१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपालका लागि आर्थिक कूटनीति

सूर्य सुवेदी

आर्थिक कूटनीति भनेको देशका पृथक् विशेषता वा तुलनात्मक लाभहरूलाई आफ्ना नागरिकको हितमा प्रयोग गर्नु हो भन्ने मलाई लाग्छ । म यहाँ केही बुँदा उल्लेख गर्न चाहन्छु, जसबाट नीतिनिर्माणको उद्देश्य पूरा गर्न सहयोग पुग्नेछ ।

नेपालका लागि आर्थिक कूटनीति

१. कम विकसित देशको हैसियत हुनुको फाइदा : हामी प्रायः नेपाल स्रोतसाधनमा गरिब मुलुक भनेर विश्वास गर्ने गर्छौं । तर, नेपालमा जलस्रोतसहित अन्य स्रोत औषधिजन्य हिमाली जडीबुटी, पर्यटन विकास र सेवा क्षेत्रमा धेरै सम्भाव्यता छ । राजनीतिक स्थिरता हासिल गरिसकेपछि नेपाल वैदेशिक लगानी आकर्षित गर्न उपयुक्त ठाउँ हो भन्ने मेरो बुझाइ छ । कम विकसित मुलुक नेपाल धेरै किसिमबाट लाभान्वित हुन सक्छ । विश्व व्यापार संगठन (डब्लूटीओ) को नियमअन्तर्गत रहेर नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार पहुँच ड्युटी फ्री र कोटा फ्रीमै हुन सक्छ । नेपालजस्ता कम विकसित देशले अन्तर्राष्ट्रिय कानुनले दिएका अवसरहरूको खोजी गर्नु पनि आर्थिक कूटनीति हो ।

२. भूपरिवेष्टित मुलुक हुनुको फाइदा : समुद्र हुँदै सामान ओसारपसार प्रचलित र कम खर्चिलो माध्यम मानिन्छ । तर, अचेल बढ्दो आतंकवादका हिसाबले पनि समुद्रपछाडि रहेका र भूपरिवेष्टित मुलुकहरू तटीय क्षेत्रका तुलनामा बढी सुरक्षित मानिएका छन् । यस अतिरिक्त समुद्र सतह बढिरहँदा र समुद्री तटमा वातावरणीय विनाशले भूपरिवेष्टित देशहरू बढी सुरक्षित देखिन्छन् । नेपालले समुद्र सतह बढेर त्यसको नियन्त्रणका लागि अन्य देशले अर्बौं डलर खर्च गरेर बाँध बनाए जस्तो पनि गर्नुपर्दैन । न नेपालले समुद्र सतह बढेर एक ठाउँको जनसंख्या अन्यत्र सार्न आवश्यक छ, न नेपाललाई सुनामीको डर छ । त्यसकारण भूपरिवेष्टित नेपाल लगानी र बसोबासका लागि सुरक्षित छ ।

३. अन्तर्राष्ट्रिय संस्थाहरूको क्षेत्रीय हब : नेपालले बनाएको तटस्थ र असंलग्न भन्ने परम्परागत छाप उपयोग गरेर यो देशलाई अन्तर्राष्ट्रिय कानुनी तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संस्थाहरूको क्षेत्रीय हबका रूपमा विकास गर्न सकिन्छ, कानुनी राजधानीका रूपमा विश्वमै परिचित नेदरल्यान्ड्सको हेगजस्तै । स्विट्जरल्यान्ड अर्को उदाहरण हो । जेनेभा सहर वित्तीय सेवाकेन्द्रका रूपमा मात्र नभई धेरै अन्तर्राष्ट्रिय संस्थाको मुख्यालयका रूपमा लाभान्वित भइरहेको छ । संयुक्त राष्ट्रसंघका झन्डै दुईतिहाइ गतिविधि यूएन एजेन्सीमार्फत जेनेभाबाटै हुन्छन् । यदि काठमाडौं र पोखराजस्ता सहरहरूको भौतिक पूर्वाधार विकास गर्न सके तिनलाई अन्तर्राष्ट्रिय कानुनी तथा सम्बन्धका गतिविधिको क्षेत्रीय मध्यस्थता केन्द्र र थिंक ट्यांकका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ ।

४. अन्तर्राष्ट्रिय वित्तीय सेवाकेन्द्रका रूपमा विकास : नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय सेवाकेन्द्रका रूपमा विकास गर्न सकिने अर्को सम्भाव्यता पनि छ । नेपालका छिमेकी दुवै देश धनी हुँदै गएकाले तिनले आफ्नो पैसा सुरक्षित र तटस्थ देशमा राख्न चाहेका हुन सक्छन् । तटस्थ देशका रूपमा छाप बनाएको नेपाल चिनियाँ र भारतीय नागरिकका बचत स्थानान्तरण गर्न एउटा आकर्षक स्थल बन्न सक्छ । सन् १९९० को दशकमा राजा वीरेन्द्र पनि यसबारे इच्छुक रहेको मेरो स्मृतिमा छ । लन्डन भ्रमणका बेला भएको भेटमा राजा वीरेन्द्रले मलाई यसको सम्भाव्यता र कानुनी अधिकारबारे आफ्नो अनुभवसहित एउटा प्रतिवेदन बनाउन आग्रह गरेका पनि थिए । मैले एउटा प्रतिवेदन तयार गरेर राजा वीरेन्द्रलाई हस्तान्तरण पनि गरें । राजाले त्यो तत्कालीन प्रधानमन्त्रीलाई पठाए तर माओवादी जनयुद्धसँगै बढेको राजनीतिक अस्थिरतापछि यो उपाय कसैले अगाडि बढाएन । वास्तवमा सर्वस्वीकार्य अन्तर्राष्ट्रिय कानुनी खाका विकास गरेर व्यवस्थित गर्ने हो भने, यो राजस्वको एउटा स्रोत पनि बन्न सक्छ । तर, यसका लागि नेपालमा राजनीतिक स्थायित्व र दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध स्थापना गर्न आवश्यक छ ।

५. वैदेशिक लगानी आकर्षित गर्न राजनीतिक वातावरण : अन्य केही देशको अनुभवका आधारमा कुरा गर्दा, वैदेशिक लगानी आकर्षित गर्न राजनीतिक वातावरण अति महत्त्वपूर्ण हुन्छ । त्यसका लागि केही प्राथमिकता हुन जरुरी छ । जस्तै : देश र विदेशमा ग्राहकहरूलाई बिनाअवरोध पहुँच, राजनीतिक स्थिरता, निष्पक्ष कानुनी कार्यान्वयन, स्वतन्त्र न्यायपालिका, पर्याप्त पूर्वाधार, गुणस्तरीय श्रम, भ्रष्टाचार नियन्त्रण, प्रतिस्पर्धात्मक कर प्रणाली एवं शासन र नीतिनिर्माणमा पारदर्शिता आदिलाई प्राथमिकता दिइनुपर्छ । आर्थिक रूपमा देशलाई समृद्ध बनाउने हो भने राजनीतिक नेतृत्वले यसलाई मनन गर्नैपर्छ ।

६. आउटसोर्सिङ व्यवसाय : आफ्नो अर्थतन्त्र उकास्ने हो भने नेपालले पश्चिमा राष्ट्रहरू मात्र होइन, चीन र भारतबाट समेत आउटसोर्सिङ व्यवसाय आकर्षित गर्नुपर्छ । दुई छिमेकी देशमा मध्यमवर्गीय र २ अर्बभन्दा बढी जनसंख्या भएकाले नेपालसँग यसअघि नै विशाल बजार छ ।

सारांशमा, छिमेकी मुलुकहरू मात्र होइन, प्रमुख शक्तिराष्ट्रहरूसमेत नेपालमा प्रभाव जमाउन प्रतिस्पर्धा गरिरहेको अवस्था छ । नेपालका प्राकृतिक तथा अन्य स्रोतहरूका लागि कैयौं देशले प्रतिस्पर्धा गरिरहँदा नेपालले बार्गेन गरी थप राजस्व संकलन गर्न सक्छ । नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता, जलस्रोतले भरिपूर्ण छ । नेपाल सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतम बुद्ध र पशुपतिनाथको देश हो । नेपाल हिन्दु र बौद्ध सभ्यताको देश हो अनि यसले भारतीय र चिनियाँ सभ्यताको पुलका रूपमा हजारौं वर्षदेखि शान्ति, बहुसंस्कृति, सहनशीलता र विश्ववादको सन्देश फैलाइरहेको छ । त्यसैले तुलनात्मक लाभका क्षेत्र पहिचान गरेर तथा भू–राजनीतिक अवस्थितिलाई ध्यानमा राखेर सार्थक नीतिहरू बनाइएमा नेपाललाई एक समृद्ध मुलुक बनाउन सकिने पर्याप्त सम्भावनाहरू छन् ।

(सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन् ।)

प्रकाशित : मंसिर १७, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?