सीमा संवादको ढोका खुल्यो- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा संवादको ढोका खुल्यो

संवाद जुनसुकै तहमा किन नहोस्, आपसी भाइचारा, मित्रता, पञ्चशीलको सिद्धान्त र समानताका आधारमा हुनुपर्छ ।
बुद्धिनारायण श्रेष्ठ

भारतीय विदेशसचिव हर्षवर्धन शृंगलाको मैत्रीपूर्ण भ्रमणपछि नेपाल र भारतबीच गत एक वर्षदेखि हुन नसकेको वार्ताको ढोका अब खुलेको छ । परराष्ट्रसचिवस्तरीय बैठकमा विभिन्न विषयमा छलफल चल्नुका साथै नेपालले जारी गरेको राजनीतिक नक्सा, कालापानी–सुस्ताको विवादास्पद भूभागबारे सम्बद्ध मन्त्रालय तथा निकायबीच छलफल सुरु गर्ने आपसी समझदारी बनेको छ ।

सीमा समस्यालगायत दुई देशबीच जेजति बाँकी विषय छन्, तिनलाई पनि समाधान गर्दै जाने र त्यसका लागि प्रक्रियामा राखेर अघि बढ्ने विषयमा छलफल भएको छ (कान्तिपुर दैनिक, मंसिर १२) ।

शृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अब नयाँ हिसाबले अगाडि बढाउनुपर्छ भन्ने सन्देश पठाएको कुरा व्यक्त गरे । प्रधानमन्त्री ओलीले पनि ‘इतिहासले छाडेका कतिपय समस्या छन्, सीमा लगायतका ती समस्यालाई पनि वार्ताबाट टुंग्याएर अगाडि जान सक्छौं भन्ने हाम्रो विश्वास र मान्यता हो’ भन्ने सन्देश पठाए । यसबाट सीमा संवादलाई सम्बोधन गर्न खोजिएको बुझ्न सकिन्छ ।

नयाँ नक्सा

२०७६ कात्तिक १६ गते भारतले प्रकाशित गरेको नयाँ ‘राजनीतिक नक्सा’ मा लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र आफ्नोतर्फ समाहित गरेको थियो । यसमा नेपालले प्रतिरोध गर्दै वार्ताका निम्ति कूटनीतिक तहबाट समेत आह्वान गरेको थियो । कोरोना भाइरसका कारण संक्रमण अन्त्यपछि वार्ता गरिने भनी भारतले आलटाल गरिरहेको थियो । यसैबीच नेपालले पनि त्यही क्षेत्रलाई आफ्नो सरहदभित्र पारी ‘प्रशासनिक तथा राजनीतिक नक्सा’ २०७७ जेठ ७ गते प्रकाशित गर्‍यो । यसबाट एउटै भौगालिक क्षेत्रको

दुई देशका नक्सा एकआपसमा खप्टिन पुगे । यसले नक्साको द्वन्द्व उत्पन्न गरायो । अन्तर्राष्ट्रिय क्षेत्र पनि अलमलमा पर्‍यो, कुन नक्सालाई मान्ने र कुनलाई नमान्ने अर्थात् कुन वैध र कुनचाहिं अवैध । अन्तर्राष्ट्रिय स्तरबाट एक देशतर्फको नक्सालाई जायज मान्दा अर्को देश नाजायजमा पर्ने खतरा पैदा हुन पुग्यो । तर अब नक्सा संवाद अघि बढ्ने भएकाले परामर्शद्वारा समाधान गरिँदा यो खतरा अन्त्य हुने देखिन्छ ।

प्रधानमन्त्रीहरूको संयुक्त निर्देशन

लिम्पियाधुरा–कालापानी–लिपुलेक सीमा मामिला नयाँ होइन, वर्षौंअघिदेखि चलेर आइरहेको छ । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा र भारतीय प्रधानमन्त्री नेपाल आउँदा यो मामिलाबारे कुरा उठ्ने गरेको छ । उदाहरणार्थ, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी गरिएको क्रमशः ३ अगस्त २००० तथा २३ मार्च २००२ को संयुक्त प्रेस विज्ञप्तिमा ‘कालापानी क्षेत्रसाथै दुईतर्फको भिन्न धारणा रहेका अन्य पकेट क्षेत्रको समेत तदारुकताका साथ तथ्य जाँचबुझ गरी सीमा एलाइनमेन्ट गर्ने काम सम्पन्न गर्न दुवै प्रधानमन्त्रीले नेपाल–भारत प्राविधिकस्तरीय सीमा समितिलाई निर्देशन दिएको’ देखिन्छ । यसै गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल भ्रमण गरेका बेला दुवै प्रधानमन्त्रीले ‘कालापानी र सुस्तासमेत बाँकी रहेका सीमा मामिलामा आवश्कतानुसार बोर्डर वर्किङ ग्रुपबाट आवश्यकीय प्राविधिक जानकारी लिई कार्य गर्न दुवै देशका परराष्ट्रसचिवहरूलाई ५ अगस्त २०१४ को संयुक्त प्रेस विज्ञप्तिद्वारा निर्देशन दिएको’ पाइन्छ । यसै निर्देशनलाई कार्यान्वयन गर्ने क्रममा अहिले दुवै देशका परराष्ट्रसचिवबीचको संवाद सुरु भएको छ । संवादहीनताको कारक बनेका दुवैतर्फका नयाँ नक्सा र सीमा विवादका विषयबारे संवाद सुरु हुनुलाई निकै सकारात्मक मान्नुपर्छ । यसले नेपाल–भारतबीचको समग्र सम्बन्धलाई सुदृढ बनाएर लैजाने सन्देश दिएको बुझ्नुपर्छ । यसबाट एक देशले अर्कोप्रति शंका गर्ने कुराको पनि अन्त्य हुन सक्छ ।

संवाद

संवाद नै समस्याको समाधान हो भनी दुवै देशका विज्ञ तथा ट्र्याक–टु डिप्लोम्याटहरूले अभिव्यक्त गर्दै आइरहेको पाइन्छ । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल रिलेसेन (एआईडीआईए) ले भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसनसँगको सहकार्यमा मंसिर ८ मा आयोजना गरेको नेपाल–भारत सम्बन्ध विषयक वेबिनारमा बोल्दै नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले सीमा विवाद, ईपीजी प्रतिवेदन र विकासका ठूला परियोजनालाई अगाडि बढाउने विषयमा ठोस कुराकानी हुनुपर्ने बताएका छन् ।

यसअघि नेपालका लागि भारतका पूर्वराजदूत देव मुखर्जीदेखि हालै अवकाश पाएका मञ्जीवसिंह पुरीसम्मले वार्ता नै समाधानको उपाय भएको व्यक्त गरेका छन् । नेपालका पूर्वकूटनीतिज्ञ तथा भारतका लागि पूर्वराजदूत भेषबहादुर थापादेखि केहीअघि अवकाश लिएका दीपकुमार उपाध्यायसम्मले पनि वार्ताद्वारा नै सीमा समस्या हल गर्नुपर्ने धारणा प्रकट गरेका छन् । दुवै देशका राजनीतिज्ञहरूले पनि वार्ताले नै समाधानको उपाय निकाल्छ भन्ने धारणा व्यक्त गरिरहेको पाइन्छ । उनीहरूकै सुझावले पनि अब वार्ताको ढोका खुल्न लागेको छ । भारतीय विदेशसचिव शृंगलाले भारतीय विदेशमन्त्री एस. जयशंकरका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निमन्त्रणा दिएका छन् । मंसिर अन्त्यमा दिल्लीमा बस्ने परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा जान ज्ञवालीले तयारी गरिरहेको बुझिन्छ ।

‘रअ’ प्रमुख सामन्त गोयल आफ्ना प्रधानमन्त्री मोदीको दूतका रूपमा नेपाल आएका थिए । प्रधानमन्त्री ओलीले उनीसँगको भेटमा ‘अन्तर–मन्तर–तन्तर’ गरे । भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवानेले प्रधानमन्त्री ओलीसँग भेट गर्दा उपयुक्त समयमा संवादमार्फत समस्या हल गर्न भारत तयार रहेको सन्देश आफ्ना प्रधानमन्त्रीले पठाएको बताएका थिए । यसरी भारतका रअ प्रमुख र सेनाध्यक्षको नेपाल भ्रमणले भारतीय विदेशसचिवको भ्रमणको वातावरण बनायो । सचिवको भ्रमणले अब माथिल्लो तहको अनुकूल वातावरण तयार पारेको छ । यसपछि राजनीतिक तहमा संवाद हुनुपर्छ । संवाद जुनसुकै तहमा किन नहोस्, आपसी भाइचारा, मित्रता, पञ्चशीलको सिद्धान्त, समानताका आधारमा हुनुपर्छ; एकआपसको मन जित्ने किसिमको हुनुपर्छ । अनि मात्र त्यसले सफलता पाउँछ । विदेशसचिव शृंगलाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग नेपाली भाषामा बोलेर अनि भारतीय सेनाध्यक्ष नरवानेले वाग्मतीपारिबाट पशुपतिनाथको नित्य आरती अवलोकन गर्दा र वसन्तपुर पर्यटकीय क्षेत्र अवलोकन गर्दा नेपाली ढाकाटोपी लगाएर नेपालीको मन जित्ने वातावरण बनाइसकेका छन् ।

सहमतिका उदाहरण

सहमतिकै आधारमा २००९ जेठ २७ देखि नेपालका उत्तरी सीमावर्ती क्षेत्र टिंकर भन्ज्याङ, तानारीकोट, मुचु, मुगुगाउँ, छार्काभोट, कैसाङ (छुसाङ), थोराङ भन्ज्याङ, लार्के भन्ज्याङ, अठारसय खोला, सोम्दाङ, रसुवागढी, तातोपानी (कोदारी), लामाबगर, नाम्चे (च्याल्सा), चेपुवाघाँटी, ओलाङचुङगोला, थेचम्मु र च्याङथापु गरी अठार स्थानमा भारतीय सैनिक चेकपोस्ट खडा गरिएका थिए । संवाद र सहमतिकै आधारमा सत्र वर्षपछि २०२६ वैशाख ७ सम्ममा ती अठारवटै चेकपोस्टबाट भारतीय सैनिक फर्किए । नेपालले ती सैनिकहरूलाई फूलमाला लगाएर बिदा गरेको थियो भने उनीहरू खुसी मनले आफ्नो देश फर्किएका थिए । यसै गरी लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रको मामिलामा पनि भावी पुस्ताप्रति जवाफदेह हुने गरी संवाद र सहमतिकै आधारमा समाधान खोज्नुपर्छ, जसबाट नेपाल–भारत सम्बन्ध भविष्यमा अझ प्रगाढ हुनेछ ।

अन्त्यमा, माथिका प्रकरणबाट नेपालसँगको सीमा मामिला समाधान गर्न भारत इच्छुक भएको आभास मिलेको छ । भारत ‘छिमेकी पहिलो’ नीति कार्यान्वयन गर्न उत्सुक रहेको कुरा पनि यसैभित्र परेको बुझ्न सकिन्छ । भारत विश्वको ठूलो प्रजातान्त्रिक मुलुक हो । संसारमा उसको आफ्नै छवि छ । नेपालसँगको सीमा तथा नक्सा मामिलामा आफ्नो छवि धमिल्याउन भारत चाहँदैन भन्ने कुरो उसले प्रदर्शन गरेको यस्तो अनुकूल वातावरणलाई नेपालले बुद्धिमत्तापूर्वक, कौशल देखाउँदै ‘क्यास’ गर्न सक्नुपर्छ ।

प्रकाशित : मंसिर १६, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

सभ्य समाज निर्माण गर्न शिक्षाशास्त्र

अन्य विषयको पढाइ बोध हो भने शिक्षाशास्त्रको पढाइ अभिव्यक्ति पनि हो ।
सीतादेवी भट्टराई

कोभिड–१९ को सन्त्रासका कारण अन्योलमा रहेको नेपालको शिक्षा क्षेत्रमा जसोतसो एसईईको रिजल्ट गरी कक्षा ११ मा भर्ना तथा पढाइ सुरु हुन थालेको छ । यही समयमा विद्यार्थीहरू पढ्ने विषयबारे निर्णय गर्न नसकी कहिले कुन र कहिले कुनतिर भौंतारिने गरेका छन् ।

अभिभावकहरू पनि आफ्ना सन्ततिलाई कुन विषय पढाउने, त्यो विषय पढाएर भविष्यमा के हुन्छ, पढाउन आफ्नो क्षमताले भ्याउला–नभ्याउला, आफ्ना छोराछोरीले गरेको समय, श्रम र लगानीको प्रतिफल के होला भनी अन्योलमा परेका छन् ।

एसईईमा राम्रो अंक ल्याएका विद्यार्थी तथा उच्च वर्गका अभिभावकहरूको पहिलो रोजाइ विज्ञान बन्छ भने त्यसपछिको छनोटमा अंग्रेजी, व्यवस्थापनसहित प्राविधिक विषयहरू पर्छन् । केही अपवादबाहेक बौद्धिक, पारिवारिक र आर्थिक हिसाबले कमजोर विद्यार्थीहरू मात्र शिक्षाशास्त्रमा भर्ना हुने चलन छ । अहिलेसम्मको पढाइ सामान्य रहेको र परिवारको सामाजिक–आर्थिक अवस्था पनि कमजोर रहेकाले शिक्षाशास्त्र पढ्न आएको भन्ने सम्बद्ध विद्यार्थीहरूको भनाइ पाइन्छ । केही विद्यार्थीहरू यस विषयको अध्ययनपश्चात् भविष्यमा कुशल शिक्षक बनी गाउँ–समाजको सेवा गर्ने आफ्नो लक्ष्य रहेको बताउँछन् ।

पढ्न सजिलो छ त शिक्षाशास्त्र ?

कुनै पनि विषय आफैंमा सजिलो हुँदैन । सजिलो वा अप्ठ्यारो, विद्यार्थीमै भर पर्ने गर्छ । कुनै पनि विषय केका लागि, कसरी र किन पढ्दै छौं भन्ने कुराले त्यो विषयको अवस्था र आवश्यकतालाई बुझाउँछ । किन, कसरी, कहिले, कसलाई, कहाँ पढाउने/पढ्ने भन्ने पक्षको ज्ञान शिक्षाशास्त्रको कुनै पनि विषयको अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक पर्छ । यसमा विषयवस्तु बुझी पढेर मात्र हुँदैन, आफूले बुझेका कुरा विभिन्न उमेर तथा बौद्धिक स्तरका विद्यार्थीहरूले समेत बुझ्ने गरी अभिव्यक्त गर्न सक्नुपर्छ । अन्य विषयको पढाइ बोध हो भने यस विषयको पढाइ अभिव्यक्ति पनि हो ।

यहाँ विषयवस्तुमा कत्तिको दखल छ भन्दा पनि आफूमा भएको ज्ञान विद्यार्थीले बुझ्ने गरी कसरी दिन सक्छ भन्ने पक्षले महत्त्व राख्ने हुँदा शिक्षाशास्त्रको हरेक विषयको पढाइले प्रयोग/व्यवहारलाई जोड दिएको हुन्छ । त्यसैले यो विषय पढ्न सोचेजस्तो सजिलो छैन । हुन त वर्षमा अठार–बीस दिन पनि क्याम्पस नजाने, कुनै किताब पनि किनेर नपढ्ने, परीक्षाको समयमा एकदुईवटा गेस पेपर तथा गाइडका उत्तर घोक्ने, दुई–तीनपटक परीक्षा दिई तारा लागेर पास भएको मार्कसिट प्राप्त गर्ने अनि यसरी पाएको सर्टिफिकेटलाई बाकसमा थन्क्याएर अरू नै पेसा–व्यवसायमा लाग्ने व्यक्तिहरूले यस विषयको महत्त्व नबुझेर ‘मैले त घरै बसेर पास गरें, के छ र ? जसले पनि सजिलै पास गर्न सक्छ, यो विषय सजिलो छ’ भन्छन् होला, तर विषयको महत्त्व, गहनता, आवश्यकता र सान्दर्भिकतालाई बुझेर पढी सक्षम र सफल जीवन जिउन चाहनेहरूका लागि यो क्षेत्र गाह्रो छ । सैद्धान्तिक ज्ञानमा भन्दा प्रायोगिक तथा व्यावहारिक पक्षसँग बढी सम्बन्धित भएकाले तथा परिवर्तित समयसँगै नयाँनयाँ शैलीमा प्रस्तुत गर्नुपर्ने र आफ्नो ज्ञान सधैं ताजा राख्न सक्रिय रहनुपर्ने भएकाले मिहिनेती, कर्मशील, जिज्ञासु र कार्यप्रति सदा समर्पित रहन सक्ने व्यक्तिले मात्र शिक्षाशास्त्रका विषयहरू पढ्नुपर्छ ।

समय, श्रम र पैसाको लगानी

कुनै पनि विषयको गहनता, सहजता र महत्त्व त्यसमा गरिएको परिश्रम, दिइएको समय र गरिएको आर्थिक लगानीबाट प्रस्ट हुन्छ । शिक्षाशास्त्र संकायको कुनै पनि विषयमा दक्षता हासिल गर्न प्रक्रियागत रूपमै पनि लामो समय लाग्छ । विद्यालयदेखि उच्च शिक्षाको हरेक तहमा आफ्नो विषयको दक्षताका लागि विभिन्न प्रयोगात्मक, परियोजनामूलक र अभ्यासात्मक कार्यमा विद्यार्थीहरू सहभागी हुनुपर्छ ।

परिवर्तित समाजको आवश्यकताअनुकूल रहने गरी आफूले लिएको ज्ञान दिनका लागि जीवनभर लागिपर्नुपर्ने भएकाले यस विषयका विद्यार्थीहरूले लामै समय लगाउनुपर्छ । आफ्नो विषयमा दक्षता हासिल गरी समाजमा आफूलाई प्रेरक व्यक्तिका रूपमा चिनाउन केही समय अध्ययन गरी लिइएको ज्ञान पर्याप्त हुँदैन, यसका लागि लामो र निरन्तर मिहिनेत गर्नुपर्छ । विद्यार्थीलाई परिवारले पनि प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्नुपर्छ । जसले शिक्षाशास्त्रलाई सजिलो विषय ठानी पढाइमा भन्दा अन्य क्षेत्रमा (रोजगारी, घरायसी कार्य आदि) लाई महत्त्व दिन्छ, समयको उचित व्यवस्थापन गर्दैन, त्यस्तो व्यक्तिले यस क्षेत्रमा विज्ञता हासिल गर्न सक्दैन ।

हुन त हाम्रो समाजमा मध्यमवर्गका विद्यार्थीहरू आर्थिक अभावका कारण आफैं कमाउँदै पढ्दै गर्नुपर्ने बाध्यतामा छन् । शैक्षिक क्षेत्रमा पनि लैंगिक विभेद हटिसकेको छैन, जसले गर्दा एकातर्फ हाम्रो समाजका छोरी–बुहारीले परिवारका अनेकौं समस्यासँग जुझ्दै पढाइलाई निरन्तरता दिनुपरेको छ भने अर्कातर्फ उनीहरूले चाहेर पनि पर्याप्त समय दिई, निरन्तर कक्षामा उपस्थित भई पढ्न र अभ्यासात्मक कार्यमा सहभागी भई विषयमा दक्ष बन्न पाएका छैनन् । जो विद्यार्थी पढाइप्रति तीव्र आकांक्षाका कारण आफैं खर्च जुटाएर भए पनि, अनेकौं समस्याको सामना गर्दै जीवनमा केही गर्छु भन्ने चाहना राखी शिक्षाशास्त्रतर्फका विषय पढ्न लागिपरेको छ, उसका लागि यो विषय गाह्रो छ ।

बाहिरबाट हेर्दा शिक्षाशास्त्रको अध्ययनमा आर्थिक लगानी कम हुने र आर्थिक उपार्जन पनि कम हुने जस्तो देखिन्छ, तर यो भ्रम मात्र हो । यस विषयको अध्ययनका क्रममा प्रयोगात्मक, परियोजनामूलक तथा शिक्षण अभ्यासात्मक कार्यमा गर्नुपर्ने आर्थिक लगानी अन्य प्राविधिक विषयको भन्दा कम हुँदैन । अध्ययनपश्चात् पनि अध्यापन तथा अन्य पेसामा लागेकाहरूले आफ्नो क्षेत्रमा विज्ञता देखाउन र कार्यप्रति वफादार रही यसलाई प्रभावकारी एवम् समयसापेक्ष बनाउन तयार गर्नुपर्ने सामग्रीहरूमा गर्नुपर्ने लगानी कम छैन । तर, विषयविज्ञ भई राष्ट्रका लागि महान् कार्य गर्न पाउँदा ठूलो गौरवानुभूति हुन्छ । समाजबाट समयसमयमा पाइने सम्मान कम अमूल्य हुँदैन ।

समग्रमा, शिक्षा त्यो ज्योति हो, जसका माध्यमले मानिसले आफूभित्रका दुर्गुणहरू हटाएर दिव्यता प्राप्त गर्छ । आफूमा भएको दिव्यताका माध्यमबाट आफ्नो परिवार एवम् समाजका कमी–कमजोरीलाई सुधार गरी सभ्य, सुसंस्कृत तथा सम्पन्नतातर्फ उन्मुख बनाउन सहयोग गर्न सक्छ । परिवार, समाज एवम् राष्ट्रलाई समय अनुसारको शिक्षा दिई यी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउन, मोफसलमा लुकेका कला, संस्कृति, रीति, परम्परा, ऐतिहारिक एवम् पुरातात्त्विक, धार्मिक, महत्त्वका वस्तु एवम् स्थलहरूको संरक्षण र विकासमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्न शिक्षाशास्त्रको पढाइले टेवा दिन्छ । त्यसैले शिक्षाशास्त्रको विद्यार्थी लगनशील, परिश्रमी, अनुशासित, क्षमाशील र कर्तव्यनिष्ठ र प्रतिभावान् हुनुपर्छ । अनि मात्र उसले विषयवस्तुमा अथाह ज्ञान हासिल गर्छ, आफूले पाएको ज्ञान विभिन्न तौरतरिका अपनाएर सिकारुको आवश्यकता, स्थान, परिवेश र चाहनालाई बुझेर प्रभावकारी रूपमा बाँड्न सक्छ । सिकारुले पनि आफूले पाएको ज्ञानका माध्यमबाट सभ्य समाज निर्माणमा सहयोग गर्न सक्छ ।

(भट्टराई तनहुँको भिमादस्थित जनज्योति क्याम्पसकी उपप्राध्यापक हुन् ।)

प्रकाशित : मंसिर १६, २०७७ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×