कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गणतन्त्रको भविष्य

राजाको शासनका बेलाको कठोर अवस्था र गणतन्त्रले दिएको स्वतन्त्रताबीचको भेद बुझाउन नसक्दा अहिले व्यक्तिका आचरणको दोष व्यवस्थाले बेहोर्नुपरिरहेको छ ।

देशमा गणतन्त्र स्थापित भएदेखि नै एउटा कित्ता निरन्तर यसमाथि प्रश्न र प्रहार गरिरहेको छ । प्रश्न र प्रहारलाई कतिपयले अन्यथा अर्थमा लिँदा हुन् । अन्यथा लिनु हुँदैन किनभने प्रश्न गर्न पाइन्छ । प्रश्नको तिरस्कार, बहिष्कार होइन, आमन्त्रण गर्नुपर्छ बरु । प्रश्न–प्रहार सहनु पनि पर्छ । किनभने लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ, वाणीले प्रहार गर्न पाइन्छ ।

गणतन्त्रको भविष्य

यो राजतन्त्र होइन, गणतन्त्र हो; त्यसैले विरोध गर्न पाइन्छ । लोकतान्त्रिक प्रणाली प्रश्नहरूका लागि खुला हुन्छ । जवाफ माग्न पाइन्छ । पाइन्छ किनभने यसमा शासकहरू राजतन्त्रमा जस्तो अनुत्तरदायी होइन, उत्तरदायी हुनुपर्छ । लोकतन्त्रद्वारा संरक्षित गणतन्त्रले प्रश्नहरू सकार्नुपर्छ । किन प्रश्न उठ्छ, त्यसको कारण खोज्नुपर्छ । लोकतन्त्रमा वाणीले सक्दो प्रहार र जनजुलुस प्रदर्शन गर्न पाइन्छ र उठेका प्रश्नहरूको नेतृत्व वर्गले समुचित र सभ्य ढंगले उत्तर पनि दिनुपर्छ । यसमा शासनसत्ता र व्यवस्था अन्तर्गतकै प्रतिपक्षसमेत उत्तरदायी हुन्छन् र हुनुपर्छ । जनस्तरको कुनै पनि कित्तामा उठेको प्रश्न किन नहोस्, त्यसको उत्तर चाहिन्छ ।

गणतन्त्रलाई गाली गर्नेहरूलाई सोधौं न, आज गणतन्त्रलाई जसरी मुख छाडेर गाली गरिएको छ, राजाका पालामा राजा त परै, उनका आसेपासेलाई पनि केही भन्यो कि त्राहिमाम् हुन्थ्यो । रत्नपार्कमा उभिएर दुई शब्द आलोचनाका बोल्यो भने सुन्ने नै तर्सिन्थे र मुख लुकाउँदै लुसुक्क भोटाहिटीका गल्लीतिर पस्थे । मान्छेहरू भन्थे– जताततै सीआईडी हुन्छन्; बोल्नु हुँदैन है, बोल्नु हुँदैन । लगेर जाक्छन्, नक्खु कि भद्रगोल । मानिस भन्थे– उस्तै परे टाढा कतै जंगलमा लगेर गोली ठोकिदिन पनि बेर छैन; होस गर है, होस गर । त्यो समयको कठोरता दर्साउने अहिले कुनै उदाहरण पाउन पनि मुस्किल छ ।

अहिले मोटरसाइकलमा झन्डा राखेर गणतन्त्रलाई गाली गर्ने स्वतन्त्रता गणतन्त्रले नै दिएको हो । लोकतन्त्रले नै दिएको हो । चोकमा भाषण गर्दै पद्धतिलाई नै बेकामे भन्न पाउने अधिकारको रक्षा पनि यही गणतन्त्रले नै गरेको छ । उतिखेर आन्दोलनकारीमाथि गोली ठोक्ने आदेश दिनेहरूलाई आज तिनै आन्दोलनकारीले स्थापित गरेको अधिकार उपयोग गर्दै लोकतन्त्र स्थापना गर्ने आन्दोलनकारीहरूलाई तथानाम गाली गर्ने स्वतन्त्रता गणतन्त्रकै कारण प्राप्त भएको हो । राजाको शासनका बेलाको कठोर अवस्था र गणतन्त्रले दिएको स्वतन्त्रताबीचको भेद बुझाउन नसक्दा, अहिले व्यक्तिका आचरणको दोष व्यवस्थाले बेहोर्नुपरिरहेको छ ।

त्यो, माथि भनिएको गणतन्त्रविरोधी कित्ता लोकतन्त्र शब्द नै आयातित हो सम्म भन्छ । भनोस् तर सत्यासत्य त बताउनुपर्‍यो । अघि सरेर तार्किक ढंगले बताउने कोही हुनुपर्छ । त्यो कित्ता संघीयतालाई विदेशी परियोजना हो भन्छ र गणतन्त्रप्रति सुरुदेखि नै दुराग्रही छ । ऊ दुराग्रही हुन पाउँछ । त्यो कित्ता नियोजित रूपमा प्रचार गरिरहेको छ; यस प्रबन्धले देश बरबादै गर्‍यो, अस्तित्व नै समाप्त हुन लाग्यो भनेर ससाना समूह भेला गर्दै कोकोहोलो गरिरहेको छ सुरुदेखि नै । अचेल समूह अलि विस्तार भएको छ, अलि मुखर पनि । विस्तार र मुखर किन भएको छ भने, शासनमा बस्नेहरूले स्वयंलाई प्रश्नातीत ठान्न थालेका छन् । गणतन्त्र भनेकै काम र शब्दले प्रश्नहरूको उत्तर दिँदै परिपक्व हुँदै जाने प्रथा हो, परिपाटी हो । प्रश्नातीत यहाँ कोही छैन तर शासनमा पुग्नेहरूले आफैंलाई प्रश्नातीत ठान्न थालेका छन् । प्रश्नै गर्नु हुँदैन भनेजसरी प्रस्तुत हुने गरेका छन् । यस्तो सोचाइ गणतन्त्रसँग अमिल्दो हुन्छ ।

आज गणतन्त्र त्यही अमिल्दोमा फसेको छ । त्यसैले गणतन्त्रविरुद्धको स्वर सानै भए पनि प्रतिध्वनि ठूलो सुनिन थालेको छ । यसको कारण व्यवस्थाका सञ्चालकहरूको अहंकार हो, जनताभन्दा आफू भिन्न र विशिष्ट हौं भन्ने घमन्ड हो । त्यसैले गणतन्त्रविरोधी, लोकतन्त्र शब्दै सुन्न नचाहने र संघीयताले देश टुक्र्याउँछ भन्ने त्यो कित्ता लोकतन्त्रले प्रदान गरेको खुला वातावरण, अभिव्यक्ति स्वतन्त्रता र उदार परिवेशलाई उपयोग र भोग गर्दै लोकतन्त्रमाथि नै आक्षेप लगाउन उत्साहित भएको छ । निश्चय नै यस व्यवस्थामा आक्षेप लगाउने स्वतन्त्रता प्रत्याभूत हुन्छ, त्यसैले आक्षेपप्रति चकित भइरहनुपर्दैन, आक्षेपलाई पनि स्वागत गर्ने फराकिलो छाती हुनुपर्छ र कार्यकर्मले उत्तर दिन तत्पर रहनुपर्छ । प्रतिकार गर्ने होइन, प्रत्युत्तर दिनुपर्छ । उत्तर दिनुपर्छ किनभने त्यो कित्ताका कथनमा प्रशस्तै भ्रामक भनाइहरू छन् । उसको भनाइ सुन्दा लाग्छ मानौं गणतन्त्र हुनुभन्दा पहिला देश स्वर्ग थियो, भएपछि नर्क बन्यो । जबकि, यथार्थ उसका कथनको ठ्याक्कै उल्टो छ । देश गणतन्त्र नहुँदा कहाँ खुसहाली हुनु, बरु दुरवस्था अरू कठोर र सन्त्रास रातो दिन थियो ! अहिले सडकमा फलानो आऊ, देश बचाऊ भन्दै उफ्रिने धेरैजसोलाई थाहै छैन, राजाकै प्रत्यक्ष शासन भएका बेला कस्तो थियो बेहाल, बदहाल; देख्ने अझै धेरै जिउँदै छन् ।

देशमा बदहाली चरम थियो । कहालीलाग्दो थियो । स्वतन्त्रतापूर्वक बोल्न, लेख्न वर्जित थियो र धेरैजसो उद्यमहरू नागरिकहरूका लागि निषेधित थिए । तथापि, निश्चय नै आज पनि व्यवहारमा असमानता प्रशस्तै छ तर त्यस बखत संरचनामै भएको असमानतालाई समेत वैध मानिन्थ्यो । जनजीविका दुरुह थियो । ठालु, टाठाबाठाको रजाइँ थियो । सोझा, सीधासादामाथि कहिनसक्नु, सहिनसक्नु दुर्दान्त पीडा थियो । सुनुवाइ हुने ठाउँ थिएन । निश्चय नै सोझा, सीधासादालाई अझै पनि सुख छैन, तर सरकार न सही, तिनको बह सुनिदिने सामाजिक संघसंस्थाहरू छन् । त्यति बेला कहाँ सशक्त सामाजिक संघसंस्था हुनु ! चुइँक्क बोल्न पाइँदैनथ्यो । आज दीनदुःखीलाई वाणी दिने सञ्जालहरू छन् । सञ्चारमाध्यमहरू छन् । तिनको दर्द सुनिदिने अन्तर्राष्ट्रिय समुदाय छ । वाणी मुखरित हुने परिवेश छ ।

सत्य हो, आज पनि राज्य प्रबन्ध गर्ने जिम्मेवारी पाएकाहरू भौतिक अभिलाषाबाट माथि उठेका तथा आध्यात्मिक चेतद्वारा दिग्दर्शित हुने स्वभावका नभएकाले यिनमा लोकप्रति हुनुपर्ने आवश्यक करुणा छैन । यिनीहरूलाई अझै कर्कश बोली र अरूको आत्मसम्मानमाथि प्रहार अवाञ्छनीय, अशिष्ट र असभ्यता हो भन्ने संज्ञान छैन । यिनीहरूमध्ये अधिकांशको त बरु उल्टै अशिष्टता र असभ्यताप्रति अभिमान गर्ने स्वभाव छ किनभने यिनले हुर्किंदो उमेरमा सौहार्द र शिष्टाचारको शिक्षा नै पाएका थिएनन् । यिनीहरूले आफैं ठहर्‍याएका, तोकेका शोषक सामन्त मार्नुपर्छ भनेर सिकेका थिए । महात्मा गान्धीबाट होइन, स्टालिनबाट प्रभावित थिए । माओको किताब पढेका र पोलपोटको अनुकरण गरेका थिए । कहाँ बुद्ध सुन्नु, यिनीहरूमध्ये धेरैले चारु मजुमदार र कानु सन्याललाई गुरु थापेका थिए ! यसर्थ यिनीहरूबाट प्रदर्शित हुने व्यवहारमा दोष व्यवस्थाको होइन, यिनीहरू हुर्किंदाका संस्कारको हो । त्यही संस्कारअनुसारै प्रवृत्ति निर्माण भएको छ, प्रवृत्तिअनुसारै स्वभाव । यसमा व्यवस्थाको दोष छैन । लोकतन्त्रको दोष छैन ।

यिनीहरूलाई त अझसम्म लोकतन्त्रमा आत्मसम्मान व्यक्तिविशेषमा प्रयुक्त हुने विषय नभएर यसमा सबैको आत्मसम्मान बराबर हुन्छ भन्ने बोधसमेत छैन । चुनाव जितियो, अजेय भइयो र जे गरे पनि हुन्छ भन्ने अहंकार एक प्रकार स्थायी स्वभावजस्तै भएर रहेको छ । यो स्वभाव विगतको राजतन्त्रीय निरंकुशताकै अवशेषका साथसाथै वैचारिक हिसाबले अलोकतान्त्रिक पाठशालाका शिक्षादीक्षाको मिश्रण पनि हो । त्यसैले राजकीय पदमा पुगेकालाई लाग्छ– आफैं हुँ सर्वेसर्वा । यसका नेताहरूलाई नै हेर्नुहोस्, यिनीहरूमध्ये अधिकांशका प्रस्तुतिमा आफूबाहेक अरूको कुनै हैसियत छैन भन्ने भाव परिलक्षित त हुन्छ । त्यसैले अवस्था सन्तोषजनक नभएको हो । प्रशस्तै आलोच्य पक्ष छन् । तथापि, सत्ताधारी दल र व्यक्तिहरूका दुर्गुण प्रचुर छन् । तर व्यवस्था लोकतान्त्रिक हो ।

त्यसैले यस प्रथामा राज्यसञ्चालकहरूको खुलेर आलोचना गर्न पाइएको छ । राष्ट्रपतिका तामझामप्रति असहमति जनाउन पाइएको छ । यिनीहरूलाई जति नै मन नपरे पनि आलोचना भइरहेकै छ । आलोचनाले सुध्रे, उनीलाई नै राम्रो हुन्छ; नसुध्रे आलोचना संसद्सम्म र संसद्‌बाट जनस्तरमा पुग्छ र जनस्तरले छिःछिः दूरदूर गर्ने अवस्था आउन सक्छ । कतिपय अवसरमा त्यस्तो अवस्था पनि आएको छ ।

अचेल तीव्रगामी विद्युतीय सञ्चारका माध्यमका कारण आलोचना देशभित्र मात्र होइन, निमेषभरमा संसारै डुल्छ । प्रधानमन्त्री राज्यका कार्यकारी प्रमुख हुन् । उनलाई लाग्छ– आफू सबैभन्दा ठूलो हुँ तर उनले सामाजिक सञ्जालमा एउटा पोस्ट गरे कि चौतर्फी व्यंग्य, हँसीमजाक हुन थाल्छ । प्रधानमन्त्रीलाई लाञ्छित र उनीमाथि सक्दो आक्षेप लगाउन पाइएको छ । यो के कारण होला, यसमा प्रधानमन्त्रीले सोच्न बाध्य हुनुपर्छ र यो पद्धतिले बाध्य पार्छ । नसोचे उनको कुर्सी नै धरापमा पर्छ । किनभने लोकतन्त्रमा शासक सच्चिनैपर्छ । सच्चिनुको विकल्प हुँदैन ।

हो, यसमा दुईमत छैन; देशमा शासकहरू अधिनायकवाद लाद्न पाए हुन्थ्यो भन्ने प्रवृत्तिकै छन् किनभने उनीहरूलाई दिग्दर्शन गर्ने सिद्धान्त र देशले अवलम्बन गरेको व्यवस्थाबीच सैद्धान्तिक अभिमुखीकरणमै मतान्तर छ । सत्तामा कम्युनिस्ट छन्, शासन पद्धति लोकतान्त्रिक छ । यस मतान्तरलाई अन्त्य गर्न कम्युनिस्टहरू प्रवृत्तिगत हिसाबले नै फेरिनुपर्छ । उनीहरूले पार्टीभन्दा पद्धति शक्तिशाली हुन्छ र त्यसलाई निर्देशक मान्नुपर्छ भन्ने यथार्थ समयमै हृदयंगम गर्नुपर्छ । नगरे पनि हुन्छ तर त्यो गर्दा उनीहरूको राजकाज त ढल्छ नै, व्यवस्थालाई पनि ठूलो नोक्सानी हुन्छ । यसबाट लोकतन्त्र आहत हुन्छ र भनिरहनु नपर्ला, आहत लोकतन्त्रलाई गणतन्त्रमाथि हुने, हुन सक्ने प्रहारहरू रोक्न असम्भव नभए पनि मुस्किल हुन्छ ।

प्रकाशित : मंसिर २६, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?