नेकपा : तीन भ्रम, एक सत्य- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा : तीन भ्रम, एक सत्य

नेकपा स्वयंले पछिल्लो समय निर्माण गरेको सत्य हो– यथावस्थामा नेकपा अर्थहीन भयो । अब यसले देश र दुनियाँ बदल्ने कुनै सामर्थ्य राख्दैन । अतः यसलाई भत्किन दिनु नै जाती ।
केशव दाहाल

नेकपा अन्त्यहीन आरोप–प्रत्यारोपमा फसेको छ । यद्यपि यो अनपेक्षित थिएन । पछिल्लोपटक अध्यक्षहरूले प्रस्तुत गरेका १९ र ३८ पृष्ठका आरोपपत्रहरू हेर्दा लाग्छ, उनीहरूबीच सम्बन्धको मैलो कटकटिइसकेको छ, जो सजिलै पखालिँदैन ।

वस्तुतः यी आरोपहरूले नेकपाको दुर्भाग्यलाई मात्र उजागर गर्दैनन्, यिनले नेतृत्वको औकात, चिन्ता र चासोलाई समेत छरपस्ट पार्छन्, जसको निष्कर्ष हुन्छ– नेकपा पार्टी हैन, अनेक स्वार्थहरूको गठबन्धन हो, जसले जनतालाई वैचारिक भ्रम, राजनीतिक धोका र शासकीय अहंकारको उपहार मात्र दिएको छैन, लोकतान्त्रिक परिवर्तनको गरिमालाई समेत मूल्यहीन बनाएको छ । यही निष्कर्षसाथ नेकपाले उत्पादन गरेका तीनवटा वैचारिक/राजनीतिक भ्रम र एउटा सत्यमाथि यो लेखमा चर्चा गरिन्छ ।

भ्रम : एक

नेकपाले नेपाली जनतालाई दिएको सबैभन्दा ठूलो भ्रम विचारको भ्रम हो । नामको भ्रम हो । राजनीतिको भ्रम हो । यी सबै भ्रमलाई जोडेर हेर्दा लाग्छ– योजति विचारहीन, ढुलमुले र अवसरवादी पार्टी अर्को छैन । कसरी यस्तो भयो ? यो रोचक प्रसंग हुन सक्छ, जसलाई बुझ्न पूर्वएमाले र पूर्वमाओवादीका वैचारिक/राजनीतिक संकथनहरूको स्मरण गरौं । कुनै बेला एमाले लेनिनवादी थियो, माओवादी कट्टर माओवादी भैहाल्यो । शास्त्रमा लेनिनवाद र माओवादबीच के फरक छ ? वाम विश्लेषकहरू भन्छन्— लेनिनवादी हुनु र माओवादी हुनुमा तिलको हैन, पहाडको फरक हुन्छ । यी दुई धारबीच समयको भेद त छ नै, आन्दोलन, शैली र संस्कृतिको समेत भेद छ । मूलतः लेनिनवाद सर्वहारा क्रान्ति र समाजवाद निर्माणको विचार हो । माओवाद जनवादी क्रान्ति र पुँजीवाद निर्माणको । लेनिनवादीहरू मजदुरवर्गलाई क्रान्तिको मुख्य शक्ति मान्छन् । माओवादीहरू किसानलाई । भनिन्छ– साम्राज्यवादी युगमा सर्वहारा क्रान्तिको वैचारिक संरचना लेनिनवाद हो । यता माओवाद सामन्तवादविरोधी क्रान्तिको सिद्धान्त । माओले गुरिल्ला युद्धका नियमहरूको विकास गरे । गाउँले सहर घेर्ने रणनीति बनाए । तर लेनिनको संघर्षको केन्द्रविन्दु थियो सहर । लेनिनले बोल्सेभिक क्रान्तिका सहयात्री देशहरूलाई सोभियत संघमा मिलाए । माओले चीनलाई राष्ट्रिय मुक्ति दिलाए । कालान्तरमा लेनिनका उत्तराधिकारीहरूले सोभियत संघमा रुसी सभ्यताको प्रवर्द्धन गरे ।

माओले निरन्तर सर्वहाराकरणका नाममा ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ । कुनै बेला सर्वहारा सांस्कृतिक क्रान्तिलाई एमालेहरू ‘चरम उग्रवाद’ ठान्थे । भन्नुपर्दैन, यी दुई धारबीच नेपाली कम्युनिस्ट इतिहासमै सबैभन्दा निर्मम आरोप, प्रत्यारोप र भौतिक आक्रमणहरू हुने गर्थे । ती घटना दस्तावेजहरूमा अझै जीवित छन् ।

माओवादीहरू मूलतः ‘एन्टागोनिस्टिक कन्ट्राडिक्सन’ मा विश्वास गर्छन् । यसको अर्थ हो– समाजमा वर्गहरू हुन्छन्, जो कहिल्यै मिल्दैनन् । यसैले वर्ग सम्मिलन होइन, वर्ग संघर्षबाट मात्र न्याय स्थापित हुन्छ, जुन संघर्ष सशस्त्र हुन्छ । माओवादीहरू ठान्थे– माओवाद विश्वक्रान्तिको सबैभन्दा ‘उच्च वैचारिक संश्लेषण’ हो । यो मार्क्सवादको लेनिनवादभन्दा विकसित प्रयोग हो । तर लेनिनवादीहरू (एमाले) ठान्थे कि, ‘माओवाद’ भन्नु दर्शनको सार्वभौमिकता नबुझ्नु हो । उनीहरू माओवाद हैन, विचार भन्थे । उनीहरूको तर्क थियो– माओवाद क्रान्तिको चिनियाँ प्रयोग मात्र हो । एमाले संसदीय संघर्षलाई संघर्षको मुख्य मोर्चा मान्थ्यो । तर माओवादीहरू ठान्थे– क्रान्तिकारीहरूका लागि संसद्‌मा भाग लिने काम दक्षिणपन्थतिरको पतन हो । माओवादीका विचारमा ‘पहिलो विश्वयुद्धअघिको संसदीय प्रणाली धेरथोर जनताको पक्षमा थियो, तर जब विश्वयुद्धले साम्राज्यवादको विकास गर्‍यो, त्यसपछिको संसदीय व्यवस्था सम्पूर्ण रूपले साम्राज्यवादको सेवामा समर्पित छ । संसदीय व्यवस्था प्रगतिशील हुने जमाना महान् अक्टोबर समाजवादी क्रान्तिपछि समाप्त भयो ।’ यसर्थ नै हुनुपर्छ, माओवादीहरू नेपाली कम्युनिस्ट आन्दोलनको मूल समस्या नै ‘संसद्‌वाद’ ठान्थे । उनीहरूको निष्कर्ष थियो– वर्गसंघर्षलाई दीर्घकालीन जनयुद्धको पथबाट विचलित गर्ने संसदीय भ्रमबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाउनुपर्छ । माओवादीहरू भन्थे– नेपालमा माओवादी हुन नसक्नेहरू मार्क्सवादी र लेनिनवादी दुवै हुँदैनन् । यो मुख्यतः एमालेबाट माओवादीलाई जोगाउने वैचारिक प्रस्ताव थियो ।

प्रश्न आउँछ, यी तमाम बेमेल, विरोधाभास र वैचारिक द्वन्द्वमा नेकपा कहाँ उभिन्छ ? यदि ऊ कम्युनिस्ट पार्टी नै हो भने यस्ता प्रश्नहरूमा उसको पछिल्लो अडान के हो ? अन्यथा नेकपा कम्युनिस्ट पार्टी हैन र वादका झमेलाबाट मुक्त हुँदै गएको हो भने त्यो स्पष्टता खै ? कस्तो पार्टी बनाउने ? कसको पार्टी बनाउने ? पार्टीको वैचारिक मार्गदर्शन के हुने ? पार्टीको लक्ष्य के हो ? यावत् प्रश्नलाई थाती राखेर गरिने कम्युनिस्ट एकताले जनतालाई के दिन्छ ? भ्रम र मात्र भ्रम । यद्यपि एमाले र माओवादीहरू मिले ।

यिनीहरूलाई मिल्न उत्प्रेरित गर्ने मुख्य तत्त्व के हो ? फरक विचार र आन्दोलनको पृष्ठभूमिबाट आएका यी दुई पार्टीले वैचारिक प्रश्नहरूको हल कसरी गरे ? एकता प्रक्रियामा न कतै ‘जबज’ थियो, न त ‘एक्काइसौं शताब्दीको जनवाद’ । पार्टी एक गरिरहँदा, उनीहरूले न कुनै बेला एकअर्कालाई लगाएका आरोपहरूको स्वीकारोक्ति, आलोचना वा खण्डन गरे, न त विचारहरूको संगतिपूर्ण विवेचना, संश्लेषण र नयाँ प्रस्तावहरूको रचना । स्पष्ट छ, एमाले र माओवादीहरूको एकता दुई कम्युनिस्ट पार्टीको एकता थिएन । समाजवादी आन्दोलनको एकता थिएन । देशलाई समुन्नत गर्ने लक्ष्यको एकता थिएन । त्यो सत्तास्वार्थको एकता थियो । त्यो शक्तिकांक्षाको एकता थियो । परिणाम, नेकपाका नेताहरूले आ–आफ्ना वैचारिक पाठ्यक्रम, इतिहास र पक्षधरतालाई च्यातिदिए । बाँकी राखे मात्र सत्ता र शक्तिको सपना । आखिर भ्रमको पर्दाफास भयो । पछिल्लो आरोप–प्रत्यारोपको गूढ रहस्य यही हो ।

भ्रम : दुई

नेकपाको पछिल्लो विवाद के हो ? भ्रममा नपरौं, यो देशलाई समृद्ध बनाउने विवाद होइन । यो न आर्थिक–सामाजिक न्यायका मुद्दाहरूमाथिको बहस हो, न त जनतालाई राहत र सुविधा दिने विषयकै लफडा । यो विवादमा भ्रष्टाचारको अन्त्य गर्ने विषय कतै छैन । यो न त लोकतन्त्रको विवाद हो, न समाजवादको । आरोप–प्रत्यारोपहरू नियालौं, यो विवादमा नेकपाले निर्वाचनमा गरेका वाचाहरू कतै भेटिँदैनन् । त्यसैले स्पष्ट छ– जनताका सपनाहरूसँग नेकपाको पछिल्लो विवाद कतै जोडिँदैन । किनभने यो छोटे राजाहरूको अहंकारको भिडन्त मात्र हो । शक्ति र स्वार्थको टकराव । बादशाह बन्ने महत्त्वाकांक्षा । वर्चस्वको युद्ध । सिंहासन र श्रीपेच हत्याउने लडाइँ । यो नेपाली जनतालाई उज्यालो दिने संघर्ष होइन, बरु जनताका सपनाहरूमाथिको खेलबाड हो । यो विवादलाई यो वा त्यो पक्षले कहीँ–कतै सैद्धान्तिक रूप दिन खोज्छ भने त्यो मात्र भ्रम हो ।

भ्रम : तीन

कतिपयलाई लाग्छ– नेकपाको पछिल्लो संकट केपी ओली र पुष्पकमल दाहालको संकट हो । नेकपा ठीक छ, मात्र अध्यक्षहरू बेठीक भए । केही मान्छे ठान्छन्– नेकपाको दोस्रो पुस्ता अब्बल छ । चाँडै यसले सबै कुरा ठीकठाक बनाउनेछ । सायद यही मनोविज्ञानसँग खेल्न केपी ओलीले दोस्रो पुस्तामा पार्टी हस्तान्तरणको प्रस्ताव गरेका हुन् ।

वस्तुतः यो अपेक्षा र ओलीको प्रस्ताव दुवैमा भ्रम निहित छ । किनभने, नेकपाको पछिल्लो संकट पार्टीका अध्यक्षहरूको मात्र संकट होइन, न त यो सचिवालयको मात्र संकट हो । यो संकट पार्टीको वैचारिक/राजनीतिक द्विविधा, सत्ताकांक्षा र विचलनले निर्माण गरेको महासंकट हो, जसमा हिस्सेदार छन्– नेकपाका सदस्यहरू । झट्ट हेर्दा लडाइँमा दुई सम्राट् अगाडि देखिन्छन् । तर युद्धका उत्प्रेरक छन्– सचिवालयका जर्नेलहरू र मतियार छन्— दोस्रो पुस्ताका सैनिकहरू । अतः स्पष्ट हुन्छ, नेकपामा अहिले सार्वभौम कार्यकर्ताहरू छैनन् । प्रश्नहरू छैनन् । आलोचना छैन । समीक्षा छैन । मात्र षड्यन्त्र छ र छन् त्यसका मतियारहरू ।

राजनीतिमा पुस्ता हस्तान्तरण एक बहुआयामिक प्रयोग हो, जसलाई मुख्यतः विचार, संस्कृति र सपनाहरूको पुनर्गठनका रूपमा बुझ्नुपर्छ । यो समय–चेतनामा आउने परिवर्तन त हो नै, यसले भविष्यबोध र सृजनशीलतमा समेत बदलाव ल्याउँछ । त्यसैले राजनीतिमा पुस्ता हस्तान्तरण एक सूत्र होइन, लहड होइन, षड्यन्त्र होइन, बरु बृहत्तर राजनीतिक, आर्थिक, सामाजिक चेतनाको पुनर्गठन हो । के यस्तो युगीन प्रयत्नका लागि ओली कमरेड तयार छन् ? के त्यस्तो ऐतिहासिक अवसर लिने नयाँ पुस्ता कतै छ ? त्यस्तो देखिँदैन । यथार्थमा पार्टी मुखियाहरूले एकअर्कालाई गलाउन गरेको पुस्ता हस्तान्तरणको प्रस्तावमा न त रस छ, न सुगन्ध । व्यापक राजनीतिक तथा सांगठनिक पुनर्गठनबिनाको पुस्ता हस्तान्तरण मात्र भ्रम हो ।

सत्य : एक

माथिका तीनवटा भ्रमले नेकपालाई नांगेझार बनाएका छन् । ऊ सर्वांग नांगै छ, जोसँग लाज छोप्ने विचार, आस्था र मूल्य–मान्यताको टालो कतै छैन । नेकपामा केही आशालाग्दा नेताहरू अवश्य छन् । उनीहरूलाई थाहा छ— राजनीति भ्रमले चल्दैन । उनीहरूले बुझेका छन्– सिद्धान्त, विचार र मूल्य–मान्यताबिना राजनीति असम्भव छ । जुन अनिवार्य छ, त्यही नै असम्भव हुनु नेकपाको पछिल्लो संकट हो । यो संकटलाई बालुवाटारको रातो कार्पेटले छोपेर कति दिन चल्छ ? यसरी राजनीति सप्रिँदैन । यसरी देश र दुनियाँ बदलिँदैन । अतः सत्यलाई स्वीकार गर्नु र त्यसलाई प्रवर्द्धन गर्नु नै नेकपाका योग्यतम साथीहरूको आजको दायित्व हो । निश्चय नै नेकपामा सत्यको साधना गर्न कठिन होला, तर असम्भव छैन ।

अन्तिम कुरा, नेकपा स्वयंले पछिल्लो समय निर्माण गरेको सत्य हो– यथावस्थामा नेकपा अर्थहीन भयो । अब यसले देश र दुनियाँ बदल्ने कुनै सामर्थ्य राख्दैन । अतः यसलाई भत्किन दिनु नै जाती, जसको जगबाट एउटा नयाँ र ताजा राजनीतिक दलको पुनर्जन्म हुन सकोस्, जसलाई संगठित गरून् योग्यतम कमरेडहरूले । माफ गर्नुहोला, यो कुनै पूर्वाग्रह होइन, भविष्यप्रतिको मात्र एक अपेक्षा हो ।

dahal.keshab@gmail.com

प्रकाशित : मंसिर १८, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

शौचालय सहरको शोभा

दीप्स शाह

भारतीय चलचित्र ‘ट्वाइलेट : एक प्रेमकथा’ दोहोर्‍याएर हेरेकै हप्ता विश्व शौचालय दिवस (१९ नोभेम्बर) परेको संयोगमा म गर्वले यति फुलेल भएँ, साँच्चै हाम्रो त खुला दिसामुक्त क्षेत्र घोषित मुलुक पो हो ! तर उतिखेरै संकोचवश खुम्चिन पुगें, एउटा कटु अनुभवको सम्झना हुनासाथ ।

केही हप्तापहिले म घुम्दै रत्नपार्क पुगेकी थिएँ । पिसाबले च्यापेर सार्वजनिक शौचालय पुग्दा हेरिनसक्नु फोहोरले अतालिएर बागबजारतिर दाजुको अफिससम्म पुग्नुपरेको थियो । त्यसको केही दिनपहिले कामविशेषले न्युरोड पुग्दा पनि उस्तै समस्याले हतारिँदै चाबहिल फर्किनुपरेको थियो । यस्तै समस्याले गर्दा म घरबाट निस्किनुअघि सकेसम्म कम पानी पिउने कोसिसमा हुन्छु । यो अवस्था र भोगाइ मुलुककै संघीय राजधानी अर्थात् सबैभन्दा समृद्ध मानिएको सहरको हो ।

यसबाटै अनुमान लगाउन सकिन्छ, दूरदराजका बस्तीहरू कतिसम्म खुला दिसामुक्त छन् ! बर्सेनि औपचारिकतावश शौचालय दिवस मनाएर वा खुला दिसामुक्त क्षेत्र घोषणा गरिदिएर मात्रै घर–समाज सफा हुन्न । खुला दिसामुक्त भनिसकेपछि फोहोर विसर्जनको उचित व्यवस्थापन हुनुपर्दैन ? मान्छे दिमागमा स्वच्छता बोकेर हिँडे पनि पेटमा फोहोर बोक्नु उसको बाध्यता हुँदै हो, तर साथमा शौचालय बोकेर त हिँड्न सक्दैन । बाहिर फोहोर नगर्ने खबरदारी गरिसकेपछि भित्र विसर्जन गर्ने व्यवस्था नगरिदिँदा कसरी खुला दिसामुक्त क्षेत्रले सार्थकता पाउला ?

वातावरण स्वच्छतामा सबैभन्दा निकट सरोकार राख्ने विषय दिसापिसाबको उचित व्यवस्थापनका लागि सार्वजनिक स्थानहरूमा पनि शौचालयको अनिवार्यतालाई सरोकारवालाहरूले मनन गर्नुपर्ने हो । भएकै शौचालयहरूको नियमित सरसफाइमा पनि ध्यान दिनुपर्ने हो । हुन त सरसफाइमा सरकार मात्रै नभएर नागरिक आफैं पनि सचेत र सजग हुनुपर्छ । शौचालयको महत्त्व घरजत्तिकै हुन्छ भन्ने कुरो आमजनलाई बुझाउनु जरुरी छ । सन् १९८० को एउटा तथ्यांक अनुसार, त्यस बेला जम्मा २ प्रतिशत नेपालीका घरमा शौचालय थिए । सन् २००९ मा त्यो संख्या ४३ प्रतिशत पुग्यो । सन् २०१५ मा आइपुग्दा ८१ प्रतिशत नेपालीका घरमा शौचालय रहेको देखियो । यो हेर्दा, जनस्वास्थ्य सरोकारको विषयमा सरकार तथा सरोकारवालाको ध्यान गएकै मान्नुपर्छ । सायद यही उपलब्धिबाट हौसिएर सरकारले सन् २०१९ मा अर्थात् २०७६ असोज १३ गते सिंगो नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्‍यो । तर, यो हचुवाको घोषणा थियो । शतप्रतिशत नेपालीका घरमा व्यवस्थित शौचालय बन्नुअगावै र यथेष्ट सार्वजनिक शौचालयको प्रबन्ध नगरीकनै मुलुकलाई खुला दिसामुक्त घोषणा गर्न हुन्नथ्यो । पाटीपौवा, मठमन्दिर, पार्क, सहरका अति व्यस्त स्थानहरूमा प्रशस्त सार्वजनिक शौचालयको व्यवस्था नहुनु र भएका शौचालयहरूको पनि नियमित सरसफाइ नहुनु, महिलामैत्री र अपांगमैत्री शौचालयहरूको निर्माणमा ध्यान नदिनु, शौचालयले स्वास्थ्यमा पार्ने प्रभावबारे जनचेतना जगाउन नसक्नुले गर्दा मुलुक नारामै मात्रै खुला दिसामुक्त क्षेत्र भइरहेको छ । विकास र समृद्धि भनेका ठूला कुरा, ठूला सपना र आश्वासन मात्रै होइनन्; जनस्वास्थ्यसँग सरोकार राख्ने, देख्दा मसिनाजस्ता लाग्ने विषयहरूमा पनि उत्तिकै ध्यान जानुपर्छ । आम नागरिकको स्वास्थ्य पनि मुलुकको मेरुदण्ड हो ।

केही वर्षको आफ्नो इजरायल बसाइको अनुभव सुनाऊँ । पूरै इजरायल घुम्दा कुनै सहर या निर्जन मरुभूमिमा समेत कहिल्यै शौचको समस्याले अतालिनुपर्दैन । कतिपय सार्वजनिक यातायातमै पनि शौचको सुविधा हुन्छ । बाटाघाटा, सहर–गाउँ जहीँतहीँ आम नागरिकको न्यूनतम र अधिक जरुरीका कुराहरूमा सरकारले यथेष्ट ध्यान दिएको छ । कसैले नाक–मुख छोपेर निसासिनुपर्दैन । तब न विकसित मुलुक ! तब न त्यता हाम्रोमा झैं हैजाजस्ता महामारीले बर्सेनि सयौं बालबालिकाको ज्यान जाँदैन ! फोहोर र शौचालयको उचित व्यवस्थापन र कार्यान्वयन तिनको पहिलो प्राथमिकता हुने गर्छ । हामी विदेशीका अनेक खाले संस्कार र संस्कृति नक्कल गर्न हतारिन्छौं, तर सरसफाइमा तिनका चेतना, प्राथमिकता र दैनिकीको भने कहिल्यै सिको गर्न चाहँदैनौं । आज पनि सभ्य भनिएकै कतिपय नेपालीका घरमा शौचालय अन्तिम प्राथमिकतामा रहेको पाइन्छ भने विपन्न र अशिक्षितको त के कुरा !

सरकारले बाहिरी चमकदमक र ठूला नीतिनिर्माणका कुरामा भन्दा बढी ध्यान नागरिकको निरोगितामा लगाउनुपर्छ । आमजनको निरोगिताको पहिलो सर्त हो– शौचालयको उचित व्यवस्थापन । संघ, प्रदेश तथा स्थानीय सरकारले यस विषयलाई मनन गरे हाम्रा टोलछिमेक, गाउँसहर स्वच्छ हुनेछन् र खुला दिसामुक्त क्षेत्र घोषणाले सार्थकता पाउनेछ; हरेक वर्ष मनाइने विश्व शौचालय दिवसको पनि अर्थ हुनेछ ।

deepssanu@gmail.com

प्रकाशित : मंसिर १८, २०७७ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×