो कुरा मानेर बडाहाकिमलाई खान–बस्न दिएनन् । यो घटना अझै अछामीहरू याद गर्छन् । यसरी नैनबहादुरको राजनीतिक यात्रा अछामबाटै अगाडि बढ्यो । जिल्लामा उनी लोकप्रिय हुँदै गए । राष्ट्रिय कांग्रेसलाई छोडेर त्यसै बेला उनी गोर्खा परिषद्मा प्रवेश गरे । गोर्खा परिषद्का तर्फबाट अछामको निर्वाचन क्षेत्रबाट उठेका जगदीशशमशेर राणाले चुनाव हारे, त्यस बेला । बयाल्पाटाको चौतारामा ‘नैनबहादुर उठ्या भए चुनाव जित्थ्यो’ भन्ने बूढापाकाहरूको कुराले उनलाई झनै हौस्यायो । र, उनी त्यहाँको राजनीतिमा झनै सक्रिय भए ।

२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि देशमा निर्दलीय पञ्चायत व्यवस्थाको सुरुआत भयो । ‘कू’ लगत्तै नैनबहादुर भागेर पटना गए । तारामानसिंह स्वाँरले नैनबहादुरलाई काठमाडौं बोलाए । काठमाडौं आएपछि राजा महेन्द्रले उनलाई दरबार बोलाए । राजासँगको पटक–पटकको कुराकानीले पञ्चायत व्यवस्थाप्रतिको उनको धारणामा परिवर्तन आयो । र, उनी पञ्चायती राजनीतिमा प्रवेश गरे । नैनबहादुरका बुबाले २००९ सालमा कैलालीको बुटकैयामा जमिन लिएका थिए । पछि त्यहाँबाट गप्का सरे । ठूलै मौजा थियो स्वाँर परिवारको, बुटकैयामा । अछाममा दाजु नृपबहादुर स्वाँरले राजनीति गर्न थालेकाले कैलालीमा आफ्नो राजनीतिक धरातल निर्माण गर्न सक्रिय भए, नैनबहादुर । त्यहाँका चौधरी समुदायसँग उनले सम्बन्ध बढाउँदै गए । २०१८ सालमा चुहा गाउँ पञ्चायतको निर्विरोध प्रधानपञ्च भए । बर्खे खेतीपातीको काम सिद्धिएपछि कैलालीको वाणीमा मेला लाग्ने गर्थ्यो । २०२० सालको मेलामा उपस्थित भएका जनसमुदायले नैनबहादुरलाई कैलाली जिल्ला पञ्चायतको सभापति बनाए । निर्विरोध सभापति भएपछि उनको राजनीतिक सक्रियता झनै बढ्यो । कैलालीको चुहामा स्कुल स्थापना गराए । जनतासँगको सामीप्यका कारण २०२४ सालमा किसान संगठनबाट राष्ट्रिय पञ्चायतको सदस्य बने । २०२५ सालमा एकैपटक उनी भूमिसुधार राज्यमन्त्री बन्न सफल भए । २०२८ सालमा दोस्रोपटक राष्ट्रिय पञ्चायतको सदस्य बनेका नैनबहादुर राजा वीरेन्द्रको विशेष रुचिमा २०३० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष बने । त्यसपछि उनको राजनीतिक उचाइ चुलिँदै गयो ।

नैनबहादुर तत्कालीन व्यवस्थाको सुधारको पक्षमा थिए । बालिग मताधिकारका आधारमा चुनाव र राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी प्रधानमन्त्री हुनुपर्ने उनको अडान थियो । गाउँ फर्क अभियान समयसापेक्ष नभएकाले खारेज गर्नुपर्ने सुझाव राजालाई उनैले दिएका थिए । पछि, यो अभियान खारेज भयो । २०३६ सालको जनमत सङ्ग्रहमा तत्कालीन सरकारलाई महत्त्वपूर्ण सहयोग रह्यो नैनबहादुरको । २०३७ सालमा उनले जनमत संग्रहमा गरेको विशेष सहयोगको कदरस्वरूप कानुनमन्त्रीको जिम्मेवारी पाए । केही समयपछि खाद्य तथा कृषिमन्त्रीको जिम्मेवारी थपियो । २०३८ सालमा उनी गृहमन्त्री पनि बने । २०४६ सालमा नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र बहालीका लागि आन्दोलन भयो । आन्दोलन चर्किंदै गएपछि मरीचमानसिंह श्रेष्ठको मन्त्रिपरिषद् विघटन भयो र लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रित्वमा मन्त्रिमण्डल गठन भयो । उक्त मन्त्रिमण्डलमा गृहमन्त्रीसहित नौ वटा मन्त्रालयको जिम्मेवारी नैनबहादुरले पाए । तत्कालीन अवस्थामा आन्दोलनरत पक्षसँग वार्ता गराउन र आवश्यक निकास दिन महत्त्वपूर्ण भूमिका रह्यो, नैनबहादुरको । २०४६ सालको आन्दोलनले सफलता पाएसँगै नेपालमा प्रजातन्त्रको स्थापना भयो । त्यसपछि राप्रपा (थापा) को उपाध्यक्ष बने, नैनबहादुर । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नैनबहादुर नेपाली कांग्रेसमा प्रवेश गरे । कांग्रेसले उनलाई पार्टीको केन्द्रीय आमन्त्रित सदस्य बनायो । कैलाली क्षेत्र नं. २ बाट कांग्रेसका महासमिति सदस्य पनि बने ।

अछाम जिल्लाको उन्नतिका लागि नैनबहादुरले गरेका कामहरू चिरस्मरणीय छन् । २०३६ सालअगाडि बूढीगंगाको पश्चिमतिरको भूभागलाई आठ सय क्षेत्र भनिन्थ्यो । तेह्र गाउँ पञ्चायत भएको यो क्षेत्र डोटी जिल्लाअन्तर्गत पर्थ्यो । नैनबहादुरले ती तेह्र गाउँ पञ्चालयतलाई अछाममा गाभेपछि दुई निर्वाचन क्षेत्रसहितको फराकिलो अछाम बन्न पुग्यो । अछामको बयाल्पाटामा सात दशकअघि नवदुर्गा मेडिकल स्कुल नैनबहादुरले स्थापना गरेका थिए । अछामको बूढीगंगामा झोलुंगेपुल, बयाल्पाटा अस्पताल, साँफेबगरमा ‘एयरपोर्ट’ बनाउन पहल लगायतका थुप्रै सम्झनयोग्य कामहरू नैनबहादुरले गरे ।

नैनबहादुरले कैलालीको पुर्ख्यौली जमिन बेचेर आफ्नो चुनाव खर्च जुटाएका थिए । उनले उच्च राजनीतिक पदमा बस्दा भ्रष्टाचार गरेको र नाता–परिवारबाट घेरिएको जस्ता कुरा जनमानसले कहिल्यै सुन्नुपरेन । व्यक्तिगत जीवनबाट सार्वजनिक जीवनमा आइसकेपछि सबै काम पारदर्शी हुनुपर्छ भन्ने मान्यता नैनबहादुरको थियो । नैनबहादुर राजनीतिमा कुरा लाउने संस्कृतिका सख्त विरोधी थिए । गोपनीयता राख्न सक्ने अर्को विशेषता थियो उनको । नोकरी भनसुनका आधारमा हैन, योग्यताका आधारमा खानुपर्छ भन्ने धारणा नैनबहादुको थियो । कसैले घरमै ल्याइदिएका उपहारहरू पनि तुरुन्तै फिर्ता गर्थे । परिवारकै सदस्यहरूका लागि पनि कतै भनसुन गरेनन् ।

सक्रिय राजनीतिबाट विश्राम लिएपछि पछिल्लो समय उनी वानेश्वरस्थित घरमा समय बिताइरहेका थिए । हालै कोरोना संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरियो । चौरानब्बे वर्षको उमेरमा पनि उनले कोरोनालाई जिते । विडम्बना, कोरोनालाई जितेको दोस्रो दिन उनी मृत्युसँग हारे ।

प्रकाशित : मंसिर ३०, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?