सम्पदा बस्तीको पुनर्निर्माणमा ‘हाउस पुलिङ’

पुराना वा भूकम्पबाट क्षतिग्रस्त भवनहरू हाउस पुलिङ विधिबाट पुनर्निर्माण गर्दै गएमा काठमाडौंको पुरानो सहरी क्षेत्र केही वर्षमै सुन्दर, बस्नलायक र जीवन्त संग्रहालय हुनेछ ।
किशोर थापा

२०७२ सालको विनाशकारी भूकम्पपछि हाउस पुलिङ (एकीकृत आवास विकास) को अवधारणाबारे सहरी योजनाकारहरूका बीचमा चर्चा चल्न सुरु भएको हो । क्षतिग्रस्त सम्पदा बस्तीहरूको पुनर्निर्माणका लागि उपयुक्त विधिका रूपमा यसलाई अघि सारिएको हो ।

सम्पदा बस्तीको पुनर्निर्माणमा ‘हाउस पुलिङ’

तर हालसम्म कुनै पनि स्थानमा नमुना आयोजनाका रूपमा यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापना नीति र भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ मा हाउस पुलिङ विधिबाट सम्पदा बस्तीहरूका घरहरूको पुनर्निर्माण गरिने उल्लेख छ । त्यसका लागि आवश्यक मापदण्ड बनाई उपर्युक्त स्थानको पहिचान गर्ने र त्यसको आयोजना कार्यान्वयन गर्ने–गराउने अधिकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । नेपालका लागि नौलो यो विधिको कार्यान्वयनका लागि स्थानीय सरकार, पुरातत्त्व विभाग, मालपोत तथा नापी कार्यालय, स्थानीय परम्परागत गुठीहरूको सहभागिता आवश्यक छ ।

काठमाडौंको पुरानो सहरी क्षेत्रमा भूकम्पपछि धेरै घर बस्नै नहुने गरी भत्केका छन्, कतिपय घर चर्केर टेको लगाइएका अवस्थामा छन् । घरजग्गा व्यवसायीहरूले यस्ता घर वा टोल कब्जा गरी व्यापारिक भवनहरू बनाउने र रैथाने बासिन्दाहरूलाई विस्थापित गर्ने प्रबल सम्भावना देखिन्छ । आवासीय भवनहरूको ठाउँमा व्यापारिक भवन मात्र बन्नु भनेको स्थानीय बासिन्दालाई विस्थापित गरी बाहिरका मानिसलाई भित्र्याउनु हो र व्यापारिक लाभका लागि स्थानीय धर्मसंस्कृतिलाई अतिक्रमण गर्न छुट दिनु हो । यो प्रवृत्ति बढ्दै गए पछि सामाजिक र सांस्कृतिक प्रयोजनका लागि छुट्याइएका खाली ठाउँमा व्यापारिक गतिविधि बढ्न थाल्छन् र ती स्थानलाई निजीकरण गर्ने प्रयास हुन्छ, जुन अहिले पनि भइरहेको छ । व्यापारिक गतिविधि बढ्दै जाँदा पर्यटकहरूलाई घुमफिर र दृश्यावलोकन गर्न असुविधा हुन्छ, जसबाट पर्यटन व्यवसाय घट्छ । यी सबै पक्षलाई विचार गर्दा पुरानो सहरको मौलिक वास्तुकला, धर्मसंस्कृति जोगाउनका लागि आवास पुनर्निर्माण गर्दा हाउस पुलिङ एउटा उपयुक्त विधि हुन सक्छ ।

हाउस पुलिङको आवश्यकता

काठमाडौंका पुरानो सहरी क्षेत्रमा भूकम्पले भत्केका वा क्षति भएका घरहरूको पुनर्निर्माण हुन सकिरहेको छैन । यो क्षेत्रमा लिच्छविकालमा व्यवस्थित रूपमा सहर बसाइएको र पछि मल्लकालमा विस्तार र विकास भएको हो । हजारौं वर्षदेखि भारत र तिब्बतको व्यापारिक मार्गमा रहेको यो स्थानमा सडकको सञ्जाल, चोक, बहाल र खुला चौरहरू, मठमन्दिर, मसानघाट, स्नानघाट, दरबार, निजी घरहरू एउटा निश्चित आकार र नक्साअनुसार बनेका छन् । हजारौं वर्षको सभ्यता र संस्कृति बोकेको यो बस्ती नेवारी संस्कृतिको अनुपम नमुनाका रूपमा रहेको छ । जनसंख्या वृद्धि, आधुनिक रहनसहन, व्यापारिक गतिविधि, पूर्वाधारको कमी र सार्वजनिक स्थलहरूको संकुचनका कारण त्यहाँका रैथानै बासिन्दामध्ये कोही आफूखुसी बसाइँ सरेका छन् त कोही आर्थिक लाभका कारण आफ्नो घर भाडामा लगाएर अन्यत्र बसेका छन् । उनीहरूका ठाउँ अन्यत्रबाट व्यापार, व्यवसाय वा रोजगारीका लागि आएका गैरनेवार समुदायले ओगटेका छन् । बाँकी रहेका रैथानेहरूको नयाँ पुस्तामा पनि साँघुरो, अँध्यारो, कच्ची र भौतिक सेवासुविधाको अभाव भएको उक्त स्थानबाट अन्यत्रै बसाइँ सर्ने प्रवृत्ति बढ्दो छ ।

रैथाने बासिन्दाले धान्दै आएका जात्रा, पर्व, पूजाआजा, भोजभतेर पनि घट्ने क्रममा छन् भने, मठमन्दिर, डबली, बहाल, चौरहरूको प्रयोग पनि सामाजिक–सांस्कृतिकभन्दा व्यापारिक र मनोरञ्जक क्रियाकलापमा बढी हुन थालेको छ । पुर्ख्यौली घर दाजुभाइलाई अंशबन्डा गर्दा ठाडो चिर्ने प्रचलन छ, जसका कारण हरेक घरमा भर्‍याङ र लबीका लागि ठाउँ छुट्याउनुपर्दा भोगचलन गर्न मिल्ने ठाउँ कम हुन गई परिवारले साँघुरो महसुस गर्ने अवस्था छ । कतिपय ठाउँमा छ फिट चौडा घरहरूमा पनि मानिस बसेका देखिन्छन् । ठाउँ नपुगेर जथाभावी तला थप्दै जाने चलन छ । यस्ता साँघुरा घरहरू असुरक्षित र अस्वास्थ्यकर त छँदै छन्, आधुनिक सेवासुविधाबाट समेत वञ्चित छन् । यी असुविधाले गर्दा, नेवारी सभ्यताको केन्द्रविन्दु हुँदाहुँदै पनि उक्त क्षेत्रबाट रैथाने समुदाय पलायन हुन थालेका छन्, जसबाट त्यहाँका धर्मसंस्कृति र सम्पदाको लोप हुँदै जाने खतरा बढेको छ । पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण र आकर्षक उक्त क्षेत्रलाई जीवित संग्रहालयका रूपमा संरक्षण गर्नका लागि विशेष प्रयास गर्नु आवश्यक छ ।

काठमाडौं उपत्यकाका अन्य सहरका तुलनामा काठमाडौं सहरमा मात्र हाउस पुलिङ विधि सम्भाव्य देखिन्छ । किनकि त्यहाँ आर्थिक गतिविधिहरू बढी हुने र राम्रो प्रतिफल आउने भएकाले यसमा लगानी गर्न घरधनी र वित्तीय संस्थाहरू तयार हुन्छन् । ललितपुर, भक्तपुर, ठिमीलगायत अन्य पुराना बस्तीमा हाउस पुलिङ विधि अहिलेका लागि उपयुक्त नहुन सक्छ र अन्य विधि प्रयोग गर्न सकिन्छ ।

हाउस पुलिङको अवधारणा

काठमाडौं उपत्यकामा करिब तीन दशकदेखि जग्गा एकीकरण विधिबाट सहरी क्षेत्रमा व्यवस्थित आवास विकास गर्ने प्रचलन सुरु भएको हो । कृषिका लागि प्रयोग भइरहेको व्यक्तिका जग्गालाई चक्लाबन्दी गरी सो क्षेत्रमा जग्गाधनीबाट निश्चित मात्रामा जग्गाको योगदान लिई सोबाट सडक, विद्युत्, खानेपानी तथा ढल निकास र सार्वजनिक खुला क्षेत्रको योजनाबद्ध व्यवस्था गरी बाँकी जग्गा जग्गाधनीलाई नै फिर्ता गर्ने विधिलाई ल्यान्ड पुलिङ वा जग्गा एकीकरण भनिन्छ । काठमाडौं उपत्यकाबाट सुरु भएको यो विधि अहिले देशका विभिन्न सहरमा लागू गरिएको छ । जसरी विभिन्न व्यक्तिका जग्गालाई चक्लाबन्दी वा एकीकरण गरेर जग्गाको साबिक क्षेत्रफलको निश्चित प्रतिशत कटाई जग्गाधनीलाई नै फिर्ता गरिन्छ, त्यसै गरी विभिन्न टुक्रामा बाँडिएका निजी घरहरूलाई एकीकरण गरी तिनलाई भत्काएर सरकारको मापदण्डको परिधिभित्र रही एउटै सामूहिक आवासीय घर बनाउने र प्रत्येक परिवारलाई तलातलाका दरले फ्ल्याटका रूपमा आवास एकाइ फिर्ता गर्ने तरिका नै हाउस पुलिङ हो ।

यसो गर्दा सबै आवास एकाइधनीहरूले साझा भर्‍याङ, लबी, पार्किङ, चोक, बहालको प्रयोग गर्नुपर्ने हुन्छ । हाउस पुलिङ गरेपछि घरधनीहरूले आफ्नो पहिलेको साँघुरो, जीर्ण तर अलग घरको बदलामा एउटै ठूलो भवनभित्र बढी ठाउँ र सेवासुविधासहितको आवास एकाइ (अपार्टमेन्ट) फिर्ता पाउँछन् । यो अवधारणालाई माथिका दुई चित्रहरूमा देखाइएको छ । पहिलो चित्रमा बत्तीस फिट मोहडा भएको एउटा मूलघर चार जना (क, ख, ग, घ) व्यक्तिमा अंशबन्डा गरेपछि प्रत्येकले आठ फिट मोहडा भएको घर पाउँछन् र हरेकले छुट्टै भर्‍याङ र लबीका लागि ठाउँ छुट्याउँछन् जसले गर्दा घर साँघुरो हुन जान्छ । आ–आफ्नो इच्छाअनुसारको घर बनाउँदा कसैको घर अग्लो, कसैको होचो हुन जान्छ । मापदण्डको ख्यालै नगरी आफूखुसी बनाउँदा घरको मोहडा पनि फरकफरक हुन गई बाहिरबाट हेर्दा कुरूप देखिन्छ । त्यसको बदलामा चारै घरधनी आपसमा मिलेर पुरानो भवन भत्काई नयाँ बनाउँदा दोस्रो चित्रमा देखाएजस्तै एउटै साझा भर्‍याङ र लबीसहितको अपार्टमेन्ट प्रणालीका घर हुन्छन् ।

सो भवनको भुइँतलामा व्यापारिक प्रयोजन र माथिका तलामा आवासीय प्रयोजन गर्न मिल्ने गरी डिजाइन तयार गरिन्छ । प्रचलित मापदण्डअनुसारको यो भवन भूकम्पप्रतिरोधी, मौलिक वास्तुकलायुक्त र आधुनिक सुविधायुक्त बनाइन्छ जुन अहिलेको आधुनिक पुस्ताका लागि सुविधाजनक हुन्छ । यसरी टोलैपिच्छेका पुराना वा भूकम्पबाट क्षतिग्रस्त भवनहरू हाउस पुलिङ विधिबाट पुनर्निर्माण गर्दै गएमा केही वर्षमा सहरको रूपमै परिवर्तन आउँछ । तर, यो परिवर्तन स्थानीय मौलिक संस्कृति, रीतिरिवाज र परम्परा सुहाउँदो हुन्छ अनि यसले रैथाने बासिन्दाको नयाँ पुस्ताको आवश्यकतासँग मेल खान्छ । भूकम्पबाट क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि हाउस पुलिङ विधिको प्रयोग गर्ने यो सबभन्दा उपयुक्त समय हो । यो विधि स्थापित गर्न सकिएमा सम्पदा बस्तीका साथै अव्यवस्थित आधुनिक बस्तीको पुनर्निर्माण गर्न सजिलो हुनेछ ।

हाउस पुलिङमा पालना गर्नुपर्ने सिद्धान्त

१. भूकम्पबाट क्षतिग्रस्त निजी घरहरूको पुनर्निर्माण गर्दा तिनलाई सुरक्षित, भूकम्पप्रतिरोधी, आधुनिक सेवासुविधासम्पन्न बनाउने । निजी घरमा भुइँतलामा व्यापारिक र अन्य तलामा आवासीय प्रयोजनका लागि उपयुक्त हुने किसिमले निर्माण गर्ने ।

२. नयाँ निर्माण हुने घरमा नियमित खानेपानी, ढल निकास, बिजुली, इन्टरनेट, फोहोरमैला व्यवस्थापन र अग्नि नियन्त्रण उपकरणजस्ता आधुनिक सेवासुविधाहरूको व्यवस्था गर्ने ।

३. पुर्ख्यौली घर दाजुभाइलाई अंशबन्डा गर्दा ठाडो चिर्ने प्रचलन बन्द गर्ने र घरलाई ठाडा चिरा पार्नुको सट्टा तलातलामा भाग लगाउने । जग्गाको स्वामित्व सामूहिक र प्रत्येक तलाको स्वामित्व निजी हुने ।

४. सडक, गल्ली, चोक, बहालजस्ता खुला स्थानको साबिकको क्षेत्रफल घट्न नदिने र सार्वजनिक प्रयोजनका लागि निर्बाध रूपमा उपलब्ध हुने व्यवस्था गर्ने ।

५. मठ, मन्दिर, पाटी, पौवा, सत्तल, देवालयहरूको मर्मत–सम्भार गर्ने । त्यहाँ हुने पूजाआजा वा नित्यकर्म चालु राख्ने ।

६. नवनिर्मित घरमा स्थानीय अनिवार्य रूपमा बस्नुपर्ने । बढी भएको ठाउँ भाडामा लगाउन सकिने ।

७. जात्रा, पर्व, भोजभतेर लगायतका धार्मिक–सांस्कृतिक कार्यक्रमहरूमा कुनै अवरोध आउन नदिने ।

कार्यान्वयन विधि

यो विधिअन्तर्गत निम्न कार्यहरू गरिन्छन्–

१. यदि एउटै परिवारको सिंगो घर अंशबन्डा भई ठाडो चिरा पारेर भाग लगाइएको रहेछ भने ती घरहरूलाई एकीकृत गरी एउटै भवन बनाइन्छ र प्रत्येक परिवारलाई तलातला भाग लगाइन्छ । साझा भर्‍याङ र लबीको उपयोग गर्दा प्रत्येक परिवारले भोगचलन गर्ने घरको क्षेत्रफल पहिलेभन्दा बढी हुन आउँछ । आय आर्जनका लागि घरको भुइँतलामा पसलहरू राखिन्छन् । पसलहरू घरधनीले आफैंले प्रयोग गर्न सक्छन् वा आफू माथिल्लो तलामा बसेर भुइँतला भाडामा लगाउन सक्छन् । भवनहरू प्रचलित निर्माण मापदण्डअनुसार परम्परागत वास्तुकला झल्किने बनाइन्छन्, जसबाट त्यो ठाउँको वातावरण परम्परागत बस्तीको जस्तो र आकर्षक देखिन्छ ।

२. घरअगाडिको बाटो, चोक वा बहालको आकारप्रकार वा क्षेत्रफलमा कुनै कमी हुन नदिई सार्वजनिक सम्पत्तिका रूपमा समुदायको जिम्मा लगाइन्छ । स्थानीय समुदाय र नगरपालिकाको संयुक्त प्रयासमा त्यसको मर्मतसम्भार गरिन्छ ।

३. चोक वा बहालभित्र रहेका मठमन्दिर, पाटी–पौवा वा सत्तलको पुनर्निर्माणको जिम्मेवारी स्थानीय सरकारको हुनेछ ।

४. त्यस क्षेत्रमा खानेपानी, ढल निकास, सडकबत्तीको सुधार, सवारीसाधन पार्किङ, सामुदायिक भवन आदिको व्यवस्था गरी पहिलेभन्दा सेवासुविधाको स्तरवृद्धि गरिनेछ जसबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सहजता र सुबिस्ता थपिनेछ ।

यसो गर्दा नयाँ पुस्ता आफ्नो पुर्ख्यौली थातथलोमा बस्न राजी हुन्छ ।

आवश्यक पूर्वसर्त

१. एउटै परिवारबाट छुट्टिएर अंशबन्डा गरेकाहरू सगोलको घर निर्माण गरी अपार्टमेन्टका रूपमा बस्न राजी हुनुपर्छ । एउटै चोकवरिपरि रहेका परिवारहरू साझा चोक, सिँढी र लबी प्रयोग गरी फ्ल्याट प्रणालीमा बस्न तयार हुनुपर्छ ।

२. घरसँग जोडिएका चोक वा बहालको अतिक्रमण हटाउन तयार हुनुपर्छ र त्यस्ता ठाउँ साझा रूपमा उपयोग गर्न राजी हुनुपर्छ । भित्री गल्लीहरू चौडा गरेर मोटरबाटो बनाउन, चोकलाई मासेर पार्किङ बनाउन पाइँदैन ।

३. नगरपालिका वा सरकारी निकायले तोकेको मापदण्डअनुसार घरको उचाइ, मोहडा र स्ट्रक्चर बनाउनुपर्छ । अहिलेजस्तो मनपरी डिजाइन, मापदण्डको ठाडो उल्लंघन गर्न पाइँदैन ।

४. पुनर्निर्माण गरिएको आवासीय भवन पूरै व्यापारिक प्रयोजनमा लगाउन पाइँदैन । तर भुइँतलामा पसल र पहिलो तलामा होमस्टे, रेस्टुराँ आदि चलाउन दिन सकिन्छ । माथिल्ला तलामा अनिवार्य रूपमा घरधनी बस्ने प्रबन्ध मिलाउनुपर्छ ।

निर्माणमा आवश्यक लगानी

हाउस पुलिङ योजना कार्यान्वयनका लागि निजी घरको पुनर्निर्माणमा घरधनीहरूले आर्थिक स्रोत जुटाउनुपर्छ जुन उनीहरूले आफ्नो बचत वा बैंक ऋणबाट जुटाउन सक्छन् । बाटाघाटा, चोक, बहालको सुधार, खानेपानी, ढल निकास र विद्युतीकरणका लागि सरकारले रकमको व्यवस्था गर्नुपर्छ । घरधनीहरूले आफ्नो लगानी कालान्तरमा सम्पत्तिको मूल्यवृद्धि र मासिक घरभाडाका रूपमा उठाउनेछन् भने स्थानीय नगरपालिकाले गर्ने यो लगानीको प्रतिफल विभिन्न खालका सेवा–शुल्क, व्यवसाय कर, घरजग्गा कर, घरबहाल करका रूपमा प्राप्त गर्नेछ । ऐतिहासिक क्षेत्रको सुधारबाट प्राप्त हुने अनेकौं धार्मिक, सांस्कृतिक र सामाजिक लाभलाई भने पैसामा हिसाब गर्न सकिन्न ।

हाउस पुलिङमा चुनौती

भूकम्पपछिको पुनर्निर्माणमा सबभन्दा पछि परेको क्षेत्र सहरी आवास पुनर्निर्माण नै हो । यसका प्रमुख कारण हुन्– घरधनीहरूको पारिवारिक कलह, घरजग्गााको स्वामित्वबारे मुद्दामामिला, कमजोर आर्थिक अवस्था, सरकारको अपर्याप्त अनुदान । अहिले पनि भूकम्पले चर्किएका घरमा मानिसहरू बसिरहेका र व्यापार–व्यवसाय गरिरहेका देखिन्छन् । कतिपय परिवारलाई जीर्ण भवन भत्काएपछि अस्थायी आवासको व्यवस्था गर्न कठिनाइ परेको छ । प्राविधिक रूपमा हाउस पुलिङ सम्भाव्य देखिए पनि सामाजिक–आर्थिक पक्षको छिनोफानो नगरीकन यो विधि कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण देखिन्छ । अहिलेसम्म नेपालमा यो विधिको प्रयोग नभएको र हाउस पुलिङ गरेपछिको अवस्था कस्तो हुन्छ भनेर मानिसले प्रत्यक्ष रूपमा नदेखेको हुँदा स्थानीय नगरपालिकाले नमुनाका रूपमा एउटा भवन बनाएर देखाउनुपर्ने हुन्छ । त्यसका आधारमा कार्यविधि तर्जुमा गरेर क्रमशः यो विधिको प्रचारप्रसार गर्नुपर्छ । देशमै पहिलोपटक काठमाडौंको गोंगबुमा ल्यान्ड पुलिङ योजना लागू गर्दा भोग्नुपरेको प्राविधिक, प्रशासनिक, सामाजिक र राजनीतिक जटिलता बयान गरिसाध्य छैन । तर त्यसले पछिका धेरै योजना कार्यान्वयन गर्ने बाटो खोलिदिएको अनुभव हामीसँग छ ।

फाइदाहरू

यो विधिबाट स्थानीयवासीलाई निम्न फाइदा हुनेछ–

१. रैथाने समुदाय विस्थापित हुन नपर्ने । नयाँ पुस्ताको बसोबास बढ्ने ।

२. आधुनिक सेवासुविधा उपलब्ध हुने । भूकम्पप्रतिरोधी र परम्परागत वास्तुकलायुक्त भवन निर्माण हुने भएकाले पर्यटकीय क्रियाकलापमा वृद्धि भई स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार हुने ।

३. पुरानो सहरी क्षेत्र बस्नलायक हुने । नयाँ पुस्तालाई परम्परागत जात्रा, चाडपर्व आदिमा संलग्न गराउन प्रोत्साहन हुने ।

४. चोक, बहाल, सत्तल, मठमन्दिर आदिले ओगटेको जग्गाको संरक्षण हुने । ती सम्पदाहरूको मर्मत–सम्भार, पुनर्निर्माण भई सार्वजनिक सम्पत्तिको जगेर्ना हुने ।

उपर्युक्त उपायबाट त्यो क्षेत्रमा बसोबास गरिरहेका रैथाने बासिन्दाहरूको जीवनस्तरमा सुधार आउनुका साथै विभिन्न असुविधाका कारण आफ्नो थातथलो छोड्न बाध्य भएका परिवारहरू पनि पुर्ख्यौली थलोमा फर्केर आउने अवस्था उत्पन्न हुन्छ । अहिले पनि उक्त क्षेत्रमा पर्यटकीय र व्यापारिक गतिविधि एवं विभिन्न जात्रा, चाडपर्व पनि जेनतेन चलिरहेका छन् अनि ती समारोहमा स्थानीय बासिन्दा र बसाइँ सरेर अन्यत्र गएका गुठियारहरू सहभागी हुने गर्छन् । मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण हुँदै गएपछि त्यस क्षेत्रमा पर्यटकीय गतिविधि बढी स्थानीयवासीको आयवृद्धि हुनेछ र जीवनस्तरमा सुधार हुनेछ । काठमाडौंको पुरानो सहरी क्षेत्र सुन्दर, बस्नलायक र जीवन्त संग्रहालयजस्तो हुनेछ ।

(थापा नेपाल सरकारका पूर्वसचिव हुन् ।)

प्रकाशित : मंसिर २९, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?