सामाजिक सञ्जालमा लैंगिक हिंसा

रेखा शाह

लैंगिक हिंसाविरुद्ध सोह्रदिने अभियान बर्सेनिझैं यसपालि पनि चलिरहेको छ । यस अभियानको उद्देश्य महिला तथा अन्य लैंगिक हिंसा न्यूनीकरण गर्नु हो, मानवतामाथिको हिंसा रोक्नु हो । तर, महिला तथा अन्य लैंगिक हिंसा थामिने सम्भावना देखिन्न । समयसँगै यसको स्वरूपमा परिवर्तन हुँदै गएको छ ।

सामाजिक सञ्जालमा लैंगिक हिंसा

प्रविधिको उन्नत विकाससँगै महिला तथा अन्य लैंगिक हिंसाका अनेक स्वरूप यत्रतत्र प्रकट भएका छन् । सामाजिक जीवनका अनेक पक्षलाई सामाजिक सञ्जालमा सजिलै पोस्ट गर्ने प्र्रवृत्तिले महिला तथा अन्य लैंगिक हिंसा हुने गरेको छ । यसबाट व्यक्तिविशेषमा पर्ने चोटको घनत्व सानो हुँदैन ।

सामाजिक सञ्जालमा भइरहेको लैंगिक हिंसाले राज्यलाई नै गिज्याइरहेझैं लाग्छ । प्रयोगकर्ताहरूको आक्रोश, असन्तुष्टि र असभ्यताका कारण सामाजिक सञ्जाल निकृष्ट विचार अभिव्यक्त गर्ने चौतारो बनेको प्रतीत हुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक, अशिष्ट, संकीर्ण र अशोभनीय शब्दहरूका माध्यमले लैंगिक असमानता, धार्मिक असहिष्णुता, जातीय विभेदलाई प्रश्रय दिने एवं व्यक्तिगत तथा सामाजिक नोक्सानी हुने खालको टीकाटिप्पणी गर्ने प्रवृत्तिले व्यक्ति मनोविज्ञानमा गहिरो पीडा उत्पन्न गराइरहेको छ । स्वतन्त्रताका नाममा जथाभावी प्रयोग गर्ने परिपाटीले सामाजिक सञ्जाल धार्मिक, जातीयता, लैंगिक हिसाबले कसैको चरित्रको हत्या गर्ने प्लेटफार्म बनिरहेको छ । मानिस स्वतन्त्रताको उपभोग गर्न चाहने प्राणी हो भन्दैमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो सीमा बिर्सन नमिल्ने हो । तर चासो कसलाई ?

समय बदलिएको छ । मानवीय आकांक्षा र चाहनाको चुली ठडिएको छ । योसँगै लैंगिक हिंसाका अनेक रूप र आयाम प्रकट भइरहेका छन् । प्रविधिको यथेष्ट प्रगतिका कारण आमसञ्चारको क्षेत्र फराकिलो बनेको वर्तमान अवस्थामा सामाजिक सञ्जालमा उपलब्ध अनेकौं सुविधामार्फत लैंगिक हिंसाका उग्र रूपहरू पाउन सकिन्छ । नेपालको सन्दर्भमा सामाजिक सञ्जालमा मानिसको उपस्थितिको संख्या पनि दिनानुदिन बढ्दो छ । एक अन्तर्राष्ट्रिय सर्वेक्षणअनुसार, नेपालमा फेसबुक ८७.४६ प्रतिशतले, युट्युब ६.७५ प्रतिशतले, ट्वीटर २.२३ प्रतिशतले र इन्स्टाग्राम ०.५४ प्रतिशतले चलाउने गरेका छन् । यस तथ्यले प्रस्टाउँछ, वर्तमानमा रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा भन्दा डिजिटल दुनियाँमा रमाउनेहरूको संख्या बढी छ । संख्या समस्या होइन, तिनका माध्यममा प्रकट हुने गलत अभिव्यक्ति र क्रियाकलाप अनि तिनबाट उत्पन्न परिणाम भने डरलाग्दो बन्दै गएको छ । यसलाई सूचना, मनोरञ्जन, व्यवसायको प्रयोजनमा भन्दा लैंगिक हिंसा गर्नमा प्रयोग गर्ने परिपाटी पनि बढ्दै गएको छ । महिला तथा अन्य लैंगिकताका सम्बन्धमा व्यंग्यात्मक तस्बिर, चोटिलो शब्दवाण पोस्ट गर्नेहरू बढिरहेका छन् ।

सामाजिक सञ्जालमा व्यक्तिगत छनोटमाथि पनि प्रहार हुने गरेको छ । पोसाक लाउँदाको सन्दर्भमा होस् या कलाकारितालाई प्रस्तुत गर्दा, अत्यन्तै अपमान गर्ने गरिन्छ । बोली, व्यवहार, पोसाक, प्रस्तुति आदिलाई माध्यम बनाएर सामाजिक सञ्जालमा आउने हिंसारूपी बाढीलाई कसैले रोक्न सकेको छैन, सरकारले पनि । नेपालमा महिला तथा अन्य लैंगिक हिसांविरुद्धको सोह्रदिने अभियान सन् १९९७ देखि औपचारिक रूपमा मनाउन थालिएको हो । सन् २००८ मा महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण कसुर सजाय ऐन (२०६६) जारी भयो । अहिले यो अभियानसँगै महिला तथा अन्य लैंगिक व्यक्तिमाथि हुने हिंसाविरुद्ध खुलेर कुराकानी हुन थालेको छ । नेपालको संविधानले महिला तथा लैंगिक सन्दर्भमा निकै महत्त्वपूर्ण अधिकारहरूको व्यवस्था पनि गरेको छ । तर समयसँगै नयाँ–नयाँ समस्या देखा परिरहेकै छन्, जुन चिन्ताको विषय हो ।

सूचना, मनोरञ्जन, ज्ञान र विचार अभिव्यक्तिको संवाहक सामाजिक सञ्जालको प्रयोगप्रति सबैको चासो र निगरानी आवश्यक छ । राज्यले हरेक नागरिकलाई सामाजिक सञ्जालको संवेदनशीलताको बोध गराउनुपर्छ । धार्मिक असहिष्णुता, जातीय विभेद, सामाजिक असमानता, व्यक्ति स्वतन्त्रता र लैंगिक हिंसालाई प्रश्रय दिने गरी, संविधानले दिएको अभिव्यक्तिगत स्वतन्त्रताको दुरुपयोग गर्नपट्टि प्रयोगकर्ताहरू प्रवृत्त हुनु हुन्न । प्रयोगकर्ताहरू राज्यका निकायहरूको प्रत्यक्ष–अप्रत्यक्ष तरिकाले धज्जी उडाउन सक्रिय हुने गरेका छन् । प्रयोगकर्ताहरूले श्रव्यदृश्यका माध्यमबाट लैंगिक हिंसा बढाउने, सामाजिक सहिष्णुतामा हानि पुग्ने खालका क्रियाकलापलाई जानेर वा नजानेर प्रोत्साहन गरेको पाइन्छ । त्यसैले सामाजिक सञ्जालहरू मानिसका लागि बहुउपयोगी माध्यम बन्नुको साटो व्यक्ति, समाज र राज्यका निकायमाथि अशिष्ट, अभद्र र अशोभनीय तरिकाले प्रस्तुत हुने थलो बनिरहेको छ, जुन पक्कै पनि समयसापेक्ष गतिविधि होइन । सम्बन्धित निकाय र आयोग, नागरिक समाज, विभिन्न लैंगिक तथा महिला संस्था र स्वयम् सामाजिक सञ्जाल प्रयोगकर्ताहरू यस विषयमा गम्भीर हुनुपर्छ ।

प्रकाशित : मंसिर २४, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?