पर्वत जोगाए आफ्नै कल्याण- विचार - कान्तिपुर समाचार

पर्वत जोगाए आफ्नै कल्याण

प्रकृतिमा आधारित पर्यटनले उच्च जैविक विविधता भएका क्षेत्रमा जीविकोपार्जनका स्रोतहरू उपलब्ध गराउनुका साथै संरक्षणलाई प्रोत्साहन पनि दिन सक्छ ।
पेमा जम्शो

पर्वतीय क्षेत्रहरूले हाम्रो ग्रहको स्वास्थ्यस्तरको संकेत दिन्छन् । विश्वका यी उच्चतम भेगमा हुने परिवर्तनले अन्य स्थानमा नदीहरूको बहाव, बालीनालीको उत्पादन र जीविकोपार्जनको यथार्थ निर्धारण गर्छन् ।

तैपनि यी अत्यन्त महत्त्वपूर्ण क्षेत्रबारे विश्वभरि नै, अमेजन नदी वा ध्र्रुवीय क्षेत्रहरूको दाँजोमा, थोरै चर्चा हुने गरेको पाइन्छ । हरेक वर्ष आजकै दिन (११ डिसेम्बर) मनाइने अन्तर्राष्ट्रिय पर्वत दिवस विश्वसामु यी महान्, महत्त्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान पनि हो । हाम्रो साझा भविष्यलाई जगेर्ना गर्ने हो भने जलवायुमा भइरहेको तथा अन्य परिवर्तनविरुद्ध हाम्रो लडाइँ, तिनको अत्यधिक प्रभाव पर्ने यो उच्चतम भेग र संवेदनशील क्षेत्रको मोर्चाका रूपमा, गर्नुपर्छ ।

यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको सन्देश ‘पर्वतीय जैविक विविधता’ मा पर्वतहरूको विशिष्टता तथा महत्ता अन्तर्निहित छ । यसले विद्यमान जैविक विविधतामा अत्यन्तै ठूलो ह्रास ल्याउन सक्ने अनेक खतराप्रति ध्यानाकर्षण गराउँदै पर्वत जोगाउन हामीले गर्नुपर्ने साझा प्रयत्नको अपरिहार्यता पनि देखाउँछ ।

पर्वतमा प्रचुर विविधता

पर्वतीय क्षेत्रहरू यथार्थमा जैविक विविधताका प्रचुर भण्डार हुन् । पर्वतहरूले विश्वको जमिनको २७ प्रतिशत मात्रै ओगटे पनि अन्य स्थानको दाँजोमा यिनमा अत्यन्त धेरै जैविक विविधता हुन्छ । विशेषतः कर्कट रेखा र मकर रेखाबीच क्रान्तिवलयमा पर्ने उष्ण भेगका पर्वतमा विश्वकै जैविक विविधतासम्पन्न तर संवेदनशील क्षेत्रमध्ये आधा अवस्थित छन् । यी क्षेत्रमा पृथ्वीका उभयचर, पन्छी तथा स्तनधारी चौपायाहरूका ८५ प्रतिशत प्रजाति बसोबास गर्छन्, जसमध्ये प्रायः पर्वतीय भेगमा बस्छन् । सबैभन्दा महत्त्वपूर्ण २० खाद्यान्न प्रजातिमध्ये ६ प्रजातिको उत्पत्ति पर्वतीय भेगमा भएको हो । विषम परिस्थिति, उचाइ तथा अलगपनाका बावजुद पर्वतहरूमा जैविक विविधता मौलाउँछ भनी थुप्रै अध्ययनले देखाएका छन् । साथै पर्वतीय क्षेत्रमा उपलब्ध जैविक विविधताहरूले विशिष्ट ज्ञान तथा अनुभवसहितका समुदायलाई आकार दिन्छन् । जैविक विविधतासँगै भाषिक तथा सांस्कृतिक विविधता पनि मौलाउँछन् भन्ने तथ्य पुष्टि भइसकेको छ ।

विश्वभरिका पर्वतशृंखलाले जलभण्डारको भूमिका निर्वाह गर्छन्, जलवायु नियमन गर्छन् र नदीप्रवाह क्षेत्रमा विविध जीवन तथा संस्कृतिलाई प्रश्रय दिन्छन् । विश्वको कुनै पनि पर्वतीय प्रणालीभन्दा बढी हिन्दुकुश हिमालय पर्वतशृंखलाले झन्डै २ अर्ब मानिसलाई पर्यावरणीय सेवा उपलब्ध गराउँछ ।

हिन्दुकुश हिमालयको जैविक विविधता खतरामा

हिन्दुकुश हिमालय जैविक विविधताको गढ हो । हिन्दुकुश हिमालयको दुर्गम क्षेत्रमा बसोबास गर्ने जनसंख्याको ८५ प्रतिशत मानिस आजीविकाका लागि जैविक विविधतामाथि प्रत्यक्ष निर्भर छन् । यो क्षेत्र ३५ हजारभन्दा बढी वनस्पति तथा २०० भन्दा बढी जनावरको उद्गमस्थल हो । अहिलेको घरपालुवा कुखुरासहित थुप्रै जनावर तथा बालीनालीको उद्गम यहीँ भएको हो । र अझैपर्यन्त नयाँ प्रजातिहरू भेटिँदै छन्; पूर्वी हिमालय क्षेत्रमा मात्रै सन् १९९८ देखि २००८ सम्म हरेक वर्ष औसत ३५ नयाँ प्रजाति फेला परेका थिए ।

हिन्दुकुश हिमालय क्षेत्रअन्तर्गत ४ विश्वव्यापी जैविक विविधता प्राचुर्य स्थल, ६ युनेस्को प्राकृतिक विश्वसम्पदा स्थल, ३० रामसार स्थल र ३३० महत्त्वपूर्ण पन्छी तथा जैविक विविधता स्थल पर्छन् । १ हजारभन्दा धेरै जीवन्त भाषासहितका विविध संस्कृति तथा यी संस्कृतिसँग गाँसिएका अद्वितीय परम्परागत ज्ञानपद्धतिहरू यहीँ छन् । तर, विश्वका सबै पर्यावरण प्रणालीको अत्यधिक दोहन भइरहेको छ र त्यसबाट सिर्जित समस्यालाई जलवायु परिवर्तनले झनै विकराल बनाइरहेको छ । वनजंगल, सिमसार, चरनक्षेत्र तथा पर्वतजस्ता संवेदनशील तथा महत्त्वपूर्ण पर्यावरण प्रणालीको विनाश बढ्दो छ । विभिन्न प्रजाति तथा तिनको पर्यावरण प्रणालीबीचको जीवन्त सम्बन्धलाई परिवर्तन गरिँदै वा मासिँदै छ । हिन्दुकुश हिमालय यस मामिलामा अपवाद छैन । जैविक विविधता नाश तथा भूक्षयीकरणको विद्यमान दर कायम रहने हो भने सन् २२०० सम्ममा भारतीय हिमालय क्षेत्रबाट त्यहाँका रैथानेमध्ये २५ प्रतिशत प्रजाति लोप हुने सम्भावना छ । कोभिड महामारीले स्पष्ट देखाएझैं प्राकृतिक स्रोतसाधनको बेरोकटोक दोहन र वन्यजन्तु बासस्थानमाथिको अतिक्रमणको नतिजा गम्भीर हुनेछ । पशुजन्य रोग कोभिडले प्रकृतिमाथिको हाम्रो दुर्व्यवहारलाई उदांगो बनाइदिएको छ । किनभने अन्य थुप्रै लाभ दिनुसँगै जैविक विविधतासहितको स्वस्थ पर्यावरण प्रणालीले हामीलाई महामारीस्तरका पशुजन्य रोगहरूबाट जोगाइरहेको हुन्छ । र, हिन्दुकुश हिमालय क्षेत्रमा पनि त्यस्ता प्रकोपको सम्भावना छ । प्रकृतिमा आधारित पर्यटनले उच्च जैविक विविधता भएका क्षेत्रमा जीविकोपार्जनका स्रोतहरू उपलब्ध गराउनुका साथै संरक्षणलाई प्रोत्साहन पनि दिन सक्छ ।

संयुक्त स्वर

हिन्दुकुश हिमालय क्षेत्रका समुदायहरूले पर्वतीय जैविक विविधतालाई जोगाउन धेरै साझा पहल गरेका छन् । भारतका पर्वतीय क्षेत्रका किसानहरूले गर्दै आएको बालीनालीको जिनेटिक विविधता संरक्षणसम्बन्धी जानकारी आदानप्रदान, पुनर्प्रयोग तथा बीज संरक्षणको अभ्यास एउटा त्यस्तो उदाहरण हो । पूर्वी नेपालका समुदायहरूद्वारा हाब्रेको बासस्थान संरक्षण, भुटानमा सारसको हिउँदे बासस्थान संरक्षण, पश्चिम हिमालयका पवित्र वनकुञ्ज संरक्षण तथा भारतको उत्तरी सिक्किममा परम्परागत जुम्सा प्रथामार्फत चरन तथा वनजन्य स्रोतसाधनको व्यवस्थापन आदि पनि रैथाने समुदायद्वारा गरिएका संरक्षण अभ्यासका दृष्टान्त हुन् ।

हिन्दुकुश हिमालयका देशहरू सन् २०२० सम्ममा आरक्षण तथा अन्य निर्धारित क्षेत्रमा आधारित संरक्षण योजनामार्फत संरक्षण गर्न आह्वान गर्ने ‘आइची टार्गेट ११’ मा प्रतिबद्ध छन् । हिन्दुकुश हिमालय क्षेत्रको करिब ४० प्रतिशत क्षेत्रलाई आरक्षण क्षेत्र घोषणा गरिएको छ । नेपाल तथा भुटान लगायतले क्रमशः २३ दशमलव ३९ प्रतिशत र ५१ दशमलव ४४ प्रतिशत भूभागलाई संरक्षित क्षेत्रअन्तर्गत समेटेर लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेका छन् । हिन्दुकुश हिमालय क्षेत्रका समुदाय तथा देशहरूले आफ्नै कल्याणका लागि पर्वत तथा जैविक विविधता संरक्षणमा सहकार्य गर्ने समय आइसकेको छ । विश्वव्यापी महत्त्वका सीमापार भूपरिधिमा यस्तो सहकार्य गरिनु विशेष महत्त्वपूर्ण छ ।

हिन्दुकुश हिमालय क्षेत्रका आठ राष्ट्रले प्रतिबद्धता जनाएका जैविक विविधता महासन्धि र संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनबारे संरचना महासन्धि आदि अन्तर्गतका दिगो विकास लक्ष्य तथा अन्य लक्ष्यप्राप्तिका लागि काम गर्न हामी प्रतिबद्ध छौं । साथै हाम्रो हिन्दुकुश हिमालय ‘कार्य आह्वानको अभियान ५’ जैविक विविधता नाश तथा भूक्षयीकरण अन्त्य गर्दै दिगो सेवाप्रवाहका लागि पर्यावरणीय लचिलोपना सुधार गर्नमा केन्द्रित छ । हालैको अत्यन्तै महत्त्वपूर्ण हिन्दुकुश हिमालय क्षेत्र मन्त्रीस्तरीय सम्मेलन तथा घोषणाले कार्याह्वानलाई आत्मसात् गर्दै थप ठोस बनाएको छ र यसले विश्वमञ्चमा संयुक्त स्वर प्रस्तुत गर्न तथा जैविक विविधताका लागि सीमापार सहकार्य गर्न बाटो देखाउन सक्छ । हाम्रा वासस्थान तथा वन्यजन्तु संरक्षणका लागि अब ढिलो गर्न सकिन्न ।

(जम्शो इसिमोडका महानिर्देशक हुन् ।)

प्रकाशित : मंसिर २६, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

बैंकिङ जोखिम व्यवस्थापनमा कर्जा सूचनाको महत्त्व

कर्जा सूचना आदानप्रदानका कारण कर्जा डुब्ने सम्भावना न्यून हुन्छ । एउटै धितो राखेर गर्न सकिने बहुबैंकिङ अभ्यास निरुत्साहित हुन्छ । ऋणीहरू ऋणपासोमा पर्नबाट बच्न सक्छन् ।
नीलम ढुंगाना तिम्सिना

बैकिङ क्षेत्रमा विद्यमान विभिन्न जोखिममध्ये कर्जा जोखिम अत्यन्त महत्त्वपूर्ण र संवेदनशील मानिन्छ । कर्जा जोखिम कसरी उत्पन्न हुन्छ त ? सामान्यतया जब कर्जा नउठ्ने सम्भावना हुन्छ । कर्जा दिँदाको समयमै यस्तो जोखिम सुरु भइसकेको हुन्छ ।

जब ऋणी बैंकसँग भएको सम्झौताअनुसार साँवा फिर्ता गर्न वा ब्याज भुक्तानी गर्न अनिच्छुक/असमर्थ हुन्छ, तब कर्जा जोखिम गम्भीर हुन्छ । तसर्थ ऋण दिँदै त्यो नउठ्ने जोखिम गाँसिएको हुन्छ । आधुनिक बैंकिङमा ऋणदाताहरूले ऋणीको अवस्थाबारे एकअर्कामा कर्जा सूचना आदानप्रदान गर्नुलाई अपरिहार्य मान्न थालिएको छ । सरकारी वा निजी कर्जा सूचना केन्द्रमा प्रत्येक बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीहरूको ऋण रकम, ऋणको प्रकार, तिर्न बाँकी रकम, विगतको भुक्तानी इतिहास, समयमै ऋण तिरेको अभिलेख, कर्जा इतिहासको समयावधि, नयाँ कर्जा लिइरहने प्रवृत्ति, कर्जा मिश्रण आदिबारे सूचना दिनुपर्ने हुन्छ । यिनै सूचनाको प्रशोधन गरेर उक्त केन्द्रले प्रत्येक ऋणीको कर्जा प्रतिवेदन तयार गर्छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा दिनुअगाडि केन्द्रबाट सूचना लिई ऋणीको अवस्थाबारे जानकारी लिने गर्छन् । यस्तो अभ्यासले कर्जा प्रवाहमा शुद्धता ल्याई जोखिम न्यूनीकरण गर्न सघाउँछ ।

कर्जा सूचना विश्लेषणबाट बैंक तथा वित्तीय संस्थाले ऋण दिनुअघि ऋणीको हैसियत, चरित्र र ऋण तिर्न सक्ने क्षमताबारे जानकारी पाउँछन् । यसबाट कर्जा सो ऋणीलाई दिने वा नदिने वा कति ब्याजमा दिने जस्ता निर्णय गर्न सहज हुन्छ । अनि उपयुक्त, राम्रो कर्जा इतिहास र भुक्तानी क्षमता सुदृढ भएका ऋणीलाई मात्र कर्जा दिन सकिन्छ ।

यसो गर्दा कर्जा डुब्ने सम्भावना न्यून हुन्छ । यसले एकातिर एउटै धितो राखेर गर्न सकिने बहुबैंकिङ अभ्यासलाई निरुत्साहित गर्छ भने, अर्कातिर ऋणीहरू ऋणपासोमा पर्नबाट बच्न सक्छन् । अर्को कुरा, बैंकहरूले एउटा ऋणको धितो सुरक्षण लिलामी गरेर ऋण असुल गर्न प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । ऋणीले कर्जाको दुरुपयोग गर्ने, एउटा कर्जा तिर्न अर्को कर्जा लिने प्रवृत्ति आदिको पनि अन्त्य हुन्छ । कर्जा सूचना नहुँदा कतिपय असल ऋणीहरूका बारेमा बैंकहरू अनभिज्ञ हुँदा तिनले कर्जा लिन सकिरहेका हुँदैनन् । फलस्वरूप, उनीहरूले आफ्नो उद्यम–व्यवसाय गर्न पाइरहेका हुँदैनन् । विभिन्न बैंकबाट ऋण लिई नतिर्ने प्रवृत्ति भएका खराब ऋणीहरू भने कर्जा लिन सफल भइरहेका हुन्छन् ।

अतः प्रतिकूल छनोटको समस्या समाधान गर्न वित्तीय क्षेत्रलाई कर्जा सूचना आवश्यक छ । त्यस्तै, ऋणीहरूले गर्ने नैतिक खतराजन्य प्रवृत्ति पनि कर्जा सूचनाका कारण न्यूनीकरण हुन्छ । बैंकहरूले कर्जा सूचना लिने हुनाले ऋणीहरू स्वयं नै राम्रो रेकर्ड राख्न चाहन्छन् । एउटा बैंकबाट कर्जा लिने र नतिर्ने, पुनः अर्को बैंकबाट कर्जा लिनेजस्ता नैतिक खतराजन्य क्रियाकलाप न्यूनीकरण हुन्छ ।

यसबाट राम्रा ऋणीले कर्जा नपाउने र दुराशय भएका ऋणीहरूले चाहिँ पाउने सम्भावना हुँदैन । अर्को कुरा, राम्रो रेकर्ड भएका ऋणीले सहुलियतपूर्ण ब्याजदरमा कर्जा पाउन सक्छन् । यसबाट कर्जा पहुँच अभिवृद्धि हुन्छ । कर्जा सूचना एकाधिकार तोड्न पनि कर्जा सूचना विनिमयबाट सम्भव हुन्छ । कुनै बैंकको कुनै ऋणीसँग लामो कर्जा सम्बन्ध छ भने सो ऋणीको सम्पूर्ण सूचना त्यो बैंकलाई मात्र थाहा हुन्छ । कर्जा सूचना केन्द्रको व्यवस्था नभए उसले सो सूचना अन्य बैंकलाई दिने सम्भावना हुँदैन । यस्तो अवस्थामा अर्को बैंकले कर्जा दिनु असुरक्षित हुन्छ । प्रभावकारी कर्जा सूचना केन्द्रका माध्यमबाट यस्तो सूचनामा कुनै एक बैंकको एकाधिकार रहन पाउँदैन र सबै बैंकको कर्जा प्रवाह सुरक्षित हुन्छ ।

कर्जा सूचना आदानप्रदानका कारण वित्तीय स्थायित्व कायम गर्ने केन्द्रीय बैंकको प्रयासमा सघाउ पुग्छ । अर्को कुरा, कर्जा सूचनाका कारण बैंक र ऋणी आफैं स्वअनुशासित हुने हुँदा केन्द्रीय बैंकले निरन्तर रूपमा गर्नुपर्ने निरीक्षण, सुपरिवेक्षण कम बोझिलो र प्रभावकारी हुन जान्छ । कर्जा सूचना केन्द्रहरूले ऋणदाताबाट ऋणीका बारेमा सूचना लिई त्यसको प्रशोधन गर्छन्, प्रतिवेदन बनाउँछन् र आवश्यकतानुसार बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराउँछन् । बैंकहरूले आनुपातिक हिसाबले त्यस्ता केन्द्रलाई कर्जा सूचना उपलब्ध गराउनुपर्ने हुन्छ । तर कतिपय बैंकमा अरूको सूचना लिने, आफ्नोचाहिँ नदिने प्रवृत्ति हुन्छ । कर्जा सूचनासम्बन्धी नियमनकारी व्यवस्थामा यस्ता बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सूचना केन्द्रको सदस्यताबाट निष्कासन गर्न पाउने प्रावधान छ । ऋणीको गोप्यता, निजत्व, सुरक्षामा कर्जा सूचना केन्द्र निकै सचेत हुनुपर्छ ।

नेपालमा कर्जा सूचना केन्द्र २०४६ मा स्थापना भएको हो, जुन २०६१ देखि कम्पनी ऐनअन्तर्गत सञ्चालित छ । यसमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी आदिको सेयर स्वामित्व छ । केन्द्रले लघुवित्त वित्तीय संस्थाहरू र केही सहकारी संस्थाहरूको समेत कर्जा विवरण लिई कर्जा सूचना व्यवस्थापन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म २७ वाणिज्य बैंक, २० विकास बैंक, २३ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र ७ सहकारी संस्था केन्द्रको सदस्य भइसकेका छन् । सदस्य संस्थाले कर्जा सूचना माग गर्नेबित्तिकै केन्द्रले ऋणीको कर्जा प्रतिवेदन तयार गरी उपलब्ध गराउँदै आएको छ । केन्द्रमा ९ लाख ५६ हजार ऋणीको अभिलेख छ । आर्थिक वर्ष २०७६/७७ सम्म केन्द्रले १५ लाख १२ हजार कर्जा प्रतिवेदन तयार गरी सदस्य संस्थाहरूलाई दिएको छ । कर्जा सापट तथा सुविधा लिई नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्न बैंक तथा वित्तीय संस्थाले सिफारिस गरे पाँच कार्यदिनभित्र केन्द्रले त्यस्तो गर्ने गरेको छ । कर्जा सूचना ऐन पनि मस्यौदा तयार भई संसद्बाट पास हुने क्रममा छ । यसबाट कर्जा सूचनासम्बन्धी क्रियाकलापहरू अझ बढी व्यवस्थित, सुरक्षित र जोखिमरहित हुने अपेक्षा गर्न सकिन्छ । नेपालमा दूरदराजका बैंक तथा वित्तीय संस्थाहरू, विशेष गरी सरकारी बैंक र कतिपय लघुवित्त संस्थाहरूमा प्रविधिको पूर्ण विकास नभएकाले, समयमा र सबै अंग पूर्ण भएर कर्जा विवरण नआउने गरेकाले कर्जा सूचना आदानप्रदान प्रभावकारी रूपमा हुन सकेको छैन । तैपनि केन्द्रको प्रभावकारिता बढ्दो छ । कर्जा प्रतिवेदन मात्र होइन, ज्यादै उपयोगी र वस्तुगत किसिमको कर्जा सूचना स्कोर तयार गर्ने काम भइरहेको छ । कर्जा सूचना केन्द्र आफ्नो प्रविधि, सफ्टवेयर, डाटा सुरक्षाप्रति धेरै संवेदनशील छ ।

नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशिका–२०७६ मा बैंक तथा वित्तीय संस्थाले आफूले स्वीकृत गरेको सम्पूर्ण कर्जा/सुविधा र ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जा/सुविधाको विवरण महिना भुक्तानी भएको १५ दिनभित्र अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था छ । यो व्यवस्थालाई १५ दिनबाट क्रमशः घटाउँदै रियल टाइममै गर्न सके कर्जासम्बन्धी जोखिम न्यूनीकरणमा अझै सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । सबै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्जा विवरणहरू समयबद्ध, नियमित, प्रभावकारी र पर्याप्त सफल रूपमा कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउन सक्ने हो भने निश्चय नै बैंकिङ कर्जा प्रवाहमा अझ बढी उपयुक्तता, शुद्धता आउने र कर्जा जोखिम न्यूनीकरण हुन सक्छ ।

(तिम्सिना नेपाल राष्ट्र बैंककी कार्यकारी निर्देशक हुन् ।)

प्रकाशित : मंसिर २६, २०७७ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×