नेपालको छिमेक सम्बन्ध- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको छिमेक सम्बन्ध

चीन र भारतका प्रतिनिधिहरूको भ्रमण प्रतिस्पर्धात्मक भए पनि नेपालले यस्ता गतिविधिलाई व्यवस्थित गर्ने र राष्ट्रहितमा लगाउने कला र रणनीति भने बढाउनैपर्छ ।
लोकराज बराल

कान्तिपुर दैनिकको ‘सम्पादकलाई चिठी’ स्तम्भमा शिवशंकर यादवले भारत र चीनले नेपालको राजनीतिमा लिने चाख एवं भारतको बढी विरोध गर्ने र चीनप्रति मौन रहने नेपालीको प्रवृत्तिबारे गरेको टिप्पणी रोचक लाग्यो । उनको टिप्पणीमा विशेष गरी भारतले नेपालको राजनीतिक परिवर्तनमा सधैं अग्रगमनका लागि भूमिका खेलेको र चीनले भने यथास्थितिको समर्थन गर्दै आएको उल्लेख छ ।

सन् १९४९ पछि चीनले राज्य–राज्यबीचको सम्बन्ध राख्दै आएको हो । त्यसैले उसले राजनीतिक सिद्धान्तमा आधारित परराष्ट्रनीति नलिएको पाइन्छ । तर अब चीनले जनता या दलबीचको सम्बन्ध सक्रिय पार्न थालेको खुल्न थालेको छ । यसभित्र उसको राजनीतिक महत्त्वाकांक्षा लुकेको पाइन्छ । राज्य–राज्यबीचको सम्बन्धलाई राजनीतिक सम्बन्धमा बदलिँदा अनेक तरंग उठ्ने गर्छन् र अन्य शक्तिराष्ट्र सशंकित हुन्छन् । चीन नेपालमा राजतन्त्र रहँदासम्म दरबारसित मात्र सहकार्य गरी आश्वस्त हुने गरेको थियो ।

जनमत संग्रहको घोषणा (२०३६ साल) ताका राजा वीरेन्द्रले आफ्नो नीति परिवर्तन नहुने घोषणा गरेर चीनलाई नेपालको परिवर्तनले असर नपार्ने कुरा गरेका थिए । तर २०६२/६३ सालको परिवर्तनपछि दरबार शक्तिकेन्द्रका रूपमा रहेन, शक्तिकेन्द्रहरू धेरै भए । यसैले कतिपय बाह्य शक्तिराष्ट्रहरूलाई मुख्य शक्तिसित स्थिर सम्बन्ध कायम गर्न अप्ठ्यारो पर्दा यी शक्तिराष्ट्रहरू मुख्य दलहरूसित बढी सम्पर्कमा आउन चाहे । तर नेकपाका दुई मूलधार एमाले र माओवादी एक दलका रूपमा मिल्दा चीनलाई विशेष सन्तोष लागेको र त्यहीअनुसार उसले आफ्नो सहकार्य बढाएको पाइन्छ । ओली सरकारका कतिपय नीति र गतिविधिले चीन बढी नजिक र भारत पर परिरहेको देखिँदा कतै परराष्ट्रनीति एकपक्षीय भैरहेको त छैन भन्ने तर्क उठ्नु स्वाभाविकै हो ।

चीनका तुलनामा भारतको नेपालसितको सम्बन्ध बहुआयामिक र गहिरो छ । आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक र ऐतिहासिक रूपले सधैं निकट रहेकाले यसको प्रभाव स्वतः पर्ने नै भयो । राजनीतिक परिवर्तनमा भारतको जहिले पनि अग्रगामी सहकार्य रहँदै आएको तथ्य २००७, २०४६ र २०६२/६३ सालका संघर्षले प्रस्ट पार्छन् । २००७ सालमा भारतको भूमिका विवादित भएको थियो, भारत सरकारले राजा त्रिभुवनलाई केन्द्रमा राखी क्रान्तिकारी शक्ति नेपाली कांग्रेसलाई ओझेलमा पारेकाले । तर संविधानसभाको चुनावका माध्यमबाट संविधान बनाउने र आधुनिक लोकतन्त्रका यावत् संरचनाप्रति प्रतिबद्धता देखाई परिवर्तनका लागि सम्झौता गर्ने कामलाई ठूलो क्रान्तिकारी परिवर्तन मान्नैपर्छ । ती उपलब्धिलाई आफैंबीचको कलहले नामेट पार्‍यो, भारतको व्यक्ति–प्राथमिकताका कारण लोकतन्त्रको प्रयोग असफल रह्यो र राणाका ठाउँमा शाहतन्त्रको पुनःस्थापना भयो । तर शाहतन्त्रको राजनीतिको जग बलियो थिएन किनभने यसको जनप्रियताको आधार कमजोर थियो ।

राजाको वर्चस्वले केही काल धाने पनि यो जनताका आकांक्षा र चाहनाअनुसार ढल्न नसक्ता ससाना घटनाका कारण यसको औचित्य सकिँदै गयो । २५० वर्ष जरा गाडेको राजतन्त्रविरुद्ध संघर्ष गर्नु सजिलो थिएन किनभने शाही व्यवस्थाको जनमुखी कार्यक्रम र तिनको वैधताभन्दा पनि राजाको संलग्नताले केही बढी समय निर्दलीय व्यवस्था टिकेको थियो । २०४६ सालको बहुदलप्राप्तिको आन्दोलनलाई सफल पार्न नेपालका परिवर्तनकामी दलहरूले भारतका दलहरूको समर्थन लिएका थिए । नेपालका सबै मुख्य राजनीतिक परिवर्तनमा भारत कुनै न कुनै रूपले संलग्न भैहाल्दा विवाद आउने गरेको छ । यहाँका दलहरूका नेताको भूमिका र लघुताभास या तात्कालिक स्वार्थले गर्दा वातावरण धमिलिने गरेको पाइन्छ ।

भारतको नेपालनीति औपनिवेशिक कालकै शृंखलामा चलेको पाइन्छ र भूराजनीतिको महत्त्व नेपाल राज्य बनेदेखि नै मानिएको छ । स्वतन्त्र भारतको नीतिमा केही अवधारणा र सिद्धान्त थपिए पनि सारमा भने नेपाल हेर्ने दृष्टिकोणमा परिवर्तन देखिँदैन । आजका सन्दर्भमा भारतको नेपालनीति झन् पेचिलो बन्न सक्छ, नेपालले आफ्ना नीति र कूटनीति सन्तुलित र व्यावहारिक ढंगले सञ्चालन गर्न सकेन भने । चीन र भारतबीच बढ्दो असमझदारी र प्रतिस्पर्धाले भूराजनीतिक संवेदनशीलतासँगै चीनको आक्रामक शैली र बढ्दो प्रभावबाट तर्सिएका राष्ट्रहरू एक हुन थाल्दा दोस्रो शीतयुद्धको अभ्यास हुने त होइन भन्ने डर बढेको छ । भारतको अबको नीति सैद्धान्तिक या आदर्शवादीभन्दा पनि बढी यथार्थवादी हुने तथ्य खुल्न थालेको छ । उसले सामरिक र अन्य स्रोत बढाउँदै अरू मुलुकसित सहकार्य गरी आफ्नो बृहत् स्वार्थको रक्षा गर्ने अभीष्ट राखेको देखिन्छ । भारतका विदेशमन्त्री एस. जयशंकरको पछिल्लो पुस्तक ‘दी इन्डियन वे’ मा पनि यस्तै विश्लेषण छ ।

भारतको बढी टाउकोदुखाइ पाकिस्तान र चीनको रणनीतिक साझेदारी, बीआरआई र त्यसको कार्यान्वयनमा देखिन्छ । बीआरआईमा चीनको महत्त्वाकांक्षा रहेको र यसलाई अगाडि बढाउन ऊ आक्रामक भैरहेको आभास धेरै राष्ट्रलाई भएको छ । तर चीन–भारत सीमा द्वन्द्व अब अरू चर्कने सम्भावना छैन किनभने बढी सैन्य शक्तिको प्रयोग दुवैका लागि हानिकारक सिद्ध हुनेछ । यदि द्वन्द्वमा होमिए चीनको विश्वशक्ति बन्ने अभियानमा ठूलो बाधा पर्ने र आर्थिक–रणनीतिक रूपमा अझ एक्लिने सम्भावना बढ्नेछ । भारतले पनि धेरै शक्ति आर्जन गरिसकेकाले दुई देशको शक्ति सन्तुलनमा तात्त्विक फरक नपर्ने र अन्य शक्तिराष्ट्रको सहयोग बढ्ने भएकाले अबको लडाइँ दुवैका लागि अति महँगो पर्नेछ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको नीति डोनाल्ड ट्रम्पको भन्दा धेरै फरक नपरे पनि चीनसितको सम्बन्ध हालको जस्तो कटुतापूर्ण होला भन्न सकिँदैन । चीनलाई एक ‘आदरणीय’ प्रतिस्पर्धीका रूपमा लिइने नीति बाइडनको होला भनी अनुमान गर्न सकिन्छ । तर भारतप्रति बाइडन प्रशासनको समर्थन यथावत् रहे पनि कतिपय मुद्दामा नरेन्द्र मोदीको नीतिप्रति अमेरिकाको चासो रहनेछ ।

भारतको नेपालनीतिमा खासै नयाँपन आउला भन्ने आधार छैन । सन् १९५० को सन्धिको विकल्प दिन नेपालले सकेको छैन । लोकप्रियतावाद र परराष्ट्रनीति अलग पक्ष हुन् । यस सन्धिलाई यसका कट्टर आलोचक र राजनीतिज्ञहरूले ‘असमान’ भन्ने गरे पनि यथार्थवादी अन्तर्राष्ट्रिय राजनीतिक दृष्टिकोणबाट विश्लेषण गरी विकल्प दिन नसक्ता यो विषय यस्तै रहिरहनेछ, जसरी आजसम्म रहेको छ । समान बनाउन आजसम्म चल्दै आएको नीति र व्यवहारले कति मद्दत गर्ला, भन्न सकिने अवस्था छैन । भूराजनीतिक जटिलता थपिने प्रवृत्ति बढ्दै जाँदा हामीले चाहेजस्तो समानता पाइएला भन्न गाह्रो छ । भारतको सुरक्षा अवधारणा र चासो यही सन्धिवरिपरि घुमेको तर सन्धिका कतिपय पक्ष शिथिल भएको धेरै पहिलेदेखि हो । भारतले नेपालका गुनासा सुन्ने र चित्त बुझाउने काममा तत्परता देखाएको छैन, जसरी भोटाङसित उसले सन्धि परिमार्जन गर्‍यो । यसमा शंका बढी र विश्वास कम छ । यस्तो अवस्थामा द्विपक्षीय सम्बन्ध सुमधुर हुन गाह्रो पर्छ ।

तर सन्धि परिमार्जन भए पनि त्यो नेपालको राजनीति तताउने शैलीमा परिवर्तन होला भन्न सकिँदैन । किनभने आन्तरिक राजनीति तताउन कुनै विदेशी शक्ति देखाउने चलन राजनीतिक अभ्यास सुरु भएदेखिकै हो । त्यो विदेशी शक्ति आजसम्म भारत छ र भोलि केही मात्रामा चीन पनि हुन सक्छ । अति भौगोलिक सामीप्य, बहुआयामिक सम्बन्ध, प्रबुद्ध वर्गको अवधारणा र बाह्य प्रभाव द्वन्द्वका कारक तत्त्व हुन सक्छन् । कृष्णप्रसाद भट्टराईजस्ता नेताले उपनिर्वाचन लड्दा सिक्किम र भोटाङको विषयलाई मुद्दा बनाएका थिए ।

भारतका शासक वर्गको अपरिवर्तनीय धारणा अनि साना छिमेकीको आकांक्षा र गुनासोबीचको असामञ्जस्यका कारण सम्बन्ध स्थिर भए पनि सधैं सुमधुर हुन सकेको छैन । विश्वपरिस्थिति बदलिँदा नेपाललाई केही प्रभाव परे पनि नेपाल–भारत सम्बन्धको सारमा भने तात्त्विक फरक पर्ने देखिँदैन । भूगोल नै यसको निर्णायक कारण हो । अरू धेरै परिवर्तनीय कारण (भेरिएबल) भए पनि तिनले अरू देशसितको भन्दा नेपाल–भारतबीचको सम्बन्धमा बढी प्रभाव पार्नेछन् । चीनसित जति घनिष्ठ भए पनि भारतसितको सम्बन्धसित त्यसलाई तुलना गर्न मिल्दैन । यही भेद थाहा नपाउँदा समदूरीको नीतिको कुरा गरिन्छ । चीनसितको सम्बन्ध आफ्नै किसिमले विशिष्ट बनाइनुपर्छ र यसलाई रणनीतिक रूपमा प्रयोग गरिनु हुँदैन ।

नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधार्न दुवै पक्ष सकारात्मक हुनु राम्रो संकेत हो । तर सम्बन्ध अझ दरिलो बनाउन र आपसी विश्वासमा अड्याउन नयाँ सोच र खोजको पनि आवश्यकता पर्छ । नेपालमा छिमेकीको सक्रियता बढ्दा तरंगित हुनुपर्दैन । अरू राष्ट्रका प्रमुख या अन्य पदाधिकारीको भ्रमण बाक्लिनुलाई राज्य–राज्यबीचको सहकार्य बढेको रूपमा लिनुपर्छ । चीन र भारतका प्रतिनिधिहरूको भ्रमण प्रतिस्पर्धात्मक भए पनि नेपालले यस्ता गतिविधिलाई व्यवस्थित गर्ने र राष्ट्रहितमा लगाउने कला र रणनीति भने बढाउनैपर्छ । यसका लागि बढी व्यावहारिक र कम भावनात्मक बनी यथार्थका धरातलमा टिकी सम्बन्ध अघि बढाउन सक्नुपर्छ । तर आजका शासक, राजनीतिक दलहरूका नेता र अन्य नीतिनिर्मातामा बढी लोकप्रियतावादी बन्ने होड चल्दा धेरै राष्ट्रिय मुद्दा अझ जटिल बन्दै गएका छन् ।

प्रकाशित : मंसिर १६, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

अग्‍निशालामा अब तामाको छाना 

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाले  वडा नम्बर १९ मा रहेको प्राचीन सम्पदा अग्निशाला भवनमा तामाको छाना राख्ने जनाएको छ ।

गौरवशाली योजनाअन्तर्गत महानगरले तामाको छाना राख्न ४० लाख रूपैयाँ अग्निशाला व्यवस्थापन समितिलाई दिएको हो । अहिले उक्त भवनमा जस्ताको छाना छ । धार्मिक मान्यताअनुसार पूजा अर्चना गरिने स्थानको जिर्णोद्धार वा पुनर्निर्माण गर्नुअघि क्षमापूजा गर्ने परम्परा छ ।

जसअनुसार महानगर प्रमुख चिरीबाबु महर्जनले सोमबार क्षमापूजा गरेका थिए । महानगर प्रमुख महर्जनले सम्पदा संरक्षणलाई महानगरले प्राथमिकता राखेको दाबी गरेका छन्। ‘महानगरले प्राचीन संम्पदा संरक्षणको लागि बजेट छुट्याएको हो,’ उनले भने, ‘काम एकदम राम्रोसँग गर्न आग्रह गर्छु ।’

क्षमापूजालगत्तै काम थालिने महानगरले जनाएको छ । अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माका अनुसार अग्निशालामा पाँचवटा छुट्टाछुट्टै धुनी छन् । यी धुनीमा निरन्तर आगो बलिरहन्छ ।

धार्मिक मान्यताअनुसार काठ बालेर निकालिएको काष्ठाग्‍नि, ढुंगा रगडेर निकालिएको पासाग्‍नि, सूर्यको रापबाट निकालिएको सूर्याग्‍नि, पानीबाट निकालिएको जलाग्‍नि, अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्‍नि यी पाँच फरक-फरक नामका अग्नि पाँच धुनीमा बालिन्छ ।

यस शालामा पूजा पाठ गर्दा लागेका ग्रहदशा हटेर जान्छ भन्ने मान्यता छ । यहाँका पुजारीहरुका अनुसार यो शालाको बारेमा उल्लेख भएको शिलालेखहरु हलसम्म कतै भटिएको छैन, तर चार हजार वर्षअघि निर्माण भएको अनुमान उनीहरुले लगाएका छन् ।

प्रकाशित : मंसिर १६, २०७७ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×