२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

आँखाको दृष्टि पर्दाको सुरक्षा

किरण शाक्य

तपाईंलाई कालो धब्बा उडिरहेको, नजिकको अक्षर पढ्न गाह्रो भएको, दृष्टि धमिलो भएको वा कुनै चीजले छेकेको जस्तो अनुभव भएको छ ? डायबिटिजले गर्दा दृष्टि पर्दामा पर्ने असर डायबिटिक रेटिनोपेथीको लक्षण हुन सक्छ यो । डायबिटिजले मुटु र मृगौलामा जस्तै आँखाको दृष्टि पर्दामा पनि असर पार्छ ।

आँखाको दृष्टि पर्दाको सुरक्षा

विश्वमा अन्धोपन वा दृष्टि कमजोर बनाउने प्रमुख कारणमा डायबिटिक रेटिनोपेथी पर्न आउँछ । दक्षिण एसियामा डायबिटिजका प्रत्येक आठ बिरामीमध्ये एक जनालाई कुनै प्रकारको डायबिटिक रेटिनोपेथीको असर रहेको तथ्यांकले देखाएको छ । नेपालमा त अझ, सन् २०१९ मा गरिएको अन्धोपन सम्बन्धी अध्ययन (आरएबी) अनुसार, प्रत्येक चार डायबिटिकमध्ये एक जनालाई त्यस्तो समस्या थियो । डायबिटिक रेटिनोपेथी प्रायः काम गर्ने उमेर समूह (चालीस वर्षदेखि साठी वर्षसम्म) मा बढी देखिएको छ । उक्त अध्ययन अनुसार, डायबिटिज र डायबिटिक रेटिनोपेथीको समस्या महिलाका तुलनामा पुरुषमा बढ्दै गएको छ । जनमानसमा डायबिटिज र यसले गर्दा मुटु, मृगौला र आँखाको दृष्टि पर्दामा हुन सक्ने असरको आवश्यक ज्ञान र सचेतना नहुनु अनि समयमा उपचार गर्न नजानु नै डायबिटिक रेटिनोपेथीका बिरामी बढ्नुको प्रमुख कारण हो ।

डायबिटिज दुई किसिमको हुन्छ । पहिलो प्रकारको डायबिटिज सानो उमेरमा सुरु हुन्छ र इन्सुलिनमा निर्भर रहन्छ । दोस्रो खाले डायबिटिज अलि वयस्क उमेरमा सुरु हुन्छ अनि औषधि र खानपानबाट नियन्त्ररण गर्न सकिन्छ । पहिलो प्रकारका डायबिटिज बिरामीलाई अलि चाँडै र गम्भीर प्रकारको डायबिटिक रेटिनोपेथीको सम्भावना हुन्छ भने प्रायः बढी संख्यामा हुने दोस्रो किसिमका डायबिटिज बिरामीलाई चाहिँ अलि बिस्तारै र कम दृष्टि पर्दामा नोक्सान पुर्‍याउने खालको हुन्छ । डायबिटिक रेटिनोपेथी हुनुको प्रमुख कारण हो– रगतमा चिनीको मात्रा अनियन्त्रित रूपमा बढ्नु । लामो समयसम्मको डायबिटिज, उच्च रक्तचाप, रगतमा बोसोको बढी मात्रा, मृगौलाको समस्या, बढी शारीरिक तौल, धूमपान, गर्भावस्थाले रेटिनोपेथीलाई अझ बिगार्न सघाउँछ । यी कारणले गर्दा दृष्टि पर्दाका लागि रक्त सञ्चार गर्ने रक्तनलीहरू र दृष्टि पर्दाका कोषहरूमा उल्लेख्य परिवर्तन आएर त्यहाँ अक्सिजनको मात्र कम भई रगत आउने, दृष्टि पर्दामा पानी र बोसो जम्मा हुने हुन्छ । परिणामस्वरूप दृष्टि कमजोर हुने, कालो धब्बा देखिने हुन सक्छ । पछि गएर दृष्टि पर्दामा नयाँ कमजोर रक्तनलीहरू बन्छन्, जुन कुनै पनि बेला फुट्न सक्छन् र बिरामीले एक्कासि ठूलो कालो धब्बा देख्ने वा दृष्टि बन्द भएको अनुभव गर्ने हुन सक्छ ।

डायबिटिज बिरामीका आँखाका नानी फुलाएर रेटिनोपेथीलाई निदान गर्न सकिन्छ । वर्तमानमा डायबिटिक रेटिनोपेथीलाई सूक्ष्म अध्ययन गर्ने अप्टिकल कोहरेन्स टोमोग्राफी मेसिनको उपलब्धताले सजिलो भएको छ । अझ नयाँ प्रविधिको अप्टिकल कोहरेन्स टोमोग्राफी एन्जियोका कारण डायबिटिक रेटिनोपेथीले दृष्टि पर्दामा पार्ने विभिन्न असरलाई अध्ययन गर्न र निदान गरी उपचार गर्न निकै सहयोग पुगेको छ । डायबिटिक रेटिनोपेथी प्रमुखतः दुई चरणको हुन्छ । पहिलो चरणमा दृष्टि पर्दामा रगत आउने र पर्दाभित्र पानी जम्मा भई दृष्टि कमजोर हुने हुन्छ । यस अवस्थामा लेजर प्रविधिबाट उपचार गर्ने वा आँखाभित्र मसिनो सुईद्वारा विशेष किसिमको औषधि ‘एन्टी–भीईजीएफ’ लगाउने वा दुवै तरिका अपनाउने गरिन्छ । यस प्रविधिबाट दृष्टिमा निकै हदसम्म सुधार ल्याउन सकिन्छ । दोस्रो चरणमा बिरामीका आँखाभित्र रगत आई एक्कासि दृष्टि बन्द भएको अनुभव हुन्छ । यस अवस्थामा नयाँ प्रविधिको भिट्रेक्टोमी मेसिनबाट त्यो रगत सफा गरेर बिरामीको दृष्टि र पर्दालाई सुरक्षित र सुधार गर्न सकिन्छ ।

डायबिटिज हुँदैमा तुरुन्तै डायबिटिक रेटिनोपेथी हुन्छ भन्ने छैन । यसका लागि रगतमा चिनीको मात्रा ठीक अवस्थामा राख्ने, उच्च रक्तचाप नियन्त्रणमा राख्ने र रगतमा बोसोको मात्रा कम गर्ने तरिका अपनाएमा निकै हदसम्म डायबिटिक रेटिनोपेथीलाई नियन्त्रण गर्न सकिन्छ । नियमित व्यायाम, राम्रो खानपान र नियमित औषधि सेवनमा ध्यान दिनुपर्छ । डायबिटिज बिरामीले कम्तीमा वर्षमा एक चोटि आँखाको जाँच गराएर दृष्टि पर्दामा डायबिटिक रेटिनोपेथी रहे/नरहेको यकिन गर्नुपर्छ । डायबिटिक रेटिनोपेथी पहिलो चरणमा छ भने वर्षको दुई–तीन पटक र दोस्रो चरणमा छ भने चार–पाँच पटक आँखा उपचार गराउनुपर्छ । डायबिटिक रेटिनोपेथीका कारण एक पटक गुमेको दृष्टि फर्काउन कठिन हुन्छ । यसकारण नियमित रूपमा आँखाका विशेषज्ञकहाँ गई दृष्टि पर्दाको जाँच गराउन अनिवार्य छ । डायबिटिक रेटिनोपेथी कम गर्न जनमानसमा यससम्बन्धी ज्ञान र चेतना हुनु जरुरी छ, तब मात्र यसबाट हुने दृष्टि पर्दाको असर र अन्धोपन नियन्त्रणमा ठूलो टेवा मिल्न सक्छ ।

(शाक्य दृष्टि पर्दा रोग विशेषज्ञ हुन् ।)

प्रकाशित : मंसिर २८, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?