अभद्रताको उत्कर्ष- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभद्रताको उत्कर्ष

सम्पादकीय

सरकारले निर्लज्ज भएर सत्ताशक्ति दुरुपयोग गरेको चरम नमुना हो, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको प्रहरी दुर्व्यवहार । सत्ता संयन्त्रको यो लाज कुनै पनि कुतर्कको वस्त्रले ढाक्न सक्दैन ।

जुनसुकै बहानामा गरिएको भए पनि नेता पौडेललाई अभद्र तवरले पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिइएको यो घटनाले प्रहरी–राजको मात्र होइन, अधिनायकवादी सत्ता अभ्यासकै झल्को दिएको छ । कुनै पनि लोकतान्त्रिक राष्ट्र र समाजमा यस्तो सत्ता–उन्माद स्वीकार्य हुनु हुँदैन ।

व्यास–१, १० र ११ वडा जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न नेता पौडेल गृहजिल्ला पुगेका थिए । सत्तारूढ नेकपानिकट युवा संघ भने उक्त कार्यक्रमलाई अवरोध गर्न सदरमुकाम दमौलीमा प्रदर्शनमा उत्रिएको थियो । अनि, त्यसलाई मत्थर पार्न भन्दै स्थानीय प्रशासनले उक्त दिन दिउँसो १२ देखि साँझ ६ बजेसम्म कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गरेको थियो । र, त्यो निषेधाज्ञाको उद्देश्य शान्ति सुरक्षा कायम गर्नुभन्दा पनि पुल उद्घाटन कार्यक्रमलाई रोक्ने नेकपाको अभीष्टलाई पूरा गरिदिनु भएको पौडेल पक्षको आरोप छ ।

घटनाक्रम हेर्दा पनि स्थानीय प्रशासनमाथि सत्तारूढ दलको प्रभाव परेको प्रस्टै देखिन्छ । नत्र, दुई वर्षअघि नै निर्माण सम्पन्न भैसकेको पुल उद्घाटन कार्यक्रम आपसी सहमतिमा सञ्चालन वा स्थगन गर्न–गराउन नै प्रशासनको जोड रहनुपर्थ्यो । र, पौडेलबाट ठूलै अपराध भएजसरी नियन्त्रणमा लिनुअघि प्रहरी हच्किनुपर्थ्यो । स्थानीय प्रशासनले यसमा स्वविवेक प्रदर्शन गर्न सक्नुपर्थ्यो । तर प्रहरीले त्यहाँ नेता पौडेललगायतमाथि जस्तो रबैया प्रदर्शन गर्‍यो, त्यो विगतमा राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध उत्रिएका आन्दोलनकारीमाथि गरिएकोजस्तो व्यवहार थियो । प्रहरीको धकेलाधकेल र लठ्ठीको घोचाइका कारण पौडेलले आफ्नो छातीमा पीडा भएको बताएका छन् । एउटा सम्मानित राजनीतिज्ञमाथि राज्यसंयन्त्रको यो व्यवहार भर्त्सनायोग्य छ ।

प्रधानमन्त्रीकै ठाडो निर्देशनमा आफूमाथि नियोजित हमला भएको नेता पौडेलको दाबी छ । यो आरोपको सत्यता परीक्षणको विषय होला, तर यस घटनामा सरकारले पौडेललाई आफ्नो शक्ति देखाइदिन खोजेको भने प्रस्टै बुझिन्छ । स्थानीय मामिला भए पनि उनी जत्तिको व्यक्तित्वमाथि यतिबिघ्न हर्कत प्रमुख जिल्ला अधिकारी र प्रहरी परिचालन गरिरहेको संघीय सरकारको सहमतिबिना सम्भव हुँदैन । नेता पौडेलको राजनीतिक कद जुन स्तरको छ, त्यसअनुसार यो हदको निर्देशन गृहमन्त्री मात्रैले पनि दिन सक्छन् भनेर धेरैलाई पत्याउन गाह्रो परिरहेको छ । यस्तो अवस्थामा आशंकाको सुई स्वतः माथिल्लो नेतृत्वतर्फ सोझिन्छ । तसर्थ, घटनामा प्रधानमन्त्रीको सोझो संलग्नता नभए पनि सरकार प्रमुखको हैसियतले यसको नैतिक जिम्मेवारी उनले लिनुपर्छ र पौडेलसित क्षमायाचना गर्नुपर्छ । साथै, घटनाबारे आवश्यक छानबिन पनि हुनुपर्छ । स्थानीय स्तरमा यस्तो समस्यालाई अझ धेरै नबल्झाउन पनि यसबारे उचित अनुसन्धान आवश्यक छ ।

स्थानीय राजनीतिमा द्विपक्षीय/बहुपक्षीय शक्ति संघर्ष हुनु स्वाभाविक भए पनि, त्यसक्रममा जे पनि स्वीकार्य हुन्छ भन्ने होइन । अझ, सत्ताको आडमा विपक्षीमाथि अमर्यादित व्यवहार गर्न त झनै पाइँदैन । विपक्षी राजनीतिज्ञ र दलमाथि जुनसुकै प्रकारको निषेधको राजनीति लोकतन्त्रका लागि अशोभनीय मात्रै होइन, घातक नै हुन्छ । सत्तारूढ दल र नेताको मतियार बनेर प्रहरी प्रशासनले कुनै पनि नागरिकमाथि अनुचित व्यवहार गर्न कदापि पाउँदैन । सर्वसाधारण नागरिक होस् या कुनै दलको तृणमूल कार्यकर्ता, जोसुकैमाथि पनि राज्य र प्रहरीको व्यवहार हरदम मर्यादित हुनुपर्छ ।

त्यसमाथि, पौडेल त प्रधानमन्त्री नै नभए पनि त्यससरहको उचाइ बनाइसकेका राजनीतिज्ञ हुन् । लोकतन्त्रका लागि डेढ दशक जेल बसेका उनी २६ वर्षपहिल्यै प्रतिनिधिसभाको सभामुख भैसकेका थिए । अहिले पनि सक्रिय राजनीतिमा उत्तिकै क्रियाशील छन् । र, पुल उद्घाटन मात्रैको विषय न राज्यधनको हिनामिना हो, न कुनै अपराध । यसको व्यवस्थापकीय कुरामा केही नमिलेको भए त्यसलाई मर्यादित ढंगमै सल्टाउन सकिन्थ्यो । यो घटना भएको भोलिपल्ट बिहीबार त यसै पनि पौडेलले उक्त पुल उद्घाटन गरेकै छन्, त्यही अवसर अघिल्लो दिन नै उपलब्ध गराउन सकिन्थ्यो । त्यसैले, यत्तिको व्यक्तिमाथि यो स्तरमा अपमानको अर्थ, सत्ता लाग्यो भने जोसुकैलाई जे पनि गर्न सकिन्छ भन्ने नै हो । यस्तो सन्देश लोकतन्त्रको स्वास्थ्यका लागि निकै हानिकारक छ ।

प्रकाशित : मंसिर १९, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिण अफ्रिका पुर्‍याएर महिनौंसम्म शोषण

जनकराज सापकोटा

काठमाडौँ — सतुंगल बस्ने ३५ वर्षीय रवीन्द्र नेपाली जुत्ता कम्पनीमा काम गर्थे । घरखर्च चलेकै थियो । एक दिन उनलाई कसैले सुनाइदियो, दक्षिण अफ्रिकामा मासिक एक लाख रुपैयाँ कमाइ हुने काम पाइन्छ । आफ्नै भान्जा र छरछिमेकका अरू युवा पनि जान तयार भएको देखेपछि उनले मन थाम्नै सकेनन् ।

रवीन्द्र २०७४ साउनतिर पर्यटक भिसामा पूर्वी अफ्रिकी देश मोजाम्बिकको राजधानी मापुतो ओर्ले । त्यसपछिको यात्रामा भने कस्तो भुक्तमान खेपे त्यसको बयान गरिसाध्य छैन । रवीन्द्रसहित तीन नेपालीलाई अवैध रूपमा दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पारेको र अन्य दुईसँग रकम असुलेको आरोपमा आइतबार गणेश लुंगा पक्राउ परेपछि मानव तस्करीको यो घटना सार्वजनिक भएको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार लुंगाले तीन जनालाई दक्षिण अफ्रिका पुर्‍याएर ४/५ महिनासम्म बन्धक बनाई शारीरिक, आर्थिक तथा मानसिक शोषण गरेका थिए । कान्तिपुरसँग सम्पर्कमा आएका दुई पीडितका अनुसार लुंगाले दक्षिण अफ्रिका पुर्‍याएका तीन जना र पुर्‍याउने अन्तिम तयारीमा राखेका दुई जनाबाट करिब ४० लाख रुपैयाँ असुलेको देखिन्छ । संगठित मानव तस्करीका विभिन्न घटनामा प्रत्यक्ष रूपमा संलग्न लुंगालाई पक्राउ गरेपछि दक्षिण अफ्रिकी देशहरूमा हुने तस्करीका अन्य घटना पनि सार्वजनिक हुने विश्वास ब्युरोको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रवीन्द्र भान्जा नवीन सुर्खेतीसँगै कतारको दोहा ट्रान्जिट बनाएर मापुतो पुगेका थिए । काठमाडौंमा भेटिएका मुख्य एजेन्ट लुंगाले उनलाई प्राउन फ्याक्ट्रीमा काम लगाइदिने र मासिक एक लाख हाराहारी तलब हुने विश्वास दिलाएका थिए । दक्षिण अफ्रिकाका लागि रवीन्द्र उड्नुभन्दा केही महिनाअघि मात्रै लुंगामार्फत नै त्यहाँ पुगेका चन्द्रागिरि नगरपालिका–८ का राजेन्द्र बस्यालले पनि रवीन्द्रलाई काम पाइनेमा ढुक्क बनाएका थिए ।

रवीन्द्रले भने, ‘आफूले चिनेको मान्छेले नै राम्रो काम छ भनेपछि गणेशको विश्वासमा परियो ।’ रवीन्द्र र नवीनले मापुतो विमानस्थलमा एजेन्टले भनेअनुसार एउटी युवतीलाई सात सय डलर थमाइदिए । पर्यटक भिसामा नेपालबाट मोजाम्बिक आउनेमाथि अध्यागमनले गर्ने शंका र केरकारबाट बचाउँदै ती युवतीले उनीहरूलाई सजिलै विमानस्थल बाहिर पुर्‍याइन् । एजेन्टले बन्दोबस्त मिलाएको गाडीमा एकाध घण्टा चढाएर उनीहरूलाई एउटा घरमा पुर्‍याइयो । जहाँ दक्षिण अफ्रिका नै जान भनेर नेपालबाट एक साताअघि आएका अर्का नेपाली पनि भेटिए । रवीन्द्रले भने, ‘अँध्यारो र फोहोर घर थियो । हामीलाई कहाँ ल्याइएको हो, कतिन्जेल त्यहाँ राख्ने हो केही थाहा दिइएको थिएन ।’

केही घण्टा त्यो घरमा लुकाएपछि त्यही साँझतिर उनीहरू तीनै जनालाई लिन एउटा गाडी आयो । नवीनका अनुसार केही दक्षिण अफ्रिकी समेत रहेको गाडी एक रात र दिनभर गुडेपछि दक्षिण अफ्रिका छिर्ने सीमानेर पुग्यो । अघिल्लो दिनको लामो उडान र लगत्तैको दसौं घण्टा लामो गाडीमा यात्रा खाना र पानीबिनै गर्दा उनीहरू लखतरान भइसकेका थिए । रवीन्द्रले भने, ‘झन्डै दुई दिनजसो खाना न पानी भयौं । डरले होला, त्यस्तो बेला त पिसाब पनि आउँदो रहेनछ ।’

सीमामा खटिएका सुरक्षाकर्मीको आँखा छल्न तीन जना अफ्रिकी एजेन्टले उनीहरूलाई जंगलको बाटो हिँडाए । करिब चार घण्टा घनघोर जंगलमा हिँडिरहेका बेला दक्षिणी अफ्रिकी प्रहरीले उनीहरूलाई समातिहाले । रवीन्द्रका अनुसार उनीहरूलाई करिब चार घण्टा त पिठ्युँतिर लगी दुवै हात बाँधेर घुँडा टेकाएर राखे । उनले भने, ‘कञ्चटमा बन्दुक तेर्साएका थिए । त्यतिबेला त लौ जिन्दगी यति नै रहेछ भनेर धरधरी रुन मन लाग्यो । तर रुन पनि सकिनँ ।’

प्रहरीले उनीहरूका घडी र केही सय डलर खोसे । उनीहरूलाई सीमा पार गराउन खटिएका एजेन्टले के–के भनेर कुरा मिलाएपछि उनीहरूलाई प्रहरीले छोडिदियो । तर गाडी चढ्ने बेला उनीहरूको लगेज फुटाइएको थियो । नयाँ कपडा एउटै थिएन । रवीन्द्रले सुनाए, ‘सुरक्षाकर्मीबाट छुटाउन पैसा खर्च भएको भन्दै एजेन्टहरूले पैसा मागे । नदिएपछि मेरो पासपोर्ट खोसेर लगे । त्यसपछि त मेरो हंसले ठाउँ छाड्यो ।’

मोजाम्बिकबाट चढेरै आएको गाडीले उनीहरूलाई दक्षिण अफ्रिकाको राजधानीमध्येको एक प्रिटोरिया पुर्‍याएर छाडिदियो । एजेन्टले एक जना बंगाली लिन आउँछ भनेपछि उनीहरू मूल सडकको एकछेउमा झन्डै चार घण्टासम्म कुरेर बसे । दुई जना बंगालीले उनीहरूलाई केही घण्टा गाडी चढाएर एउटा घरमा पुर्‍याए । नवीनका अनुसार उक्त घरमा उनीहरूलाई अरू १२/१५ जनाको हूलमा राखियो । रवीन्द्रका अनुसार उक्त घरमा अवैध रूपमा आउने बंगाली बस्ने र त्यहाँका दुई बंगाली एजेन्टले नक्कली भिसालगायतका कागजात बनाउने गर्थे ।

घर बाहिर निस्के सुरक्षाकर्मीले समात्छ र त्यसपछि जे पनि हुन सक्छ भनिएपछि तीनै जना नेपाली १७ दिनसम्म उक्त घरमा बन्धकझैं भए । रवीन्द्रले भने, ‘११/१२ बजेतिर थोरै खान दिन्थे । बाहिर जाऊँ भने प्रहरीको डर थियो । कतै हारगुहार गरौं भने फोन पनि थिएन ।’ दिन बित्दै गएपछि बंगालीले खाएको र बसेको पैसा माग्दै धम्काउन थाल्यो । रवीन्द्रका अनुसार उनीहरूकै फोनबाट घरमा सम्पर्क गरी उताबाट बंगाली एजेन्टले भनेको खातामा झन्डै एक लाख रुपैयाँ पठाएपछि उनीहरूको धम्की सुन्न बन्द भयो । त्यसपछि उनीहरूको सम्पर्क मुख्य एजेन्ट गणेशसँग भयो । एजेन्टले उनीहरूलाई प्रिटोरियाबाट ६ सय २४ किलोमिटरको दूरीमा रहेको डर्बन सहर करिब ८ घण्टाको गाडी यात्रापछि पुर्‍यायो ।

रमणीय सामुद्रिक तटका कारण पर्यटकीय सहरको उपमा पाएको र दक्षिण अफ्रिकाको अन्य सहरभन्दा न्यानो मानिने डर्बन पुग्दा उनीहरू तीनै जना गलिसकेका थिए । रवीन्द्रले भने, ‘एजेन्टलाई भेटेपछि नुहाएर म मस्तले सुतें अनि उठेर पेटभरि खाएँ ।’

अमेरिकी सरकारले निजी कम्पनीसँग मिलेर देश बाहिरको सुरक्षा अवस्थाबारे अनुसन्धान गर्न गठन गरेको ओभरसिज सेक्युरिटी एडभाइजरी काउन्सिलको सन् २०२० को प्रतिवेदनले अपराधीहरूबाट डर्बनमा गम्भीर सुरक्षा खतरा रहेको भन्दै आफ्ना नागरिकलाई एक्लाएक्लै त्यहाँ जान रोक लगाएको छ । तर यस्तो सुरक्षा खतराबारे रवीन्द्रसहितका ती तीन नेपालीलाई के थाहा ?

एजेन्टलाई भेटेपछि उनीहरूले थाहा पाए, जुन प्राउन फ्याक्ट्रीमा काम लगाउने भनेर उनीहरूलाई त्यहाँ पुर्‍याइएको हो, त्यो कम्पनी नै त्यहाँ थिएन । उनीहरूलाई डर्बनमा जहाँ राखिएको थियो, त्यहाँ अन्य १२/१३ नेपालीसमेत थिए । ती कसैले पनि भनेअनुसारको काम पाएका थिएनन् र अवैध रूपमा काम गरेकाहरूलाई पनि सुरक्षा खतरा थियो ।

दिन बितेर साता र साता बितेर महिना हुँदासमेत एजेन्ट लुंगाले उनीहरूलाई काममा लगाउन सकेनन् । लुंगाले काम हुन्छ भन्दै उनीहरूलाई थप केही महिना झुलाए । करिब ५ महिना अलपत्र परेपछि उनीहरू तीनै जना भागेर प्रिटोरियास्थित नेपाली दूतावासको सम्पर्कमा पुगे । नवीनले भने, ‘मुख्य एजेन्ट लुंगालाई बुझाएको सात लाख र खाँदा, बस्दा र फर्किंदाको चार लाखभन्दा धेरै पैसालाई माया मारेर नेपाल फर्कियौं ।’

मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी अनुराग द्विवेदीका अनुसार पीडितहरूले २०७५ जेठ २ मा लुंगाविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले लुंगाको खोजी थालेको थियो । पक्राउ परेका लुंगालाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ । लुंगाले दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पारेका अन्य धेरै नेपाली भएको हुन सक्ने भन्दै ब्युरोले उनीहरूको खोजी सुरु गरेको छ ।

प्रकाशित : मंसिर १९, २०७७ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×