आह्वान सन्त्रस्त आमाहरूको !

‘अचेल यसलाई आफ्ना आँखाबाट एक पल पनि ओझेल हुन दिएकी छैन, तैपनि यसरी कतिन्जेल जोगाउन सकुँला र मान्छेका गिद्धे नजरबाट यो छोरीलाई ?’
साधना प्रतीक्षा

लैङ्गिक हिंसाविरुद्धको अभियानले हाम्रो परिवेश तातिरहँदा, छ वर्षिया बालिकाको बलात्कारपश्चात् हत्याको घटना पनि सेलाउन सकेको छैन ।

आह्वान सन्त्रस्त आमाहरूको !

यसैबीच मलाई सम्झना भइरहेको छ केही समयअघि एउटी आमाले काखमा छोरी च्यापेर व्यक्त गरेको लाचारीको पनि, ‘के गर्नु, जहाँ जाँदा पनि यसलाई साथै लिएर हिँड्छु ! अचेल यसलाई आँखाबाट एक पल ओझेल हुन दिएकी छैन, तैपनि यसरी कतिन्जेल जोगाउन सकुँला र मान्छेका गिद्धे नजरबाट यो छोरीलाई ?’ सपनामा पनि आफ्नी छोरी बलात्कृत भएको देखेर कहिलेकाहीँ त रातभरि निदाउन नसकेको गुनासो गर्ने उनको यस्तो भनाइले थाहा छैन, कति आमाहरूको मुटु कमाउला π ‘बरु गिद्धले जीव नमरेसम्म लुछ्दैन तर यी लोग्नेमान्छेले त जिउँदा आइमाई, अझ नाबालक छोरीमान्छेलाई लुछेर क्षत–विक्षत पार्दा रैछन् ।’ आफ्नो छिमेककी दूधे बालिका बलात्कृत भएपछि उनी त्यसरी सन्त्रस्त भएर जहाँ जाँदा पनि नानी च्यापेर हिँड्थिन् । आखिर कतिन्जेल काखको रक्षाकवचभित्र जोगाएर राख्लिन् ती आमाले आफ्नी छोरीलाई ? उनी पनि नारी हुन् र यो समाज अब छोरीका लागि मात्र नभएर, आमा र हजुरआमाका लागि समेत सुरक्षित रहेन ।

आज हामी समस्त आमाहरू सन्त्रस्त छौं, आफ्ना छोरीहरूको असुरक्षित भविष्य देखेर । कार्यक्षेत्र गएका छोरीहरू, विद्यालय गएका छोरीहरू, खेल्न गएका या आफन्तकहाँ गएका छोरीहरू सकुशल घर नफर्कंदासम्म हामीलाई चैन हुँदैन । के अब यस संसारमा, हाम्रो समाजमा छोरी सुरक्षित बाँच्ने कुनै स्थान छैन ? अब आमाहरूले आफ्ना छोरीहरूको भविष्य सुरक्षित गर्न अर्कै संसारको परिकल्पना गर्नुपर्ने भो, जहाँको प्रवेशद्वारमा लेखिएको होस्– ‘पुरुषनिषेधित क्षेत्र’ ? त्यहाँबाट बलै भित्र छिर्ने धृष्टता गर्ने पुरुष तत्क्षण भस्म होस् ? हे महाशक्ति कालीमाता, आज मेरो समाजलाई तिम्रो आवश्यकता छ । उहिलेका रक्तबीजहरूजस्तै फैलिरहेछन् अचेल यहाँ बलात्कारीहरू ! यिनलाई समूल नाश गर्न तिमीले मात्रै सक्छ्यौ, महाकाली ! तर, जति पुकारा गरे पनि कालीमाता न पत्थरको मूर्तिबाट निस्केर आउँछिन् न त भित्ताको तस्बिर चिर्दै निस्कन्छिन् ! यस्ती मूकदर्शक देवी अपराधी, हत्यारा, चोर–डाका र बलात्कारीहरूबाटै पुजिएर बसेको देख्दा मलाई नारीवादी विचारक सिमोन द बुभायरले ‘द सेकेन्ड सेक्स’ मा व्यक्त गरेका विचारसँग ऐक्यबद्धता जाहेर गर्न मन लाग्छ । ऐतिहासिक सन्दर्भमा महिला र पुरुषको सम्बन्धबारे व्याख्या गर्ने क्रममा उनले भनेकी छन्– पितृसत्ताभित्र पुरुषले नारीलाई आफ्नो स्वार्थअनुकूल कहिले देवी त कहिले दानवीका रूपमा प्रस्तुत गर्दै आएको छ । नारीले पाएको देवत्व पनि पुरुषप्रदत्त नै हुनाले जुन देवीरूपी नारीका सामु पुरुष झुक्छ, त्यसको निर्माता ऊ स्वयम् भएको देखिन्छ ।

पुरुषले नारीलाई देवी बनाएर पूजा गर्न सक्थ्यो भने देवीलाई अस्तित्वविहीन बनाउने सामर्थ्य पनि उसमा थियो । समाज, संस्कृति तथा राजनीतिक सत्ता सदा पुरुषको अधीनमा भएको हुनाले आदिकालदेखि किनारामा पारिएका नारीहरू अझै किनारैमा छन् । तिनलाई केन्द्रमा राख्नु तथा प्रतिनिधित्व गराउनु त केवल देवी बनाएर फुस्ल्याउँदै स्वार्थसिद्धि गर्ने पितृसत्तात्मक मनोवृत्ति मात्र बनेको देखिन्छ । त्यसैले त जब कलिला नानीहरू संसार भोग्न त के, बुझ्न पनि नपाउँदै हिंस्रक पुरुषको यौनावेगको बलिवेदीमा होमिएर जीवनबाटै विमुख भएका समाचर सुन्छु, तब मलाई चिच्याउन मन लाग्छ– हे विधाता ! बन्ध्या बनाइदे ती आमाहरूलाई जसले छोरी जन्माउँछन् ! प्रत्येक गर्भिणी नारीको कोखमा रहेको नारी भ्रूणलाई यो पापी संसारमा आउनुअघि नै शून्यमा विलीन गराइदे !

यौनिक हिंसामयी परिवेशमा यसरी आन्दोलित भइरहेकी म जब कक्षामा नाटककार बालकृष्ण समको ‘स्वास्नीमान्छे’ नाटक पढाउन थाल्छु, अझ बढी आन्दोलित बन्छु । त्यहाँ युगौंदेखिको पितृसत्तात्मक उत्पीडनबाट प्रताडित स्वास्नीमान्छेहरूले खडा गरेको अनौठो नारीराज्यको परिकल्पना छ । नारी र पुरुषको सम्बन्ध ‘लोग्ने–स्वास्नी’ को नभएर ‘आमा–छोरा’ मा रूपान्तरित गर्ने अनि आमाहरूलाई छोराको यातनाबाट मुक्त गर्ने प्रणका साथ बाह्र वर्षसम्म गुफामा तपस्या गरेका झँक्रिनी र वनझँक्रिनीको अठोट, आफ्नो राज्य प्रमिलापुरीका सबै उच्च पदहरूमा स्वास्नीमान्छेहरूलाई नियुक्त गर्ने महारानी धीराधा, काम–क्रोधले उन्मत्त तामसी पुरुषको शल्यक्रिया गरेर सात्त्विक गुण प्रत्यारोपण गर्न सफल योगिनी ऋता र चिकित्सिका कादम्बिनीको उपस्थिति छ त्यहाँ । आहा, कस्तो समुन्नत समाज र संस्कृति !

हामीमध्ये कसैले कादम्बिनीले जस्तै पुरुषमा रहेको काम–क्रोध आदि झिकेर उसभित्र नारीसुलभ ममता, प्रेम, सद्भाव र मातृत्व भरिदिन सक्ने भए ? हाम्रा नानीहरू पनि सुरक्षित हुँदा हुन् । हाम्रा नानीहरूलाई यौनहिंसाबाट जोगाउने विकल्प अब यस्तै अनुसन्धान हो त ? हो भने आह्वान गर्नुपर्छ अब आमाहरूले संसारका उत्कृष्ट अन्वेषक नारीहरूलाई यस्तै सम्भावनाहरूको खोजीका लागि ! पुरुष–सत्ताभित्र यस्तो सम्भावना नहोला । अतिशय अत्याचारबाट प्रताडित भएरै त होला, पाश्चात्य जगत्मा नारीवादी आन्दोलन चर्किएको अनि कसैले पुरुषनिषेधित नारी समलिङ्गी समाजको परिकल्पना गरेको त कसैले पुरुषलाई नारीकरण गरिनुपर्दछ भनेको । विगतमा यी विचारहरूलाई उग्र र विध्वंसकारी भनिए पनि अहिले पुनः यसको आवश्यकताबोध भइरहेको छ ।

अब बोल्ने पालो बाबु अर्थात् पुरुषको हो । सभ्य समाज निर्माणको दायित्व पुरुषको पनि हो । हरेक पुरुषले आफ्नो अन्तरात्मालाई प्रश्न गर्नुपर्दछ– सबै पुरुष क्रूर, हिंस्रक र बलात्कारी हुन् ? होइनन् । तब किन लैङ्गिक हिंसाविरुद्ध समाजमा प्रायः महिला मात्र उत्रिनुपरिरहेछ ? परिवार अनि समाजलाई हिंसामुक्त र लैङ्गिक विभेदरहित गराउनका लागि सडकदेखि सदनसम्म प्रायः महिला मात्रैले आवाज उठाउनुपर्ने किन ? जब शरीरको कुनै अङ्गमा क्यान्सर लाग्छ तब त्यसलाई शरीरबाट अलग्याउन सकिएन भने त्यसले अन्ततः शरीर नै बेकामे बनाइदिन्छ । अहिले हाम्रो समाजमा देखिने यौनहिंसा समस्त पुरुष जातिकै लागि क्यान्सर हो र यसलाई अलग्याएर आफ्नो जातिमाथिको कलङ्क धुन ढिलो भइसकेको छ । अब पनि नजागे कहिले जाग्ने ?

राज्य छ, विधि–विधान छन्, महिला तथा बालबालिका अधिकार सुनिश्चित गरिएको छ, प्रहरी–प्रशासन छ अनि कानुनी सजायको प्रावधान पनि छ तर पनि अपराधी उन्मुक्त भएर हिँड्छन्; निरपराध महिला, किशोरी र बालिका यौनहिंसाको सिकार भएर शारीरिक तथा मानसिक उत्पीडन झेल्दै अझ जीवनदेखि नै विमुख हुन बाध्य छन् । आखिर किन ?

यस्तो महामारीको विषम परिस्थितिमा पनि सरकार जनउत्तरदायित्वलाई एकातिर पन्छ्याएर आफ्नै दलगत किचलो र स्वार्थमा चुर्लुम्म डुबेको छ । अन्य राजनीतिक दलहरू पनि सरकार ढल्ला र सत्ताको स्वाद चाखौंला भन्दै च्याँखे थापिरहेछन् । कहिल्यै जनउत्तरदायी बन्न नसक्ने हाम्रो राजनीतिक संस्कार नै समस्त सामाजिक विकृतिको जड हो । त्यसैले त यौनहिंसा लगायतका विभिन्न अपराधमा संलग्न व्यक्तिहरू सत्ता, शक्ति र आर्थिक हैसियतका आधारमा उन्मुक्त हुने गर्दछन् । दण्ड–सजायको व्यवस्था भए पनि जबसम्म दण्डहीन संस्कृतिको अन्त्य हुँदैन तबसम्म अपराधको पनि अन्त्य सम्भव देखिँदैन ।

यसका साथै मानिसले आफूलाई पशुभन्दा पनि निकृष्ट अवस्थामा पुगेको यथार्थबोध गरेर पुनः आफ्नो मानवीय मूल्यबोध गर्न नसक्दासम्म परिवार तथा समाजमा छोरीहरूलाई निर्बाध बाँच्न पनि सहज हुँदैन । वर्तमानमा बढिरहेका लैङ्गिक तथा यौनिक हिंसाका घटनाले आक्रोशित नारीभित्रको ज्वालामुखी विस्फोट हुने हो भने त्यसबाट निस्कने लाभाको बाफले कस्तो संस्कृति निर्माण गर्ला ? त्यस बेला नारी–पुरुषबीचको सहअस्तित्व नै सङ्कटमा नपर्ला ?

प्रकाशित : मंसिर २२, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?